बागलुङको तमानखोला–३ स्थित तमान गाउँको सामाजिक, सांस्कृतिक व्यवस्थापन र गोठ सार्ने चलनमा अझै मुखियाको महत्वपूर्ण भूमिका हुने गरेको छ ।
What you should know
बागलुङ — राणाकालमा मुखिया प्रथाको व्यवस्था थियो । मुस्ताङमा अहिले पनि मुखिया प्रथाको चर्चा हुने गर्छ । चर्चा नभए पनि बागलुङको तमानखोला गाउँपालिका–३ तमानगाउँमा यो प्रथा अझै कायम छ ।
अहिले कायम मुखिया प्रथा तत्कालीन बेलाको जस्तो नभइ गाउँलेलाई विभिन्न काममा साथ र सहयोग गर्ने परम्परा हो । विशेषगरी तमान गाउँमा मनाइने चाडपर्व व्यवस्थित बनाउने, गोठ सार्दा ‘सरुन’ हेरिदिने, ऋतु अनुसार गोठ र चरिचरनको व्यवस्थापन गराइदिने काममा मुखियाको महत्त्वपूर्ण हात हुने गरेको छ ।
कसैले जथाभावी पशु चरन गर्ने, तोकेको नियम उल्लंघन गर्ने र तिथिमितिलाई बेवास्ता गरी थिति बसाल्ने काममा अबरोध गरेमा मुखियाले कारवाही समेत गर्न सक्छन् । त्यसकालागि गाउँभेलाबाट हरेक ३ वर्षकालागि मुखिया छान्ने चलन छ । ४६ वर्षीय गोबिन्दबहादुर बुढा तमान गाउँकालागि यतिबेलाको तीन वर्षे मुखिया हुन् । गत वर्षको पुसमा उनी मुखिया चुनिएका थिए । उनको कार्यकालमा गाउँमा कुनै पनि थिति बिगार्ने प्रयास भएमा उनले नै कारवाही गर्छन् ।
गाउँ सरसफाइ, सामूहिक काम, खेतीपाती लगाउने, भित्र्याउने जस्ता काममा पनि उनले अगुवाई गर्छन् । उनको आग्रहमा गाउँका कटुवाल रुपलाल बुढाले घोक हाल्छन् । उक्त घोकको आधारमा गाउँलेले तोकेको काम गर्नुपर्ने नियम छ । भेला, बैठकमा पनि उनकै आदेशमा उपस्थित हुनुपर्छ ।
यतिबेला तमान गाउँमा वैशाखे ‘चान’ (पशुचरनको गोठ सार्ने) समय छ । यो असारसम्म रहन्छ । तमान गाउँबाट वैशाख पहिलो साता सरेको गोठ यतिबेला झारे, काफलडाँडा र बिस्फलमा छ । यहाँ अहिले ९ सयबढी चौपाया छन् । त्यसपछि यहाँ साउने चान सुरु हुन्छ । त्यतिबेला ती पशुबस्तुलाई अमिलवन र तमानघाँटीको खर्कमा पठाइन्छ । त्यहाँ असोजसम्म चौपाया चर्छन् ।
कात्तिके चान लगाउने बेला तमान गाउँको आसपासमा चरन सुरु गरिन्छ । त्यो तीन महिना रहन्छ । पुसे चानमा यहाँको तल्लो बेंसीमा गोठ झार्ने गरिन्छ । कतिपयले बोङ्गादोभानसम्म पनि चौपाया चराउँदै झार्छन् । विशेषगरी भेडीगोठलाई बेंसीसम्म झारिन्छ । यतिबेला कोदोको नल, पराल र खर खुवाइन्छ । त्यतिबेला जाडो हुने भएकोले बेंसीमा पशु झरेपछि स्थानीयले घरमा बस्न पाउँछन् । यहाँ वर्षभरीमा चार प्रकारका ऋतुलाई आधार मानेर चान लगाउने अर्थात गोठ सार्ने चलन छ ।
गाईभैंसी, भेडाबाख्रासहित समय अनुसार सार्दै चरन क्षेत्रमा लागिने चलन तमानमा फरक प्रकृतिको छ । यहाँ चान लगाउने र अन्य चाडपर्वसहितको थिति बसाल्नकालागि मुखियाले चलन बसाल्ने गरेका छन् । २०४६ सालको राजनीतिक परिवर्तन अघिसम्म यहाँका मुखियाले कर उठाएर गाउँको विकासमा लगानी गर्थे । स्थानीय तह बनेपछि बैधानिक काम वडाध्यक्षमा सरेको छ । तर परम्परागत विधिकालागि यहाँ नियमित रुपमा मुखिया छान्ने गरिन्छ ।
वडाध्यक्ष झकबहादुर बुढाले नीतिनियम अनुसारको काम गर्नुपर्दा आफ्नो काम भए पनि पुरानो चलनमा मुखियाकै अगुवाई चल्ने गरेको बताए । ‘नीति अनुसारको काम गर्न वडाध्यक्ष, पालिकाका जनप्रतिनिधि चाहिन्छ, थिति बसाल्न मुखियाको नेतृत्व राम्रो छ ।’ गाउँभेलाको निर्णय अनुसार चुनिएका मुखियाको सल्लाहमै सबै काम गरेको उनले बताए ।
तमानखोला–३ तमान गाउँमा मुखिया घरको नमूना अझै बाँकी छ । लामो समयअघि बनेकोले यो घर जीर्ण थियो । गत वर्ष गाउँपालिकाको १० र स्थानीयको ५ लाख संकलन गरी १५ लाख रुपैयाँको लागतमा यो घर मर्मत गरेर चिटिक्क बनाइएको छ । यो घरबाट पश्चिम बागलुङको तमान, लामेला, खुंगा, खुंखानी, नर्जाखानी र लुकुरबन गाउँको साझा मुखियाले शासन गर्थे । अहिले भने त्यो चलन हटेको छ । तमान गाउँमा मात्रै रहने मुखियाको सल्लाहमा गाउँको विकासदेखि अन्य गतिविधि संचालन गरिँदै आइएको हो ।
पहिलो आम निर्वाचनपछि २०१५ सालमा तत्कालीन मुखिया दीर्घनारायण भट्टचन काठमाडौं जाँदा प्रधानमन्त्रीलाई भेटेर फर्केपछि केन्द्रीय बजेट र गाउँलेको श्रमदानबाट यो घर बनेको थियो । ‘मैले देखेको रेकर्ड अनुसार खुंगाका थमबहादुर शेरचन हाम्रो ६ गाउँको पहिलो मुखिया थिए,’ तमानका मनबहादुर बुढाथोकीले भने, ‘उनीपछिका दीर्घनारायण भट्टचनले केन्द्रीय सरकारमा पहुँच पुर्याए ।’ भट्टचन बीपी कोइरालानजिकका थिए । उनकै जोडबलमा २०१६ सालमा यो भवन बनेको उनले बताए ।
यो घरमा तत्कालीन मुखिया बसेर यहाँका ६ वटा गाउँ चलाउने गरेको बुढाथोकी बताउँछन् । बुढाथोकी तमानस्थित धनगौज्योती माविमा ४१ वर्ष शिक्षणपछि निवृत्त शिक्षक हुन् । ‘यो भवनमा अब मुखिया प्रथा त चल्दैन, तर इतिहास बोकेकोले जीर्णेद्धार गरिएको हो,’ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने, ‘परम्परागत र सांस्कृतिक महत्वका सामग्री यहाँ संग्रह गरिन्छ ।’ अहिले भुइँ तलामा कार्यालय र माथिल्लो तलामा पुस्तकालय बनाइएको छ ।
गाउँमा मुद्दामामिला, झगडा, साँधकिलोको समस्या भयो भने मुखियाले छिनोफानो गर्थे । मालपोत कर उठाउने अधिकार पनि उनीहरुलाई नै थियो । ‘पाखोबारी, खेत र घरधुरीकर उठाउने अधिकार मुखिया प्रथामा थियो’ धवलागिरि बहुमुखी क्याम्पसका पूर्वप्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले भने, ‘बिभिन्न क्षेत्र तोकेर मुखिया राख्ने, कर संकलन गर्ने तत्कालीन सरकारको नीति अनुसारकै मुखियाघर कतै जीवित छन् ।’ गलकोटस्थित हरिचौर, म्याग्दीको दरवाङ जस्ता स्थानमा पाँच/सात गाउँको मुखिया राखेर कर संकलन गर्ने, मुद्दा मिलाउने जिम्मा सरकारले दिएको उपाध्यायले सुनाए । उनी इतिहास विषयका प्राध्यापक हुन् ।
मुखियाको अगुवाइमा यहाँको सिद्ध पूजा, भूमि पूजा, बराह पूजा, सोरठी पूजा, देवस्थान पूजा समेत हुने गरेको छ । मुखियाको सल्लाह विपरीत गोठ सारेमा भवितब्य आइपर्ने जनविश्वास छ । पशु चौपाया मर्छन्, चितुवा लाग्छ भन्ने विश्वास छ । गोठ सार्दा चितुवाको ख्याल गर्नुपर्ने स्थानीय भेडीगोठाला भीमबहादुर रोकाले बताए । ‘गोठ सार्दा मुखियाको सल्लाह अनुसार सरुन छल्नुपर्छ,’ रोकाले भने, ‘पशु चौपाया बिरामी भए पनि मुखियाको सल्लाह अनुसार भूमिपूजा गरिन्छ ।’ यहाँ चैतेदसैं, वैशाख पूर्णिमालगायतको समयमा मेला महोत्सव समेत भइरहन्छ । ती मेलामहोत्सवकालागि व्यवस्थापनमा मुखियाले अग्रणी भूमिका खेल्छन् ।
