हाल ८२ वर्ष पुगेकी कृष्णा विष्ट २८ वर्षको उमेरमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ मा बिहे भएर आउँदा अक्षर चिन्न सक्ने महिला कोही थिएनन् ।
What you should know
पाल्पा — ५० वर्षअघि सुदूरपश्चिम प्रदेशको बैतडीका विद्यालयमा छात्राको संख्या नगण्य हुन्थ्यो । छोरालाई नै पढाउने चलन सुरु भइनसकेका बेला छोरीलाई विद्यालय पठाउने कुरा कल्पना बाहिरको जस्तै थियो ।
ब्राम्हण समुदायका केही छोरीमात्र कहिलेकाँही विद्यालय आउँथे । त्यसैबेला शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारले सम्पन्न भइसकेको भारत पश्चिम बंगाल अन्तरगत दार्जिलिङ जिल्लाको खर्स्याङमा जन्मिएकी कृष्णा विष्ट विहे गरेर बैतडी आएपछि भने त्यहाँका छोरीले अक्षर चिन्ने अवसर पाए ।
हाल ८२ वर्ष पुगेकी कृष्णा २८ वर्षकी हुँदा बैतडीको दोगडाकेदार गाउँपालिका–२ मा बिहे भएर आएकी थिइन् । उनी गाउँमा आउँदा अक्षर चिन्न सक्ने महिला कोही थिएनन् । ९ कक्षा पास गरेकी उनलाई गाउँनजिकको विद्यालयमा पढाउने अवसर मिल्यो । २०३२ सालदेखि शिक्षण पेशा थालेकी उनलाई जिल्लामै पहिलो महिला शिक्षिका बन्ने अवसर मिल्यो । घरबाट एक घण्टा हिँडेर पुगिने रौलेश्वर प्रावि (हाल मावि) कफलकोटमा पढाउन थालिन् । ‘त्यसबेलामा ८ कक्षा पढेपछि पढाउन पाउने चलन रहेछ,’ उनले भनिन्, ‘म पनि भारतमा पढेको मान्छे थिए। नेपालको चालचलन बुझ्न केही वर्ष लाग्यो ।’
भाषा नबुझ्ने समस्या उस्तै थियो । उनले २०३४ सालमै स्थायी नियुक्ति पाइन् । पढाउँदै जाँदा २०४२ सालमा बल्ल नागरिकता पाएको उनले सुनाइन् । ‘त्यसबेलामा जिल्लाभरमै महिला शिक्षक थिएनन् । छोरीलाई पढाउनुपर्छ भन्ने चेत थिएन । छोरीबुहारीले छाउ बार्ने प्रचलन थियो । मैले आफै पनि अचम्म मान्दै छाउ बार्नु पर्यो,’ उनले भनिन् । दुई कोठा भएको जीर्ण भवनमा पढाउनुपर्ने बाध्यता थियो । त्यसबेलामा सरकारले प्रौढ शिक्षा साथै चेलीबेटी शिक्षा कार्यक्रम ल्यायो । ‘महिला र किशोरीलाई बेलुकी र बिहानमा पढाउन सुरु गरे,’ उनले भनिन्, ‘बिस्तारै आफ्नो नाम लेख्न जान्ने भए ।’ प्रौढ कक्षामा सिकेका किशोरीलाई उनीहरुको सिकाइ अनुसारको कक्षामा भर्ना गरेको उनले बताइन् ।
अचम्म उनलाई के लाग्थ्यो भने १० वर्षका कक्षा १ मा भर्ना हुन आउने प्रचलन थियो । ‘मेरा लागि नयाँ विषय नै थियो,’ उनले भनिन्, ‘हामीले दार्जिलिङमा सानैमा पढ्ने चलन आइसकेको थियो । त्यसैले पनि नयाँ लाग्थ्यो ।’ १७ वर्ष रौलेश्वर प्राविमा पढाएपछि छिमेकी गाउँ चनैराज प्राविमा प्रधानाध्यापक भइन् ।
यो विद्यालय अहिले मावि भएको छ । २०६१ सालमा शिक्षण सेवाबाट अवकास लिएकी उनले गाउँमै महिला उत्थान समाज नामको संस्था पनि गठन गरेकी थिइन् । २०५२ सालमा चीनमा भएको चौथो विश्व महिला सम्मेलनमा सहभागी भएर फर्केपछि २०५३ सालमा संस्था दर्ता गरेको उनले बताइन् । ‘संस्थालाई काठमाडौंबाट अन्जना शाक्य र रिता थापाको सहयोग मिलेको थियो,’ उनले भनिन्, ‘मैले पनि सकेको काम गर्न थाले । सबैले राम्रो मानेपछि पैसासमेत ल्याउन सफल भए ।’
महिला, दलित, जनजातिको क्षेत्रमा काम गर्दै अघि बढेपछि गाउँमा परिवर्तनको लहर सुरु भयो । त्यतिबेला दातृ निकायकै सहयोगमा स्थापना गरिएका १० वटा बालविकास अहिले सबै सरकारी विद्यालयमा परिणत भएको उनले सुनाइन् ।
२०५८ सालमा श्रीमान्को मृत्यु पछि उनले एकल महिला समाजसमेत स्थापना गरेर अघि बढिन् । ‘धेरै पिछडिएको समाज थियो,’ उनले भनिन्, ‘अझै पनि धेरै काम गर्न बाँकी नै छ । यसमा अहिलेको पुस्ताले काम गर्नुपर्छ ।’ मुख्य समस्या महिनावारी र सुत्केरी समयमा महिलालाई हुने गरेको विभेद रहेको उनको अनुभव छ । ‘कतिपय गाउँमा अझै पनि छाउपडी व्याप्त छ । मन्दिरको बाटो हिँड्न नदिने, चार दिन विद्यालय जान नपाउने समस्या अझै पनि छ,’ उनले भनिन् । स्वास्थ्य अवस्थाका कारण आफू अचेल कन्चनपुरको महेन्द्रनगरमा बस्दै आए पनि बेलाबेला बैतडीका गाउँमा गएर सामाजिक गतिविधिमा संलग्न हुने गरेको उनले बताइन् ।
बिष्टलाई २०६१ सालमा सरकारले स्वर्ण पदक प्रदान गरेको छ । इन्हुरेड इन्टरनेशनल, महिला मानव अधिकार पुरस्कार प्राप्त गरिसकेकी उनलाई फागुन पहिलो साता पाल्पामा ‘मीना दिदी पुरस्कार’ प्रदान गरिएको छ ।
बैतडीकी पहिलो महिला शिक्षक भएर काम गरेकी बिष्टलाई शिक्षण क्षेत्रमा विशिष्ट योगदानको कदर स्वरुप प्रदान गरिएको हो । पाल्पाको किसान माविमा प्रथम महिला शिक्षिका मीनाकुमारी कार्कीको नाममा स्थापना भएको पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।
मुलुकभरिका शिक्षा क्षेत्रबाट सामाजिक रुपान्तरको लागि महत्वपूर्ण योगदान दिनेहरुलाई प्रदान गरिने ‘मीना दिदी पुरस्कार’ प्रत्येक वर्ष प्रदान गरिँदै आएको पुरस्कार संस्थापक निलम कार्की निहारिकाले बताइन् । माथागढी गाउँपालिकाको किसान माविको ६५ औं वार्षिकोत्सवको अवसरका मीनाकी छोरीहरू प्राध्यापक डाक्टर आरती कार्की र लेखक निलमले यो पुरस्कार स्थापना गरेका हुन् ।
