गोलीले ढलेका राकेश थेरापीले उठ्दैछन्

परिवर्तनको सपना बोकेर २३ भदौ (जेन-जी अन्दोलन)मा नयाँ बानेश्वरको सडकमा ओर्लनुको इनामस्वरुप राज्यले बर्साएकाे गोलीले ढल्नेहरूको लहरमा थिए सर्लाहीका २७ वर्षीय राकेशकुमार महतो ।

माघ २५, २०८२

समर्पण श्री

Rakesh, who was shot, is recovering through therapy.

What you should know

काठमाडौँ — जीवनको अँध्यारो समय बाँचिरहेको वेलामा आशाको एक चिम्टी उज्यालोधरि निभेको थियो । त्यसमाथि ट्रमा सेन्टर (अस्पताल)को बेडमा असह्य दुखाइले छट्पटाइरहँदा डाक्टरले भनिदिए, ‘अब तिम्रो दुवै खुट्टाले काम गर्दैनन् । काट्नुको विकल्प छैन ।’

परिवर्तनको सपना बोकेर २३ भदौ (जेन-जी अन्दोलन)मा नयाँ बानेश्वरको सडकमा ओर्लनुको इनामस्वरुप राज्यले गोली बर्साएको थियो । त्यही गोलीले भटाभट ढल्नेहरूको लहरमा थिए सर्लाहीका २७ वर्षीय राकेशकुमार महतो । घटना भएको दुई हप्तापछि हामी ट्रमा सेन्टरमा पुग्दा पीडा र निराशा मिश्रित आँसु बगाइरहेका राकेशसँग भेट भएको थियो । उनको ढाडमा गोली लागेको थियो । गोलीको कारण भाँचिएको मेरुदण्डमा स्टिल राखिएको थियो । मेरुदण्डकै चोटले दुवै खुट्टाले काम गरेका थिएनन् । ओछ्यानबाट उठ्नै नसक्ने अवस्थामा उनले आफ्ना अधुरा सपना सुनाएका थिए, ‘लोकसेवाको तयारी गरिरहेको थिएँ । आन्दोलनमा घाइते भएँ । अब डाक्टरले दुवै खुट्टा चल्दैन भन्छन् । मेरो जीवन त अँध्यारो हुने भयो सर ।’

पाँच महिना बितिसक्यो । जेन-जी आन्दोलनका घाइतेहरू कतिपय पूर्ण निको भएर घर फर्किए । कतिपय कहिल्यै निको नहुने चोट बोकेर फर्किए । कोही कहिल्यै नचल्ने शरीरको अंग लिएर फर्किए । कोही वैशाखीलाई जीवनभर साथी बनाएर फर्किए । तर राकेश ? उनी अहिले पनि अस्पतालमै छन् । उनी काभ्रेपलाञ्चोकको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा उपचाररत् छन् ।

सुरुमा डाक्टरहरूले खुट्टा चल्दैन, काट्नुपर्ने पनि हुन सक्छ भनेका थिए । तर, अहिले खुट्टा काट्नु परेन, बरु खुट्टामा सेन्स आउन थालेको छ ।मनभरि निराशा बोकेर साँगा पुगेका राकेशको अवस्था कस्तो होला ? के उनी अझै पनि बेडमै पल्टिरहेका होलान् ? वा हिँड्ने अठोटले उनलाई जितिरहेको होला ? ‘ट्रमा सेन्टरबाट यहाँ ल्याउँदा हामीलाई कुनै आशा थिएन । त्यतिवेला उसको खुट्टामा कति पनि मुभमेन्ट थिएन । तर, यहाँ आएपछि धेरै सुधार भएको छ,’ दाइ राजेश महतोले हाम्रो जिज्ञासामा खुसीको किरण थपे ।घाइते भाइलाई दाइ राजेशले रत्तिभर छाडेका छैनन् । उसो त राजेश भाइका निम्ति आँट र भरोसा थिए । ललितपुरको बालकुमारीमा उनीहरूको डेरा थियो । राजेशले नै १० कक्षापछि भाइको पढाइको जिम्मा लिएका थिए । राकेश कानुन विषय पढ्दै लोकसेवाके तयारीमा तल्लीन थिए । घटनायता भाइको वैशाखी बनेका राजेशले अर्को कुरा पनि सुनाए, ‘सुरुमा डाक्टरहरूले खुट्टा चल्दैन, काट्नुपर्ने पनि हुन सक्छ भनेका थिए । तर, अहिले खुट्टा काट्नु परेन, बरु खुट्टामा सेन्स आउन थालेको छ ।’ यो सुधार राजेशको निम्ति अकल्पनीय थियो । घुँडाभन्दा माथि र तलसम्म एउटा विशेष 'सपोर्ट' (ब्रसेस) लगाएर वैशाखीको सहारामा हिँड्न थालेका छन् राकेश । ‘त्यो सपोर्ट नहुँदा खुट्टा खुम्चिने डर हुन्छ तर सपोर्ट लगाएपछि उसले पाइला सार्न सक्छ,’ राजेश भन्छन् ।  

राजेशलाई यसबीचमा सबैभन्दा खुसी लागेको दिन थियो, जब राकेश ह्विलचेयरको सहायताले आफैँ ट्वाइलेट जान थाले । ‘दिसा-पिसाबका लागि ऊ अहिले आफैँ ह्विलचेयर लिएर जान सक्छ, उसलाई अब धेरै सहयोग चाहिन छाडेको छ,’ राजेशले सुनाए ।

राकेश दाइसामु बर्बराइरहन्थे– अब जीवन कसरी चल्छ ?

जीवनका बाँकी बाटोमा उज्यालोको भेउ नपाएका राकेशको सोच अहिले बदलिन थालेको छ । उनको एउटै अठोट छ– अब म जसरी पनि हिँड्छु । ‘ऊ भन्छ– म केही महिनाभित्रै हिँड्न सक्ने हुन्छु र आफ्नो जीवन फेरि सुरु गर्छु । डाक्टरहरूका अनुसार वैशाखीविना हिँड्न अझै एक वर्ष जति लाग्न सक्छ । तर, नहुन पनि सक्छ,’ राजेश सुनाउँछन् ।

आज म यो अवस्थामा पुग्दा देशका पार्टी र नेताहरूले चटक्कै बिर्सिएका छन्, नयाँ सरकार बन्छ, चुनाव आउँछ तर हामी जस्ता घाइतेलाई भेट्न को आउँछ ?राजेशपछि हामीले राकेशसँग कुरा गर्यौं । राकेशले ट्रमाको आइसियुमा महिनादिनसम्म मृत्युसँग पैंठेजोरी खेलेको समय सम्झिए । ‘त्यो हेर्दाखेरी त मेरो जीवनको यो अध्याय कसरी यहाँसम्म आइपुग्यो सम्झँदा आङ सिरिङ्ग हुन्छ,’ राकेश सुस्केरायुक्त भावमा भन्छन् । ट्रमा सेन्टरका डाक्टरको कठोर वाक्यले सबैभन्दा धेरै तर्साएको थियो राकेशलाई । बाँचिरहेका दिन पनि राकेशलाई लाग्थ्यो, ‘अब कसरी बाँच्छु होला ?’ तर, साना परिवर्तनले उनीभित्र आशाका रङ भरिन थाले । बेडमै दिसा-पिसाब गर्नुपर्ने, अरूको सहाराविना एउटा औँला पनि चलाउन नसक्ने त्यो अवस्थाबाट यहाँसम्म आइपुग्नुले राकेशभित्र फेरि नयाँ सपना पलाउन थालेका छन् । ‘यहाँको निरन्तरको थेरापीले चमत्कार जस्तै काम गर्न थाल्यो । अहिले म आफैँ बेडबाट ह्विलचियरमा सर्न सक्छु र ह्विलचियर आफैँ चलाउन सक्छु । खुट्टा अलिअलि चलाउन सक्छु,’ राकेश सुनाउँछन् । राकेश उपकरणको सहायताले १०-२० मिटर हिँड्न पनि सक्ने भएका छन् । यो १० मिटर हिँड्न पाउनु पनि उनका लागि संसार जित्नु जस्तै खुसी बनेको छ ।

राकेश आफ्ना लागि हैन, देशको परिवर्तनका खातिर आन्दोलनमा होमिएका थिए । तर, उनको समस्या र पीडा केवल उनैले थेग्नुपर्यो । उनको दु:खमा न राज्य उपस्थित छ, न जेन-जी अगुवाहरू नै । ‘आज म यो अवस्थामा पुग्दा देशका पार्टी र नेताहरूले चटक्कै बिर्सिएका छन्,’ उनी मनभित्र गुम्सिरहेका गुनासाका थैली खोल्छन्, ‘नयाँ सरकार बन्छ, चुनाव आउँछ तर हामी जस्ता घाइतेलाई भेट्न को आउँछ ?’ कसैले फोन गरेर तिम्रो अवस्था के छ भनेर सोधिदिए पनि ऊर्जा थपिन्थ्यो जस्ते लाग्छ राकेशलाई । जेन-जी अभियन्ताहरू पनि अहिले आफ्नै फाइदामा छन् कि जस्तो लाग्छ उनलाई । ‘घाइतेको पीडा सुन्ने फुर्सद कसलाई छ र ?’ बेडमा पल्टिरहेको बेला राकेश मन्थन गर्छन् । सम्झँदा वेला वेला त मन रुन्छ पनि राकेशको । ‘तर रोएको पनि कसले सुन्छ र ?’ उनी आफूले आफैंलाई बुझाउने प्रयत्न गर्छन् ।

सरकारले अस्पतालको उपचार खर्चबाहेक केही व्यहोरेको छैन । दैनिक खानपान र डाइटकै खर्च आफैंले तिर्नुपर्छ । त्यसमाथि अब अस्पतालले डिस्चार्ज गर्ने कुरा गरिरहेको छ । केही दिनयता दाजुभाइ यही कुराले चिन्तित छन् । ‘डिस्चार्ज भएर घर गएपछि थेरापी निकै महँगो हुन्छ । त्यो सबै खर्च मैले कहाँबाट जुटाउने ? थेरापीविना मेरो शरीर फेरि पहिलेकै जस्तो कुँजिएर जाने डर छ,’ राकेश दु:खी सुनिन्छन् ।  

राजेशको एउटै जपना छ– कमसेकम वैशाखीकै सहारामा भए पनि हिँड्न पाऊँ ।

मलाई थाहा छ म फेरि उठ्नेछु । तर, मलाई मेरै खुट्टामा उभिन राज्यले अझै सघाइदिओस् । यो गुन राज्यलाई नै एकदिन तिर्नेछु‘यदि म वैशाखीको भरमा हिँड्न सकेँ भने मेरो जीवनको नयाँ अध्याय सुरु हुने थियो । मलाई अझै दुई महिना यहाँ बस्न र थेरापी गर्न दिने हो भने वैशाखीकै सहारामा राम्ररी हिँड्न सक्ने थिएँ,’ उनी आत्मविश्वाससाथ भन्छन् ।

डिस्चार्ज दिइहाल्ने कुराले राकेशकाे पनि निदहराम भएको छ । अस्पतालले भनिरहन्छ, ‘हामीले गर्ने जति गरिसक्यौं, अब घरमै गएर अभ्यास गर ।' घर गएर भाइको समस्या बल्झने डर छ राजेशको । उसो त घरमा आमा सधैं बिरामी । बा खेतीपातीमा व्यस्त । राकेशको हेरचाहमा समय पुग्दैन । आत्माबल बढाइरहेका राकेशले सरकारसँग अरु ठूलो कुरा चाहेका छैनन् । ‘मलाई थाहा छ म फेरि उठ्नेछु । तर, मलाई मेरै खुट्टामा उभिन राज्यले अझै सघाइदिओस् । यो गुन राज्यलाई नै एकदिन तिर्नेछु,’ राकेश विनयी भावमा सरकारसँग थप समय माग्छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully