लोकतन्त्र र महिला अधिकारको पक्षमा विश्वमञ्चमा पैरवी गरिरहेकी शिरिन एबादी

अहिले लन्डनमा निर्वासनमा रहेकी उनले इरान र विश्वभर लोकतन्त्र र महिला अधिकारका पक्षमा भइरहेका आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आएकी छन्, कान्तिपुर कन्क्लेभ २०२६ को मुख्य वक्ताका रुपमा उनी काठमाडौं आइसकेकी छन्

माघ २५, २०८२

अन्वेषण अधिकारी

Shirin Ebadi, a global advocate for democracy and women's rights

What you should know

काठमाडौँ — इरानी क्रान्तिताका समाजशास्त्री अली सारियाती भन्थे, ‘धर्मले मानिसलाई ब्युँझाउनुपर्छ, सुताउने होइन ।’ ११ फेब्रुअरी १९७९ मा पह्लवी वंशको राजतन्त्र अपदस्थ भएसँगै यो क्रान्ति सकिएको थियो । क्रान्तिमा विद्यार्थी, मजदुर, वामपन्थी, व्यवसायी, महिलालगायत समाजका सबै तप्का सहभागी भए । तर धार्मिक समूहहरूको संकुचित नेतृत्वका कारण यसले समाज रूपान्तरण गर्न सकेन । 

यतिबेला अयोतोल्लाह रुहोल्लाह खामेनेईको नेतृत्वमा रहेका धार्मिक समूह इस्लामिक मान्यतासहितको शासन चाहन्थे । साना व्यवसायी र मजदुरले खोजेको आर्थिक न्याय, महिलाले खोजेको स्वतन्त्रता र युवा तथा विद्यार्थीले खोजेको सुशासनप्रति उनीहरूलाई खासै मतलब थिएन । उनीहरूले क्रान्तिलगत्तै एउटा अर्धसैन्य दस्ता खडा गरे, जसलाई इरानमा ‘रिभोलुसनरी गार्डस्’ भनिन्छ ।

१ अप्रिलमा जनमत संग्रहमार्फत धर्मनिरपेक्ष राजतन्त्र फालेर इरानलाई इस्लामिक गणतन्त्र घोषणा गरियो । शिरिन एबादी त्यस समय तेहरान सिटी कोर्टमा ‘ब्याच २४’ मुख्य न्यायाधीश थिइन् । तर, क्रान्तिलगत्तै उनीसहित देशभरका सबै अदालतमा रहेका महिला न्यायाधीशहरूलाई घटुवा गरियो । धर्मगुरुहरूले इस्लामिक कानुनअनुसार महिलालाई न्यायाधीश राख्न नमिल्ने बताएका थिए । इरानमा कुनै पनि अदालतमा प्रमुखको जिम्मेवारी पाउने पहिलो महिला र तत्कालीन समयकी सबैभन्दा कम उमेरकी व्यक्ति हुँदाहुँदै पनि उनको प्रतिभालाई राज्यले नजरअन्दाज गरेको थियो ।

२००९ को राष्ट्रपतीय निर्वाचनअघि इरानमा सत्ताको दमन बढेपछि स्पेनमा रहेकी एबादी देश फर्कन सकिनन्एबादी सम्झन्छिन्, ‘म र अन्य महिला न्यायाधीशहरूलाई घटुवा गरेर क्लर्कको काम गर्न भनियो । म जुन अदालतमा प्रमुख थिएँ, त्यहीं क्लर्क बस्न भनियो । हामी सबैले विरोध गर्‍यौं । नतिजा, हामी सबै पूर्वमहिला न्यायाधीशलाई विज्ञका रूपमा न्याय विभागमा लगियो । मैले यो सहन सकिनँ र चाँडै राजीनामा पत्र पठाएँ । लगत्तै यो स्वीकृत भयो,’ उनले नोबेल पुरस्कार प्राप्त गर्दा भनेकी थिइन्, ‘क्रान्तिपछि केही समय बार एसोसिएसन बन्द थियो । न्यायालयले नै यसको काम हेर्ने गरेको थियो, अधिवक्ताका लागि मैले दिएको निवेदन स्वीकारिएन ।’

इरानले क्रान्तिपछि धेरै उथलपुथल देख्यो । २४ अक्टोबर १९७९ मा संवैधानिक विज्ञहरूको भेलाले नयाँ संविधान तयार गर्‍यो, जसको पहिलो र दोस्रो धारामा सार्वभौमसत्ता ‘ईश्वर’ मा रहने उल्लेख छ । छैटौं धारामा राष्ट्रपति र संसद्को निर्वाचन हुने उल्लेख छ । यसरी प्रजातान्त्रिक र धार्मिक तत्त्वहरू मिलेर बनेको ‘हाइब्रिड’ सत्ता विश्व राजनीतिमै एउटा अनौठो प्रयोग थियो । देशभित्रैको उदारवादी तथा बौद्धिक जमातलाई यस्तो संविधानले सुशासन ल्याउने विश्वास थिएन ।

उदारवादीहरू अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरेर जानुपर्ने पक्षमा थिए । तर, बहुसंख्यक जनतालाई भने यसमा रुचि थिएन । किनकि, औद्योगिक क्रान्तिअघिसम्म आविष्कार, विकास र समृद्धिमा अघि रहेको पर्सियन साम्राज्य ओरालो गतिमा लाग्नुको मुख्य कारण नै यहाँका स्रोतमाथि विदेशीहरूले लगाएको बक्रदृष्टि थियो । शीतयुद्ध उत्कर्षमा रहँदाको त्यो समय अमेरिका वा सोभियत युनियनको प्रभाव फैलनबाट रोक्नका लागि खामेनेई र रिभोलुसनरी गार्डस्लाई उनीहरूले सही विकल्प देखे । अन्ततः विपक्षीहरूले बहिष्कार गरेको २ र ३ डिसेम्बरको जनमतसंग्रहले झन्डै ९९ प्रतिशत मतसहित इस्लामिक गणतन्त्रको संविधान पारित गर्‍यो । 

सन् १९०६ मा धर्मनिरपेक्ष संविधानले खोलेको आधुनिकताको बाटो अवरुद्ध भयो । खामेनेई सर्वोच्च नेता बने, १२ सदस्यीय संवैधानिक परिषद्मा उनले उग्रवादीहरू लगेर राखे । बाँकी दुनियाँको नजरमा छारो हाल्न नाम मात्रैका राष्ट्रपतिलाई निर्वाचनबाट चयन गरियो । १९८० मा खामेनेईले विरोधीहरूलाई सफाया गर्नका लागि ‘सांस्कृतिक क्रान्ति’ सुरु गरे ।

एउटा तानाशाहलाई फालेर अर्को नयाँ तानाशाह जन्माउने वियोगान्त अवस्थाबाहेक १९७९ को क्रान्तिले अरू केही गर्न नसकेको यसले देखाउँछ ।झन्डै ३ वर्षसम्म विश्वविद्यालयहरू बन्द गरियो । किनकि, यहाँको शिक्षित जमात् धर्मनिरपेक्ष संविधानको वकालत गर्दथ्यो । पुनःसञ्चालनमा आउँदासम्म धेरै पुस्तकहरू प्रतिबन्धित भइसकेका थिए । धेरै विश्वविद्यालयका प्राज्ञ कारबाहीमा परिसकेका थिए । केही विश्वविद्यालयमा विरोध पनि भयो । तर, सरकारले त्यहाँ दमन गरेर विद्यार्थीहरूकै हत्या गरिदियो । १९८९ मा रुहोल्लाह खामेनेईको निधनपछि उनका अनुयायी आयातुल्लाह अली खामेनेई विगत ३७ वर्षयता सर्वोच्च नेता छन् । एउटा तानाशाहलाई फालेर अर्को नयाँ तानाशाह जन्माउने वियोगान्त अवस्थाबाहेक १९७९ को क्रान्तिले अरू केही गर्न नसकेको यसले देखाउँछ । 

२२ जनवरी १९४७ मा इरानको सुन्दर पहाडी सहर हमादानस्थित शिरिन एबादीको जन्म भएको थियो । उनी एक वर्षको छँदै परिवार पुर्ख्यौली गाउँबाट तेहरान सर्‍यो । सम्पन्न परिवारका उनका बुबा माहेम्मद अली एबादी तेहरानको नोटरी पब्लिक कार्यालयका प्रमुख तथा वाणिज्य कानुनका प्राध्यापक थिए । आफ्नो परिवार निकै उदार र स्वतन्त्रताको पक्षपाती रहेको उनले आत्मकथामा उल्लेख गरेकी छन् । आफ्ना बाबु–आमाबीच निकै प्रेमिल सम्बन्ध रहेको उनको स्मरण छ ।

‘मेरी आमाले चिकित्साशास्त्र पढ्ने सपना देखेकी थिइन् । तर यी सबै कुरा उनको नियन्त्रणमा थिएन । कम्तीमा उनले त्यस समय कल्पना गर्न सकिनेभन्दा पनि कम पितृसत्तात्मक सोच राख्ने पुरुषसँग विवाह गर्न पाइन् । ‘मेरो बाबा स्वभावले शान्त थिए, क्रोधलाई सधैं नियन्त्रण गर्थे र कहिल्यै आवाज चर्को हुँदैनथ्यो । झुक्किएर कहिलेकाहीं रिसाइहालेमा हात पछाडि बाँधेर हिँड्थे वा चाँदीको केसबाट सावधानीपूर्वक चुरोट निकालेर पिउँथे । मन शान्त पार्न समय लिन्थे र पूर्णरूपमा संयमित भएपछि मात्र टाउको उठाउँथे,’ उनले लेखेकी छन् ।

Shirin Ebadi, a global advocate for democracy and women's rights

बाल्यकालमा उनले आमाको मुखबाट शाह रेजाबारे धेरै सुनिन् । रेजाका छोरा (अन्तिम शाह) मोहम्मद शाहको शासन भोगिन् । दुई बाबुछोराको शासनशैलीलाई लिएर उनको फरक अनुभव छ । ‘मेरी आमाले हिजाब कहिल्यै लगाइनन् । किनकि, उनको परिवार आफ्ना छोरीहरूलाई टाउकोमा कपडा बेर्न दिने संकुचित थिएन । रेजा शाहले १९३६ मा सुरु गरेको आधुनिकीकरणको यात्रा र हिजाबमाथिको प्रतिबन्धको साक्षी भने उनी थिइन् । गाउँ र किसानहरूले भरिएको देशलाई रातारात रेल–वे र कानुन–नियमले केन्द्रीकृत गर्ने कार्य सहज थिएन,’ उनले लेखेकी छन्, ‘रेजालाई देशका महिलाबिना यो काम असम्भव हुनेछ भन्ने थाहा थियो । त्यसैले उनले परम्पराको बन्धनको प्रतीक रहेको हिजाबलाई प्रतिबन्ध लगाएर महिलालाई मुक्त गर्दै लगे । महिलाको शरीरमाथि धर्मगुरुको प्रभाव र राजनीतिक एजेन्डा कटौती गर्ने रेजा पहिलो इरानी शासक थिए । अन्तिम होइन ।’

मोहम्मद शाहप्रति भने उनको कुनै सद्भाव छैन । सन् १९४१ मा बेलायत र सोभियत युनियनले इरानमाथि आक्रमण गरेर रेजालाई जबर्जस्ती पदमुक्त गरेका थिए । त्यसपछि राजकुमार मोहम्मद शाहलाई गद्दीमा राखे । विश्वयुद्धमा तटस्थ बस्ने रेजाको नीतिले यी सबै अवस्था सिर्जना भएको थियो । बेलायतले सोभियत युनियनमा हतियार पठाउनका लागि पर्सियन कोरिडोर प्रयोग गर्न मागेको अनुमति र इरानमा रहेका झन्डै १ हजार जर्मन नागरिकलाई देश निकाला गर्न दिएको आदेश उनले अटेर गरेका थिए । 

आफ्नै बाबुलाई पदमुक्त गरेर गद्दीमा बसेका मोहम्मद शाहले १२ वर्षपछि प्रधानमन्त्री मोसद्देकलाई बर्खास्त गरेर जेल हालेका थिए । यसको पर्दा पछाडि पनि बेलायतकै खेल थियो । किनकि १९५१ मा मोसद्देकले बेलायती स्वामित्वको एंग्लो पर्सियन तेल कम्पनी (एपीओसी) लाई राष्ट्रियकरण गर्ने निर्णय गरेका थिए । मोसद्देकको निर्णयबाट झस्किएको बेलायतले आफ्नो गुप्तचर संस्था एमआई ६ लाई यहाँ गोप्य अपरेसन चलाउन लगायो । अमेरिकी गुप्तचर संस्था (सीआईए) ले यसमा साथ दिएको थियो । यसमा मोहम्मद शाह पहल्बीलाई प्रयोग गरियो । १० लाख अमेरिकी डलरभन्दा धेरै खर्च गरेर तेहरानमा सरकारविरोधी आन्दोलन चलाइयो । शाहले सत्ता हातमा लिनुपर्ने माग आन्दोलनकारीहरूले राखेका थिए । यही आन्दोलनपछि अगस्टमा मोसद्देकको सत्ता ढल्यो र मोहम्मद शाहको नेतृत्वमा सक्रिय राजतन्त्र सुरु भयो ।

‘मोसद्देकलाई ‘कु’ गरेर अपदस्थ गरिएको छ । हामी केटाकेटीहरूका लागि यो खबरको कुनै अर्थ थिएन । हामी वयस्कहरूको निराश आँखा र उदास अनुहारहरू हेरेर हाँस्यौं, बैठक कोठाबाट भाग्यौं । राष्ट्रिय रेडियो सञ्जाल कब्जा गर्ने शाहका समर्थकहरूले मोसद्देकको पतनसँगै इरानी जनताको विजय भएको घोषणा गरे,’ १९५३ को घटनाबारे एबादीले आफ्नो आत्मकथा ‘इरान जाग्दै छ’, पहिलो अध्याय (तेहरानको बाल्यकाल) शीर्षकमा लेखेकी छन्, ‘धर्मनिरपेक्ष र धार्मिक इरानीहरू, श्रमिक वर्ग र धनी दुवैका लागि मोसद्देक एक लोकप्रिय राजनीतिज्ञभन्दा बढी थिए । तिनीहरूका लागि उनी एक प्रिय राष्ट्रवादी नायक पनि थिए । जसले २५ सय वर्षभन्दा पुरानो इतिहास भएको महान् सभ्यतालाई मार्गदर्शन दिने क्षमता राख्दथे । ‘कु’पछि शाहले मोसद्देकलाई मुद्दा चलाउने आदेश दिए र पछि मृत्युदण्डको सजाय सुनाइयो । तर, शाहले दया देखाए जसरी तीन वर्ष जेल सजाय मात्रै दिए । तेहरानको केन्द्रीय जेलमा तीन वर्ष बिताएपछि मोसद्देक आफ्नो गाउँ अहमदाबादमा गएर बसे ।’ 

Shirin Ebadi, a global advocate for democracy and women's rights

मोहम्मदले बेलायती र अमेरिकीहरूलाई उनीहरूले चाहेअनुसार तेल दिएर आफ्नो सत्ता हाँके । यसक्रममा बाबुले अघि ल्याएका सुधारवादी योजनाहरूलाई पनि निरन्तरता दिए । सरकारी कार्यालयहरूमा महिलाहरूको उपस्थिति यसबेलासम्म बाक्लो भइसकेको थियो । एबादीले आत्मकथामा १९६० को दशकसम्म इरानी समाज मध्यम वर्गको दृष्टिमा प्रगतिशील रहेको उल्लेख गरेकी छन् । ‘मध्यमवर्गका लागि सिनेमा, विश्वविद्यालय र महिलाहरूका लागि खुलापन थियो । यद्यपि, ग्रामीण क्षेत्र अपहेलनामा थियो र राजनीतिक विपक्षीहरू शाहको निरंकुश शासनविरुद्ध उम्लिरहेका थिए । अहमदाबादस्थित गाउँमा गएर बसेका मोसद्देकले शाहविरोधी तथा आफ्नो बफादारहरूका पत्रको जवाफ लेखेर पठाउँथे । उनको सूक्ष्म र स्पष्ट हस्तलेखन भएका जवाफहरू इरानका प्रमुख विपक्षी व्यक्तिहरूको कार्यालयमा फ्रेम गरिएका देखिन्थें,’ क्रान्तिको संघारमा रहेको इरानबारे उनले लेखेकी छन् । 

१९६८ मा तेहरान विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि केही महिना उनले प्रशिक्षार्थीका रूपमा काम गरिन् । अर्को वर्ष परीक्षा दिएर न्यायाधीशमा नाम निकालिन् । पीचएडी गर्ने लक्ष्यसहित उनी विश्वविद्यालयको अध्ययनलाई पनि निरन्तरता दिइरहेकी थिइन् । त्यसक्रममा १९७१ मा चर्चित प्राध्यापक महमुद सेहाबी खोरास्सानीले उनलाई अध्यापन गराएका थिए । 

१९७५ मा उनी तेहरानको अदालत प्रमुख बनिन् । यही समय उनले विवाह गरिन् र दुई छोरी निगर र नर्गिस जन्मिए । १९७९ को क्रान्तिपछि उनले न्यायाधीशको काम छाडिन् । यतिबेलासम्म इरानमा रुढिवादी शासन उच्च भइसकेको थियो । तेहरानका सडकमा अधिकांश महिला हिजाब लगाएर हिँड्न बाध्य देखिन्थे । १९९२ मा उनले मानव अधिकारसम्बन्धी घटनामा काम गर्ने गरी निजी ‘ल फर्म’ खोलिन् । उनले धेरैजसो हाई–प्रोफाइल संवेदनशील राजनीतिक मुद्दा हेर्थिन् । १९९८ मा सुरक्षाफौजले हत्या गरेका दुई राजनीतिक अभियन्ता परवानेह र दारियुस फोरुहारको मुद्दा पनि उनले नै हेरिन् । प्रहरी हिरासतमा मरेका चिकित्सक जहरा बानी याग्होव तथा इरानका अल्पसंख्यक बहाइ समुदायका सात नेताहरूको पक्षमा पनि उनी लडेकी थिइन् ।

Shirin Ebadi, a global advocate for democracy and women's rights

१९९९ मा तेहरान विश्वविद्यालयमा भएको प्रदर्शनमा मारिएका विद्यार्थी इजात इब्राहिम नाजिदको पक्षमा लडेपछि उनी इरान सरकारको निसानामा परिन् । त्यही वर्ष उनलाई इस्लामिक गणतन्त्रविरुद्ध झूटा कुराहरू फैलाएको आरोपमा पक्राउ गरिएको थियो । उनलाई २५ दिन गोप्य हिरासतमा राखियो र १८ महिना जेल सजाय सुनाइयो । त्यस्तै ५ वर्षसम्म अधिवक्ताको काम गर्न रोक लगाइएको थियो । 

२००३ मा जहरा काजेमीको मुद्दा एबादीले नै हेरेकी थिइन् । इरानी मूलकी यी क्यानडेली स्वतन्त्र फोटो पत्रकारलाई इरानी अधिकारीहरूले २००३ मा नियमविपरीत जेलको तस्बिर खिचेको अभियोगमा पक्राउ गरेर तेहरानस्थित इभिन जेलमा राखेका थिए । इरानी अधिकारीहरूले उनलाई बलात्कार र यातना दिएका थिए । र, हिरासतमै उनको ज्यान गएको थियो । २००३ मा एबादी नोबेल शान्ति पुरस्कार पाउने पहिलो मुस्लिम महिला बनिन् । उनले यस रकमको केही हिस्सा राजनीतिक बन्दीका परिवारलाई सहयोग गर्नका लागि ‘मानवअधिकार रक्षकहरूको केन्द्र’ नामक गैरसरकारी संस्था स्थापना गर्न खर्च गरिन् । चाँडै नै यो संस्था इरानमा लोकप्रिय भयो र त्यही वर्ष फ्रान्सस्थित मानवअधिकारका लागि राष्ट्रिय परामर्शदाता आयोगले यसलाई मान्यता दियो । 

त्यसैगरी, २००४ मा फोर्ब्सले उनलाई विश्वका एक सय प्रतिभाशाली महिलाको सूचीमा राखेको थियो । उनले २००६ मा ‘वान मिलियन क्याम्पेन’ चलाउन महत्त्वपूर्ण भूमिका खेलिन्, १० लाखको हस्ताक्षर बोकेर इरानी सत्तालाई महिलाविरोधी कानुन अन्त्य गर्न दबाब दिने लक्ष्य यस अभियानको थियो । २००८ मा इरानस्थित मानवअधिकार रक्षकहरूको कार्यालयमा प्रहरीले छापा हान्यो । यसका सबै सम्पत्तिहरू जफत गरियो । एबादीलाई चुप लगाउने लक्ष्यले छोटो समयका लागि उनकी बहिनी र पतिलाई पनि पक्राउ गरेर हिरासतमा राखिएको थियो । 

२००९ मा इरानको राष्ट्रपतीय निर्वाचनअघि एबादी एक कन्फ्रेन्सका लागि स्पेन गएकी थिइन् । मानवअधिकारवादी अभियन्तामाथिको बढ्दो दमन, उनका सहकर्मीहरू जेल चलान भएको अवस्था, सर्वसाधारणमाथिको सत्ताको दमनलगायत विषय मध्यनजर गरेर उनले देश नफर्कने निर्णय लिइन् । तर, विदेशमै बसेर पनि उनले आफ्नो अभियानलाई जारी राखेकी छन् । 

Shirin Ebadi, a global advocate for democracy and women's rights

इरानमा २००९ मा राष्ट्रपतीय निर्वाचनमा भएको धाँधली, २०१७–१८ मा आर्थिक मन्दी, २०१९ मा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, २०२२–२३ मा हिजाब प्रतिबन्ध अन्त्य र अहिले सत्ता छाड्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । यी आन्दोलनमा सरकारले दमन गर्दा ठूलो संख्यामा मानिसको ज्यान गएको छ । त्यस्तै, धेरै मानिस पक्राउ परेका छन् भने धेरैजना घाइते छन् । प्रवासबाटै एबादीले यी आन्दोलनमा ऐक्यबद्धता जनाएकी छन् । उनले इरानमा भइरहेका मानवअधिकार उल्लंघनका घटनामा विश्व समुदायको ध्यान आकृष्ट गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेकी छन् । 

त्यस्तै, मानवअधिकारसम्बन्धी प्रशिक्षण दिएर बाँकी विश्वमा पनि बाल अधिकार, मानवअधिकार र महिला अधिकारका क्षेत्रमा काम गर्ने रक्षकहरू जन्माइरहेकी छन् । उनले मानवअधिकारका विभिन्न पक्षबारे १३ वटा पुस्तक र ७० भन्दा बढी लेख लेखिसकेकी छन् । शासकहरूकै भ्रष्ट आचरण, तानाशाहीपनले इरानमा अहिले आन्दोलन चलिरहेको एबादीको टिप्पणी छ । ‘पहिलेको समृद्ध इरानलाई ४७ वर्षदेखि शासकहरूको अक्षमता र भ्रष्टाचारले समस्यामा पार्‍यो । नत्र, इस्लामिक गणतन्त्र बन्दा १ डलरको भाउ ७ टोमन थियो । अहिले १ लाख ३५ हजार टोमनभन्दा माथि पुगिसकेको छ,’ रेडियो फ्रि युरोपसँगको अन्तर्वार्तामा केही समयअघि उनले भनिन्, ‘यहाँका शासकहरूले आफू र आफ्नो परिवारलाई विशेषाधिकार दिएका छन् । आम जनतालाई उत्पीडनमा राखेका छन् । मलाई आशा छ, यस पटकको आन्दोलनले यो अवस्था अन्त्य गर्नेछ । सत्ता ढल्नेछ र जनताले जित्नेछन् । किनकि, अब सत्तासँग दमन गर्ने शक्ति र इच्छा सकिएको छ । पहिलेका प्रदर्शनहरू जसरी नै मान्छे मार्नु भनेको उनीहरूको रिसको आगोमा पेट्रोल खन्याउनुजस्तै हो ।’ 

इरानको उल्टो बाटो 

संयुक्त राष्ट्रसंघमा ‘महिलाविरुद्ध सबै प्रकारको भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सीडब्लूईडीएडब्लू)’ मा हस्ताक्षर नगर्ने सदस्य राष्ट्रमध्ये इरान एक हो । निश्चित अपराधहरूमा अदालतमा महिला र बालिकाहरू साक्षी बस्नुको कुनै कानुनी अर्थ छैन । महिलालाई हिजाब लगाउन अनिवार्य छ । यस नियम पालना नगर्नेहरूले जरिवाना, लामो जेल सजाय, रोजगारी र शैक्षिक अवसरमा प्रतिबन्धहरू झेल्नुपर्ने हुन सक्छ । 

विश्व आर्थिक मञ्चको २०२४ को ‘ग्लोबल जेन्डर ग्याप’ प्रतिवेदनमा इरान १४६ देशमध्ये १४३ औं स्थानमा छ । श्रमशक्तिमा महिलाको सहभागिता १४ प्रतिशतभन्दा कम छ भने पुरुषको ६७ प्रतिशतभन्दा बढी छ ।

Shirin Ebadi, a global advocate for democracy and women's rights

श्रमसंहिताले महिलालाई ‘खतरनाक, कठिन वा हानिकारक काममा रोजगारीबाट रोक्छ । पतिले ‘परिवारको हित वा आफ्नो वा पत्नीको मर्यादा’ विपरीत महसुस गरेमा रोजगारीमा रोक लगाउन सक्छन् । महिलालाई सर्वोच्च नेता बन्न निषेध छ र न्यायाधीश बन्न सक्दैनन् । संसद्का २९० सिटमध्ये केवल १४ जना महिला सदस्य छन् । गार्डियन काउन्सिलले कहिल्यै महिलालाई राष्ट्रपतीय चुनाव वा ‘विज्ञहरूको भेलामा’ उम्मेदवार बनाउन अनुमति दिएको छैन ।

इरानी कानुनले वैवाहिक बलात्कार वा अन्य पारिवारिक हिंसालाई आपराधिक बनाएको छैन । बलात्कारलाई इरानी कानुनमा अलग अपराध मानिएको छैन । ‘अनर किलिङ’ अझै पनि इरानमा कायम छ । यस फौजदारी संहिताले पति, बुबा र हजुरबुबालाई उनकी महिला नातेदारहरूमाथि हत्या वा आक्रमण गर्न छुट दिन्छ । अर्थात्, परिवारका महिला सदस्यले इज्जत जाने काम गरेमा उनीहरूमाथि आक्रमण वा हत्या गर्दा पनि कानुन लाग्दैन ।

दम्पती संहिताको धारा ११०८ अनुसार यदि पत्नीले ‘उचित’ बहानाबिना पतिसँग यौनसम्बन्ध अस्वीकार गरिन् भने उनलाई ‘पति भरण–पोषण’ को हक हुँदैन । इरानी कानुनले बालविवाहलाई अनुमति दिन्छ । विवाहको न्यूनतम कानुनी उमेर बालिकाका लागि १३ वर्ष र बालकका लागि १५ वर्ष हो । इरानको सरकारी तथ्यांक केन्द्रले २०२० मा १०–१४ वर्षकी ३१ हजार ३ सय ७९ बालिकाहरू विवाहित भएको रेकर्ड गरेको छ । २०२१–०२२ मा १५ वर्षमुनिका २७ हजार ४ सय ४८ बालिकाहरू विवाहित भएको देखाउँछ । सरकारी समाचार एजेन्सीले मार्च–डिसेम्बर २०२२ मा १५ वर्षमुनिका २० हजारभन्दा बढी बालविवाह भएको रिपोर्ट गर्‍यो । तर संख्या अझै बढी हुन सक्छ किनकि धेरै बालविवाह दर्ता हुँदैनन् ।(एजेन्सीहरुको सहयोगमा)

अन्वेषण

Link copied successfully