जो हिउँदमा गाउँमै छुटे

हिमाली जिल्ला मनाङको विकट फू गाउँका बासिन्दा करिब ४ महिना थातथलो छाडेर सहर झर्छन् । हिँड्न सक्ने काठमाडौं–पोखरा पुग्छन् । जो सक्दैनन्, उनीहरु झरेर क्याङमा बस्छन् वा गाउँमै छुट्छन्।

फाल्गुन १२, २०८२

आश गुरुङ

Who was left in the village in winter

What you should know

लमजुङ — कात्तिक लाग्दै थरथर काप्ने चिसो सुरु हुन्छ । बिहान ढिलोगरी आउने घाम छिट्टै डुब्छ । हावाले चर्को सुस्केरा हाल्दै ढक्याउन थालेपछि बस्ती विस्तारै सुनसान बन्छ ।

मनाङको ४१ सय मिटर उचाइँको फू गाउँका घरहरुमा यतिबेला ताला झुन्डिएका छन् । होटलहरु बन्द छन् । बाटोमा मान्छेका पाइला भेटिँदैनन् । जौ र आलु मात्र फल्ने यो बस्तीमा हिउँदमा खेतीपाती पनि हुँदैन । 

हिमाली जिल्ला मनाङको विकट फू गाउँका बासिन्दा करिब ४ महिना थातथलो छाडेर सहर झर्छन् । जो हिँड्न सक्छन्, उनीहरु काठमाडौं–पोखरा पुग्छन् । जो सक्दैनन्, उनीहरु झरेर क्याङमा बस्छन् वा गाउँमै छुट्छन् ।

नार्पाभूमि गाउँपालिका–५ की ७२ वर्षीया छिरिङ कर्साङ लामा कात्तिक अन्तिमतिरै क्याङ झरिन् । अविवाहित उनी सानैमा गुम्बामा लडेकी थिइन् । ५० वर्षको उमेरमा शल्यक्रिया भयो, बायाँ खुट्टामा हालिएको फलाम अझै निकालिएको छैन । ‘हिँड्नै गाह्रो हुन्छ । गाउँमा निकै चिसो छ । त्यही भएर यहाँ (क्याङ) मा आएर बसेको छु ।’
उनकी दिदी मंसिर पहिलो साता नै चिसो छल्न काठमाडौं गइन् । उनी भने रोकिइन् । फूमा बस्न नसकेपछि ३८ सय ५० मिटर उचाइँको क्याङ गाउँको पाखो रोजिन् । ‘यहाँ घाम लाग्छ । खोला र हिमालको सिधा छाया पर्दैन। खाडलमा रहेको ठाउँ परेकाले अरु ठाउँ भन्दा न्याने हुन्छ,’ उनले भनिन् । 

Who was left in the village in winter

फू गाउँकै ९४ वर्षीया साङ्गे छेन्जोप घलेको कथा अझै कठिन छ । दायाँ आँखाले अलिअलि देख्ने उनी बायाँले फिटिक्कै देख्दैनन् । ‘उपचारै ३ पटक गरियो ।  डाक्टरले अब हुँदैन भन्छन्,’ उनले भनिन्, ‘पहिले आँखा देख्थ्यौं र हिँडिन्थ्यो, अहिले हिँड्नै मिल्दैन ।’ उनलाई क्याङ आउन समेत आफन्तले बोकेर ल्याएका थिए । ‘हिँड्न सक्नेलाई कोतो पुग्नै २ दिन लाग्छ । हामीलाई त कति लाग्ने हो कति,’ उनले भनिन्, ‘अहिले न आँखा देख्छ, न खुट्टाले साथ दिन्छ ।’ उनी कान्छी छोरी छिरिङ ओङ्जिन घलेसँग बसेकी छन् ।

८१ वर्षीया पासाङ डण्डुल लामा ४ वर्षयता काठमाडौं जान सकेका छैनन् । माइला छोरा दावा डिन्डुल र छोरी कर्मा रिची क्याङमा होटल चलाउँछन् । कान्छा छोरा कर्मा धोर्जे चिसो छल्न काठमाडौं गएका छन् । ‘बुढो भइयो । अब त सक्दिन,’ हाँस्ने प्रयास गर्दै उनी भन्छन्, ‘हिँड्न सक्नेहरू सहर झर्छन्, हामीजस्ता नसक्नेहरु क्याङमा ।’

वडा ५ फू गाउँकी ९० वर्षीया कर्साङ झोम्बो लामा पहिले चिसो छल्न छोराछोरीसँगै काठमाडौं जान्थिन् । ‘काठमाडौं नगएको त कति वर्ष भयो कुन्नि । १२–१५ वर्ष भयो होला,’ उनले भनिन्, ‘अब खुट्टाले टेक्दैन । ओरालो झर्दा ज्यानै जान्छ कि जस्तो, फर्किँदा उकालो चढ्न सकिन्न । बाटो साँघुरो छ । ठोक्किएर लड्यो भने खोलामा पुगिन्छ ।’ 

Who was left in the village in winter

नार्पाभूमि–५ का वडाअध्यक्ष सोनाम तेजे लामाका अनुसार प्रत्येक वर्ष फू गाउँबासी चिसो बढेसँगै सहर झर्न बाध्य छन् । सहर झर्न नसक्नेहरु क्याङमा बस्न बाध्य छन् । सहर झरेकाहरु सबै जना चैतमा फर्किन्छन् । ‘यसपटक त चुनाव लाग्यो । अब बाध्यताले विस्तारै फर्किन पर्‍यो,’ उनले भने, ‘हामी फर्किएपछि क्याङमा रहेका बाजेबज्यैलाई गाउँ लान्छौं ।’

हिमलुङ हिमाल (७,१२६ मि.) जाने बाटोमा पर्ने फू गाउँ चीन स्वशासित तिब्बत सीमाक्षेत्रबाट करिब २ दिनको दूरीमा पर्छ । २०७८ को जनगणना अनुसार यहाँ ३८ घरपरिवारका १ सय ३८ जना बस्छन् । यो बस्ती रहेको नार्पाभूमि गाउँपालिका नेपालकै कम जनसंख्या भएको गाउँपालिकामध्ये एक हो ।

Who was left in the village in winter

वडा १ देखि ३ सम्मको नार गाउँमा ९० घरपरिवारका २ सय ५८ जना छन् । सिंगो गाउँपालिकामा १ सय २८ घरपरिवारका ३ सय ९६ जनसंख्या छन् । तर चिसो सुरु भएसँगै करिब ८० प्रतिशत नागरिक सहर झर्ने स्थानीयसमेत रहेका गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले भने ।

उनका अनुसार फू गाउँमा मंसिरदेखि बस्नै सकिन्न । चिसोले कर्मचारीसमेत टिक्दैनन् । झर्न नसक्ने बृद्धबृद्धालाई आफन्तले क्याङसम्म ल्याउँछन् । क्याङमा केहीका आफन्त र केहीका घर छन् । बृद्धबृद्धा कोही आफैं खाना बनाएर खान्छन्, केही आफन्तको घरमा व्यवस्थापन गरिएको हुन्छ । क्याङ खोला र हिमालको सिधा नपर्ने ठाउँमा रहेकाले घाम लागेको बेला केही न्यानो हुन्छ । त्यसैले फूबाट झर्नेहरुको अस्थायी आश्रय क्याङ बनेको छ । 

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully