अस्ताए शेरमान, जसको लगनले पर्साका घरमा पुगेको थियो स्वच्छ खानेपानी

खानेपानीका उपभोक्ताहरुले उठाएको नगद सहयोगले शेरमानका लागि घडेरी किनेर बनाएको घर अब रित्तो भएको छ ।

फाल्गुन २, २०८२

रमेशकुमार पौडेल

What you should know

चितवन — स्वच्छ पिउने पानी झर्ने खैरहनीका घरघरका धारामा शेरमान तमाङको लगन र मिहनेत मिसिएको छ । लगातार दुई दशक खानेपानी समितिको नेतृत्व लिएका शेरमान तमाङको उनको ८१ वर्षको उमेरमा शुक्रबार निधन भयो ।

खानेपानीका उपभोक्ताहरुले उठाएको नगद सहयोगले शेरमानका लागि घडेरी किनेर बस्ने घर बनेको थियो । उपभोक्ताले बनाइदिएको यो घर अब रित्तो भएको छ । ‘खैरहनीका घरघरमा स्वच्छ पिउने पानी आउनुमा शेरमान दाईको ठूलो मिहनेत परेको छ । आयोजना ल्याउन, त्यसलाई सम्पन्न गर्न उहाँ आफ्नो व्यक्तिगत काम र व्यापार छाडेर एकोहोरो लाग्नुभएको थियो,’ खैरहनीका मुरलीप्रसाद गजुरेलले सुनाए । 

खैरहनी नगरपालिका अन्तर्गतको पर्सा बजार र आसपासमा पानीको सतह माथि नै छ । २०/३० फिट पाइप गाडे हेण्डपम्म (हाते धारा)मा मजाले पानी आउँछ । त्यसैले खैरहनीमा खानेपानी आयोजना आवश्यक छ भन्ने लाग्दैन थियो । तर यस्तो कम दुरीको भूमिगत जल पिउँदा हुने हानीबारे शेरमान जानकार थिए । सरकारले साना सहरी खानोपानी तथा सरसफाई आयोजनाका लागि खैरहनीलाई पनि छनोट गरेपछि उनी समर्थनमा उभिए ।

एसियाली विकास बैंक (एडिबी)को सहयोगमा नगरपालिका र नगर उन्मुख तत्कालीन गाविसहरुमा आयोजना आउने कुरा चल्यो । देशभरका २४० मध्ये पहिलो चरणमा ४० वटा आयोजना छनोट भएका थिए । सम्झौता गर्ने सुरुका सात आयोजनामध्ये खैरहनीको आयोजना पनि पर्दछ । २०५६ सालमा गठन भएको खैरहनीको अयाोजनाको उपभोक्ता समितिको संस्थापक सदस्य बने शेरमान ।  

समितिको संस्थापक अध्यक्ष तत्कालीन खैरहनी गाविसका अध्यक्ष लालमणि चौधरी थिए । त्यसको एक वर्षपछि नै २०५८ सालमा अर्को समिति बन्यो । पहिलो समितिमा सदस्य रहेका शेरमान यस पटक अध्यक्ष बने। अनि त्यसपछि लगातार २०७७ चैतसम्म शेरमाननै उपभोक्ता समितिको अध्यक्ष रहे । यो बीचमा उनले खैरहनीका घरघरमा धारा पुर्‍याउने अभियानलाई सफल बनाए । 

नुवाकोटको सूर्यगढी गाउँपालिका–१ मा पर्ने लज्याङ गाउँमा विस २००२ सालमा जन्मेका हुन् शेरमान । तर किशोर अवस्थामा नै उनले गाउँछाडे । २०१५ सालतिर उनी चितवन छिरे । २०१३ सालपछि चितवनमा बस्ती बिस्तारको काम धमाधम हुँदै थियो । चितवनको विकासक्रम नियाल्दै यही बसे । सुरुमा भरतपुर बसे । २०३३ सालपछि खैरहनीको पर्सा आउजाउ गर्न थाले । 

२०४६ सालपछि पर्सामै बस्न सुरु गरे । खानोपानी आयोजनाका लागि ०५३/५४ सालतिर नै विभिन्न निकायहरु सोध्न, बुझ्न र सर्भे गर्न आउँथे । तर २०/३० फिट पाइप धँसाए धारामा पानी आउने भएका कारण आयोजना चाहिदैन भन्ने स्थानीयको मत थियो । २०५४ तिर रत्ननगर नगरपालिकामा खैरहनीका प्रतिनिधिसहितको भेला बस्यो । त्यहाँ पनि खैरहनीका प्रतिनिधिहरुले आयोजना आवश्यक छ भनेर दह्रोसँग बोलेनन् ।

शेरमानलाई आयोजनाको महत्व थाहा थियो । तर धारा र इनारमा पानी आएकै छ । अरु आयोजना किन चाहियो भन्ने धेरै थिए । शेरमान आयोजना चाहिन्छ भन्नेमा अरुलाई बुझाउन थाले । ‘पर्सासँगै सिङ्गो खैरहनीमा जनसंख्या बढ्दो थियो । गाईभैंसी प्रशस्तै थिए । मान्छे र घरपालुवा गाईबस्तु धेरै भएको ठाउँमा भूमिगत स्रोतको माथिबाटै आएको पानी पिउन उपयुक्त हुँदैन । प्रदुषित हुन्छ । यही आधारमा भेलामा मैले आयोजनाको पक्षमा तर्क राखे,’ शेरमानले सुनाएका थिए ।

उनको तर्कले गाविसलाई आयोजना अगाडि बढाउन बल मिलेको तत्कालीन गाविस अध्यक्ष, संविधानसभा सदस्य तथा खैरहनीका पूर्वमेयर लालमणि चौधरीले सुनाए । शेरमानकै तर्कले माहौल बद्लियो । आयोजना बन्ने भयो । तर काम सजिलो भने थिएन ।

शेरमानले पूर्वपश्चिम महेन्द्रराजमार्ग बन्न सुरु हुँदा भौगर्भिक सर्भे गर्न आएको टोलीको सहयोगी भएर काम गरेका थिए । त्यो संगतले उनलाई पर्सा र पूर्वी चितवनमा कहाँको माटो र भूगोलको भित्रि अवस्था के छ भन्ने जान्न मद्दत गरेको थियो । रेडक्रसले पनि खानेपानीको बारेमा सर्भे गर्दा उनी टोलीमा मिसिएका थिए । त्यसैले भूगोल, माटोको भित्रि तह र खानेपानेको गुणस्तरका बारेमा उनलाई थोरै धेरै ज्ञान थियो । त्यसैका आधारमा उनले गरेको तर्क काम लाग्यो । तर लगानी जुटाएर आयोजना चलाउनु फलामको च्युरा चपाए झैं थियो ।

आयोजनाको कुल लागत ४ करोड ५५ हजार रुपैयाँ निस्कियो । सरकारले २० प्रतिशत र एडिबीले ३० प्रतिशत गरेर ५० प्रतिशत अनुदान आउने भयो । उपभोक्ताले ५० प्रतिशत वेहोर्नुपर्ने थियो । खानेपानीका उपभोक्ताले आयोजनाको लागतको पाँच प्रतिशत अग्रिम उठाउनु पर्ने थियो । १५ प्रतिशत श्रमदान गर्नु पर्ने थियो । बाँकी ३० प्रतिशत कोषबाट सुलभ दरमा ऋण पाइन्थ्यो ।

२०५८ सालमा शेरमानको नेतृत्वमा रहेको समितिले यो जिम्मेवारी पूरा गर्नुपर्ने भयो । तर अग्रिम पाँच प्रतिशत रकम उठाउनु नै महाभारत भयो ।  हाते पम्प र इनारबाट पानी खाएकै थिए । धारा जडान गरे शुल्क पनि बुझाउनु पर्दथ्यो । प्रदुषित र स्वच्छ पानीको बारेमा बुझाउन गाह्रो थियो । यस्तो अवस्थामा सजिलै अग्रिम रकम बुझाउने कस्ले ? त्यसैले सबै कुरा भुलेर शेरमान स्थानीयलाई सम्झाउन बुझाउन लागे । 

आयोजनाको कुल लागतको पाँच प्रतिशत अर्थात करिब २५ लाख रुपैयाँ जति अग्रिम उठाउनु पर्नेमा  जति गरे पनि नौ लाख रुपैयाँभन्दा बढी उठेन । शेरमानले यो १६ लाख रुपैयाँ व्यक्तिगत र संस्थागत रुपमा ऋण धन गरेर जुटाए । शेरमानसँग मेरो तीन वर्षअघि भेट भएर लामो कुराकानी भएको थियो । त्यो बेला उनले सुनाएका थिए, ‘एक जना नेतालाई कुरा गरेको १० लाख रुपैयाँ सजिलै दिन्छु भने । तर पार्टी प्रवेश गर्नु पर्ने शर्त राखेपछि अस्वीकार गर्‍यौं ।’ अग्रिम रकम उठाएपछि श्रमदान जुटाउन त्यस्तै धौ भयो । 

श्रमदानमा मान्छेहरु कम आएपछि समितिले धारा जडान गर्ने खर्च उपभोक्ताबाट नै वेहोर्ने गरेर श्रमदानको हिस्सा मिलायो । अनेक दुःख कष्ट गरेर २०६३ सालमा योजना पूरा भयो । तर धेरैले घरमा धारा जोड्ने इच्छा देखाएनन् । ‘शेरमान दाई धारा जडान गर्नुहोस् भनेर पटक पटक घरघर पुगेर नम्र भाषामा अनुरोध गरेको देखेको छु । काममा एकदमै खटेको देखेको छु । इनार र हेण्ड पाइपको पानीभन्दा आयोजनाको पानीको गुणस्तरका बारेमा उहाँले बुझाएपछि जडान गर्दिन भन्नेहरु कमै भए,’ खैरहनीको बैरहनीकी समाजसेवी चन्द्रा चौधरीले भनिन् ।

आयोजनाले निकै तलबाट पानी पम्प गर्दथ्यो र प्रशोधनपछि शुद्ध गरेर धारामा पठाउँथ्यो । धारा जडान गर्नेहरु बढेपछि दुःखका दिन कम भए । लिएको ऋण अवधिभन्दा लगभग चार वर्ष अगाडि नै तिरेपछि एडिबीले खैरहनीमा अर्को आयोजना पनि थप्ने भयो । २०७३ मा दुई वटा आयोजना सुरु भए । पहिलाको भन्दा सहज रुपमा सकिए पनि । ‘२०/३० फिट मै आएको पानी दुषित थियो । कपडा धोए खैरो हुन्थे । भाडा खिया लागे झै खैरा हुन्थे,’ मुरलीप्रसाद गजुरेलले भने । तर धारा जडान गरेपछि स्वच्छ पानी पिउन र अन्य काममा प्रयोग गर्न पाएको उनले बताए । खानेपानीको काममा शेरमान राति १२ बजेसम्म खटेको गजुरेलले देखेका छन् । 

यस्तो खटाइले खैरहनीका लगभग सबै घरमा पानीको धारा पुग्यो । तर शेरमानको व्यक्तिगत जीवन भने सम्हालिन सकेन । खैरहनीमा उनको १० कट्ठा जति जमिन थियो । फर्निचर उद्योग खोलेका थिए । पूर्वी चितवनमा २०५० सालमा ठूलो बाढी आएको थियो । त्यो बेला उनको फर्निचर उद्योगमा बाढी पस्यो । फेरि २०५९ सालमा पनि ठूलो बाढी आयो । तयारी सामान र चिर्न ल्याएका काठका मुढा जम्मै बगायो । तर शेरमान यी सबै बिर्सेर खानेपानी आयोजना सफल बनाउन दत्तचित्त भएर लागेका थिए । बाढी मात्रै हैन माओवादीको सशस्त्र संघर्ष चरम हुँदै जाँदा त्यसले पनि व्यापार व्यवसाय चौपट बनाउँदै थियो । एकपछि अर्को आपत थपिदै गयो ।

तर शेरमानले जग्गाजमिन बेचेर व्यवहार मिलाए । आफ्नो व्यापार सम्हाल्दा खानेपानी आयोजना बिग्रला भन्ने चिन्ता लिए । ऋणले गर्दा उनको घर बास नै उठ्यो । अनि उनी परिवारसहित २०७३ सालदेखि आफैले बनाएको खानेपानी आयोजनाको पम्प हाउस आडको टहरोमा आश्रय लिन थाले । यसो हुँदा पनि शेरमानको अनुहारमा चिन्ता र पश्चताप तथा पीडा झल्कदैन थियो । पानी घरघर पुर्‍याउन पाएकोमा उनी दंग देखिने गरेको गजुरेल बताउँछन् । 

२०१५ सालमा उनी काठमाडौंबाट सिमभञ्ज्याङ हेटौंडा हुँदै भरतपुर आएका थिए । काठमाडौंमा उनले एक जना उच्च सरकारी अधिकारी नरबहादुर गुरुङलाई भेटेका थिए । उनैले शेरबहादुरलाई चितवन ल्याए । त्यो बेलासम्म स्कुल नगएका शेरबहादुरलाई हेटौंडामा गुरुङले कखग, अआइ अक्षर भएको बर्णमालाको किताब किनिदिए ।

भरतपुर आएर बसेका बेलामा पुष्पगोपाल श्रेष्ठ भन्नेसँग त्यही वर्णमाला पढ्न सुरु गरे । राति राति पढेर अक्षर चिने । त्यसपछि २०२४ सालमा उनले भरपुरमा अहिले क्यान्सर अस्पताल रहेको ठाउँमा सिकर्मी, डकर्मी र फलामको काम सिक्ने अवसर पाए । जापानी नागरिकले तालिम दिन्थे । तालिम लिन चाहने २२ जना थिए । तर शेरमान र अन्य दुईजना मात्रैलाई जापानीले छाने । त्यहाँ उनले तीन वर्ष कडा तालिम लिए । भरतपुर बस्दै गर्दा वामपन्थी राजनीतिमा झुकाव बढ्यो । तर उनी आफ्ना साथीहरुलाई अन्य कुराभन्दा तालिममा निपुण हुन र श्रम गरेर खानु पर्दछ भन्ने सल्लाह दिन्थे । इच्छुकहरुलाई तालिम पनि दिन्थे । उनको तालिम प्रतिको लगाव देखेर जापानीहरुले ‘शेरमान हिँड जापान जाउँ’ समेत भने । तर उनले हाँसेर टारे । राजनीति पनि लामो समय गरेनन् । निर्दल या बुहदलका लागि भनेर २०३७ सालमा भएको जनमत संगहपछि राजनीतिको मोह पनि हरायो भनेका थिए ।

यज्ञपुरीको तालिमपछि त्यस्तै खाले तालिम रामपुर कृषि क्याम्पसमा लिने अवसर पाएका थिए । तर उनीसँग यति सीप रहेछ कि उनले तालिम लिने हैन एक सातासम्म सहभागीलाई जाने बुझेको ज्ञान दिएर आए । शेरमान चितवन आउँदा राप्तीदूनले धमाधम जमिन बाँडेको थियो । नरबहादुर गुरुङले जे भन्यो त्यही चल्ने समय थियो । तर शेरमानको मन जग्गा जमिनतिर गएन । जापान जाने पाउने अवसरलाई त उनले त्यागेका थिए । उनले सीप सिक्ने अवसर भने सकेसम्म छाडेनन् । त्यसैले उनलाई ज्ञान दियो । सम्पत्तिको हैन सीपको पछि लाग्न सिकायो । उनको पहिल्यैदेखि कै स्वभाव त्यस्तो रहयो ।

त्यसैले व्यक्तिगत सम्पत्तिको ख्याल नगरेर समुदायमा स्वच्छ खानेपानी पुर्‍याउन मरिमेटेर लागे । यसरी काम गरेका शेमरानलाई जीवनको उत्तरार्धमा उनकै नामको घरजग्गामा राख्न स्थानीय उपभोक्ता जुटे । जग्गा किन्न र घर सम्पन्न गर्न लगभग ४७ लाख रुपैयाँ लाग्यो । सबै दायित्व स्थानीय उपभोक्ताले स्वऐच्छिक रकम दिएर पूरा गरेका थिए । 

२०८१ वैसाख १ गते घर सेरका शेरमानको टन्सिल बिग्रेर समस्या बढेको थियो । उपचारको क्रममा रहेका शेरमानले भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शुक्रबार अन्तिम स्वास लिए । नुवाकोट जन्मे पनि भौतारिँदै चितवन झरेका शेरमानले यहीको समाजलाई सक्दो सहयोग गरे । व्यक्तिगत सम्पत्ति जोड्ने र सुखसयलमा लाग्ने अवसर आउँदा पनि आफ्नो श्रमलाई समाजको हितका लागि मात्रै प्रयोग गरे । सीप भए एक्लो परिदैन र यस्तो सीप समाजका लागि नै लगाउनु पर्दछ भन्ने उनको धारणा रहेको स्थानीय सम्झन्छन्।  

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully