धमिरा–कमिला खाने सालकले मान्छे र प्रकृतिलाई पुर्‍याउँछ फाइदा

सालक संरक्षणमा सक्रिय रहँदै आएका चितवन डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार एउटा वयस्क सालकले दिनमा कम्तीमा २० हजार धमिला र कमिला खाने गर्दछ ।

माघ २७, २०८२

रमेशकुमार पौडेल

Ant-eating lizards benefit humans and nature

What you should know

चितवन — सालक नभए के हुन्छ ? यो प्रााणीका बारेमा अध्ययन अनुसन्धान गर्दै आएकी तुलसीलक्ष्मी सुवाल सुनाउँछिन् ,‘धमिरा नियन्त्रणका लागि हामीले ठूलो रकम खर्च गर्नु पर्दथ्यो । विकसित देशहरु जहाँ सालक छैनन् त्यहाँ धमिरा नियन्त्रणका लागि धेरै बजेट खर्च हुने गरेको छ ।’

सालकको मुख्य खान्की नै धमिरा र कमिला हो । सालक हुँदा धमिरा र कमिलाको दु:खबाट छुटकारा पाइने उनी सुनाउँछिन् ।  

हेर्दा लाम्चो, न्याउरी मुसाको झै आकार भएको सालकको शरीर ठूल्ठूला कत्ला अर्थात खपटाहरुले ढाकिएको हुन्छ । यसको ४० सेन्टिमिटरसम्म लामो र डेढ सेन्टिमिटरसम्म चौडा जिब्रो हुन्छ । लामो र लेसाइलो जिब्रोले सालकले धमिरा र कमिला निकालेर खान्छ । यसको मुख्य हतियार नै यो जिब्रो हो । तर सालकले मान्छेलाई कुनै पनि खाले हानी नोक्सानी नपुर्‍याउने सुवाल बताउँछन् । 

सालक संरक्षणमा सक्रिय रहँदै आएका चितवन डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार एउटा वयस्क सालकले दिनमा कम्तीमा २० हजार धमिला र कमिला खाने गर्दछ । ‘सालकले नखाए यी धमिरा कमिला वस्तीमा आएर खेती र अन्य संरचनामा हमला गर्दछन् । जंगलभित्र पनि पर्यावरणीय चक्र बिगार्न सक्छन्,’ वन अधिकृत आचार्यले भने ।

सालककै बारेमा विद्यावारिधी (पिएचडी) गरेकी सुवाल चुरे क्षेत्र र महाभारत क्षेत्रमा समुन्द्र सतहदेखि लगभग ३ हजार मिटर उचाइसम्म सालक बस्ने गरेको बताउँछिन् । ‘यो माटोमूनि आफै दुलो खनेर बस्छ । जसका कारण माटोको खुकुलोपना बढ्छ । यसले माटोलाई उर्बर राख्न मद्दत गर्दछ । यसको खाना र बास मान्छे र प्रकृतिलाई लाभ दिने खालको छ,’ सुवालले भनिन् ।

विश्वमा आठ प्रजातिका सालक पाइने उनले बताइन् । एसिया महादेशमा चार प्रजातिका सालक भेटिएका छन्। नेपालमा तामे र कालो गरी दुई प्रजातिका सालक छन् । खपटा हल्का पहेलो र रातो जस्तो देखिने, अनुहार अलि चुच्चो परेको तामे सालक हो । जसलाई अंग्रेजीमा इन्डियन प्याङ्गोलिन भनिन्छ । कालो सालकलाई चाइनिज प्याङ्गोलिन भनिन्छ जसको रंग कालो र अनुहार अलि थेप्चो हुन्छ । 

सरकारी तथ्यांकमा नेपालका ४३ जिल्लामा सालक भेटिएको उल्लेख भए पनि आफुले पिएचडीका लागि गरेको अध्ययनमा ६१ जिल्लामा सालक पत्ता लागेको सुवालले बताइन् । १५ वर्षअघि सार्वजनिक सरकारी विवरणमा नेपालमा कालो सालक पाँच हजारको हाराहारीमा भएको अनुमान रहेको उनले सुनाइन् । त्यसपछि सालकको व्यवस्थित गणना हुन सकेको छैन । तामे सालकको संख्या एकिन छैन, यो झनै कम छ ।

सालक पछिल्लो समय संकटमा पर्दै गएको जीव हो । संरक्षणका लागि विभिन्न काम भए पनि अझै बढी सामूहिक प्रयास आवश्यकता भएका कारण अभियानहरु सुरु भएको डिभिजनल वन अधिकृत आचार्य बताउँछन् । 

यही उद्देश्यले सोमबार चितवनको माडीमा वागमती प्रदेशको वन मन्त्रालयले प्रदेश स्तरीय पहिलो सालक सम्मेलन गर्‍यो । जहाँ सालक जोगाउन सात बुँदे घोषणापत्र जारी भयो । वन विनास र चोरी सिकारीका कारण सालकको अस्तित्व संकटमा परेको हुँदा यसलाई रोक्न योजना बनाएर लाग्ने सहमति सम्मेलनमा जुटेको थियो। सालकको खपटा र मासुको लागि चोरी सिकारी हुने गरेको आचार्यले बताए । सालक अन्तराष्ट्रिय रुपमा धेरै चोरी तस्करी हुने वन्यजीवको सूचीमा परेको आचार्यले बताए । औषधिय गुण हुन्छ भन्ने परम्परागत धारणाले यसको सिकार हुने गरेको छ । ‘यसको खपटामा हाम्रो नङ र रौंमा जुन रासायनिक तत्व हुन्छ त्यही पाइने हो । तर अन्धविश्वासले गर्दा मान्छेले गलत मान्यता बनाएको छ,’ सुवालले भनिन् । 

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र विभागका सह–प्रध्यापक हरिप्रसाद शर्मा सालक तस्करीमा स्थानीयभन्दा बाहिरका व्यक्ति संलग्न हुने बताउँछन् । ‘यो जीव घना वनभित्र भन्दा पनि खेती गर्ने क्षेत्र नजिकको जंगलमा बस्ने गरेको पाइन्छ । हामीले गरेको अध्ययनमा सालक बारेमा स्थानीय जानकार छन् । तर त्यसलाई हामीले संरक्षण नीतिमा समेट्न अझै सकेका छैनौं । पोचिङ (अवैध सिकार) स्थानीयले हैन बाहिरबाट जानेले गरेको भेटिएको छ,’ शर्माले भने ।

१७ देखि ४० वर्ष उमेरका व्यक्ति सालक चोरी सिकारीमा बढी संलग्न हुने भेटिएको उनले बताए । ‘सालकका लागि विभिन्न संकट छन् । यसलाई सम्बोधन गरेर संरक्षण नीति बनाउन आवश्यक छ । यस्तै छाडे आउँदो २० या ५० वर्षभित्र सालक कथामा सीमित रहन बेर लाग्दैन,’ प्राणीशास्त्र विभागका सह–प्रध्यापक शर्माले सचेत गराए ।

चितवनका डिभिजनल वन अधिकृत आचार्यले वागमती प्रदेशमा पछिल्लो १० वर्षमा सालकको अवैध सिकारका १ सय १९ वटा घटना भएको बताए । ‘यी चोरीका अवैध घटनामा हामीले ११ वटा जिवित सालकको उद्धार गरेका छौं । अरुको खपटा र मासुको व्यापार भएको छ । सन् २०२० मा मात्रै सबैभन्दा बढी २० वटा अवैध घटना भए । यो चिन्ताको विषय हो,’ आचार्यले भने । 

सालकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । यो सूचीमा रहने जीव मारे या अंगको कारोबार गरे दण्ड सजाय हुन्छ । डिभिजनल वन अधिकृत आचार्यले सालक मारेमा र यसको अंगको कारोबार र ओसारपसार गरेमा ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद वा दुवै हुन सक्ने बताए । त्यसैले सालकको चोरीसिकारविरुद्ध समुदायलाई जागरुक बनाए संरक्षण प्रभावकारी हुन सक्ने र बासस्थलमा परेको असरमा पनि ध्यान दिनुपर्ने सम्मेलनका सहभागीहरुको मत थियो । ‘वन डढेलोले यसको बासस्थलमा असर गरेको छ । बाटो र अन्य संरचना बनाउँदा बासस्थल खल्बलिने गरेको छ । खेतीबालीमा प्रयोग भएको रासायनिक मल विषादीले पनि असर गरेको छ,’ मकवानपुरका डिभिजनल वन अधिकृत राशेक चन्द्रवंशीले भने । 

पछिल्ला केही वर्षमा समुदायलाई समावेश गरेर सालक संरक्षण र अनुगमनका काम पनि भएका छन् । माडी वनकट्टा गाउँ यसको उदाहरण हो । सालकलाई स्थानीय साल माछो, स्याल माछोलगायतका नामले पनि चिन्छन् । ‘हाम्रा बाले स्याल माछो भनेको सुनेको थिए । स्याल जस्तै कुनै जनावर होला भन्ने थियो । पछि हाम्रो गाउँमा सालक जोगाउन भन्दै कार्यक्रम सुरु भयो । क्यामेरा राखेर सालकको भिडियो खिचेपछि बल्ल थाहा भयो सालक यस्तो हुँदो रहेछ,’ माडी नगरपालिका–१ वनकट्टाका सत्यनारायण बोटेले भने ।

उनले अझै पनि प्रत्यक्ष आँखाले सालक देखेका छैनन् । क्यामेरामा रेकर्ड भइरहेका कारण सालक छ भन्ने पक्का भएको उनी बताउँछन् । यसको स्वभावले पनि मान्छेले झट्ट यसलाई देख्न सक्दैन । सालक प्रायः रातमा बढी सक्रिय हुन्छ । यसले रातमा खाना खोज्ने आचार्य बताउँछन् ।

स्तनपायी र खपटाले ढाकिएको यो जीव खतरा अनुभव गरे गुजुल्टिएर बस्छ । अन्य जनावर जस्ता झट्ट देख्न नसकिने भएका कारण यो कहाँ छ भन्ने भेउ पाउन अलि गाह्रो हुने उनले बताए । ‘तर जहाँ छ त्यहाँ किसान र प्रकृतिलाई फाइदा नै पुर्‍याएको छ । यो जीवले मान्छेलाई केही हानी गर्दैन ।  यसलाई जोगाउँदा मानव वन्यजन्तु द्वन्द्व बढ्ने खतरा पनि आउँदैन,’ डिभिजनल वन अधिकृत आचार्यल भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully