रसुवामा ६ सय २२ कर्मचारी खटिने  

कार्तिक २९, २०७९

बलराम घिमिरे

रसुवा — मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रसुवा जिल्लामा ६ सय २२ जना कर्मचारी खटिने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रहरूमा केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरूको सूची सार्वजनिक गरिसकेको छ ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम मंगलबार सम्पन्न भएको छ । 

एक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी ५ जना र कार्यालय सहयोगी १ गरी ८ जना खटिने मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए । 'मतदान केन्द्रमा मतदान अधिकृतले तीन जनासम्म स्वयंसेवक राख्न पाउँछन्,' उनले भने । मंगलबार तालिम सम्पन्न भएकोले अब कर्मचारीहरू मतदान केन्द्रमा खटिने छन् । 

लाङटाङ खटिने कर्मचारी बुधबार त्यसतर्फ प्रस्थान गर्ने जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले बताए । जिल्लामा ३४ स्थायी र २ अस्थायी गरी ३६ वटा मतदानस्थल तथा ५२ स्थायी र २ वटा अस्थायी गरी ५४ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले बताएको छ । रसुवामा ३९ हजार ४ सय ५९ मतदाता रहेका छन् । जसमध्ये महिला १९ हजार ३ सय ४० पुरुष २० हजार १ सय १८ र अन्य १ जना रहेका छन् ।

बलराम

Link copied successfully