दार्जिलिङबाट आएर बैतडीमा पहिलो महिला शिक्षक बनेकी कृष्णालाई 'मीना दिदी पुरस्कार'

हाल ८२ वर्ष पुगेकी कृष्णा विष्ट २८ वर्षको उमेरमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ मा बिहे भएर आउँदा अक्षर चिन्न सक्ने महिला कोही थिएनन् ।

फाल्गुन १०, २०८२

माधव अर्याल

Krishna, who came from Darjeeling and became the first female teacher in Baitadi, receives 'Meena Didi Award'

What you should know

पाल्पा — ५० वर्षअघि सुदूरपश्चिम प्रदेशको बैतडीका विद्यालयमा छात्राको संख्या नगण्य हुन्थ्यो । छोरालाई नै पढाउने चलन सुरु भइनसकेका बेला छोरीलाई विद्यालय पठाउने कुरा कल्पना बाहिरको जस्तै थियो ।

ब्राम्हण समुदायका केही छोरीमात्र कहिलेकाँही विद्यालय आउँथे । त्यसैबेला शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारले सम्पन्न भइसकेको भारत पश्चिम बंगाल अन्तरगत दार्जिलिङ जिल्लाको खर्स्याङमा जन्मिएकी कृष्णा विष्ट विहे गरेर बैतडी आएपछि भने त्यहाँका छोरीले अक्षर चिन्ने अवसर पाए ।  

हाल ८२ वर्ष पुगेकी कृष्णा २८ वर्षकी हुँदा बैतडीको दोगडाकेदार गाउँपालिका–२ मा बिहे भएर आएकी थिइन् । उनी गाउँमा आउँदा अक्षर चिन्न सक्ने महिला कोही थिएनन् । ९ कक्षा पास गरेकी उनलाई गाउँनजिकको विद्यालयमा पढाउने अवसर मिल्यो । २०३२ सालदेखि शिक्षण पेशा थालेकी उनलाई जिल्लामै पहिलो महिला शिक्षिका बन्ने अवसर मिल्यो । घरबाट एक घण्टा हिँडेर पुगिने रौलेश्वर प्रावि (हाल मावि) कफलकोटमा पढाउन थालिन् । ‘त्यसबेलामा ८ कक्षा पढेपछि पढाउन पाउने चलन रहेछ,’ उनले भनिन्, ‘म पनि भारतमा पढेको मान्छे थिए। नेपालको चालचलन बुझ्न केही वर्ष लाग्यो ।’

भाषा नबुझ्ने समस्या उस्तै थियो । उनले २०३४ सालमै स्थायी नियुक्ति पाइन् । पढाउँदै जाँदा २०४२ सालमा बल्ल नागरिकता पाएको उनले सुनाइन् । ‘त्यसबेलामा जिल्लाभरमै महिला शिक्षक थिएनन् । छोरीलाई पढाउनुपर्छ भन्ने चेत थिएन । छोरीबुहारीले छाउ बार्ने प्रचलन थियो । मैले आफै पनि अचम्म मान्दै छाउ बार्नु पर्यो,’ उनले भनिन् । दुई कोठा भएको जीर्ण भवनमा पढाउनुपर्ने बाध्यता थियो । त्यसबेलामा सरकारले प्रौढ शिक्षा साथै चेलीबेटी शिक्षा कार्यक्रम ल्यायो । ‘महिला र किशोरीलाई बेलुकी र बिहानमा पढाउन सुरु गरे,’ उनले भनिन्, ‘बिस्तारै आफ्नो नाम लेख्न जान्ने भए ।’ प्रौढ कक्षामा सिकेका किशोरीलाई उनीहरुको सिकाइ अनुसारको कक्षामा भर्ना गरेको उनले बताइन् । 

Krishna, who came from Darjeeling and became the first female teacher in Baitadi, receives 'Meena Didi Award'

अचम्म उनलाई के लाग्थ्यो भने १० वर्षका कक्षा १ मा भर्ना हुन आउने प्रचलन थियो । ‘मेरा लागि नयाँ विषय नै थियो,’ उनले भनिन्, ‘हामीले दार्जिलिङमा सानैमा पढ्ने चलन आइसकेको थियो । त्यसैले पनि नयाँ लाग्थ्यो ।’ १७ वर्ष रौलेश्वर प्राविमा पढाएपछि छिमेकी गाउँ चनैराज प्राविमा प्रधानाध्यापक भइन् । 

यो विद्यालय अहिले मावि भएको छ । २०६१ सालमा शिक्षण सेवाबाट अवकास लिएकी उनले गाउँमै महिला उत्थान समाज नामको संस्था पनि गठन गरेकी थिइन् । २०५२ सालमा चीनमा भएको चौथो विश्व महिला सम्मेलनमा सहभागी भएर फर्केपछि २०५३ सालमा संस्था दर्ता गरेको उनले बताइन् । ‘संस्थालाई काठमाडौंबाट अन्जना शाक्य र रिता थापाको सहयोग मिलेको थियो,’ उनले भनिन्, ‘मैले पनि सकेको काम गर्न थाले । सबैले राम्रो मानेपछि पैसासमेत ल्याउन सफल भए ।’ 

महिला, दलित, जनजातिको क्षेत्रमा काम गर्दै अघि बढेपछि गाउँमा परिवर्तनको लहर सुरु भयो । त्यतिबेला दातृ निकायकै सहयोगमा स्थापना गरिएका १० वटा बालविकास अहिले सबै सरकारी विद्यालयमा परिणत भएको उनले सुनाइन् । 

२०५८ सालमा श्रीमान्को मृत्यु पछि उनले एकल महिला समाजसमेत स्थापना गरेर अघि बढिन् । ‘धेरै पिछडिएको समाज थियो,’ उनले भनिन्, ‘अझै पनि धेरै काम गर्न बाँकी नै छ । यसमा अहिलेको पुस्ताले काम गर्नुपर्छ ।’ मुख्य समस्या महिनावारी र सुत्केरी समयमा महिलालाई हुने गरेको विभेद रहेको उनको अनुभव छ । ‘कतिपय गाउँमा अझै पनि छाउपडी व्याप्त छ । मन्दिरको बाटो हिँड्न नदिने, चार दिन विद्यालय जान नपाउने समस्या अझै पनि छ,’ उनले भनिन् । स्वास्थ्य अवस्थाका कारण आफू अचेल कन्चनपुरको महेन्द्रनगरमा बस्दै आए पनि बेलाबेला बैतडीका गाउँमा गएर सामाजिक गतिविधिमा संलग्न हुने गरेको उनले बताइन् । 

बिष्टलाई २०६१ सालमा सरकारले स्वर्ण पदक प्रदान गरेको छ । इन्हुरेड इन्टरनेशनल, महिला मानव अधिकार पुरस्कार प्राप्त गरिसकेकी उनलाई फागुन पहिलो साता पाल्पामा ‘मीना दिदी पुरस्कार’ प्रदान गरिएको छ । 
बैतडीकी पहिलो महिला शिक्षक भएर काम गरेकी बिष्टलाई शिक्षण क्षेत्रमा विशिष्ट योगदानको कदर स्वरुप प्रदान गरिएको हो । पाल्पाको किसान माविमा प्रथम महिला शिक्षिका मीनाकुमारी कार्कीको नाममा स्थापना भएको पुरस्कारको राशि ५० हजार रुपैयाँ छ । 

मुलुकभरिका शिक्षा क्षेत्रबाट सामाजिक रुपान्तरको लागि महत्वपूर्ण योगदान दिनेहरुलाई प्रदान गरिने ‘मीना दिदी पुरस्कार’ प्रत्येक वर्ष प्रदान गरिँदै आएको पुरस्कार संस्थापक निलम कार्की निहारिकाले बताइन् । माथागढी गाउँपालिकाको किसान माविको ६५ औं वार्षिकोत्सवको अवसरका मीनाकी छोरीहरू प्राध्यापक डाक्टर आरती कार्की र लेखक निलमले यो पुरस्कार स्थापना गरेका हुन् । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully