पर्सा-४ का एमाले उम्मेदवार मियाँविरुद्ध आयोगमा उजुरी
वीरगन्ज — पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । चुनावी सभामा क्षेत्रका अल्पसंख्यक समुदायलाई गालीगलौज गरेको भिडियो क्लिपसहित कांग्रेसका उम्मेदवार रमेश रिजालले बुधबार आयोगमा इमेलमार्फत उजुरी दर्ता गरेका हुन् ।
सामाजिक सद्भाव भड्काउने गरी दिएको अभिव्यक्तिको भिडियो क्लिपसहित आयोगमा लिखित उजुरी दिएको उनले बताए ।
बुधबार सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एमाले र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मन्सुरीले चुनावीसभामा एउटा समुदायलाई अपशब्द प्रयोग गरेको देखिन्छ । मंसिर ४ मा हुने निर्वाचनलाई प्रभावित हुने गरी दुईवटा समुदायबीच सद्भाव बिगार्ने अभिव्यक्ति दिएकाले प्रमाणसहित आयोगमा उजुरी दिएको रिजालले बताए । आइतबार धोबिनी गाउँपालिका-५ जगरनाथपुर टोलमा आयोजना भएको रात्री चुनावी सभामा मियाँले सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएका हुन् ।
‘उक्त भिडियोमा जालिमले कुर्तक गरी हाका हाकी गाली गरेका छन्,’ रिजाल भन्छन्, ‘निर्वाचन आयोगको आचारसंहिताविपरीत गई कानुनको बर्खिलाप गर्नेलाई कारबाहीको माग गरेका छौं ।’ निर्वाचन आचारसंहिता २०७९ को दफा १३ को १(ब) मा कुनै साम्प्रदायिक विद्धेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने व्यवस्था गरेको छ ।
प्रकाशित : कार्तिक ३०, २०७९ १७:४१