सरकारले सुकुमवासीहरूको वस्ती भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरमा राखे पनि २ महिना पुग्न लागिसक्दा पनि कतिपय बालबालिका अझै विद्यालय जान पाएका छैनन् ।
What you should know
काठमाडौँ — काभ्रेपलाञ्चोकको बनेपास्थित रेडक्रस होल्डिङ सेन्टरमा बसिरहेकी कुमारी लामाको छोरी यति बेला कक्षा ८ मा जानुपर्ने थियो । तर पहिलो त्रैमासिक परीक्षा नजिकिने बेला भई सक्दासम्म पनि कुमारीले छोरी स्कुलमा भर्ना गर्न पाएकी छैनन् । ‘परीक्षा सुरु हुने बेला भइसक्यो । तर बनेपामा बस्दाबस्दा छोरीको पढाइ नै छुट्ने भयो, ’ कुमारीले भनिन् । सरकारका तर्फबाट बालबालिकाको पढाइमा कुनै व्यवस्था नभएपछि कुमारीले केही दिनअघि मात्र काठमाडौंको पेप्सीकोलामा डेरा खोजिन् । डेरा नजिकैको स्कुलमा शुक्रबार छोरीको भर्ना गरिदिएकी छन् । ‘स्कुलमा एउटा मात्र कोटा बाँकी रहेछ । भर्ना त गरेँ तर छोरी धेरै पढाइ छुटिसक्यो भनेर जान मान्दिन,’ उनी भन्छिन् ।
सरकारले विभिन्न ठाउँमा बसोबास गरिरहेका सुकुमवासीहरूको बस्ती भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरमा राखेको पनि २ महिना पुग्न लागिसक्यो । तर काभ्रेपलाञ्चोकको बनेपास्थित रेडक्रस भवनको होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरू अझै विद्यालय जान पाएका छैनन् ।
लामो समयसम्म पढाइको टुङ्गो नलागेपछि होल्डिङ सेन्टरमै रहेका रिमा पोखरेल र रोजिना परियारले २० दिनयता आफैंले पढाउन सुरु गरेका थिए । ‘अहिले हामीलाई पढाउन अप्ठ्यारो भइरहेको छ । हामीसँग पाठ्यपुस्तक छैन । किताबै नभएपछि कुन आधारमा र के पढाउने भन्ने अन्योलमा छौँ,’ रिमा पोखरेलले भनिन्, ‘म कहिलेकाहीँ युट्युब र अनलाइन क्लासहरू हेर्छु । सबैलाई मिल्ने खालको एउटा साझा सिलेबस छानेर पढाउने कोसिस गर्छु ।’ उनका अनुसार स्कुल पढ्ने उमेरका १६ जना बालबालिका यहाँ छन् । ‘यसरी पढाउन धेरै गाह्रो छ । यदि कक्षा ७ को बच्चालाई कक्षा १-२ को कुरा पढायो भने उनीहरूलाई अल्छी लाग्छ, क्लासमा बस्नै मान्दैनन् । फेरि कक्षा १ को बच्चाले कक्षा ७ को कुरा बुझ्दैनन् । उचित व्यवस्थापन नभएकाले हामीले निकै संघर्ष गरिरहनु परेको छ,’ पोखरेलले भनिन् ।
कतिपय अभिभावले ‘यसरी त पढाइ हुँदैन’ भनेर केही बालबालिकालाई आफन्तकोमा लगेर राखेका छन् । बाँकी ८ जना बालबालिका भने पढाइबाट वञ्चित छन् । रिमाले रेडक्रसकै सम्बन्धित व्यक्तिहरूलाई सोध्दा आधिकारिक सूचना आएको छैन भन्ने मात्र जवाफ पाउँछिन् । बीचमा आफूहरूले सुरु गरिरहेको पढाइ पनि रोक्ने निर्णय गरिन् । तर बालबालिकाहरूले उनलाई सोध्न थाले– म्याम फेरि कहिले पढाउने ? ‘उनीहरूमा पढ्ने इच्छा छ तर हामीसँग स्रोत-साधन छैन । यी बच्चाहरूको भविष्यका लागि केही पहल भइदिए हुन्थ्यो,’ रिमाले भनिन् ।
बालबालिका विद्यालय गए नगएको बारे सरकार बेखबर
सबै बालबालिकाले अनिवार्य र निःशुल्क शिक्षा पाउने कुराको सुनिश्चितता गर्नु तिनै तहका सरकारको दायित्व हो । विशेष गरी आधारभूत र माध्यमिक तहको शिक्षाको जिम्मेवारी स्थानीय सरकारको हुने र आफ्नो क्षेत्रभित्रका बालबालिका विद्यालय गए/नगएको बारे उनीहरू नै बढी जिम्मेवार र जानकार हुनुपर्छबनेपामा रहेका बालबालिका स्कुल जानबाट वञ्चित भएको कुरामा सरकार बेखबर छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता महेन्द्र पराजुली भने यसबारे जानकार नभएको बताउँछन् । उनले जहाँ जहाँ होल्डिङ सेन्टर छ त्यहीँको स्थानीय सरकारको जिम्मेवारीमा पर्ने बताए । ‘सबै बालबालिकाले अनिवार्य र निःशुल्क शिक्षा पाउने कुराको सुनिश्चितता गर्नु तिनै तहका सरकारको दायित्व हो । विशेष गरी आधारभूत र माध्यमिक तहको शिक्षाको जिम्मेवारी स्थानीय सरकारको हुने र आफ्नो क्षेत्रभित्रका बालबालिका विद्यालय गए/नगएको बारे उनीहरू नै बढी जिम्मेवार र जानकार हुनुपर्छ । हामीले उनीहरूसँग त्यसरी नै समन्वय गरेका छौँ,’ पराजुलीले भने ।सबै बालबालिकाले अनिवार्य र निःशुल्क शिक्षा पाउने कुराको सुनिश्चितता गर्नु तिनै तहका सरकारको दायित्व हो । विशेष गरी आधारभूत र माध्यमिक तहको शिक्षाको जिम्मेवारी स्थानीय सरकारको हुने र आफ्नो क्षेत्रभित्रका बालबालिका विद्यालय गए/नगएको बारे उनीहरू नै बढी जिम्मेवार र जानकार हुनुपर्छ ।
तर बनेपा नगरपालिकालाई पनि संघीय सरकारले समन्वय गरेको छैन । बालबालिकाहरू विद्यालय गए नगएको बारे कुनै जानकारी नभएको बनेपा नगपरपालिका प्रमुख शान्तिरत्न शाक्यले बताए । ‘हामीसँग कुनै समन्वय गर्ने काम भएको छैन । विद्यार्थीहरूलाई अहिले नजिकका स्कुलमा हाल्यो भने स्कुलकै रिजल्ट बिग्रन्छ । भवनहरू पनि नपुग्न सक्छ,’ शाक्यले कान्तिपुरसँग भने ।
विस्थापित वस्तीका बालबालिकाहरू कुन कुन स्कुलमा पढिरहेका छन् भन्ने तथ्यांक सरकारसँग छैन । काठमाडौं महानगरपालिकाले भने प्याब्सन र एनप्याब्सनसँग सहकार्य गरेर कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरका रहेका १६ जना बालबालिकालाई निजी विद्यालयमा र बाँकी विद्यार्थीलाई नजिककैको सरकारी विद्यालयमा व्यवस्थापन गरेको छ । यद्यपि, सरकारी विद्यालयमा पढिरहेका विद्यार्थीको भर्ना भने अहिलेसम्म भएको छैन ।
नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा रहेका बालबालिकाहरू पनि नजिककैको कालिका माध्यमिक विद्यालयमा गइरहेको सोही होल्डिङ सेन्टरमा बसिरहेका इन्द्रबहादुर थापाले बताए । ‘यहाँ १७ बालबालिका छन् । सरकारीमा अहिले ११ जना छन् । कोही आफन्तकोमा बसेर पहिले पढेको ठाउँमा पढ्न फर्के । कोही डेरामा बसेर पढ्न फर्किए । बाँकी चाहिँ यहीँको स्कुल गएका छन्, ’ थापाले भने, ‘उनीहरूलाई कापी कलम दिइएको छ । ड्रेसचाहिँ छैन । भर्ना पनि गरिएको छैन ।’
भक्तपुर खरिपाटीस्थित विद्युत् तालिम केन्द्रका बालबालिका पनि त्यहीँको सामुदायिक विद्यालयमा गइरहेको सोहि होल्डिङ सेन्टरमा रहेका पवन गुरुङले बताए । ‘यहाँ करिब २२-२३ जना बालबालिका सरकारी विद्यालय गइरहेका छन् तर उनीहरूमध्ये कसैको पनि भर्ना भएको छैन । भर्ना नहुँदा अभिभावहरू पनि चिन्तामा छन्, ’ उनले भने ।
बल्खुमा रहेको जनविकास माविमा कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरू पढ्न जान्छन् । तर त्यहाँ पनि अहिलेसम्म विद्यार्थीहरूको भर्ना लिएको छैन । ‘अहिलेसम्म भर्ना नहुनुको कारण उनीहरूको परिवार कहाँ जाने भन्ने टुँगो नभएर हो । तर महानगरले यहाँ आइतवरबाट चाहिँ भर्नाका लागि सहजीकरण गरेको छ । अब जति छन् उनीहरूको यहीँ भर्ना हुन्छ,’ विद्यालयका प्रधानाध्यापक अनिलकुमार झाले भने ।
सुरुमा उक्त विद्यालयमा कीर्तिपुर होल्डिङ सेन्टरका ५८ जना बालबालिकाको नाम प्राप्त भएको थियो । तर सुरुको दिनमा ४१ जना विद्यार्थी मात्र हाजिर भएको झाले सुनाए । ‘विद्यालय सुरु भएको ४-५ दिनपछि हामीले किताब बाँड्यौँ । लगभग २०-२५ दिनसम्म बालबालिकाहरू नियमित आए । त्यसपछि घट्न थाले,’ उनले भने ।
काठमाडौं महानगरपालिकाले १६ जना बालबालिकाहरूलाई प्याब्सन र एनप्याब्सनसँग सहकार्य गरेर विभिन्न निजी विद्यालयहरूमा होस्टेलको व्यवस्थासहित अध्ययनका लागि पठाएको थियो । प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टका अनुसार १६ विद्यार्थीहरूलाई पेप्सीकोलास्थित नेक्सस स्कुल, गेटवे एकेडेमी, जोरपाटीस्थित भेनस स्कुल, कालोपुलस्थित हेम्स स्कुल, बुद्धनगरस्थित इनोभेटिभ स्कुल, कपनस्थित भ्याली पब्लिक स्कुल, मनमैजुस्थित एन्जेल हार्ट स्कुल र नागार्जुनस्थित केबीसी स्कुलमा भर्ना गरिएको छ । अध्यक्ष भट्टका अनुसार केही बालबालिका भने होस्टल बस्न नसकेर भागेर होल्डिङ सेन्टर फर्केका थिए । ‘भेनस स्कुल र नेक्सस गरी २ जना विद्यार्थी भागेको भन्ने खबर पाएका थियौँ । फलो अप गर्न बाँकी छ,’ भट्टले भने ।बस्ती विस्थापनपछि कुन बच्चा कहाँ छन् भन्ने कुराको रिपोर्टिङ तयार पार्नका लागि एक चरण तथ्याङ्क सङ्कलन गरिएको थियो । तर अहिले अवस्था फरक हुनसक्छ ।
बल्खुकै जनविकासमा पनि अहिले विद्यार्थी संख्या घटेको छ । अहिले नियमित आउनेमा १२–१३ जना मात्रै रहेको प्रधानाधायापक झाले बताए । ‘बच्चाहरूमा कहिलेकाहीँ विद्यालय आउन नखोज्ने र घर जान खोज्ने प्रवृत्ति पनि देखिन्छ । केहीले त ममीलाई फोन गरेर 'सन्चो भएन, घर आउँछु' भनेर जिद्दी गरेको पनि हामीले पायौँ । तर हामीले उनीहरूलाई विद्यालयमा घुलमिल गराउन ड्रेस, ट्रयाक सुट, किताब र खाजाको पनि व्यवस्था गरेका छौँ,’ उनले भने ।
विद्यार्थीहरू घट्नुको अर्को कारण भने उनीहरू नियमित पढिरहेका स्कुलमा फर्किनु पनि रहेको झाले बताए । कान्तिपुरकर्मी गत सोमबार कीर्तिपुर होल्डिङ सेन्टर पुग्दा केही बालबालिका विद्यालय नगएको गुनासो अभिभावकहरूले गरेका थिए । ११ जना वर्षीय सिजन जनविकास मावि जान्थे । पछिल्लो समय उनी स्कुल जान छाडेका थिए । उनकी हजुरआमाले गुनासो गर्दै भनेकी थिइन्, ‘यहाँ हाम्रो राम्रो वातावरण छैन । पढ्ने अवस्था पनि छैन । त्यही भएर पनि बच्चाहरू स्कुल जान मान्दैनन् । गत सोमबार त समयमै खाना नआएका कारण थुप्रै विद्यार्थी स्कुल गएका थिएनन् ।
काठमाडौं महानगरपालिकाले कीर्तिपुर होल्डिङ सेन्टरहमा रहेका विद्यार्थीहरूको हकमा आफूहरूले व्यवस्थापन गरेको शिक्षा विभागका महाशाखा प्रमुख सुशील सुवेदीले बताए । उनका अनुसार सुरुमा राधाश्वामीमा ६६ परिवार थिए । ती परिवारमध्येका जति बालबालिका सम्पर्कमा थिए, कति अभिभावसँग डेरामा र कोही आफन्तकोमा बस्न थाले । त्यति बेला लिइएको तथ्यांकअनुसार ५७ बालबालिकामध्ये कोही थापाथलीस्थित विश्व निकेतमा पढिरहेका छन् । कोही थापाथलीको गुह्वेश्वरी मावि र कोही बबरमहलस्थित निजी विद्यालयमा पनि पढिरहेका छन् । ‘बाँकी ४४ जना बालबालिकामध्ये १६ जना होस्टलमा र बाँकीलाई जवविकासमा व्यवस्थापन गर्यौं,’ उनी भन्छन् । पछिल्लो तथ्यांक महानगरसँग पनि नभएकाले थप फलोअप गरेर अपडेट लिनुपर्ने सुवेदीले बताए ।
सरकारसँग पनि पछिल्लो तथ्यांक छैन । होल्डिङ सेन्टरभित्र र बाहिर कति बालबालिका छन् भन्ने पछिल्लो तथ्यांक पनि नरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता महेन्द्र पराजुलीले बताए । ‘बस्ती विस्थापनपछि कुन बच्चा कहाँ छन् भन्ने कुराको रिपोर्टिङ तयार पार्नका लागि एक चरण तथ्याङ्क सङ्कलन गरिएको थियो । तर अहिले अवस्था फरक हुनसक्छ । अब हामी छिट्टै अहिलेको अवस्थाको पनि अपडेट गर्छौं,’ उनले भने ।
विद्यालय जान नपाएका बालबालिकाको हकमा पनि अपडेट रहेर आफूहरूले त्यसका लागि कदम चाल्ने पराजुलीले बताए । भर्नाको विषयमा पनि होल्डिङ सेन्टरमा रहेका बालबालिकाको स्थायी बसोबासको टुङ्गो नलागेसम्म उनीहरूलाई नजिकैको विद्यालयमा भर्ना गराउन समन्वय गर्ने योजना सुनाउँदै उनले भने, ‘यदि भविष्यमा उनीहरू अर्को ठाउँमा सरेमा, अहिले गरिएको भर्नालाई सरकारी सिस्टममार्फत नै सार्ने प्रबन्ध मिलाउँछौँ ।’
