‘सरकार आउँछ, ओत आउँदैन’

‘भोट त कति हालियो कति, सरकारले एउटा ओत लाग्ने जग्गा दिन सकेन,’ धनबहादुरले आक्रोश र पीडा मिसाउँदै भने, ‘सरकार भए त हामीजस्ता गरिबलाई पनि हेर्थ्यो होला नि ।’

फाल्गुन ५, २०८२

आश गुरुङ

'The government comes, the OAT doesn't come'

What you should know

लमजुङ — बेंसीसहर नगरपालिका–८ र १० को सिमाना भएर बग्ने मर्स्याङ्दी नदीको बगरमा बालुवा चाल्दै ६८ वर्षीय धनबहादुर तामाङले दशक बिताए । कुनै समय चक्रीय अन्नपूर्ण पदमार्गमा भारी बोकेर जीविकोपार्जन गर्ने धनबहादुरको दैनिकी तब फेरियो, जब मनाङसम्म जिप चल्न थाल्यो ।

मोटरले उनको नाम्लो र कुमको भारी त खोस्यो नै, साँझ–बिहान हातमुख जोर्ने बाटो पनि बन्द गरिदियो । द्वन्द्वको राप र पारिवारिक बाध्यताले २०६२ सालतिर उनी श्रीमती सुविना र छोरीहरुसहित बेंसीसहर झरेका थिए । द्वन्द्वकालमा कहिले सेना त कहिले माओवादीको सोधखोजले गाउँको टहरामा बस्ने स्थिति थिएन । कान्छी छोरीको सुत्केरी गराउनु पर्ने चटारोले उनलाई बजार पुर्‍यायो ।

सम्पत्तिको नाममा एक टुक्रा जमिन नभएका धनबहादुर अहिले बेंसीसहरका लोकबहादुर मगरको जग्गामा सानो टहरा बनाएर बसेका छन् । उनी बेंसीसहर नगरपालिका १० खडेरीका वासिन्दा हुन् । 

बेंसीसहर नगरपालिका ८ मा पर्ने पातीघारी र रुखले घेरिएको ठाउँलाई उनले आफ्नै पसिनाले खनजोत गरी खेतीयोग्य बनाएका छन् । पछाडिपट्टि सानो बारीमा आलु र लसुन उम्रिएका छन् । तर, पछिल्लो समय माथिल्लो गह्रामा डोजर चल्ने खबरले यो दम्पतीको निन्द्रा खोसिएको छ । ‘सरकारले जग्गा दिन्छु भनेर एउटा कागज (निस्सा) त दिएको थियो, तर त्यो पनि हरायो,’ श्रीमती सुविनाले भनिन्, ‘कहिले सरकार फेरियो भन्छन्, कहिले के भन्छन् । जग्गा पाइएला भन्दाभन्दै आशै मर्न थाल्यो ।’

बुढ्यौलीले छोपेपछि धनबहादुर अहिले भारी बोक्न र बालुवा चाल्न सक्दैनन् । ५१ वर्षीया श्रीमती सुविना ज्यामी काममा जान्छिन् । दिनभरि पसिना बगाउँदा ८ सय रुपैयाँ हात लाग्छ, तर काम सधैं पाइँदैन । उनीहरुको साथमा ८ वर्षको नाति छ, जो स्कुल जानुको साटो हजुरबुबा–हजुरआमाको सहारा बनेर बसेको छ।

आम्दानीको आशमा पालेका ३ वटा बाख्रा र केही कुखुराले पनि दुःखको बेला साथ दिँदैनन् । सुविना भन्छिन्, ‘पैसा चाहिने बेला कुखुरा किन्न कोही आउँदैनन् । एउटा सानो बोका पनि हतारमा ३ हजारमा बेच्नुपर्‍यो ।’ ढुंगा र माटोको पर्खालमाथि पुरानो जस्ताले छाएको टहरामा मर्स्याङ्दीको चिसो सिरेटो सिधै छिर्छ, जसले उनीहरुको रात झन् कष्टकर बनाउँछ ।

फागुन २१ को चुनावको चर्चा धनबहादुरको कानसम्म पनि पुगेको छ । भोट हाल्ने ठाउँ नजिकै छ, तर उनमा उत्साह छैन । ‘भोट त कति हालियो कति, तर सरकारले एउटा ओत लाग्ने जग्गा दिन सकेन,’ धनबहादुरले आक्रोश र पीडा मिसाउँदै भने, ‘सरकार भए त हामीजस्ता गरिबलाई हेर्थ्यो होला नि ।’

सामाजिक सुरक्षा भत्ताको कार्ड त उनले बनाएका छन्, तर अहिलेसम्म रकम हात परेको छैन । उनीहरुलाई विलासी जीवनको लोभ छैन । एक छाक अघाउञ्जेल खान, शरीर ढाक्ने लुगा र ओत लाग्ने एउटा स्थायी छानोको आश छ ।

कपुरेश्वर मन्दिरनजिकै रहेको उनको बासस्थान वरपरको वातावरण पनि उस्तै उराठलाग्दो छ । मन्दिर क्षेत्रमा थुप्रिएको फोहोर र लागूऔषध प्रयोगकर्ताको आउजाउले उनलाई चिन्तित तुल्याउँछ । ‘यो ठाउँ सफा भइदिए, केटाकेटीले पढ्ने र काम पाउने व्यवस्था भइदिए यसरी कोही बरालिनु पर्दैनथ्यो,’ उनले भने ।

मर्स्याङ्दीको पानी बगिरहेझैं धनबहादुरको जीवनका दुःखका दिन पनि बगिरहेका छन् । सरकार फेरिन्छ, चुनाव आउँछ र जान्छ, तर धनबहादुरका लागि ‘राज्य’ भनेको अझै पनि एउटा हराएको कागजको टुक्रा र पूरा नभएको आश्वासन मात्रै बनेको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully