भाइरल बोलीपछि रेनुका: ट्रोल, खिसीट्युरी र भीडको निसानामा

रेनुकालाई भिडियोको वास्तविक असर त्यतिबेला महसुस भयो, जब उनी घर पुगेपछि छोराछोरीको कुरा सुनिन् । दुई छोराछोरी रुँदै भने, ‘तपाईंको भिडियोले हाम्रो बेइज्जत भयो । हामी कसरी विद्यालय जाने ? साथीहरूले के भन्छन् ?’

फाल्गुन २५, २०८२

प्रकृति दाहाल

Renuka: Targeted by trolls, ridicule, and mobs after viral speech

काठमाडौँ — काठमाडौंको कालीमाटी तरकारी बजार बिहानैदेखि व्यस्त हुन्छ । गाडीबाट तरकारी झार्ने, तरकारी किन्ने, पसल चलाउने साना–ठूला व्यवसायी र भरियाका कारण यहाँ सधैं चहलपहल भइरहन्छ । तर, यही कालीमाटीमा २४ फागुनमा फरक दृश्य देखियो । हात–हातमा मोबाइल बोकेका केही मानिस एउटी महिलालाई घेरेर केरकार गरिरहेजस्तो देखिन्थ्यो । ती महिलासँग चर्का–चर्का स्वरमा कुरा गर्दै उनीहरू उनलाई कुटौँलाजस्तो गरिरहेका थिए ।

मान्छेको आक्रोशित भीडले अत्तालिएकी ती महिला थिइन्, स्याङ्जा चापाकोट स्थायी घर भएकी रेनुका बराल । काठमाडौंको कलंकीस्थित खड्का गाउँको डेरामा दुई छोराछोरी र श्रीमान्‌सँग बस्दै आएकी रेनुका सानो तरकारी र किराना पसल गर्छिन् । त्यही पसलका लागि उनी सधैंझैं तरकारी किन्न त्यहाँ पुगेकी थिइन् । त्यही बेला त्यस्तो घटना भएको थियो ।

हेर्दाहेर्दै उनीमाथि जाइलाग्नेहरूको भीड बढ्दै गइरहेको थियो । जसलाई धेरैले मोबाइलमार्फत भिडियो खिचिरहेका थिए । भिडियो खिच्नेहरूले सोधिरहेका थिए, ‘दिदी, कान कहिले काट्ने त ?’ रेनुका सुरु–सुरुमा त प्रतिवाद गर्न खोज्छिन् । तर, चर्का–चर्का स्वरमा उनलाई कठघरामा थुनेजसरी प्रश्न सोध्नेहरूको भीड बढ्दै जान थालेपछि उनी निरुपायजस्तै देखिन्छिन् । उनी केही भन्न खोजिरहेकी थिइन्, तर उनको कुरा सुन्ने त्यहाँ कोही थिएनन् । उनी भीडबाट उम्कन खोज्दै थिइन्, तर सकिरहेकी थिइनन् । केही सिप नलागेपछि उनले नेपाल प्रहरीको हटलाइन १०० मा फोन गरेर प्रहरी गुहारिन् । त्यसको केहीबेरपछि उनी तरकारी बोक्ने गाडीमा फर्किन थालिन् । त्यतिबेला पनि उनलाई पछ्याउने र अभद्र शैलीमा प्रस्तुत हुनेहरूको संख्या घटिसकेको थिएन । कसैले उनलाई सोध्दै थियो, ‘बालेन शाहले जिते दिदी अब तपाईंले कान काट्नुपर्छ ।’

 रेनुकालाई के थाहा थियो र ? आफूले बोलेको कुरा यसरी सामाजिक सञ्जालमा फैलिन्छ र त्यो आफ्नै निम्ति गलपासो हुन्छ भन्ने ।Renuka: Targeted by trolls, ridicule, and mobs after viral speechफागुन २१ गते हुने निर्वाचनका लागि सिंगो देश होमिएको थियो । भोट हाल्नकै लागि रेनुका काठमाडौंबाट पनि चापाकोटस्थित गाउँ पुगेकी थिइन् । एमालेमा सामान्य राजनीतिक आस्था राख्ने भएकाले उनको चासो झापा–५ मा कसले जित्छ भन्नेमा थियो । उनी मतदान गर्न चापाकोटको जनकल्याण मावि मतदान केन्द्र पुगेकी थिइन् । मतदानस्थल बाहिर मानिसहरू स–साना समूहमा भेला भएर झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले चुनाव जित्छन् कि एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्ने चर्काचर्की गरिरहेका थिए । त्यस्तै एउटा समूहमा थिइन् रेनुका । त्यही बेला उनलाई कसैले सोध्यो, झापा–५ को नतिजा कस्तो आउला ? राजनीतिक गर्मागर्मीमा रेनुकाले पनि फ्याट्टै भनिदिइन्, ‘बालेनले जित्यो भने झापामा यो कान काटेर म टिचिङ अस्पताल गएर टाँका लगाउँछु र कानको सुन पनि बालेनलाई नै दिन्छु ।’

उनले भनेको कुरा कसैले भिडियो खिचिरहेको थियो । तर, रेनुकालाई के थाहा आफूले बोलेको कुरा यसरी सामाजिक सञ्जालमा फैलिन्छ र त्यो आफ्नै निम्ति गलपासो हुन्छ भन्ने । रेनुकाले बोलेको कुरा खिच्ने स्थानीय युवा थिए, सोनी पाण्डे । उनले रेनुकाले बोलेको कुरा फेसबुकमा हाले । त्यही भिडियो एकैछिनमा फैलिएर कहाँ–कहाँ पुग्यो । मतदान सकेर घर पुग्ने बित्तिकै उनलाई भान्जीको फोन आयो । भान्जीले अत्तालिएको स्वरमा भनिन्, ‘माइजु, टिकटकमा तपाईंको भिडियो आएको छ । मानिसहरूले जथाभावी गाली गरिरहेका छन्, तुरुन्त डिलिट गर्न भन्नु ।’ एकैछिनमा उनलाई कैयौँ साथीभाइ र आफन्तीको फोन आयो । सबैको कुरा उस्तै थियो । त्यसपछि भने रेनुका आत्तिन थालिन् । ख्यालख्यालैमा भनेको कुरा यसरी फैलेला र मानिसहरूले गाली र व्यंग्य गर्दै खिसी गर्लान् भनेर उनले सोचेकी पनि थिइनन् । उनले बोलेको क्लिप सामाजिक सञ्जालका धेरै पेज र अकाउन्टहरूमा फैलिसकेको थियो ।

म धेरै रोएँ, त्यो समय मेरा लागि गाह्रो थियो । मैले के बोलेँ, के गरेँ भन्ने लागिरह्यो ।चुनावको भोलिपल्ट उनलाई काठमाडौं फर्किने हतारो थियो । किनकि पसल खोल्नु थियो, नियमित काममा लाग्नु थियो । तर, त्यही भिडियोका कारण उनको समय बिथोलिन थाल्यो । उनी काठमाडौं फर्किन पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जसै पुगिन्, त्यहाँ पनि उनलाई देखेर मानिसहरूले खासखुस गर्न थाले । कसैले कसैले त उनको भिडियो नै खिच्न थाले । कोही भने खिसीट्युरीको भावमा हाँस्दै भन्न थाले, ‘त्यही कान काट्ने दिदी होइन ?’ उनी सबै कुरा बेवास्ता गर्दै काठमाडौं आइपुगिन् । तर, काठमाडौंस्थित विमानस्थल बाहिर पनि उनले उस्तै नराम्रो व्यवहार भोगिन् । उनले सुनाइन्, ‘एयरपोर्टबाट बाहिर निस्कँदा पनि मलाई धेरैले मजा गरे । खिसी उडाए । ममाथि ह्यारेसमेन्ट भइरह्यो ।’

सामाजिक सञ्जालको चर्चा उनको घरभित्रै छिरिसकेको थियो । रेनुकालाई भिडियोको वास्तविक असर त्यतिबेला महसुस भयो जब उनी घर पुगेपछि उनले छोराछोरीको कुरा सुनिन् । छोराछोरीलाई डेरामा छोडेर मतदान गर्न गएकी रेनुकालाई त्यतिबेला सारै नमज्जा लाग्यो । किनकि विद्यालय स्तरमा पढ्दै आएका दुई छोराछोरी उनलाई देख्नेबित्तिकै रुन थाले । ‘तपाईंको भिडियोले हाम्रो बेइज्जत भयो, हामी कसरी विद्यालय जाने ? साथीहरूले के भन्छन् ?’ छोराछोरीका यस्ता प्रश्नले उनी निकै भावुक भइन् । त्यो समय सम्झिँदै उनले सुनाइन्, ‘म धेरै रोएँ, त्यो समय मेरा लागि गाह्रो थियो । मैले के बोलेँ, के गरेँ भन्ने लागिरह्यो ।’

रेनुका कुनै नेता होइनन् । कुनै सार्वजनिक ओहोदाकी व्यक्ति पनि होइनन् । दुःखजिलो गरेर परिवार पाल्दै आएकी महिला हुन् । उनका श्रीमान् एक गाउँपालिकामा प्रशासकीय अधिकृत छन् । छोराछोरीको पढाइ र भविष्यका लागि उनी काठमाडौं डेरा गरी बसेकी छन् । हरेक दिन बिहान ४ बजेदेखि उनको काम सुरु हुन्छ । जाडो होस् कि गर्मी अथवा झरी, उनी हर बिहान काठमाडौं नउठ्दै कालीमाटी बजारमा तरकारी किन्न पुगेकी हुन्छिन् । तर, त्यो दिन उनको जीवनमा सबैभन्दा नमिठो बिहान बनेर आयो । उनले आफ्नो संघर्षको पृष्ठभूमि बताउँदै सुनाइन्, ‘श्रीमान् घरको एक्लो छोरा हो । उहाँ एक्लैको कमाइले बालबच्चाको खर्च र घरपरिवार धान्न गाह्रो छ । त्यसैले मैले सकेको काम गरिरहेको छु ।’

रेनुका एमालेकी समर्थक हुन्, तर यो दलमा लागेबापत उनले कुनै लाभको पद पाएकी छैनन् । उनका बुबा २०५४ सालमा एमालेबाट गाविस अध्यक्ष बनेका थिए । बाल्यकालदेखि नै उनी कांग्रेस र एमालेबीचको राजनीतिक प्रतिस्पर्धा देख्दै हुर्किइन् । पछिल्ला वर्षहरूमा माओवादी द्वन्द्वको समयमा उनको परिवारले खुबै हैरानी झेल्यो । राजनीतिसँग जोडिएको परिवारमा हुर्किएकाले रेनुका आफ्ना कुरा राख्न नहिच्किचाउने स्वभाव बन्यो । खेतीकिसानीको सुखदुःखसँगै हुर्किएकी रेनुका २०६६ सालमा बिहे गरेपछि घरपरिवार सम्हाल्ने जिम्मेवारीमा पुगिन् । प्लस टुसम्म अध्ययन गरेकी रेनुकाले बिहेलगत्तै चापाकोट नगरपालिकामा सामाजिक परिचालिकाको जागिर पनि गरिन् । श्रीमान्‌को सरकारी जागिर सुरु भएपछि उनी जागिर छाडेर २०७९ मा लमजुङ पुगिन् । आफैं केही गर्नुपर्छ भन्ने सोच भएकैले रेनुकाले सदरमुकाम बेसीसहरमा तरकारी र किराना पसल गरिन् । गत साउनमा काठमाडौं आएकी उनले सुनाइन्, ‘पसल राम्रो चल्थ्यो, आम्दानी पनि ठीकठाकै थियो । तर, छोराछोरीको पढाइका लागि काठमाडौं आउनुपर्ने भयो ।’

किराना पसल र तरकारी पसल एकैचोटि चलाउनु सजिलो छैन । बिहानैदेखि सुरु हुने उनको व्यस्तता राति अबेरसम्म चल्छ । पसलको काम कहाँ सजिलो छ र । उनी परेका बेला चामलका बोरा बोक्छिन् । पानीका जार र ग्यास सिलिन्डर बोकेर ग्राहकका घर–घर पुग्छिन् । उनले सुनाइन्, ‘अधिकृतको श्रीमती भएर चामल बोकेको, तरकारी बोकेको भनेर धेरै आलोचना हुन्छ, तर मैले कहिल्यै हिम्मत हारिनँ, आफ्नो काम सधैं अडिग भएर गरिरहेँ ।’

झापा–५ को नतिजा आएपछि उनलाई झनै अप्ठ्यारो पर्न थाल्यो । एमाले अध्यक्ष ओलीलाई करिब ५० हजार मतले बालेन्द्र शाहले हराएपछि चुनावका दिन खिचिएको भिडियो फेरि सामाजिक सञ्जालमा फैलिन थाल्यो । अनि फेरि सुरु भयो डिजिटल स्पेसमा उनीमाथि खिसीट्युरी, अपमान र धम्कीको वर्षा । उनको तस्बिर प्रयोग गरेर दर्जनौँ मिमहरू बनेका छन् । दर्जनौँ भिडियो बनेका छन् र केहीले त उनलाई सजाय दिनुपर्ने वा जहाँ भेट्यो त्यही कान काट्नुपर्ने जस्ता कुरा पनि गरेका छन् । कतिपयले भने उनले माफी माग्नुपर्ने सर्त राखेका छन् । उनलाई गाली गर्ने र उनको पछि लाग्नेहरूमा केही जेन–जीहरू छन्, केही युवाहरू छन्, केही पढालिखा मानिसदेखि सामाजिक सञ्जालका कैयौँ इन्फ्लुएन्सरहरू पनि छन् । अनि छन्, देशभित्र रहेका र देश बाहिर बसेकाहरू ।

डिजिटल स्पेसमा उनीमाथि भइरहेको यो सारा हिंसा र घृणाबारे जानकार रेनुकाले कान्तिपुरसँग सुनाइन्, ‘माफी माग्नुपर्ने के गल्ती गरेको छु र ? कसैको घर बिगारेको छैन, कसैलाई व्यक्तिगत हानी गरेको छैन ।’ उनी कामका सिलसिलामा जहाँ जान्छिन् त्यही उनीमाथि मोबाइल तेर्साएर बोल्न बाध्य पार्ने काम भइरहेको छ । तीमध्ये कतिपयले त उनलाई गालीगलौज नै गरेका छन् । उनले भनिन्, ‘पसलमा आउँछन्, भिडियो बनाउँछन् । तर, पछि जे पायो त्यही लेखेर पोस्ट गरिदिन्छन् ।’

यो सारा ट्रोल र अपमानले रेनुका थाकिसकेकी छन् । त्यसैले उनले अब कानुनी बाटो रोज्ने तयारी गरेको बताएकी छन् । अनुमति बिना भिडियो सार्वजनिक गरिएको भन्दै उनले साइबर मुद्दा हाल्ने चेतावनी भिडियोमार्फत नै जानकारी गराएकी छन् । आफूमाथि भएको आक्रमण अपमानजनक भएको उनले बताइन् । उनले भनिन्, ‘नेता र मन्त्रीहरूले कति कुरा गरे, पूरा गरेका छैनन् । तर, मेरो एउटा बोलीमा यति अपमान भोग्नुपर्ने के छ र ?’

रेनुकाले दुःख गरेर गरिखाने मानिसलाई यसरी नखेद्न आग्रह गरिरहेकी छन् । तर, उनको कुरा सुन्ने र उनीप्रति सद्भाव राख्नेहरू भने मरुभूमिमा पानी खोजेजस्तै भएका छन् ।

समाजशास्त्री निर्मला पोखरेलले सामान्य नागरिक रेनुकाको भनाइबारे सामाजिक सञ्जालमा भइरहेको टिप्पणीलाई उच्छृंखल प्रवृत्तिको रूपमा अर्थ्याइन् । उनले पछिल्लो समय भाइरल हुनकै लागि मानिसहरूले जथाभावी बोल्ने गरेको बताउँदै भनिन्, ‘उनको प्रस्तुति उत्तेजक नै हो, तर त्यही कन्टेन्टलाई भाइरल गराउने प्रवृत्ति भने उच्छृंखल प्रवृत्ति हो ।’ रेनुकालाई धरपकड गर्नु, बाटोमा घेर्नु गलत प्रवृत्ति भएको उनले बताइन् । पोखरेलले चुनावी दौरान कैयौँ शीर्ष नेताहरूले पूरा नहुन सक्ने अभिव्यक्ति दिइरहेका छन्, तर बोलेकै कारण सर्वसाधारणलाई धरपकड गर्नु उच्छृंखल प्रवृत्ति नै भएको बताइन् ।

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully