कीर्तिपुरबाट खरिपाटी र बोडे सारिएका सुकुमवासीलाई छोराछोरीको पढाइको चिन्ता

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष आनन्द सिंह भाटका अनुसार आइतबार बिहानसम्म कीर्तिपुरबाट खरिपाटीमा ७७ र बोडेमा ६० जनालाई ल्याइएको छ ।

असार २८, २०८३

समर्पण श्री

काठमाडौँ — ६७ वर्षीय हिराहरि दुसाधको परिवार शनिबार ४ बजे बोडेस्थित होल्डिङ सेन्टर पुगेको थियो । बिहान साढे १२ बजेदेखि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा  बाढी पसेपछि लाउने खाने सामान समेत निकाल्न नपाइ बाहिर निस्किएका थिए । यसपछि सरकारले कीर्तिपुरमा भएका विस्थापित सुकुमवासीलाई भक्तपुरको खरिपाटी र बोडको होल्डिङ सेन्टर पठाउने तयारी गरेको थियो । बेलुका ११ बजेसम्म पनि कीर्तिपुरबाट गाडीले मान्छे ल्याइरहेको थियो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष आनन्द सिंह भाटका अनुसार आइतबार बिहानसम्म कीर्तिपुरबाट खरिपाटीमा ७७ र बोडेमा ६० जनालाई ल्याइएको छ । ‘केही परिवार आफ्नै पहलमा बाहिरिएका छन् । एक परिवार कीर्तिपुरमा डेरामा बस्नेगरी गए, कोही आफन्त कहाँ गए, एकजना मानसिक समस्या भएकी वृद्ध आमालाई मानव सेवा आश्रमको जिम्मा लगाइएको छ,’ उनले भने ।

आफूहरू बोडे आएपछि हिराहरिलाई भने २ नातिनातिनाको चिन्ता छ । ‘उनीहरू थापाथलीको विश्वनिकेतनमा पढ्थे । अब त्यहाँबाट स्कुल आउन गाडी पनि छैन । उनीहरूको पढाइ बिग्रेला भन्ने चिन्ता छ,’ उनले भने । 

उनका अनुसार सरकारका प्रतिनिधिले बच्चाहरूको पढाइ बिग्रन नदिने र स्कुल जानका लागि बन्दोबस्त मिलाइदिने प्रतिबद्धता जनाएका छन् । ‘एकजनालाई जागिर पनि दिने भनेका छन् । तर भने जस्तो गर्ने हुन् कि होइनन्,’ उनले भने । 

माइतीघरमा न्यायका निम्ति धर्ना बस्न आएका हिराहरिको माग छ, 'सरकारले हामीलाई छिट्टै स्थायी व्यवस्थापन गरोस् ।’ ६७ वर्षीया मेनुका गुरुङ नातिनी र नातिसहित खरिपाटीस्थित होल्डिङ सेन्टरमा आइतबार बिहान १ बजे पुगिन् । शनिबार रातिसम्म उनीहरू कीर्तिपुर होल्डिङ सेन्टरको बाहिर अलपत्र थिए ।’ हामीलाई बिहानको १ बजे गाडीले लिएर गयो ।‌ यहाँ राति आएपछि मात्र खाना खायौं । अहिले खरिपाटीमै छौं ।’ मेनुकाको चिन्ता पनि नाति नातिनीको पढाइमै छ ।’ बल्खुबाट गाडी चढेर शान्तिनगरको गुह्येश्वरी मावि जाने गर्थे । अब परीक्षा आउने बेला फेरि पढाइ बिग्रन्छ कि, चिन्ता छ,’ उनले भनिन्, ‘तर आज मन्त्रीहरू आउनुभएको थियो । उहाँहरूले बालबच्चाको पढाइ बिग्रन्न भन्नुभएको छ । आज गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेललगायतको टोली खरीपाटी पुगेको थियो । उहाँहरूले गाडीको व्यवस्था गर्छौं भनेर भन्नुभएको छ,’ उनले भनिन् ।

आइतबार होल्डिङ सेन्टरमा गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, महिला तथा बालबालिका मन्त्री सीता वादी, स्वास्थ्यमन्त्री निशा मेहता र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव पुगेका थिए ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले खरिपाटीमा विस्थापितहरुसँग कुरा गर्दै छिट्टै‌ हातमा लालपूर्जा पुग्ने आश्वासन दिइन् । ‘मैले असार तेस्रो साताबाट लालपूर्जा बाँड्छौं भनेकी थिएँ । बर्दियाबाट बाँड्न सुरु भइसकेको छ । त्यो क्रम धेरै ठाउँसम्म जान्छ । अर्को हप्तामा नेपालमा धेरै जिल्लामा सुरु हुन्छ,’ उनले भनिन् ।

४३ वर्षीया निता बस्नेतको परिवारसँग भने आइतबार दिउँसो कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा भेट्यौं । निता श्रीमान् र छोराछोरीसहित शनिबार डुबेका सामानहरू धोएर सुकाइरहेकी थिइन् ।‌ शनिबार साँझ खरिपाटीस्थित होल्डिङ सेन्टर पुगेको र आइतबार बिहान फर्किएको बताइन् । ‘हामी यतै कोठा खोजिरहेका छौं । तर पाइरहेका छैनौं, ७ जनाको‌ परिवार । बच्चाबच्ची धेरै भएर एक ठाउँमा भेटेर पनि कोठा दिएनन्,’ उनले दु:खेसो पोखिन् ।

खरिपाटी बसेर कोठा खोज्नुको कारण भने छोराछोरीको पढाइ थियो । उनकी कक्षा ९ मा पढ्ने १५ वर्षीया छोरी विनिशा मगरले भनिन्, ‘हामी विश्वनिकेतनमा पढ्छौं । त्यहाँ बस्यो भने हाम्रो पढाइ बिग्रन्छ भनेर यतै कोठा खोज्न थालेका हौं ।’

सरकारले दिएको २५ हजार पाए पनि त्यसले व्यवस्थापनका लागि पुग्दैन । २ ठाउँमा निता घरेलु श्रम गर्छिन् । ‘त्यही काम पनि झन्डै छुटेको । त्यही कमाइबाट आएको पैसाले व्यवस्थान गर्न खोज्दैछु न,’ उनले भनिन् ।

बागमती सभ्यताका अध्यक्ष भाट भने खरिपाटी र छोडेमा भएका बालबालिकालाई सरकारले नजिकैको विद्यालयमा व्यस्थापन गर्ने बताए ।  ‘नजिकै पनि सरकारी विद्यालय छन्, यहाँ पनि व्यवस्थापन गर्न सक्छौं । उनीहरूको स्वास्थ्य र शिक्षालाई लिएर गम्भीर छौं,’ उनले भने । 

अहिले कीर्तिपुरबाट लगिएका विस्थापितहरूलाई खानाको व्यवस्था पनि सरकारले गरिरहेको र उनीहरूले अर्को व्यवस्था नगरुन्जेल त्यहीँ रहने भाटले बताए ।

सरकारले सुकुमडासी बस्ती भत्काएपछि उनीहरूलाई काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकमा गरी ७ वटा होल्डिङ सेन्टरमा राखेको थियो । बालाजुस्थित माछापोखरी लजमा ८७ घरका २९४, राधास्वामी आश्रम कीर्तिपुरस्थित ६५ घरमा २७७ र भक्तपुर खरिपाटीस्थित विद्युत् तालिम केन्द्रमा ९९ घरका ३५५ जना थिए । भक्तपुर बोडेस्थित कृषि तालिम केन्द्रमा २४ घरमा ११५, नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा २१ घरका ८०, बनेपास्थित रेडक्रसमा ४५ घरका १९५ र इचंगुनारायण अपार्टमेन्टमा ४७ घरका १७२ जना थिए ।

गत मंगलबारबाट नगरकोटस्थित खानेपानी तालिम केन्द्र, भक्तपुर बोडेस्थित कृषि तालिम केन्द्र र बनेपास्थित होल्डिङ सेन्टर खाली भएको थियो । खरीपाटी पनि बन्द गराउन खोज्दा सुकुमबासीहरूले विरोध जनाएका थिए । खरिपाटी र बोडेमा भएका बाँकी परिवारलाई इचंगुनाराणमा पठाइएको थियो ।

कीर्तिपुरका विस्थापित सुकुमबासीहरूलाई फेरि ल्याउनुपरेपछि बोडे र खरिपाटी अब समस्या समाधान नहुन्जेल बन्द नहुने भाटले बताए । इचंगुमा विशेषगरी बिरामी, अशक्त र वृद्धवृद्धाहरू धेरै हुनुहुन्छ । त्यहाँ सबै गरेर २२/२४  परिवार हुनुहुन्छ । त्यहाँ रासन उपलब्ध गराएका छौं । खानाको तयारी उहाँहरू आफैं गर्नुहुन्छ,’ उनले भने ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully