कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

भोट हाल्न गाउँ फर्किनेको लर्को 

डीबी बुढा

जुम्ला — मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान गर्न मतदाता गाउँ फर्किन थालेका छन् । सुर्खेत,नेपालगञ्ज र जुम्ला बसपार्कमा मतदाताहरूको लर्को लाग्ने गरेको छ । पाँच वर्षमा एक पटक आउने आम निर्वाचनमा आफूले चाहेको व्यक्ति चुन्न र जिल्लाको समग्र विकासमा टेवा पुगोस् भन्ने हेतुले गाउँ छाडेका मतदाता फर्किन थालेका हुन् । 

भोट हाल्न गाउँ फर्किनेको लर्को 

मतदान गर्न दुई दिन बाँकी रहँदा जुम्ला आउने मतदाताको संख्या निकै बढेको छ । तिहार मनाइसकेपछि व्यापार तथा कामको सिलसिलामा कालापहाड तथा देशभित्रै रहेका जुम्लावासी आउने क्रम सुरु भएको छ । तिला–९ का नवराज बुढा मतदान गर्नका लागि मतदाता आउने क्रम बढेको बताउँछन् । सहरलाई अस्थायी बासस्थान बनाएर व्यापार व्यवसाय गरेका मतदाता गाउँ फर्किरहेको उनले बताए ।

उम्मेदवारहरूले पनि आफूनिकटका मतदातालाई जिल्ला फर्किन दबाब दिइरहेका छन् । दसैं तिहारसँगै सुनसान गाउँमा चहल पहल बढेको छ । जुम्ला बजारमै व्यवसाय गर्ने,अध्ययन अध्यापन गर्नेदेखि अन्य कामको सिलसिलामा बस्नेहरू मतदान गर्नकै लागि उत्साहित हुँदै फर्किरहेका यातायात व्यवसायीहरूले बताएका छन् ।

‘हामी आफ्नो मताधिकारको प्रयोग गर्न र आफूले रोजेको उम्मेदवार जिताउन गाउँ फर्क‌ंदै छौं,’ सुर्खेतदेखि जुम्ला आउँदै गरेका उमेश उपाध्यायले भने,‘यो पटकको भोट काम गर्नेलाई र सुख दु:खलाई साथ दिने नेतालाई नै जान्छ । जसका लागि हजारौं रुपैयाँ खर्चेर गाउँ फर्केका हौं ।’

पछिल्लो समय जुम्लाको बसपार्कमा यात्रुहरूको निकै भीडभाड लाग्ने गरेको छ । १० वर्षदेखि खलंगामा बसिरहेका जुम्लाका झक्तबहादुर बुढा मतदान गर्न घर फर्कन लागेको बताउँछन् । ‘सबै परिवार मतदान गर्नकै लागि गाउ‘ गयौं,’ उनले भने,‘चुनावमा गाउ‘ फर्किन दबाब पनि आयो । मताधिकारको सदुपयोग गर्न पनि हामी फर्कियौं ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता छन् । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ मा जम्मा ३६ हजार सात सय ८३ मतदाता छन् भने क्षेत्र नम्बर २ मा ३१ हजार ८ सय ५५ मतदाता छन् । निर्वाचनमा जुम्लामा १ हजार ९ सय ५४ जना सुरक्षाकर्मीहरु खटिएका छन् । ८ सय ४३ म्यादी प्रहरी, २ सय २६ नेपाल प्रहरी,४ सय ५० नेपाली सेना, र २ सय ३५ सशस्त्र प्रहरी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लामा १ सय ६ मतदान केन्द्र छन् । अस्थायी मतदान केन्द्र २ र ८६ मतदान स्थल छन् । निर्वाचनका लागि ८ सय ४८ कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर २, २०७९ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?