सिरहा — सिरहास्थित नेपाल–भारत सीमा क्षेत्रमा दशगजाको विवाद भइरहन्छ । दुवै देशका नागरिक दशगजा क्षेत्रमा बस्छन् । कसैको घरको आँगनमै जंगे पिल्लर छ भने कसैको सीमा क्षेत्रमा खेतीपाती र पसल पनि छन् । दशगजा मिचेर पसल र खेतीपाती गरेको भन्दै बेला–बेलामा विवाद हुने गरेको हो ।
सिरहा नगरपालिका, औरही, बरियारपट्टि, नवराजपुर र भगवानपुर गाउँपालिकाका सीमावर्ती वडामा यस्तो समस्या छ । बेलाबखत सीमावर्ती क्षेत्रका बासिन्दाबीच आवतजावतका क्रममा सीमा मिचैकै निहुँमा झैझगडा भइरहन्छ ।
भारतको लगडी गाउँका हरिदेव मुखियाको घरआँगनमै जंगे पिल्लर छ । घर भारततर्फ भए पनि गाईबस्तु नेपालतिर बाँध्ने गर्छन् । नेपाल र भारतबीचको सिमाना छुट्याउने २८ नम्बरको पिल्लर उनको आँगनमा छ । उक्त पिल्लरभन्दा ५० मिटर नेपाली भूमिमा लगडी बस्ती छ । ‘सीमासँग टाँसिएका खेतवालाहरूले बिस्तारै दशगजा मास्दै गएका छन्,’ नेपालतर्फका गदियानी गाउँका राजेन्द्र यादवले भने, ‘अहिले सीमामा पिल्लर देखिन्छ । दशगजा देखिँदैन ।’ उनका अनुसार सिरहाको लगडिगदियानीस्थित दशगजा क्षेत्र अतिक्रमण गरी भारतीय नागरिकले बस्ती नै बसालेका छन् । दुई सय पचास घर परिवार यहाँ बस्दै आएका छन् । उक्त बस्ती भारतको पदमा ग्राम पञ्चायतको वडा नम्बर ४ को लगडी गाउँ हो ।
उक्त क्षेत्रमा भारतीय नागरिकहरूले बर्सेनि नेपाली भूमि मिच्ने क्रम जारी रहेको यादवले बताए । नेपालतर्फका स्थानीयवासीको बिघौं बिघा खेतबारी सीमापारि भारतमा रहेकाले स्थानीय केही बोल्ने नगरेको उनले जानकारी दिए । यी र यस्तै सीमामा बसोबास गर्ने स्थानीयका मुद्दा दलका उम्मेदवारको प्राथमिकतामा परेको छैन । लगडीगदियानीमा भोट माग्न पुग्ने उम्मेदवारलाई सीमाका बासिन्दाले पाएको दुःखबारे सुनाउँदा हुन्छ मात्र भन्ने तर जितेर गइसकेपछि बेवास्ता गर्ने गरेको राजेन्द्रले सुनाए ।
‘दिनरात सीमावारि र पारिका बीच झैझगडा भइरहन्छ,’ उनले भने, ‘योबारेमा समाधान गर्छौं भन्छन् तर जितेर गएपछि बिर्सन्छन् ।’ अहिले उम्मेदवारहरूले ‘बरु बाटो बनाइदिन्छौं, पुल पुलेसा बनाउँछौं, शिक्षामा सुधार गर्छौं’ भनेर आश्वासन बाँडेको उनले सुनाए ।
सीमावर्ती क्षेत्रका बासिन्दालाई सीमापार आवतजावतमा समस्या, सरसामानमा ओसारपसारमा दुवैतर्फका सुरक्षाकर्मीबाट छिनाझपटी, सुरक्षाको समस्या जटिल रहेको बताउँछन् ठाडी कन्हैया भट्ट । तर यस्ता समस्यामा दलका उम्मेदवारहरूले कुनै चासो नलिएको र घोषणापत्रमा समेत एक शब्द उठान नगरिनु सीमावर्ती क्षेत्रका बासिन्दाप्रति अवहेलना भएको उनको ठहर छ । उनले दलका केन्द्रीय एजेन्डा मात्र बोकेर उम्मेदवार गाउँबस्ती छिरेकोप्रति गुनासो गरे । दलका उम्मेदवार भने आफूहरू संसद्मा गएर यी समस्या उठाउने दाबी गर्छन् ।
