हिमाली जिल्ला मनाङको विकट फू गाउँका बासिन्दा करिब ४ महिना थातथलो छाडेर सहर झर्छन् । हिँड्न सक्ने काठमाडौं–पोखरा पुग्छन् । जो सक्दैनन्, उनीहरु झरेर क्याङमा बस्छन् वा गाउँमै छुट्छन्।
What you should know
लमजुङ — कात्तिक लाग्दै थरथर काप्ने चिसो सुरु हुन्छ । बिहान ढिलोगरी आउने घाम छिट्टै डुब्छ । हावाले चर्को सुस्केरा हाल्दै ढक्याउन थालेपछि बस्ती विस्तारै सुनसान बन्छ ।
मनाङको ४१ सय मिटर उचाइँको फू गाउँका घरहरुमा यतिबेला ताला झुन्डिएका छन् । होटलहरु बन्द छन् । बाटोमा मान्छेका पाइला भेटिँदैनन् । जौ र आलु मात्र फल्ने यो बस्तीमा हिउँदमा खेतीपाती पनि हुँदैन ।
हिमाली जिल्ला मनाङको विकट फू गाउँका बासिन्दा करिब ४ महिना थातथलो छाडेर सहर झर्छन् । जो हिँड्न सक्छन्, उनीहरु काठमाडौं–पोखरा पुग्छन् । जो सक्दैनन्, उनीहरु झरेर क्याङमा बस्छन् वा गाउँमै छुट्छन् ।
नार्पाभूमि गाउँपालिका–५ की ७२ वर्षीया छिरिङ कर्साङ लामा कात्तिक अन्तिमतिरै क्याङ झरिन् । अविवाहित उनी सानैमा गुम्बामा लडेकी थिइन् । ५० वर्षको उमेरमा शल्यक्रिया भयो, बायाँ खुट्टामा हालिएको फलाम अझै निकालिएको छैन । ‘हिँड्नै गाह्रो हुन्छ । गाउँमा निकै चिसो छ । त्यही भएर यहाँ (क्याङ) मा आएर बसेको छु ।’
उनकी दिदी मंसिर पहिलो साता नै चिसो छल्न काठमाडौं गइन् । उनी भने रोकिइन् । फूमा बस्न नसकेपछि ३८ सय ५० मिटर उचाइँको क्याङ गाउँको पाखो रोजिन् । ‘यहाँ घाम लाग्छ । खोला र हिमालको सिधा छाया पर्दैन। खाडलमा रहेको ठाउँ परेकाले अरु ठाउँ भन्दा न्याने हुन्छ,’ उनले भनिन् ।
फू गाउँकै ९४ वर्षीया साङ्गे छेन्जोप घलेको कथा अझै कठिन छ । दायाँ आँखाले अलिअलि देख्ने उनी बायाँले फिटिक्कै देख्दैनन् । ‘उपचारै ३ पटक गरियो । डाक्टरले अब हुँदैन भन्छन्,’ उनले भनिन्, ‘पहिले आँखा देख्थ्यौं र हिँडिन्थ्यो, अहिले हिँड्नै मिल्दैन ।’ उनलाई क्याङ आउन समेत आफन्तले बोकेर ल्याएका थिए । ‘हिँड्न सक्नेलाई कोतो पुग्नै २ दिन लाग्छ । हामीलाई त कति लाग्ने हो कति,’ उनले भनिन्, ‘अहिले न आँखा देख्छ, न खुट्टाले साथ दिन्छ ।’ उनी कान्छी छोरी छिरिङ ओङ्जिन घलेसँग बसेकी छन् ।
८१ वर्षीया पासाङ डण्डुल लामा ४ वर्षयता काठमाडौं जान सकेका छैनन् । माइला छोरा दावा डिन्डुल र छोरी कर्मा रिची क्याङमा होटल चलाउँछन् । कान्छा छोरा कर्मा धोर्जे चिसो छल्न काठमाडौं गएका छन् । ‘बुढो भइयो । अब त सक्दिन,’ हाँस्ने प्रयास गर्दै उनी भन्छन्, ‘हिँड्न सक्नेहरू सहर झर्छन्, हामीजस्ता नसक्नेहरु क्याङमा ।’
वडा ५ फू गाउँकी ९० वर्षीया कर्साङ झोम्बो लामा पहिले चिसो छल्न छोराछोरीसँगै काठमाडौं जान्थिन् । ‘काठमाडौं नगएको त कति वर्ष भयो कुन्नि । १२–१५ वर्ष भयो होला,’ उनले भनिन्, ‘अब खुट्टाले टेक्दैन । ओरालो झर्दा ज्यानै जान्छ कि जस्तो, फर्किँदा उकालो चढ्न सकिन्न । बाटो साँघुरो छ । ठोक्किएर लड्यो भने खोलामा पुगिन्छ ।’
नार्पाभूमि–५ का वडाअध्यक्ष सोनाम तेजे लामाका अनुसार प्रत्येक वर्ष फू गाउँबासी चिसो बढेसँगै सहर झर्न बाध्य छन् । सहर झर्न नसक्नेहरु क्याङमा बस्न बाध्य छन् । सहर झरेकाहरु सबै जना चैतमा फर्किन्छन् । ‘यसपटक त चुनाव लाग्यो । अब बाध्यताले विस्तारै फर्किन पर्यो,’ उनले भने, ‘हामी फर्किएपछि क्याङमा रहेका बाजेबज्यैलाई गाउँ लान्छौं ।’
हिमलुङ हिमाल (७,१२६ मि.) जाने बाटोमा पर्ने फू गाउँ चीन स्वशासित तिब्बत सीमाक्षेत्रबाट करिब २ दिनको दूरीमा पर्छ । २०७८ को जनगणना अनुसार यहाँ ३८ घरपरिवारका १ सय ३८ जना बस्छन् । यो बस्ती रहेको नार्पाभूमि गाउँपालिका नेपालकै कम जनसंख्या भएको गाउँपालिकामध्ये एक हो ।
वडा १ देखि ३ सम्मको नार गाउँमा ९० घरपरिवारका २ सय ५८ जना छन् । सिंगो गाउँपालिकामा १ सय २८ घरपरिवारका ३ सय ९६ जनसंख्या छन् । तर चिसो सुरु भएसँगै करिब ८० प्रतिशत नागरिक सहर झर्ने स्थानीयसमेत रहेका गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले भने ।
उनका अनुसार फू गाउँमा मंसिरदेखि बस्नै सकिन्न । चिसोले कर्मचारीसमेत टिक्दैनन् । झर्न नसक्ने बृद्धबृद्धालाई आफन्तले क्याङसम्म ल्याउँछन् । क्याङमा केहीका आफन्त र केहीका घर छन् । बृद्धबृद्धा कोही आफैं खाना बनाएर खान्छन्, केही आफन्तको घरमा व्यवस्थापन गरिएको हुन्छ । क्याङ खोला र हिमालको सिधा नपर्ने ठाउँमा रहेकाले घाम लागेको बेला केही न्यानो हुन्छ । त्यसैले फूबाट झर्नेहरुको अस्थायी आश्रय क्याङ बनेको छ ।
