अस्थिरताबीचको अर्थ एमेल माथलुथी

२०१० देखि २०१२ सम्म उत्तर–अफ्रिका र मध्यपूर्वमा चलेको अरब विद्रोहका क्रममा जनजिब्रोमा झुन्डिएको एउटा गीत थियो, ‘मेरो शब्द स्वतन्त्र छ ।’ युवा कवि अमिन अल घोज्जीले रचना गरेको उक्त गीतलाई एमेल माथलुथीको सशक्त प्रस्तुतिले विश्व चर्चित बनाएको थियो ।

माघ २७, २०८२

अन्वेषण अधिकारी

The meaning of instability Emel Mathluthi

What you should know

काठमाडौँ — संगीत सधैं मनोरन्जनका लागि मात्र हुँदैन । केही गीत यस्ता हुन्छन्, जसले परिवर्तनको छालमा नयाँ तरंग थप्छन् । वा, भनौं संगीतले मन शान्त मात्रै गर्दैन, कहिलेकाहीं मस्तिष्कलाई उद्वेलित बनाएर शरीरमा विद्रोहको काँडा उमारिदिन्छ ।

जमिनदारका खेतबारीमा भूमिहीनले ओकल्ने पीडा, महिलाहरूले पाखाबारीमा गाउने लोकभाका, दमनमा परेका राष्ट्र वा समुदायले गाउने गीतभित्र पनि व्यक्त–अव्यक्त रूपमा यस्ता भाव लुकेका हुन्छन् । अमेरिकी इतिहासमा दासहरूले पीडा व्यक्त गर्न होस् वा एसिया–अफ्रिकामा उपनिवेशवादविरुद्ध आगो ओकल्न, गीत–संगीत एउटा महत्त्वपूर्ण माध्यम बन्दै आएको छ ।

१९०० ताका चार्ल्स टिन्डलेले गोस्पेल जनरामा लेखेको ‘वी विल ओभर सम डे’ पछि रूपान्तरण भएर ‘वी स्याल ओभरकम...’ का रूपमा विश्वभरका मजदुर आन्दोलनको प्रतिनिधि गीत नै बन्यो । १९४७ मा स्वतन्त्रता संग्रामताका चर्चित बनेको ‘सारे जहाँ से अच्छा...’ भारतमा अझै पनि उत्तिकै चर्चित छ । १९६० को दशक अमेरिकामा जनअधिकार आन्दोलन र युद्धविरोधी युवामाझ बब डिलनको ‘ब्लो इन द बाइन्ड’ यसरी नै प्रख्यात भएको थियो ।

१९८० मा सार्वजनिक भएको बब मार्लीको ‘रेडेम्प्सन सङ’ उपनिवेशबाट भर्खरै मुक्त भएका अफ्रिकी देशका युवाको जिब्रोमा झुन्डिएको थियो । दक्षिण अफ्रिकामा भने यो गीत रंगभेदविरोधी लडाइँमा प्रख्यात भयो । नेपालमै २०४६ र ०६३ को जनआन्दोलनमा रामेश–रायनको गीत ‘गाउँ–गाउँबाट उठ’ लोकप्रिय बनेको थियो ।

The meaning of instability Emel Mathluthi

जनसहभागिताका हिसाबले एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो आन्दोलन ‘अरब वसन्त’ मा एमेल माथलुथीले स्वर भरेको गीत ‘मेरो शब्द स्वतन्त्र छ’ राष्ट्रिय गान जसरी नै जनजिब्रोमा झुन्डिएको थियो । युवा कवि अमिन अल घोज्जीले रचना गरेको कवितालाई उनले २००७ मा ट्युनिसियाबाट फ्रान्स जानुअघि नै तयार गरेकी थिइन् ।

यसका हरफहरूले भन्छन् :

म ती हुँ, जो स्वतन्त्र छन् र कहिल्यै डराउँदैनन्

म ती रहस्य हुँ, जसको अन्त्य कहिल्यै हुँदैन

म ती आवाज हुँ, जो कहिल्यै हार मान्दैनन्

म अस्थिरताबीचको अर्थ हुँ

ट्युनिसियाको ‘ज्यास्मिन क्रान्ति’बाट सुरु भएको थियो, अरब वसन्तको उभार । कालान्तरमा गीतसँगै यो आन्दोलन पनि अरब क्षेत्रभर फैलियो र बाँकी विश्वका तानाशाहहरूको पनि सातो लियो । २०१०–१२ सम्म विभिन्न देशमा फैलिएको आन्दोलनले सुशासन, रोजगारी, स्वतन्त्रता र समान अधिकारको माग गरेको थियो ।

उत्तर–अफ्रिकी लोकभाकामा विद्रोही गीत सुनाउने माथलुथीलाई ‘अरब वसन्तको आवाज’ पनि भन्ने गरिन्छ । उनै माथलुथी यतिबेला कान्तिपुर कन्क्लेभको ‘आन्दोलन अवसरतर्फ’ सेसनमा प्यानललिस्टका रूपमा सहभागी हुन काठमाडौं आएकी छन् ।

मोहम्मद बौजीजी यस क्रान्तिका पहिलो सहिद थिए । उनी ट्युनिसियाको सिदी बोजिद सहरस्थित एउटा सपिङ मार्टनजिक ठेला राखेर व्यापार गर्दथे । नाताले उनको दाइ पर्ने अली मोहम्मद पनि बौजीजीसँगै अर्को ठेला चलाउँथे । अलीका अनुसार ३ वर्षमै बाबु गुमाएका बौजीजीले आमा र ६ दिदीबहिनीलाई ठेला चलाएर पालिरहेका थिए । बहिनीहरूलाई पढाउनु नै आफ्नो जीवनको अर्थ रहेको उनले बताउने गरेका थिए । परिवारलाई गरिबीबाट उकास्न उनले १० वर्षको उमेरदेखि नै काम गर्न थालेका थिए ।

ट्युनिसियामा सडक व्यापार अवैध भएकाले पुलिसले ठेला जफत गर्नु वा एक–दुई दिन खुद्रे व्यापारीहरूलाई लगेर जेलमा कोच्नु नौलो घटनाक्रम थिएन । झिसमिसेमै तरकारी किन्न होलसेल बजार जानु अनि बिहानदेखि साँझसम्म सडकमा त्यसलाई बेच्नु बौजीजीको दैनिकी थियो । यस्ता व्यापारीसँग प्रहरीले सके घूस लिन्थे, नपाए गाडा जफत गरिदिन्थे । यी सबै परिस्थितिसँग अभ्यस्त भइसकेका बौजीजी चुट्किला भनेर सबैलाई हँसाउन माहिर थिए ।

१६ डिसेम्बर २०१० को साँझ उनले ऋण काढेर फलफूल र तरकारी किनेका थिए । भोलिपल्ट चेकिङका क्रममा प्रहरीले उनको गाडा जफत गर्‍यो र फलफूल तथा तरकारी सडकमा मिल्काइदियो । यसको प्रतिरोध गर्न खोज्दा एक प्रहरी अधिकृतले बौजीजीलाई सार्वजनिक गाली–गलौज गर्दै गालामा थप्पड लगाइन् । यसपछि न्याय माग्दै उनले स्थानीय प्रशासनमा दुर्व्यवहारको मुद्दा दायर गर्न खोजे । तर गभर्नरले यसलाई दर्ता गर्न मानेनन् ।

The meaning of instability Emel Mathluthi

त्यसपछि मानसिक रूपमा विचलित भएका बौजीजीले नजिकैको पम्पबाट बोतलमा पेट्रोल लिएर आए । प्रशासन अगाडि बोतल समातेर झन्डै १ घण्टासम्म चिच्याएर बसिरहे । तर, कसैले उनको गुनासो सुनेन । अनि आफैंमाथि आगो लगाए ।

एक ड्राइभरले बहादुरीसाथ आफ्नो ज्याकेटले बौजीजीलाई बेरेर आगो निभाए पनि अस्पताल पुर्‍याउँदासम्म उनको अवस्था गम्भीर थियो । लगत्तै, सडकमा जम्मा भएर जनताले भ्रष्ट सरकारको विरोध गरे । यी सबै घटनाक्रमलाई सरकारी मिडियाहरूले ढाकछोप गर्न खोजिरहेका थिए । तर, सामाजिक सञ्जालको युगमा कुनै पनि विषयलाई लुकाउन मुस्किल हुन्छ । सर्वसाधारणले आफ्नो स्मार्टफोनमार्फत आन्दोलनका हरेक घटनालाई सामाजिक सञ्जालमार्फत भाइरल गरे । जसले दिनप्रतिदिन आन्दोलनमा जनसहभागिता बढायो ।

तीन वर्ष पेरिसमा बिताएकी एमेल माथलुथी यसबेला छोटो समयका लागि ट्युनिसियामै फर्किएकी थिइन् । ट्युनिसियामा सामाजिक न्याय र विद्रोहका गीतले ठाउँ नपाउने देखेरै उनी २००७ मा पेरिस गएकी थिइन्् । पेरिस गएलगत्तै उनले बास्टेली दरबारअगाडिको लाइभ कन्सर्टमा ‘मेरो शब्द स्वतन्त्र छ’ गाइन् । गरिबी, बेरोजगारी, प्रहरी दमन, अवसरको कमीलगायत युवाहरूले भोग्ने समस्यालाई उनले ड्रमको चर्को आवाज वा आक्रोशित हाउभाउबिना नै सामान्य शैलीमा प्रस्तुत गरिरहेकी थिइन् । उनको उक्त प्रस्तुतिले बब डिलन र जोन बोएजजस्ता गायकको सम्झना गराइदिएको थियो ।

सामाजिक सञ्जालमार्फत यो गीत धेरैले सुने । तर ट्युनिसियाका रेडियो तथा टेलिभिजनबाट भने प्रसारण भएन । यस अवधिमा फ्रान्स–ट्युनिसिया आउने–जाने गरिरहे पनि ट्युनिसियामा उनले सार्वजनिक स्थलमा गाउन सक्ने परिस्थिति थिएन । २०१२ मा ‘न्युज एन्ड न्वाइज’सँगको एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘ट्युनिसियामा मलाई सानो वामपन्थी समुदायले समर्थन गर्दथे । पेरिस गएपछि मैले कन्सर्ट गर्न थालें । त्यसपछि ट्युनिसियाका युवाले पनि मलाई चिन्न थाले ।’

The meaning of instability Emel Mathluthi

अमेरिकाको सान फ्रान्सिस्को बस्ने ट्युनिसियाली गायक तथा कम्पोजर म्याक राईले पेरिसमा माथलुथीले गरेको कन्सर्टको प्रशंसामा भनेका छन्, ‘जब ट्युनिसियामा पुरानो सत्ताका तानाशाह शक्तिमै थिए, त्यसबेला पनि उनले गाउने हिम्मत गरिन् । जबकि उनी फ्रान्स र ट्युनिसिया दुवैतिर बस्थिन् । मलाई लाग्छ उनी साँचो कलाकार हुन् र कला पनि यही नै हो ।’

२०१० को अन्त्यमा आन्दोलनताका उनको प्रस्तुतिको भिडियो भाइरल भए पनि एमेल माथलुथी ट्युसिनियामै छिन् भन्ने कमैलाई थाहा थियो । ४ जनवरी २०११ मा ट्युनिसियास्थित बेन अरोस बर्न एन्ड ट्रमा सेन्टरले बौजीजीको मृत्यु भएको घोषणा गर्‍यो । १७ डिसेम्बरदेखि नै सल्किएको आन्दोलनको आगो यस घटनापछि डढेलो बनेर फैलियो । समाजका सबै तप्काका जनता आन्दोलनमा थिए । माथलुथीले मन थाम्न सकिनन् ।

१४ जनवरीमा ट्युनिसस्थित एभिन्यु हबिब बर्गुवाअगाडि जम्मा भएका आन्दोलनकारीसामु उनले निर्भीकतासाथ आफ्नो गायन प्रस्तुत गरिन् । आन्दोलनको रापताप उच्च थियो, केही घण्टाभित्रै राष्ट्रपति अबदिन बेन अली साउदी अरब भागे । ट्युनिसियामा २३ वर्षे तानाशाही व्यवस्था समाप्त भयो । तर, समग्र अरब क्षेत्रमा यो सुरुवातमात्रै थियो । यसको केही समयभित्रै इजिप्ट र लिबियाका तानाशाह समाप्त भए । आन्दोलनको आगो बहराइन, जोर्डन, यमन र सिरियासम्म फैलियो । ती सबै क्षेत्रमा आन्दोलनकारीको जिब्रोमा झुन्डिएको थियो, एमेलको गीत ‘मेरो शब्द स्वतन्त्र छ ।’

एमेलको जन्म ११ जनवरी १९८२ मा ट्युनिस सहरमा भएको थियो । उनले आठ वर्षको उमेरमै गायन र अभिनय क्षमता देखाउन थालिन् । १० वर्षको उमेरमा गीत पनि लेखिन् । १५ वर्षको हुँदा उनलाई शुभचिन्तकहरूले भन्न थाले, ‘तिम्रो स्वर व्यावसायिक गायनमा फिट हुन सक्छ ।’ उनी टोरी एमोस, एलानिस मोरीस्सेट्ट र सिलिन डियोनजस्ता पप गायकबाट प्रभावित थिइन् । इन्जिनियरिङको अध्ययन गर्दाताका उनले साथीहरूसँग मिलेर एउटा मेटल ब्यान्ड खोलिन्, यसले संगीतप्रतिको लगाब थप बढायो ।

The meaning of instability Emel Mathluthi

यहीक्रममा उनी जोन बोयजका गीतहरूबाट प्रभावित हुन थालिन् । बोयजका लोक–संगीतमा अभिव्यक्त विद्रोह र सामाजिक न्यायले प्रभावित गरेपछि उनले ब्यान्ड छाडिन् । त्यसपछि सामाजिक र राजनीतिक मुद्दाहरूलाई उत्तर–अफ्रिकी लोकभाकामार्फत गीतमा उतार्न थालिन् । उनले २०१२ मा दिएको अन्तर्वार्तामा मर्सेल खलिफे, महमुद दारविस, फैरुज, शेख इमाम र बब डिलनका विद्रोही गीतबाट पनि प्रभावित भएको बताएकी छन् । ‘उनीहरूसँग युवा छँदैदेखि लय थियो । मेरा लागि यो स्वतन्त्रता जरुरी थियो,’ उनले भनेकी छन् ।

आन्दोलन सफल भएपछि इजिप्ट, इराक, क्यानडालगायत देश गएर पनि उनले कन्सर्ट गरिन् । अरब आन्दोलनपछि उनी अमेरिकाको न्युयोर्क सहरमा बस्दै आएकी छन्, जहाँ उनले विभिन्न प्रतिष्ठित कार्यक्रमहरूमा प्रस्तुति दिन्छिन् । २०१५ मा नोबेल शान्ति पुरस्कार समारोहमा उनले हजारौंको अगाडि आफ्नो चर्चित गीत प्रस्तुत गरेकी थिइन् । उनले विश्वभर दमन र उत्पीडनमा परेकाहरूका पक्षमा गीत गाउने गरेकी छन् । उनले २०१७ मा ‘इन्सेन’, २०१९ मा ‘एभ्रिह्वेर वी लुक्ड वाज बर्निङ’, २०२० मा ‘द ट्युनिस डायरिज’ लगायत एल्बम निकालेकी छन् ।

अन्वेषण अधिकारी

Link copied successfully