जन्मजात बोल्न र सुन्न नसक्ने कृष्ण थापा पोखराका धेरैका लागि परिचित नाम हो । उनको मेहनत र संघर्ष उदाहरणीय कर्म बनिरहेको छ ।
What you should know
काठमाडौँ — अधिकांश मानिस दिनको सुरुवात गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा भने पत्रिकाको थाक बोकेर पोखराका सडक चहार्न थालिसकेका हुन्छन् । नयाँबजार, न्युरोड, चिप्लेढुंगा, पृथ्वीचोक, सिर्जनाचोक, लेकसाइड, रत्नचोक हुँदै राष्ट्रबैंक चोक, बिरौटा र पुरानो एयरपोर्ट उनको दैनिक रुट हो । जहाँका चोक र गल्लीहरुमा १३ वर्षदेखि उनी पत्रिका बेचिरहेका छन् ।
उनी जन्मजात बोल्न र सुन्न नसक्ने शारीरिक अपांगता हुन् । उनको मेहनत र दृढ इच्छाशक्ति धेरैका लागि उदाहरणीय कर्म बनिरहेको छ । संघर्ष, आत्मविश्वास र आत्मनिर्भरताले भरिएको उनको कथा धेरैका लागि विशेष बनेको छ ।
पोखराको बगाले टोलमा सामान्य परिवारमा जन्मिएका कृष्ण जन्मजात नै बोल्न र सुन्न सक्दैनथे । शारीरिक रूपले समेत अपांग रहेका उनले सानैदेखि कसैसँग संवाद गर्न सकेनन् । ७ वर्षको उमेरसम्म त राम्रोसँग खाना खानसमेत खान नसकेको उनले आफ्नै माध्यमबाट सुनाए ।
उनी २० वर्षका थिए । घरमा यत्तिकै बस्नुभन्दा केही काम गर्छु भन्ने विश्वासका साथ पत्रिका बेच्ने सोच बनाए । त्यसपछि उनले पोखराका विभिन्न स्थानमा पत्रिका लिएर पुग्न थाले । सुरुवाती दिन पत्रिका सबै बिक्दैनथ्यो । दिउँसोभरि घामपानी नभनी दौडिँदा पनि उनलाई घाटा लाग्थ्यो । तर परिवारका सदस्यले नै पैसा थपेर प्रोत्साहन गर्थे ।
विस्तारै कृष्णको संघर्षप्रति मान्छेहरुको सहानुभूति र साथ बढ्न थाल्यो । किराना पसल, रेस्टुँरादेखि लिएर विभिन्न व्यवसाय गर्नेहरुले नियमित रुपमा उनका पत्रिका किन्न थाले । ‘सबैले त्यसरी नै काम गर्नुपर्छ है भनेर हौसला दिनुभयो । हातको इसारामा बोलाई बोलाई पत्रिका किन्न थाल्नुभयो । त्यसपछि मलाई आफ्नो काममा अझ खुसी लाग्न थाल्यो,’ ३३ वर्षका कृष्णले भने । सुरुमा २५ वटा बेच्न पनि निकै गाह्रो हुन्थो उनलाई । अहिले २ सयभन्दा बढी पत्रिका बेच्ने गरेको सुनाउँछन् ।
पोखराको बगाले टोलस्थित बहिरा स्कुलमा सामान्य लेखपढ गरेका उनी सामाजिक सञ्जाल चलाउन, हिसाब गर्न सक्षम छन् । उनी इसारा गरेर, कपीमा लेखेर अनि मोबाइलमा टाइप गरेर ग्राहकहरुसँग संवाद गर्छन् । ‘सुरुमा धेरैलाई मसँग बोल्न गाह्रो भए पनि अहिले संकेत र इसारामै बोल्नुहुन्छ,’ उनले भने ।
परिवारसँग लेखनाथ–२६ जलधारा बस्दै आएका उनी हरेक बिहान ४ बजे उठ्छन् । ६ बजेभन्दा अगाडि नै आफ्नो कामका लागि घरबाट निस्कछन् । कहिले आफ्नो दाइसँग त कहिले सार्वजनिक यातायातमा पोखरासम्म आउँछन् । नयाँबजारमा रहेको ‘समाधान राष्ट्रिय दैनिक’ पुग्छन् र त्यहाँबाट पत्रिका हातमा र केही झोलामा लिएर गन्तव्यतर्फ लाग्छन् । बिहानको खाना र दिउँसोको खाजा होटलमै खान्छन् । समाधान पत्रिकाले पनि अरुलाई भन्दा कृष्णलाई केही छुट दिने गरेको छ ।
महिनामा १० देखि १२ हजारसम्म कमाइ हुने उनले सुनाए । आम्दानीको केही रकम उनी बचत गर्छन् ।
‘पहिला पोखरामा हुँदा पत्रिका किन्नेहरु कतिपय विदेश गइसक्नुभएको छ, नेपाल आउँदा सम्झेर मसँग फोटो खिच्नुहुन्छ,’ उनले खुसी साटे, ‘सबैले यसरी सम्झँदा मैले गरेको काम राम्रो भएछ भन्ने लाग्छ ।'
पत्रिका बेचेर सकेपछि उनी माइक्रो चढेर घर फर्कन्छन् । घर पुग्दा बेलुकाको ६ बजिसकेको हुन्छ । आफ्ना दिउँसोका सबै कुरा संकेतमार्फत परिवारलाई सुनाउँछन् ।
केही वर्ष अगाडिसम्म उनी पत्रिका बेचेर सकेपछि बिहान १० बजेबाट ‘बौद्धिक अपांगताका अभिभावक संघ’ मा गएर अध्ययन गर्थे । पत्रिका बेचेको कमाइले पढ्न आवश्यक सामग्री र पढाइ खर्चसमेत बेहोरे । अहिले भने उनी आफ्नो समय पत्रिका बेच्नलाई मात्र दिन्छन् ।
सार्वजनिक यातायात चढ्ने क्रममा केही दिनअगाडि उनीमाथि दुर्व्यवहार भयो । उनले सांकेतिक भाषामार्फत फेसबुकमा भिडियो राख्दै आफूले भोगेको कुरा राखे । त्यसपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्यो । ‘प्राय: सबै माइक्रोले रोक्ने र म पुग्ने गन्तव्यसम्म छोड्ने गर्थे । केही दिनअगाडि एक माइक्रोले अपांग देखेकै कारण रोकेन,’ उनले भने, ‘सामाजिक सञ्जालमा राखेपछि सबैले मेरो लागि आवाज उठाउनुभयो । साथ दिनुभयो ।’
आफूले मात्र नभएर कुनै पनि अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायात वा सार्वजनिक स्थानमा कुनै किसिमको नराम्रो व्यवहार नहोस् भन्ने चाहन्छन् उनी ।
आमा र परिवारका अन्य सदस्यको सहयोगले गर्दा काम गरेर खान सक्ने भएकोमा उनलाई गर्व लाग्छ । दाइका छोराछोरीको निकै माया लाग्ने उनले सुनाए ।
पोखरा सिर्जनाचोक घर भएका ‘त्रिशक्ति पार्टी प्यालेस’ का सञ्चालक ३० वर्षीय सञ्जीव बराल ९/१० समयदेखि कृष्णका ग्राहक हुन् । ‘सक्ने मान्छेले जे काम गरेर पनि खान सक्छन्,' उनले भने, ‘कृष्णले मेहनत गरेको देख्दा खुसी लाग्छ ।’ कृष्णलाई पर्दा हरेक तरिकाले उनले सहयोग गर्दै आएका छन् । ‘लामो समय भयो संगत गरेको, त्यसैले कृष्णले हरेक कुरा भन्छन् । अहिले हामी मिल्ने साथी हौं,’ उनले भने, ‘फेसबुकमा उनका भिडियो बनाएर राख्दिने काम मैले नै गरेको छु ।’
सुरुवाती दिनमा कृष्णसँग बोल्न गाह्रो भए पनि अहिले भने सांकेतिक भाषामार्फत नै बोल्ने गरेको सञ्जीवले सुनाए । ‘प्राय: संकेतबाटै कुरा हुन्छ । तर कतिपय मोबाइलमा टाइप गरेर, कपीमा लेखेर कुरा गर्छौं,’ उनले भने ।
कृष्णकी भाउजू लक्ष्मी थापा उनको मेहनत देखेर छिमेकमा समेत प्रशंसा हुने गरेको सुनाउँछिन् । ‘बाबु पहिल्लैदेखि मेहनती हुनुहुन्थ्यो । घरमा आफ्नो काम आफै गर्नुहुन्छ,' उनले भनिन्, ‘छिमेकी, आफन्तले सानैदेखि कृष्ण अरुजस्तो छैनन्, मेहनती छन् भन्नुहुन्थ्यो । घरमा कसैको जन्मदिन छ भने बेलुका आउँदा केक, कपडा आफै लिएर आउनुहुन्छ ।’
बिहे भएर भित्रिएपछि लक्ष्मीलाई कृष्णले सांकेतिक भाषाको किताब दिएका थिए । त्यही अध्ययन गरेर आफूले सांकेतिक भाषा प्रस्ट बुझ्न सक्ने भएको उनले बताइन् । लक्ष्मी परिवारमा अरुले भन्दा राम्रोसँग सांकेतिक भाषा बुझ्छिन् । त्यसैले कृष्ण केही काम पर्नेबित्तिकै आफ्नी भाउजूलाई सुनाउँछन् ।
‘केहि काम परेर, सन्चो नभएर पत्रिका बेच्न जानुभएन भने धेरैले आज कृष्ण किन आएनन्, सन्चो भएन कि भन्दै फोन गर्नुहुन्छ,’ उनले भनिन् ।
पोखराका सडक र गल्लीमा पत्रिका बेच्दै हिँड्ने कृष्ण धेरैका लागि परिचित अनुहार बनिसकेका छन् । पत्रिका बिक्रेताका रूपमा मात्र होइन, उनको परिचय कठिन परिस्थितिसँग हार नमान्ने संघर्षशील व्यक्तिका रुपमा पनि बनिसकेको छ । भविष्यमा किराना पसल र पशुपालन गर्ने सपना बोकेका कृष्ण भन्छन्, 'मेरा लागि हरेक बिहान नयाँ आशा बोकेर आउँछ । त्यसले मलाई काम गर्न ऊर्जा दिइरहन्छ ।'
