सार्वजनिक स्थानमा गीत गाउन कहाँ सजिलो छ र ? कतै गाउँदागाउँदै लखेटिन्छन्, कतै नगरप्रहरीले धरपकड गरेर गाडीमा हाल्छ । उनीहरू आँखाले मात्रै नदेख्ने हुन्, देख्ने सरकारले त उनीहरूको समस्या देखेकै छैन ।
What you should know
काठमाडौँ — ५ वर्षको हुँदा जुम्लाकी अमृता थापाको आँखामा संक्रमण भयो । समयमै उपचार नपाउँदा दृष्टि गुमाइन् । यद्यपि उनले सदरमुकामदेखि एक दिन टाढा पर्ने सिजा नराकोटमा ब्रेल लिपिमा १० कक्षासम्म अध्ययन गरिन् ।
एसएलसी दिएर अर्को वर्ष २०६४ मंसिरमा जिल्ला विकास समितिको सहयोगमा ६ महिनाको छात्रावृत्तिमा थप अध्ययनका लागि काठमाडौं आइपुगिन् । एउटा बैंकको सहयोगमा ग्रामीण विकासमा स्नातकोत्तर पूरा गरेकी उनले जागिरका लागि विभिन्न ठाउँमा आवेदन दिइन् तर जागिर पाउन निकै गाह्रो भयो ।
उनै अमृता पशुपतिनाथ मन्दिर परिसरमा भेटिन्छिन्- स्पिकर, मादल, झ्यालीको संगीतमाझ ।
अमृता मात्रै होइन यो सांगीतिक समूहमा अरु पनि सारथी छन्, जसले पशुपति पुग्ने दर्शनार्थीलाई सांगीतिक धुन सुनाइरहेका छन् ।
उनीहरूको आँखाले संसार देख्न सक्दैन, तर भजनका सुरले धेरैलाई केहीबेर मौन रहन बाध्य बनाउँछ । कसैले उनीहरूको प्रतिभाप्रति सम्मान जनाउँदै खाना दिन्छन्, कसैले आर्थिक सहयोग । दिनभरि यसरी जुटेको रकम उनीहरूले सामूहिक रूपमा जम्मा गर्छन् र साँझ बराबरी रूपमा बाँडेर आ–आफ्नो जीवनलाई केही सहज बनाउने प्रयास गर्छन् ।
उनीहरुले ४ वर्षदेखि यसरी सार्वजनिक स्थानमा गीत गाउँदै आएका हुन् । सुर्खेतका गोर्खबहादुर खत्री पनि यही समूहमा छन् । सानोठिमी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने उनी आर्थिक जोहोका लागि यसरी भजन गाउँदै हिँड्नुपरेको छ ।
सरकारले मासिक २१ सय भत्ता दिन्छ, तर त्यसले पुग्दैन । योग्यता अनुसारको जागिर नपाएपछि सार्वजनिक स्थानमा गीत गाउन थालेको उनले बताए ।
सार्वजनिक स्थानमा गीत गाउन कहाँ सजिलो छ र ? कतै गाउँदागाउँदै उनीहरु लखेटिन्छन् । कतै नगरप्रहरीले धरपकड गरेर गाडीमा हाल्छ । उनीहरु आँखाले मात्रै नदेख्ने हुन्, देख्ने सरकारले त उनीहरुको समस्या देखेकै छैन ।