बालविकास पढ्नै बस्ती छाड्ने बाध्यता

सरकारले दरबन्दीसहितको आधारभूत विद्यालय स्थापना नगर्दा शिशु कक्षादेखि नै बालबालिका गाउँ छाडेर भिजेर बसाइँ सर्न बाध्य छन् ।

माघ २२, २०८२

रामचन्द्र न्यौपाने

Forced to leave the slum to study child development

What you should know

डोल्पा — यहाँको उपल्लो डोल्पास्थित एक गाउँका बालबालिका अक्षर चिन्नकै लागि बस्ती छाड्न बाध्य छन् ।

जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–६ स्थित फोत गाउँका बालबालिकाले आधारभूत कक्षा अध्ययनका लागि बस्ती छाड्ने गरेका हुन् । कुल जनसंख्या ८५ जना मात्र रहेको फोत गाउँमा रहेको बालविकास केन्द्रमा पढाइ नै हुँदैन । त्यहाँका बालबालिका औपचारिक शिक्षाको सुरुवात गर्न छिमेकी वडामा पर्ने भिजेर गाउँ पुग्ने गरेका छन् । शे–फोक्सुण्डो–५ को भिजेर पुग्न फोतबाट एक दिन पैदल हिँड्नु पर्छ । स्थानीयका अनुसार अग्ला हिमाल पार गरेर भिजेर पुग्नु पर्छ । फोत गाउँमा अहिलेसम्म सडक पुगेको छैन् । 

जम्मा ४० मतदाता रहेको फोतका बासिन्दा आफूहरु ‘ढुङगे युग’ मा बाँच्न बाध्य रहेको सुनाउँछन् । शे–फोक्सुण्डो–६, वडा सदस्य कोइजोर गुरुङका अनुसार पालिकाले एउटा बाल विकास केन्द्र निर्माण गरेको भए पनि सहजकर्ता शिक्षक नहुँदा कक्षा सञ्चालनमा आउन सकेको छैन । ‘पालिकाले एउटा बाल विकास केन्द्रको भवन बनाएको छ,’ उनले भने, ‘तर, सहजकर्ता शिक्षक उपलब्ध नहुँदा बालबालिकाहरु पढ्दैनन् ।’

सरकारले दरबन्दीसहितको आधारभूत विद्यालय स्थापना नगर्दा शिशु कक्षादेखि नै बालबालिका गाउँ छाडेर भिजेर बसाइँ सर्न बाध्य छन् । ‘कतिपय बालबालिका शिक्षा आर्जनका लागि काठमाडौं र भारत पुग्ने गरेका छन्,’ गुरुङले भने, ‘फोतबाट भिजेर पुग्न एकदिन लाग्छ । पढेर घर फर्किने सम्भावना छैन् ।’ त्यसैले आफन्त र इष्टमित्र भएकाले बालबालिकाहरु भिजेरमा राखेर पढाउने गरेको उनले बताए । 

फोतमा स्वास्थ्य उपचारको समस्या छ । सरकारले स्वास्थ्य चौकीसम्म स्थापना गरेको छैन् । सामान्य बिरामी हुँदा पनि एक दिन हिँडेर भिजेर पुग्नुपर्छ । कतिपय सर्वसाधारण परापूर्वकालदेखिको आम्ची (परम्परागत तिब्बती उपचार पद्धति) मा निर्भर छन् । आकस्मिक उपचार उद्धार गर्नुपरेमा हेलिकप्टर चाटर्ड गर्नुपर्ने बाध्यता छ । यहाँबाट हेलिकप्टर चार्टर गर्नु परे ८/१० लाख खर्च हुने गरेको छ । 

गाउँमा फोन सुविधा पनि छैन । फोनमा कुराकानी गर्नु परेमा करिब १५/२० मिनेट डाँडामा उक्लेपछि टावरले टिप्छ । हिमालको एक कुनामा अवस्थित फोतमा आलु, फापर, उवा न्यून मात्रामा उत्पादन हुन्छन् । स्थानीय बजार नभएकाले नुन, तेल, लत्ताकपडा, चामल किन्नु परेमा याक चौरी लिएर दुनै, मुस्ताङ, चिनियाँ क्षेत्रमा पुग्नु पर्छ । स्थानीयलाई गाउँपालिकाको केन्द्र पुग्न एक दिन लाग्छ । स्थानीयको आम्दानीको मुख्य स्रोत यार्सागुम्बा संकलन र पशुपालन हो । 

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully