४० दिनसम्म निर्वाचन सुरक्षामा खटिएका उनीहरुले देशको सेवा गर्न पाएकामा खुसी व्यक्त गर्दै यो अनुभव आगामी दिनमा सामाजिक क्षेत्रमा उपयोग लगाउने बताएका छन्, निर्वाचन प्रहरीकारुपमा कमाएको पैसाले घरखर्च टार्ने, पढाइ शुल्क तिर्ने र परिवारलाई सहयोग गर्ने उनीहरुले सुनाए।
काठमाडौँ —
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएसँगै करिब डेढ लाख निर्वाचन प्रहरी घर फर्किएका छन् । उनीहरूलाई बिहीबार एकैसाथ देशभरबाट बिदाइ गरिएको हो । ४० दिनसम्म निर्वाचन सुरक्षामा खटिएका उनीहरूले देशको सेवा गर्न पाएकामा खुसी व्यक्ति गर्दै यो अनुभव आगामी दिनमा सामाजिक क्षेत्रमा उपयोग हुने धारणा राखेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १८ वर्षदेखि ५४ वर्ष उमेर समूहका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीमा भर्ना भएका थिए । नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जनालाई निर्वाचन प्रहरीमा भर्ना गरेर खटाएका थिए ।
३ माघमा भर्ना भएर उनीहरूले १० दिनको आधारभूत सुरक्षा तालिम र १ दिनको निर्वाचन सुरक्षा अनुशिक्षण तालिम लिएका थिए । २१ फागुनको निर्वाचन, त्यसअघि र गणना अवधिभर प्रहरी र सशस्त्रको सहयोगी बनेर उनीहरू फिल्डमा खटिएका थिए ।चुनावको सुरक्षामा खटिँदा निर्वाचन प्रहरीले कस्तो अनुभव बटुले ? उनीहरूका आगामी योजना के–के छन् ? यी विषयमा उनीहरूसँग कान्तिपुरले गरेको कुराकानी :
निर्वाचन प्रहरीको जिम्मेवारी सकेर घर फर्केका दम्पती हुन्, चितवनको भरतपुर महानगरपालिका–१४ राधापुरका पुनम न्यौपाने र विष्णुप्रसाद भण्डारी । पुनमले यो निर्वाचनसहित ४ पटक निर्वाचन प्रहरी भएर काम गरिसकेकी छन् । श्रीमान् विष्णुको भने यो दोस्रो अनुभव हो । विष्णु रोजगारीका लागि १५ वर्षसम्म कतारमा काम गरेर केही अगाडि नेपाल फर्किएका थिए । अरू काम नभएपछि घरखर्च जुटाउन निर्वाचन प्रहरी बनेको पुनमले सुनाइन् । उनीहरूका एक छोरा र एक छोरी छन् । दुवै जना स्कुल पढ्दै छन् ।
निर्वाचन प्रहरी हुन पाएकामा उनले खुसी व्यक्त गरिन् । ‘भर्खर घर बनाएका थियौं । पैसा नभएर घरमा खानेपानी जोड्न पनि पाएका थिएनौं । छोराछोरीको स्कुल फी नतिरेको ६ महिना भइसकेको थियो,’ उनले भनिन्, ‘अब आएको पैसाले रोकिएका धेरै काम फत्ते हुन्छन् भन्नेमा खुसी लागेको छ ।’
पुनम अन्य समयमा खेती गर्छिन् । ‘हामीजस्तो जागिर नहुनेलाई खेती किसानी गरेर ४० देखि ४५ हजार कमाउन त गाह्रै छ । त्यसैले चुनाव आउनु अगाडि नै निर्वाचन प्रहरी भएपछि यो काम पूरा गर्छु भनेर सोचेकी थिएँ । केही रोकिएको काम अहिले आएको पैसाले पूरा गर्ने हो ।’ हरेक पटक निर्वाचन प्रहरीको जिम्मेवारीमा हुँदा फरक अनुभव सँगाल्ने गरेको उनले सुनाइन् । ‘हरेक पटक नयाँ नयाँ साथी बन्छन् । सबैले आफ्ना सुखदुःखका कुरा सुनाउँछन्,’ उनले भनिन् ।
सिन्धुली भिमान घर भएकी २२ वर्षीया दिलकुमारी खड्का निर्वाचन प्रहरीको जिम्मेवारी सकेर कोठामा फर्कंदै थिइन् । उनी ललितपुर एकान्तकुनामा कोठा भाडामा लिएर भाइबहिनीसँग बस्दै आएकी छन् । प्लस टुसम्म गाउँकै स्कुलमा पढेकी खड्का २ वर्ष अगाडि जागिर खाने सपना बोकेर काठमाडौं आएकी थिइन् । तर जति खोज्दा पनि भनेजस्तो जागिर नपाएको सुनाइन् ।
दिलकुमारी ब्याचलर पनि पढ्न चाहन्छिन् । तर आर्थिक अवस्था नाजुक भएकाले पढ्न नसकेको उनले सुनाइन् । ‘परिवारमा एक भाइ र पाँच दिदीबहिनी छौं । बाबा बितेको धेरै वर्ष भयो । आमाले किसानी गरेर हामीलाई हुर्काउनुभयो,’ उनले भनिन्, ‘जागिर खाएर आमालाई सघाउने सोच थियो ।’
स्वदेशमै जागिर नपाएपछि उनले विदेश जान कोरियन भाषाको परीक्षा पनि दिइन् । तर सोचेजस्तो परिणाम आएन । यसबीचमा निर्वाचन प्रहरीका लागि भर्ना खुलेपछि उनले पनि आवेदन दिइन् र छनोट पनि भइन् । ‘निर्वाचन प्रहरी भएपछि त नेपालमै बस्छु, यहीं काम गर्छु भन्ने सोच आएको छ । नेपाल प्रहरीमा भर्ना हुन मन छ,’ उनले भनिन् ।
निर्वाचन प्रहरी भएर पाएको पैसामध्ये अलिकति आमालाई घरखर्च पठाउने, कोठा भाडा तिर्ने र कोरियन भाषा सिक्दाको सापटी चुक्ता गर्ने उनले सुनाइन् । निर्वाचनको समयमा उनी काठमाडौं मंगलबजार भीम सेवा बहालमा खटिएकी थिइन् । ‘निर्वाचनको समय केही हुलदंगा हुन्छ कि भन्ने डर लागेको थियो तर केही भएन आनन्द भयो,’ उनले भनिन् ।
यस्तै, मंगलसेन नगरपालिका–४ घर भएकी ५३ वर्षीया राज्य भुलले पनि निर्वाचन प्रहरीका रूपमा काम गरिन् । अहिले घर फर्किएकी राज्यले घर खर्चका लागि पैसा जोह भएकामा निकै खुसी लागेको सुनाइन् । ‘अरू बेला घरमा बस्नेबाहेक केही काम हुँदैन । न पैसा नै हुन्छ । घरखर्च कसरी टार्ने भन्ने हुन्थ्यो । निर्वाचन प्रहरी भएर आएको पैसाले केही महिनाका लागि भए पनि खर्च टर्ने भयो,’ उनले भनिन् ।
निर्वाचन प्रहरी भएर अनुभव बटुलेका केही युवाले पढाइ खर्च जुटाएको बताए । साथै उक्त अनुभवले भविष्यमा ठूलो काम गर्ने सुनाए । तिनैमध्येका एक हुन्, कास्कीको अन्नपूर्ण गाउँपालिका–५, झोवाङका १९ वर्षीय गणेश पौडेल । उनी २१ फागुनमा मादी गाउँपालिका–८, नारायण माध्यमिक विद्यालयको मतदानस्थल सुरक्षामा खटिएका थिए । पौडेल पनि बिहीबार नै जिम्मेवारी पूरा गरी वडा प्रहरी कार्यालय बैदाम (कास्की) बाट घर फर्किएका छन् ।
उनी भन्छन्, ‘चुनावका दिन कुनै अप्रिय घटना हुन्छ कि भन्ने त्रास थियो, तर शान्तिपूर्ण रूपमा निर्वाचन भयो, मतदाताहरू पनि सहयोगी भावनाका पायौं, झडप–वादविवाद केही भएन, तोकिएको जिम्मेवारी पूरा गरेर घर फर्किएको छु ।’ गणेश पोखरामा कोठा लिएर बस्छन् । उनले निर्वाचन प्रहरी हुनुअगाडिसम्म कोरियन भाषा पढ्दै थिए । तर पढाइलाई पछि निरन्तरता दिने सोचले आफू निर्वाचन प्रहरी भएर सेवामा लागेको सुनाए ।
हरेक कुराका लागि सधैं परिवारसँग पैसा माग्न गाह्रो भएकाले आफ्नो खर्च धान्न सकियोस् भनेर निर्वाचन प्रहरी हुने निधो गरेको उनले सुनाए । ‘यो मेरो पहिलो कमाइ हो । आएको पैसाले कोरियन भाषा पढेको फी तिर्ने र घरमा पनि पठाउने सोचमा छु,’ उनले भने, ‘ममीले सानै छौ डर हुन्छ पर्दैन भन्नुभएको थियो । जिद्दी गरेर निर्वाचन प्रहरीको परीक्षा दिएको थिएँ । आफैंले कमाएको पैसा देख्दा खुसी लाग्ने रहेछ ।’ यो अनुभवले असल नागरिक बन्न सहयोग गर्ने उनले बताए ।
यस्तै, मंगलसेन नगरपालिका–८ घर भएकी १८ वर्षकी अस्मिता खनाल प्लस टु पढ्दै थिइन् । निर्वाचन प्रहरीका लागि फर्म खुलेको थाहा पाएपछि उनले पनि आवेदन दिइन् । पढाइ खर्च जुटाउन निर्वाचन प्रहरी भएको उनले सुनाइन् । मेनुका निर्वाचन प्रहरीको अनुभव बटुल्न पाएकामा खुसी छिन् । उनलाई नेपाल प्रहरीमा भर्ना हुन पाए हुन्थ्यो भन्ने लागेको छ । ‘मेरो सपना त नेपालमै बसेर देशको सेवा गर्ने छ । तयारी पनि गर्दै छु । निर्वाचन प्रहरीको अनुभवले आउँदा दिनमा नेपाल प्रहरीको तयारीका लागि ठूलो सहयोग पुग्छ जस्तो लाग्छ ।’
संखुवासभा मकालु–२ घर भएकी अनिशा जैरु पनि निर्वाचन प्रहरीका रूपमा कार्यरत थिइन् । खाँदबारी–१ मा कोठा भाडामा लिएर पढ्दै आएकी उनले निर्वाचन प्रहरीको अनुभव निकै राम्रो रहेको सुनाइन् । उनी भन्छिन्,‘छोटो समयका लागि भए पनि देशको सेवा गर्न पाए खुसी लागेको छ ।’ प्लस टु पढ्ने बताउने अनिशा निर्वाचन प्रहरीका रूपमा काम गर्दा कमाएको पैसाले कोठा भाडा तिर्ने र रासन किन्ने सोचमा छिन् । ‘म र दुई बहिनी सहरमा बसेर पढ्दै छौं । घरमा पैसा पठाउन त नपुग्ला तर कोठा भाडा तिर्ने, खानेकुरा किन्ने र अरू खर्च पनि त्यही पैसाले गर्ने सोचेकी छु,’ उनले भनिन् ।
निर्वाचन प्रहरी हुँदा धेरै कुरा सिक्न पाएको उनले सुनाइन् । ‘सबैले काम सिकाउनुभयो । तालिम गर्ने ठाउँमा पनि नजानेको कुरा राम्रोसँग भन्नुभयो,’ उनले भनिन्, ‘निर्वाचन प्रहरी भएर खटिँदा पनि सबै प्रहरीले सहयोग गर्नुभयो । छोटो समयमा पनि राम्रो अनुभव पाइयो ।’ उनको सपना पनि प्रहरी बनेर देशको सेवामा लाग्ने रहेको छ । निर्वाचन प्रहरीको अनुभवले अझ धेरै हौसला थपेको उनले सुनाइन् । निर्वाचन प्रहरीको जिम्मेवारी पूरा गरेर घर फर्किएका कटारी नगरपालिका–२, कल्याणपुरका सेनबहादुर खत्रीले यो अवधिमा नेपाल प्रहरीसँगै बसेर सिकेका, भोगेका र जानेका कुरा पछिसम्म उपयोगी हुने अनुभव सुनाए । ललितपुर जिल्ला मातहत खटिएका खत्री अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि म्यादी प्रहरीका रूपमा खटिएका थिए ।
‘निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो, कुनै अप्रिय घटनाबिनै जिम्मेवारी पूरा गर्न सकियो, यो नै ठूलो कुरा हो,’ उनले भने, ’यसबाहेक फौजसँगै डेढ महिनासम्म शान्तिसुरक्षा व्यवस्थापन र निर्वाचन सुरक्षामा खटिन पायौं, यसबाट पनि धेरै कुरा सिक्न पाइयो, भोलिका दिनमा यसले हामीलाई अनुशासित भएर असल नागरिक बन्ने प्रेरणा पनि दिएको छ ।’ उनले आफूले कमाएको पैसाले घरखर्चमा प्रयोग गर्ने बताए ।
निर्वाचन प्रहरीले यस अवधिमा प्रहरीसँगै बसेर निर्वाह गरेको योगदान र भूमिका समाजका लागि फलदायी र उपयोगी हुने प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए । असल नागरिकका रूपमा निर्वाह गर्नुपर्ने भूमिकामा निर्वाचन प्रहरीले समाजमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने उनको भनाइ छ । शान्तिसुरक्षा व्यवस्थापन, नागरिक–प्रहरी सम्बन्ध सुमधुर बनाउन तथा अपराध रोकथाम तथा नियन्त्रणमा भूमिका निर्वाह गर्न पनि निर्वाचन प्रहरीलाई आग्रह गरिएको उनले जानकारी दिए ।
निर्वाचन प्रहरीलाई प्रहरी र सशस्त्र प्रहरीका जवानको आधारभूत तलबमान र लत्ताकपडा तथा रासनभत्ताअनुसारको सुविधा उपलब्ध गराइएको छ । एक निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइएको थियो ।
प्रवक्ता काफ्लेका अनुसार निर्वाचन सुरक्षामा खटिएका १३ जनाले ज्यान गुमाएका छन् । निर्वाचन प्रहरीको नियुक्ति लिइसकेपछि विभिन्न जिल्लामा सुरक्षामा खटिएका उनीहरूको ज्यान गएको हो । जिम्मेवारी निर्वाहका क्रममा निर्वाचन प्रहरीको मृत्यु भएमा प्रहरी जवानको मृत्यु हुँदा नजिकका हकवालालाई दिइने सुविधासरह नै निर्वाचन प्रहरीका परिवारलाई पनि यही सुविधा दिइने व्यवस्था छ ।
