वैदेशिक रोजगारी पीडितका साथी ‘पाल्देन दाइ’

न्युरोडको हतारोबीच भारी बोकेर हिँडिरहेका पाल्देन दाइलाई धेरैले सामान्य श्रमिकका रूपमा देख्लान् । तर, वैदेशिक रोजगारी पीडितका लागि उनी बलियो भरोसा हुन् । अप्ठयारोमा परेकाहरूले सम्झिने र साथ खोज्ने मान्छे हुन् ।

फाल्गुन ६, २०८२

विवेक पोख्रेल

'Palden Dai', a friend of a foreign employment victim

What you should know

काठमाडौं — न्युरोड काठमाडौं । भिड र हतारोले भरिएको सडक । यो भिडमा भारी बोकेर गुजारा चलाउने धेरै छन् । यिनैमध्ये एक हुन् ४३ वर्षीय पाल्देन लामा । धेरैले उनलाई ‘पाल्देन दाइ’ भनेर चिन्छन् । 

सहरबाट गाउँ फर्कनेहरूले काँधमा रेडियो बोकेको देख्दा साह्रै रहर लाग्थ्यो । यही देखेर पैसा कमाउने लालसामा काठमाडौं आएँ । तर, ७ महिनाभन्दा बढी बस्न सकिनँ । पढ्नुपर्छ भनेर फेरि गाउँ फर्किए र स्कुल जान थाले ।५ कक्षासम्म मात्र अध्ययन गरेका पाल्देनलाई सबैले पहिलो नजरमा सामान्य भरिया मात्रै देख्छन् । तर, उनको दैनिकी केवल भारी बोक्नेमा मात्रै सीमित छैन । जीविकोपार्जनका लागि भारी बोक्नेसँगै उनी वैदेशिक रोजगारीका क्रममा समस्या भोगेका व्यक्तिहरूको पीडा, गुनासा सुन्ने र आवश्यक परे सम्बन्धित सरकारी निकायसम्म पुर्‍याउन सहयोग गर्दै आएका छन् ।

रामेछापाको दोरम्बा शैलुङ गाउँपालिकामा जन्मिएका पाल्देन १७ वर्षको उमेरदेखि न्युरोडमा भरियाको काम गर्दै आएका छन् । काठमाडौंसँग उनको पहिलो भेट भने अझै अघि भएको थियो । गाउँकै एकजना दाइको सल्लाहमा राम्रो आम्दानी हुने आशाले उनी ३ कक्षा पढ्दै गर्दा विद्यालय छाडेर गलैंचा बुन्न भन्दै काठमाडौं आएका थिए । ‘सहरबाट गाउँ फर्कनेहरूले काँधमा रेडियो बोकेको देख्दा साह्रै रहर लाग्थ्यो,’ पाल्देन सम्झन्छन्, ‘यही देखेर पैसा कमाउने लालसामा काठमाडौं आएँ । तर, ७ महिनाभन्दा बढी बस्न सकिनँ । पढ्नुपर्छ भनेर फेरि गाउँ फर्किए र स्कुल जान थाले ।’

जन्मेको ७ दिनदेखि पाल्देन मामाघरमा बसेका हुन् । बुबाले दोस्रो विवाह गरेपछि उनी आमासँगै मामाघर बस्न थालेका थिए ।‘परिवारिक तनावका कारणले पनि होला की, पढाइमा ध्यानै जान सकेन,’ उनले बाल्यकाल सम्झिए, ‘६ कक्षाको पहिलो त्रैमासिक परीक्षा दिएपछि आमाको सुर्केथैलीबाट १४० रुपैयाँ झिकेर फेरि काठमाडौं आएँ ।’ त्यसमध्ये ६३ रुपैयाँ गाडी भाडामा खर्च भयो । बाँकी पैसासहित चिनजानको एक साथीको कोठामा बस्न र काम गर्न न्युरोड पुगे । ती साथी न्युरोडमै भरिया थिए । ट्रान्सपोर्टमा आएका सामान होलसेल पसलसम्म पुर्‍याएर साथीले दिनको हजार रुपैयाँसम्म कमाउने गरेको उनले सुनाए । यही देखेर पाल्देल पनि नाम्लो बोकेर न्युरोडमा काम खोज्न थाले । 

२०६४ सालमा १ लाख ८० हजार रुपैयाँ ऋण लिगाएर पाल्देन रोजगारीको लागि कतार पुगे । त्यहाँ ४५ डिग्रीको तातोमा फलामका रडहरू बोक्नु उनको दैनिकी थियो । ‘विदेशमा त दुःख कम हुन्छ भन्ने सोचेको थिएँ । तर, झनै गाह्रो र आम्दानी पनि कम भयो,’ उनले भने । अनेक जुक्ती लगाएर ३ महिनामा पाल्देन फेरि नेपाल फर्किए । अनि पुनः उही न्युरोड, उही नाम्लोसहित पुरानै काम । 

नेपाल आएपछि उनले नाम्लोसँगै हातेगाडामा पनि सामान बोक्न थाले । नेपाल फर्किएर विदेश जाँदाको ऋण ब्याजसहित तिरे । ‘कमाईं हुँदै गर्दा आमा बिरामी हुनुभयो,’ लामाले भने, ‘उपचारकै क्रममा पाठेघरको क्यान्सरले आमाको मृत्यु भयो । ४ लाख रुपैयाँ उपचारमै सकियो । आमा पनि अस्ताउनु भयो ।’ जुन पैसा उनले जमिन किन्न भनेर बचत गरेका थिए । काममा विश्वास गर्ने पाल्देनको जमिन जोड्न नसके पनि हातेगाडा हुँदै इन्जिनगाडी (बलेरो) भने किनेका छन् । 

छोराको मृत्युपछि पाल्देनको पाइला सामाजिक कामतर्फ

५ महिनाको छोराको मृत्युपछि पाल्देनको रुचि सामाजिक कार्यतर्फ लागे । भदौ २०७४ मा छोराको मृत्युपछि उनी गहिरो बेचैनीमा परे । ‘यही घटनाले मेरो जीवनको दृष्टिकोण नै फेरिदियो,’ विगत सम्झदैँ लामाले भने, ‘पहिलेदेखि नै सामाजिक काममा रुचि त थियो । छोरा गुमाएपछि मृत्यु सत्य रहेछ भन्ने मनन् भयो । र, संकल्प गरे आफू र परिवारको लागि मात्रै होइन् अरूको समस्या बुझ्न, पीडा बाँड्न र सकेसम्म साथ दिन प्रयास गर्छु ।’ 

यही घटनापछि वैदेशिक रोजगारीका क्रममा पीडामा परेकाहरूलाई सहयोग गर्न थाले । न्यूरोडमा उनले श्रीमतीका लागि खाजा पसल खोलेका थिएँ । उनको पसलमा एक दिन कुवेतमा रहेकी छोरी नेपाल ल्याउन अनेक कोशिस गरिरहेको दम्पतीसँग भेट भयो । कामकै सिलसिलामा उनले केही प्रहरी चिनेका थिए । दम्पतीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पुर्‍याइदिए । त्यहाँ पुग्दा उस्तै प्रकृतिका अरुको समस्या पनि देखे । उक्त दम्पतीको छोरी पछि नेपाल पर्किन पनि । ‘सुरूमा केही थाहा थिएन । समस्या भएका व्यक्तिहरूलाई प्रहरीकोमा पुर्‍याउँदै जाँदा थाहा हुँदै गयो । सरकारका अधिकारीहरूले समेत सल्लाह र जानकारी दिन थाल्नु भयो,’ उनले भने, ‘वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने विभिन्न संस्था र संगठनहरू पनि देखेँ । उनीहरूले कामभन्दा बढी प्रचार गरेको पाएँ । त्यसपछि आफूले सकेको समन्वय गर्छु भनेर लागेँ ।’

दुई वर्षयता मात्रै कतार, कुवेत, ओमन, कम्बोडिया जस्ता देशमा जाँदा पैसा फसेका, परिवारको सम्पर्कमा नआएका सयभन्दा बढीको समस्या समाधानमा हातेमालो गरेको उनी बताउँछन् । 

उनी अहिले साँझको समयमा आफै गाडीमा सामान ढुवानी गर्छन् । आफैँ गाडी चलाउँछन् । गाडीमा सामान लोड–अनलोड गर्छन् । ‘जीविकोपार्जनका लागि गाडीबाट सामान झार्ने, पसल र गोदामसम्म पुर्‍याउने काम गर्छु,’ उनी भन्छन्, ‘विहान बेलुका वैदेशिक रोजगारीमा समस्या भोगेका व्यक्तिहरूको कथा सुन्न र उनीहरूको गुनासा सम्बन्धित सरकारी निकायसम्म पुर्‍याउनसँगै साथी बनेर जान्छु ।’

प्रहरीमा पनि पाल्देनको प्रशंसा

'यसरी नागरिकको तर्फबाट सहयोग हुँदा प्रहरीलाई काम गर्न सहज हुन्छ । धेरैले कार्यालय चिन्दैनन्, के गर्ने थाहा हुँदैन । त्यस्तो अवस्थामा समन्वय मिलाइदिनु ठूलो कुरा हो ।' - कृष्णप्रसाद पंगेनी, प्रहरी वरिष्ठ उपरीक्षक, मानव बेचबिखन अनुसन्धान ब्यूरो पाल्देनको सामाजिक सक्रियताको चर्चा न्युरोडमा मात्र सीमित छैन । उनको कामको प्रशंसा प्रहरी वृत्तभित्र पनि सुनिन्छ । वैदेशिक रोजगारीका क्रममा समस्या भोगेका व्यक्तिहरूलाई समन्वय गर्दै प्रहरी कार्यालयसम्म ल्याउने उनको प्रयासलाई अधिकारीहरूले सकारात्मक रूपमा लिने गरेका छन् ।

ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनी भन्छन्, ‘वैदेशिक रोजगारीमा समस्या परेकाहरूको गुनासा बोकेर उहाँ कार्यालयमा आउनु हुन्छ । कहिलेकाहीँ पीडितलाई साथमै ल्याउनु हुन्छ र उजुरी दर्तामा समन्वय गरिदिनु हुन्छ ।’ उनका अनुसार विदेशमा अलपत्र परेका कतिपय पीडितहरू समेत लामाकै सम्पर्कमार्फत प्रहरीसम्म आइपुग्ने गरेका छन् । ‘यसरी नागरिकको तर्फबाट सहयोग हुँदा प्रहरीलाई काम गर्न सहज हुन्छ,’ पंगेनीले भने, ‘धेरैले कार्यालय चिन्दैनन्, के गर्ने थाहा हुँदैन । त्यस्तो अवस्थामा समन्वय मिलाइदिनु ठूलो कुरा हो ।’

पंगेनीका अनुसार लामाले पीडितलाई मात्र होइन, प्रहरीलाई पनि सहयोग गर्दै आएका छन् । ‘सधैंको चिनजान र विश्वासका कारण उहाँले ल्याएका उजुरीहरू प्राथमिकतामा पर्नु स्वाभाविक नै हो,’ उनले थपे ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully