आवाज नसुने पनि जसका सपना बोले

२०२३ मा स्थापना भएको केन्द्रीय बहिरा माविबाट २०५५ देखि विद्यार्थीले एसएलसी/एसईई दिँदै आएका छन् । विद्यालयबाट हालसम्म ५३० जना एसईई उत्तीर्ण भइसकेका छन् । यस वर्ष एसईईमा सहभागी सबै २१ विद्यार्थी ‘ग्रेडेड’ ।

जेष्ठ १, २०८३

आरती पौडेल

Even if you don't hear the voice, the one whose dream spoke

What you should know

काठमाडौं — नक्सालस्थित केन्द्रीय बहिरा माविमा यति वेला खुसीयाली छाएको छ । खुसीको कारण हो, एसईई परीक्षामा सहभागी सबै २१ विद्यार्थी ‘ग्रेडेड’ भए । एसईईको यो नतिजाले  विद्यालय परिसरमा उत्साह छाएको हो ।

संकेतमार्फत पढ्ने, संसार बुझ्ने यहाँका विद्यार्थीको सिकाइ शैली सामान्य विद्यार्थीको भन्दा भिन्न छ । यसकारण पनि उनीहरूले प्राप्त गरेको सफलताको विशेष महत्व र अर्थ छ । आवाजविहीन बालबालिकालाई शिक्षामार्फत आवाज दिन स्थापित विद्यालय सांकेतिक भाषामार्फत सिकाउने साथै, उनीहरूका सपना, आत्मविश्वास र सम्भावनाको सुन्दर थलो बनेको छ ।

एसईई दिएर बसेका १६ वर्षका कुशल कार्की रिजल्ट आउने भनेपछि २८ वैशाखमा सोमबार साँझदेखि नै फुरुङ्ग थिए । उनी परिवारलाई आफूले अनुमान गरेको ग्रेड सुनाउँदै रिजल्ट प्रकाशन हुने समय कुरिरहेका थिए । 

प्रकाशन भएको केही समयमै उनले रिजल्ट हेरे । प्राप्त गरेको ग्रेड देखेर उनी निकै खुसी भए । संकेतमार्फत परिवारलाई खुसी समेत बाँडे । मिहिनेत अनुसारकै फल प्राप्त गरेको कुशलले बताए । ‘सोचेको जति नम्बर आएन तर जे आयो खुसी छु,’ उनले भने, ‘अब ११ र १२ मा अझै राम्रो नम्बर ल्याउने सोच बनाएको छु ।’

परीक्षाको वेला पहिल्यै पढेको कुरालाई दोहोर्याएर पढ्दा सफलता मिलेको कुशल बताउँछन् । ‘पहिला पढेको कुरालाई रिभिजन गर्छु । मलाई कम्प्युटर, अंग्रेजी र गणित विषय पढ्न निकै रमाइलो लाग्छ,’ उनले भने । 

उनले सांकेतिक भाषामार्फत पढ्ने आफूजस्ता विद्यार्थीको लागि राम्रो कलेज खुलोस् भन्ने चाहना राखेका छन् । उनले भने, ‘नेपालमै स्नातकोत्तरसम्म अध्ययन गर्न पाइयोस् भन्ने छ,’ उनले भने ।  

कुशल सानैदेखि नै कान सुन्दैन थिए । सुरुका दिनमा परिवारलाई उनले कान सुन्दैनन् भन्ने थाहा भएन । केही वर्षपछि अस्पताल लैजाँदा कान नसुन्ने रहेछन् भन्ने परिवारलाई थाहा भएको थियो । उनको परिवारले उपचारका लागि धेरै अस्पताल लग्यो तर सम्भव भएन । 

पढाइमा अब्बल कुशललाई सुरुमा सामान्य विद्यालयमै भर्ना गरेको बुबा शिव कार्कीले बताए । त्यस वेला कुशलले असहज महसुस गरेपछि सांकेतिक भाषामार्फत पढाई हुने सिन्धु बहिरा माविमा भर्ना गरेको उनले सुनाए । सिन्धु बहिरा माविमा ८ कक्षासम्म पढेपछि माध्यमिक तह अध्ययनका लागि काठमाडौं आएका थिए । उनी हजुरआमा, हजुरबुबासँग बसेर पढ्दै आएका थिए । कुशलका बुबाआमा दुवैजना शिक्षक हुन् । छोराले ल्याएको नतिजाप्रति परिवार निकै खुसी भएको कुशलका बुबा शिव कार्की र आमा सखीला कार्की बताउँछन् । ‘विशेष क्षमताका र अन्य बच्चाहरूको लागि एउटै प्रश्न पत्र आउने हो । सांकेतिक भाषामा पढेको आधारमा पनि त्यति राम्रो गर्नु खुसीको कुरा हो,’ उनले भने । 

कुशल पढ्नमा निकै रुचि गर्ने गरेको शिवले सुनाए । उनले भने, ‘हामी उसले ल्याएको नम्बरमा खुसी छौँ । अब राम्रोसँग पढ तिमीले ल्याएको नम्बर राम्रो हो । भनेर सम्झाएका छौँ ।’

कुशलले पहिल्यै प्राविधिक शिक्षातर्फ आफ्नो रुचि भएको परिवारलाई सुनाएका थिए । ‘प्राविधिक शिक्षातर्फ कुशलको रुचि छ । ११/१२ सम्मको पढाई जसोतसो भए पनि स्नातकमा प्राविधिकतर्फ खासै कतै पढाई हुँदैन,’ उनले भने, ‘नेपालमा विशेष क्षमता भएका विद्यार्थीले चाहेको पढ्ने स्कुल, कलेज नहुँदा र सरकारले त्यसलाई प्राथमिकतामा नराख्दा दुःख लाग्छ । आउँदा दिनमा त्यो कुरालाई ध्यान दिए हुन्थ्यो भन्ने छ । विशेष क्षमता भएका बालबच्चा कुनै पनि अवसरबाट वञ्चित हुनु हुँदैन ।’

०००

कुशलजस्तै रिन्यूज श्रेष्ठ पनि एसईईमा ‘ग्रेडेड’ भएपछि निकै खुसी देखिन्छन् । सांकेतिक भाषामार्फत नै उनी परिवारसँग खुसी बाँडिरहेका छन् । १८ वर्षीय रिन्यूजले पनि केन्द्रीय बहिरा माविमा पढेका हुन् । चितवनमा जन्मेका रिन्यूजले कक्षा ३ देखि संकेतमार्फत पढ्न सुरु गरेका थिए । सुरुमा असहज भए पनि बिस्तारै सांकेतिक भाषाले उनको जीवन सहज बन्दै गएको बताउँछन् । 

‘सोचेअनुरूप रिजल्ट आएकोमा निकै खुसी लागेको छ । मैले गरेको मिहिनेतको फल प्राप्त गरेको छु,’ उनले भने, ‘परीक्षाका बेला कक्षामा पढ्दा तयार पारेका नोटहरू हेर्थे । त्यहि पढाउने सर–म्यामहरूले भनेका कुराहरू सम्झन्थे ।’ रिन्यूज कम्प्युटर अध्ययन मन पर्ने र त्यहि क्षेत्रमा लाग्ने बताउँछन् । 

उनी बहिरा विद्यार्थी पढ्नका लागि नेपालमै सुविधा सम्पन्न विश्वविद्यालय भइदिए हुन्थ्यो भन्ने चाहन्छन् । ‘मलाई कम्प्युटर विषय मन पर्छ । यसबारे ज्ञान पनि लिइरहेको छु । आईटी पढेर स्वदेशमै काम गर्ने योजना छ,’ उनले भने, ‘तर सांकेतिक भाषामार्फत आइटी पढ्न चाहनेहरूका लागि नेपालमा कलेज छैन । सरकारले त्यसको व्यवस्था गरिदिए म जस्ता धेरै साथीको सपना पूरा हुन्थ्यो ।’

अहिलेसम्म सांकेतिक भाषामार्फत पढ्ने विद्यार्थीको लागि सोचेअनुरूप विषय नभएको, साथै कलेजहरूले पनि प्राथमिकतामा नराखेको उनको गुनासो छ । 

रिन्यूजकी ममी मञ्जु श्रेष्ठ पनि छोराले गरेको प्रगतिमा निकै खुसी छिन् । ‘हामी त निकै खुसी छौँ । छोरालाई पढाउनकै लागि चितवन छोडेर काठमाडौं आयौं,’ उनले भनिन्, ‘अबका दिनमा पनि उसले चाहेअनुरुप पढाउने सोच छ ।’ रिन्यूजको अंग्रेजी र लेखाइ निकै राम्रो छ । 

०००

सांकेतिक भाषामै अध्ययन गरेकी १६ वर्षीया सुजिना लोले एसईई पास भएपछि निकै खुसी लागेको सुनाइन् । ‘पास भएको खबर सुरुमा ममी र बाबालाई सुनाए । मभन्दा बढी उहाँहरू खुसी हुनुभयो,’ उनले भनिन् । अब ११/१२ पढ्दै केही काम पनि गर्ने सोच रहेको उनले बताइन् । ‘पास भए खुसी लागेको छ । अब प्लसटु राम्रोसँग पढ्ने सोचमा छु,’ उनले भनिन्, ‘प्लसटु पढ्दै क्याफेमा काम गर्ने सोच छ । आफ्नै देशमा बसेर पढ्ने र जागिर खाने सपना छ,’ उनले भनिन् ।  

छोरीले प्राप्त गरेको नतिजाप्रति खुसी लागेको उनका बुबा भीमबहादुर लो बताउँछन् । ‘सानैदेखि सुजिनाले कान सुन्दिनन् थिइन् । अस्पताल लगेर धेरैपटक जचाउँदा पनि ठिक भएन,’ उनले भने, ‘त्यसपछि अब छोरीको पढाई के होला भन्ने थियो । हातको संकेतकै भरमा पढेर एसईई पास हुँदा निकै खुसी लागेको छ ।’  

०००

विद्यालयका प्रधानाध्यापक उपेन्द्र पराजुली एसईईमा विद्यार्थीले प्राप्त गरेको नतिजाप्रति खुसी छन् । ‘सामान्य विद्यार्थीको तुलनामा हाम्रा विद्यार्थीमा विषयवस्तुमा ध्यान केन्द्रित गर्ने क्षमता बढी हुन्छ जस्तो मलाई लाग्छ,’ उनले भने, ‘त्यसैले पनि सांकेतिक भाषाको आधारमा पढेर पनि राम्रो नतिजा ल्याउँछन् ।’ 

शिक्षकहरूले विद्यार्थीलाई सिकाउने प्रक्रियाले पनि ठुलो भूमिका खेल्ने उनको भनाइ छ । ‘स्कुलमा पूर्ण रुपले सांकेतिक भाषामार्फत पढाई हुने गर्छ,’ उनले भने, ‘शिक्षकहरूले बुझाउन वैकल्पिक तरीकाका साथै सहज माध्यम प्रयोग गरेर पढाउने हुँदा विद्यार्थीलाई बुझ्न सहज भएको हो ।’

दृश्य सामग्री पर्याप्त मात्रामा भए उनीहरूको सिकाइ प्रक्रिया अझै सहज र गुणस्तरीय हुने पराजुली बताउँछन् । विद्यार्थीको माग र क्षमतालाई  ध्यानमा राखेर विद्यालयले ११ र १२ कक्षामा ‘कम्प्युटर साइन्स’ अनिवार्य विषयका रूपमा राखेको पराजुलीको भनाइ छ । ‘विद्यार्थीहरू दृश्य सामग्री भएका विषय बुझ्न र कम्प्युटर चलाउन निकै सिपालु हुने गरेको उनको अनुभव छ । 

सरकारले बहिरा विद्यार्थी पढ्ने स्कुलका लागि छुट्टै सहयोग नगरेकोमा उनको गुनासो छ । ‘विद्यालयले अन्य सामुदायिक सरकारी स्कुलसरहकै सुविधा पाउने गरेको छ । बहिरा विद्यार्थीको लागि त्योभन्दा विशेष व्यवस्था केही छैन,’ उनले भने । 

यस विद्यालयबाट उत्तीर्ण बहिरा विद्यार्थी विभिन्न विषयका सांकेतिक भाषामा पढाउने शिक्षकदेखि नेपालका पाँचतारे होटल र उद्योग कलकारखानासम्म काम गरिरहेका विद्यालयले जानकारी दिएको छ । 

२०२३ मा स्थापना भएको यो स्कुलबाट २०५५ देखि विद्यार्थीले एसएलसी/एसईई दिँदै आएका छन् । विद्यालयबाट हालसम्म ५३० जना उत्तीर्ण भइसकेका छन् । केन्द्रीय बहिरा माविबाट एसईईमा सहभागी २१ विद्यार्थीमध्ये १३ छात्र र ८ छात्रा थिए । 

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully