चिया कमानका ‘पानीवाला’

कमान क्षेत्रमै रहेको ट्युबेलबाट पानी भर्ने र चिया श्रमिकलाई पिलाउने उनीहरूको मुख्य काम हो । गर्मीका बेला त कहिलेकाहीँ दिनभरि नै पानी ओसार्नुपर्छ ।

जेष्ठ २३, २०८३

पर्वत पोर्तेल

The 'waterman' of the tea plantation

What you should know

झापा — झापा, मेचीनगर-१५ को कालिका चिया कमानमा ३४ वसन्त बिते, ५८ वर्षीय परमान मुर्मुका । १५ वर्षदेखि कम्पनीले उनको काँधमा फरक जिम्मेवारी सुम्पिएको छ– श्रमिकको तिर्खा मेट्ने ।  

कुच्चिएका र मैला सिल्भरका ४ घैला र उस्तै ४ मग बोकेर उनी श्रमिकको तिर्खा मेट्छन् । कमान क्षेत्रमै रहेको ट्युबेल (कल) बाट पानी भर्ने र चिया श्रमिकलाई पिलाउने उनको मुख्य काम हो । करिब सय श्रमिकलाई उनी दैनिक सय लिटर हाराहारी पानी पिलाउँछन् । 

‘दिनमा ४-५ पटक पानी पिलाउनुपर्छ,’ मुर्मुले सुनाए, ‘गर्मी बढेका बेला त ९- १० पटक नै पुग्छ ।’

कम्पनीमा पानी पिलाउने अलग्गै दर्जा नै हुन्छ । विगतमा दुईजना ‘पानीवाला’ हुन्थे, जतिबेला श्रमिकको संख्या अत्यधिक हुन्थ्यो । अहिले मुर्मु एक्ला छन् । श्रमिकको कटौतीसँगै पानीवाला पनि दुईबाट एक बनाइयो । 

मुर्मु जागिरमा कालिका चिया कमानभन्दा एक वर्ष कान्छा हुन् । २०४८ मा कमान सुरु भयो । उनी भर्ती भए २०४९ मा । 

त्यसअघि उनी अलि मास्तिरको भिन्डी बस्ती आसपास बस्थे । हल्दिबारीको पाराखोपीमा जन्मिए । २०२७–२०२८ सालमा बुबासँग काम खोज्दै तत्कालीन ज्यामिरगढी गाविस आइपुगे । ‘पहिला यहाँ ठूलो जंगल थियो,’ उनी विगत सम्झिन्छन्, ‘जंगल फाँडेर धान खेत बनाइयो । अहिले धान मासेर चिया ।’ 

उनले पहिला धान खेतमा पनि पसिना बगाए । बगान सुरु भएपछि धान छाडेर चिया रोप्न लागे । 

कम्पनीले छाप्रो पनि बनाइदियो । त्यहीँ बिहे गरे । ३० वर्षभन्दा वढी समयदेखि उनी कम्पनीकै छाप्रोमा आश्रित छन् । उनको न घर छ, न जमिन नै । छोरा–छोरीको बिहे छाप्रैबाट गरे । उनकी श्रीमती पनि पत्ती टिप्छिन् । 

२०५५ सालमा उनी जागिरमा स्थायी भए । अव अवकाश हुन दुई वर्षजति छ । सातामा ३३ सयभन्दन बढी पारिश्रमिक उनी बुझ्छन् । दुई सय सञ्चयकोषमा काटिन्छ । श्रीमतीले पनि दुई हजार आसपास बुझ्छिन् ।

अवकाशपछि सञ्चयकोषबाट पाउने पैसा थापेर आनन्दले बाँच्ने उनको सपना छ । ‘यत्रो समय कम्पनीका लागि रगत–पसिना बगाइयो, अब आफ्नै लागि केही गर्ने’, उनी हस्यौली गर्छन्, ‘तर, यो उमेरमा के गर्ने थाहा छैन ।’

०००

मेचीनगर ७ मा छ, राज टि इस्टेट । ३५ वर्षदेखि शिवन कँवरको पसिना त्यही टि इस्टेटमा सिञ्चित हुँदै आएको छ । उनी टि इस्टेटका सुरुका श्रमिकमध्ये पर्छन् ।

The 'waterman' of the tea plantation

उनले यो कमानमा नगरेको केही छैन । कहिले गोडमेल गरे, कहिले ढालफाँड त कहिले नाला खने । बेलाबेला पत्ती पनि टिप्नुपर्थ्यो । अहिलेचाहिँ पानी बोकेर श्रमिकको तिर्खा मेट्छन् । त्यसअघि विषादी छिट्थे ।

‘लामो समय दबाई छिट्दा आफै बिरामीझैं भएँ,’ ५८ वर्षका कँवरले सुनाए, ‘एक वर्षदेखि पानी बोक्दै छु ।’ 

उनी परमानले झैं भारमा बोक्दैनन्, साइकलमा बोक्छन् । त्यसैले परमानको जस्तो गाह्रो उनलाई छैन । घैला भर्छन् र साइकलमा लोड गर्छन् । जहाँ जहाँ श्रमिक छन्, त्यहाँ पुगेर पानी पस्किन्छन् । ‘मौसम हेरेर पानीको खपत हुन्छ,’ उनले भने,‘जाडोमा कम, गर्मीमा धेरै ।’ 

गर्मीका बेला त कहिलेकाहीँ उनी दिनभरि नै पानी ओसारिरहन्छन् । करिब सय श्रमिकको तिर्खा मेट्न हरदम खटिरहन्छन् ।

उनकी श्रीमती पनि पत्ती टिप्छिन् । तीन छोरामध्ये दुई साउदीमा छन् । कान्छो माल्टा उठे गत वर्ष । ‘अब दुई वर्षजति जागिर बाँकी छ,’ उनले भने, ‘जागिरपछि हातखुट्टा चलेछ भने गरिखाने हो नत्र सुतीसुती खाने ।’

धुलाबारीमा जन्मिएका उनी एकपटक चिया कमानमै काम गर्न मेची तरेर नक्सलबारी नजिकैको पानीघट्टा पुगेका थिए । तर, त्यहाँ धेरै समय टिक्न सकेनन् । अन्ततः फर्किए । त्यसपछि बर्ने चिया कमानकी महिलासँग विहे गरे । त्यसयता उनी राज टि इस्टेटमा निरन्तर पसिना बगाइरहेका छन् । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully