सातामा दुई दिन बिदाले बिरामीलाई सास्ती

वीर, प्रसूति, त्रिवि शिक्षण, राष्ट्रिय ट्रमा सेन्टर जस्ता प्रमुख अस्पतालमा सोमबार बिरामीको चाप धेरै, ओपीडीदेखि प्रयोगशाला तथा रेडियोलोजी सेवासम्म दबाब।

वैशाख १६, २०८३

प्रकृति दाहाल

Two days off a week is a pain for patients

What you should know

काठमाडौँ —  

‘न बस्न मिल्छ न त उठ्न नै, निकै बेर भो पालो पनि आएको छैन,’ वीर अस्पतालको टिकट काउन्टर अगाडि सुस्केरा हाल्दै ६० वर्षीया ठूली कान्छीले यति भनिन् र भुइँमा थचक्क बसिन् । घुँडा, जीउ दुख्ने लामो समयदेखिको समस्या देखाउन लैनचौरबाट सोमबार बिहानै छोरीको साथमा उनी अस्पताल आइपुगेकी थिइन् । ९ बजेर ५५ मिनेटमा टोकन लिएकी उनको साढे १२ बजेसम्म पनि पालो आएको थिएन । ‘आज त धेरै बेर पो लाग्ने रैछ त है,’ उनले भनिन् ।

Two days off a week is a pain for patients

काभ्रे स्थायी घर भएकी उनी ८ वर्षदेखि बिरामी छन् । धेरै अस्पताल धाइन्, उपचार गराइन्, थेरापी गराइन् तर दुखाइ कम भएको छैन । सरकारी सस्तो र राम्रो अस्पताल भनेर उपचार गर्न वीरमा आएको उल्लेख गर्दै उनले भनिन्, ‘अस्पतालको भीडभाडले झन् बिरामी होइन्छ कि भन्ने भइसक्यो । पालो कुर्दा त दिन जाने रैछ ।’

गोंगबुका टंकप्रसाद सुवेदी भतिजीलाई उपचार गर्न बिहानै ९ बजे सोही अस्पताल पुगे । करिब ११ बजे टोकन लिएका उनको १ बजेसम्म पनि पालो आएको थिएन । दिनभरि अस्पतालमा बस्नुपरेको उल्लेख गर्दै उनले भने, ‘सामान्य रुघाखोकी लागेर उपचार गराउँदा त यो हालत छ । ठूलो रोग लागेको भए के हुन्थ्यो होला ।’

Two days off a week is a pain for patients

हुन त उनी उपचार गर्न वीर अस्पताल आइरहन्छन् । आइतबार र शनिबार दुई दिनको बिदापछि खुलेको अस्पतालमा भीड बढेको उनले अनुमान लगाए । दुई दिन बन्दले धेरै बिरामी मर्कामा परेको उनको भनाइ छ । महाबौद्धमा कपडाको होलसेल व्यापार गर्दै आएका उनले पसल बन्द गरेर आएको र अस्पतालमा दिनभर बस्नुपर्दा व्यापारमा असर पुगेको सुनाए ।

वीर, प्रसूति, त्रिवि शिक्षण, राष्ट्रिय ट्रमा सेन्टर जस्ता प्रमुख अस्पतालमा सोमबार बिरामीको चाप धेरै, ओपीडीदेखि प्रयोगशाला तथा रेडियोलोजी सेवासम्म दबाब।बौद्धबाट आएका सुशील नाथकी श्रीमतीलाई मिर्गौलाको समस्या छ । जीउ, अनुहार सुन्निने समस्याले उनी एक साता अगााडि वीर अस्पताल जँचाउन आएका थिए । चिकित्सकले भिडियो एक्सरे गराएका थिए । त्यसको रिपोर्ट देखाउन तीन दिनदेखि अस्पताल धाइरहेका छन् । उनी अस्पताल आउँछन्, टोकन लिन्छन् तर पालो आउँदा डाक्टर हिँडिसक्छन् । सोमबार पनि उनले बिहान १० बजे टोकन लिएर टिकट काउन्टरको फलैचामा बसेर दुई घण्टादेखि पालो कुरिरहेका थिए । ‘गरिखाने मान्छेले रिपोर्ट देखाउन ३ दिन धाउनुपरेपछि कसरी गरेर खाने ?’ उनले प्रश्न गरे । 

गत २२ चैतमा सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यसको असर अहिले सरकारी अस्पतालहरूमा देखिन थालेको हो । सरकारको उक्त निर्णयपछि आइतबार अस्पताल सञ्चालन गर्ने कि नगर्ने भन्ने अन्योलबीच ४ वैशाखमा स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल पनि बिदाका दिन बन्द हुने जनाएको थियो । यसले बिरामीहरूले लामो समय कुर्नुपर्ने, समयमा सेवा नपाउने तथा परीक्षणमा ढिलाइ हुने जस्ता समस्या भोगिरहेका छन् । विशेषगरी बिदापछि अस्पताल खुलेको पहिलो दिन बिरामीको चाप अत्यधिक बढ्ने गरेको छ । ओपीडीदेखि प्रयोगशाला तथा रेडियोलोजी सेवासम्म दबाब बढेको चिकित्सक बताउँछन् ।

Two days off a week is a pain for patients

वीर अस्पतालका सिनियर कन्सल्टेन्ट फिजिसियन अनन्तभक्त उप्रेती अहिले दुई दिन बिदाले केही असर गरेको बताउँछन् । तर वीर अस्पतालमा भीडभाड हुनुमा तीन कारण रहेको उनको भनाइ छ । पहिलो, अन्य अस्पतालले स्वास्थ्य बिमा बन्द गरेका छन्, जसले बिरामी बिमाको सुविधा लिन वीरमा आइपुग्छन् । दोस्रो, एउटै बिरामीले फरक फरक विभागको ओपीडी सेवा लिन धेरै पटक टिकट काट्ने हुँदा काउन्टरमा भीड देखिन्छ । तेस्रो, बिरामीलाई उपचार सुविधा पाउने दिनबारे थाहा नहुँदा भीड देखिएको उप्रेतीको भनाइ छ । ‘बिरामीलाई बारअनुसार उपचार पाउनेबारे थाहा हुँदैन, त्यसैले जुनै दिन पनि आउँदा भीडभाड भएको छ,’ उनले भने ।

अस्पतालका सूचना अधिकारी ताराबहादुर कुँवरका अनुसार दुई दिनको बिदापछि सोमबार ओपीडी सेवामा बिरामीको संख्या उल्लेखनीय रूपमा बढ्ने गरेको छ । उनका अनुसार अन्य दिनमा दैनिक ३ देखि ४ हजार बिरामीले ओपीडी सेवा लिने भए पनि सोमबार यो संख्या ५ हजारभन्दा माथि पुग्ने गर्छ । ओपीडी सेवा लिन आएका सबै बिरामीलाई सेवा दिइएको भए पनि यसले अस्पतालमा ठूलो दबाब सिर्जना गर्ने गरेको उनले बताए । ‘अहिलेसम्म ओपीडी सेवा नपाएर बिरामी फर्किनुपरेको अवस्था छैन तर, प्रयोगशाला तथा रेडियोलोजी सेवामा भने अस्पतालले बिरामीको चाप धान्न कठिनाइ भइरहेको छ,’ उनले भने ।

Two days off a week is a pain for patients

ल्याब टेस्ट र रेडियोलोजी परीक्षणमा सीमित मेसिनका कारण ढिलाइ हुने गरेको उनले जानकारी दिए । विशेषगरी एमआरआई जस्ता परीक्षणका लागि बिरामीले लामो समय कुर्नुपरेको उनले सुनाए । एमआरआई गर्ने बिरामीहरूको पालो जेठ महिनासम्म पुग्ने गरेको छ । अस्पताल प्रशासनले बिरामीको बढ्दो चापलाई व्यवस्थापन गर्न सेवा विस्तार, सुधार र जनशक्ति थप्नु आवश्यक रहेको औंल्याएको छ ।

लामो समय कुर्नुपर्ने, समयमा सेवा नपाउने तथा परीक्षणमा ढिलाइ हुने जस्ता समस्या भोग्दै बिरामी।थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दैनिक ७ सयदेखि १ हजारको हाराहारीमा ओपीडीको सेवा लिन पुग्छन् । तर दुई दिनको बिदापछि गत सोमबार बिरामीको संख्या १ हजार ४ सय ५९ पुगेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालकी सूचना अधिकारी रानु थापाले बिदाको भोलिपल्ट बिरामीको संख्या बढेको बताइन् । बिदाले बिरामीको चाप बढे पनि अस्पतालले व्यवस्थापन गरिरहेको उनको भनाइ छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि अन्य दिनभन्दा सोमबार ७ सयभन्दा बढी बिरामी थपिएको अस्पताल प्रशासनको तथ्यांक छ ।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रुद्र मरासिनीले दुई दिनको बिदापछि अस्पतालमा बिरामीको चाप स्वाभाविक रूपमा बढ्ने बताए । ‘ट्रमा सेन्टरमा सामान्यतया दैनिक करिब ७ सय बिरामी आउने गरेकामा बिदापछिको सोमबार थप २ सयभन्दा बढी बिरामी आएका छन्,’ उनले भने । ओपीडी सेवा बिदाका दिनहरूमा बन्द भए पनि इमर्जेन्सी र अपरेसन सेवा भने निरन्तर सञ्चालन हुने भएकाले समग्र सेवा प्रवाहमा ठूलो असर नपर्ने उनले बताए । उनका अनुसार बिदाका कारण रोकिएका बिरामीलाई व्यवस्थापन गर्न आइतबारको ओपीडी सेवा अन्य दिनमा सारेर सञ्चालन गरिएको छ । यसरी सेवा व्यवस्थापन गरे पनि बिरामीको चाप पूर्ण रूपमा सामान्य अवस्थामा फर्काउन करिब एक महिना लाग्ने उनले जानकारी दिए ।

Two days off a week is a pain for patients

आइतबार सरकारी अस्पताल खुलाउने प्रयास भए पनि त्यसका लागि बजेट व्यवस्था नभएकाले सम्भव नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । ‘निजामती सेवामा बिदा हुँदा स्वास्थ्यकर्मीले पनि बिदा मागे,’ उनले भने, ‘सार्वजनिक बिदामा काम लगाउँदा स्वास्थ्यकर्मीलाई सट्टा बिदा वा पैसा दिनुपर्‍यो । त्यो सम्भव नहुँदा असपताल बन्द गर्नुपरेको हो ।’ इमर्जेन्सी, अपरेसन जस्ता आपत्कालीन सेवाहरू चौबिसै घण्टा सञ्चालन भएकाले बिरामीहरूले आपत्कालीन सेवाबाट वञ्चित हुनुपर्ने अवस्था नभएको उनको भनाइ छ ।

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully