कम्युनिस्ट आन्दोलनलाई बीचमै छोडेर भाग्नेले देशको विकास गर्न सक्दैनन् : विश्वकर्मा

कार्तिक २९, २०७९

सन्जु पौडेल

लुम्बिनी — नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले कम्युनिस्ट आन्दोलनलाई बीचमै छोडेर भाग्नेले देशको विकास गर्न नसक्ने बताएका छन् ।  रुपन्देहीको देवदह नगरपालिका–५ राप्रसा र जसपासहितको कोणसभालाई सम्बोधन गर्दै सचिव विश्वकर्माले आफ्नै दलको प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेले अहिले भने विधि र प्रक्रियाको कुरा गरेर नागरिकलाई छल गरिरहेको आरोप लगाए ।

रुपन्देही–१ मा एमाले उम्मेदवारसमेत रहेका उनले समृद्ध राष्ट्र निर्माणका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दाबी गरे । ‘राष्ट्र र राष्ट्रियताका लागि मंसिर ४ पछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार गठन हुने छ,’ उनले भने, ‘रुपन्देहीको क्षेत्र नम्बर १ को विकासका लागि दीर्घकालीन योजना अगाडि सारे पनि गठबन्धन सरकारले बजेट कटौती गर्दा ओझेलमा परेको हो ।’

नेता विश्वकर्माले एमाले नेतृत्वको सरकारले अगाडि सारेको स्वास्थ्य बिमा कार्यक्रम गठबन्धन सरकारले बेवास्ता गर्दा प्रभावकारी हुन नसकेको उनको भनाइ छ । मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार गठन भएपछि सामाजिक सुरक्षाभत्ता ५ हजार पुर्‍याउने, नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका, एक अस्पतालको अवधारणालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता गरेका छन् । 

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully