५२ प्रतिशत मतदाता युवा, उम्मेदवार भने ३१ प्रतिशत

हाल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्यामध्ये १ करोड २४ लाख १२ हजार १ सय ७३ युवा छन् ।

माघ ११, २०८२

दया दुदराज

52 percent of voters are young, 31 percent of candidates are young

What you should know

काठमाडौँ — आसन्न निर्वाचनका लागि देशभरबाट ३ हजार ४ सय ६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीमध्ये विभिन्न दलका २ हजार २ सय ६३ जना छन् भने १ हजार १ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

भदौमा भएको जेन–जी आन्दोलनको मुख्य मागमध्ये राजनीतिमा पुस्तान्तरण पनि एक थियो । त्यसैले दलहरूले कुन–कुन उमेर समूहका उम्मेदवार उठाए भन्ने सबैको चासो छ । तर उम्मेदवारको सूची हेर्दा भने वृद्ध उमेरकै उम्मेदवारको बाहुल्य देखिएको छ ।

जबकि यी उम्मेदवारलाई मत हाल्ने मतदातामध्ये युवाको संख्या धेरै छ । २०७८ को जनगणनाअनुसार नेपालको जनसंख्याको साढे ४२ प्रतिशत युवा छन् । राष्ट्रिय युवा नीति २०७२ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिन्छ । हाल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्यामध्ये १ करोड २४ लाख १२ हजार १ सय ७३ युवा छन् ।

२०६८ मा कुल जनसंख्याको ४०.३५ प्रतिशत रहेको युवा हिस्सा २०७८ मा बढेर ४२.५६ प्रतिशत पुगेको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि कुल मतदाता १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको छन् । मतदाताको संरचनामा पनि युवाकै बाहुल्य देखिन्छ । कुल मतदातामध्ये १८ देखि ४० वर्ष उमेर समूहका मतदाता ५२ प्रतिशत छन् । यद्यपि युवा १६ वर्षदेखि मानिए पनि संविधानले १८ वर्ष पुगेकालाई मात्र मतदान अधिकार दिएको छ ।

निर्वाचन आयोगका अनुसार कुल ३ हजार ४ सय ६ उम्मेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका उम्मेदवार १ हजार ५६ जना छन् भने ४१ देखि ६० वर्ष सम्मका उम्मेदवार १९ सय २५ जना छन् । त्यस्तै, ६० वर्ष कटेका उम्मेदवार ४ सय २५ जना छन् ।

52 percent of voters are young, 31 percent of candidates are young

पुराना दललाई पाका उम्मेदवारको भर 

जेन–जी आन्दोलनपछि हुन लागेको निर्वाचनमा पनि पुराना दलहरूमा खासै रूपान्तरण देखिएको छैन । विशेषगरी कांग्रेस, एमाले र नेकपाजस्ता दलहरूले टिकट वितरण गर्दा पाका उमेरका उम्मेदवारलाई नै प्राथमिकता दिएको निर्वाचन आयोगको तथ्यांकले पुष्टि गर्छ । 

कांग्रेस, एमाले र नेकपामा ४० वर्षमुनिका उम्मेदवारको उपस्थिति नगण्य छ । १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ४० वर्षभन्दा कम उमेरका ७ जनालाई मात्रै चुनावी मैदानमा उतारेको छ । कांग्रेसबाट उम्मेदवार बनेका मध्ये सबैभन्दा कान्छा ३२ वर्षीय योगेश गौचन थकाली छन् । उनले मुस्ताङबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका हुन् । त्यस्तै, काठमाडौं–४ बाट ३३ वर्षीय सचिन तिमल्सेनाले उम्मेदवारी दिएका छन् । 

कांग्रेसका १६५ उम्मेदवारमध्ये झन्डै एक तिहाइ अर्थात् ५५ जना नेता ६० वर्षभन्दा बढी उमेरका छन् । कांग्रेसको सबैभन्दा पाका उम्मेदवार ७७ वर्षीय टेकप्रसाद गुरुङ हुन् । उनले चितवन–३ बाट उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार कांग्रेसमा ४० देखि ५० वर्षसम्मका उमेरका उम्मेदवार ३२ जना छन् भने ५० देखि ६० वर्षसम्मका उमेर समूहका उम्मेदवार ७१ जना छन् । 

एमालेको अवस्था पनि कांग्रेससँग मिल्दोजुल्दो छ । एमालेका १६४ उम्मेदवारमध्ये करिब ३३ प्रतिशत अर्थात् ५४ जना ६० वर्षभन्दा माथिको उमेर समूहका छन् । एमालेका उम्मेदवारमध्ये सबैभन्दा जेठो उमेरका उम्मेदवार जालिम मियाँ मन्सुरी छन् ।

७८ वर्ष पुगेका मन्सुरीले पर्सा–४ बाट उम्मेदवारी दिएका हुन् । एमालेमा २७ वर्षीय अमनिशकुमार यादव सबैभन्दा कान्छा उम्मेदवार बनेका छन् । उनी सर्लाही–४ मा उम्मेदवार छन् । एमालेको उम्मेदवारी सूचीमा ४० वर्षमुनिका १२ जना मात्रै छन् । त्यस्तै ४०–५० उमेर समूहका उम्मेदवार ३२ र ५०–६० उमेर समूहका उम्मेदवार ६६ जना छन् । 

यस्तै, नेकपाका १६४ उम्मेदवारमध्ये ४० वर्षमुनिका १३ जना मात्र छन् । सबैभन्दा कान्छा २७ वर्षीय अजय कुशवाहा हुन्, उनले बारा–४ बाट उम्मेदवारी दर्ता गराएका छन् । बाँकी उम्मेदवार ४० वर्षभन्दा माथिका नै छन् । नेकपामा ३९ जना उम्मेदवार ६० वर्ष नाघेका छन् । तीमध्ये सर्लाही–२ बाट उम्मेदवार बनेका महिन्द्र राय यादव सबैभन्दा पाका हुन् । उनी ८८ वर्ष भइसकेका छन् । 

जसपा नेपालका ९४ उम्मेदवारमध्ये ११ जना ४० वर्षमुनिका छन् । त्यस्तै ४०–५० उमेर समूहका ३९ र ५०–६० उमेर समूहका २७ जना चुनावी मैदानमा छन् । जसपाका १७ उम्मेदवार ६० वर्षभन्दा बढी उमेरका छन् । 

नयाँमा युवाको परीक्षण

वैकल्पिक भनिएका रास्वपासहितका नयाँ दलले युवालाई उल्लेख्य स्थान दिएका छन् । रास्वपाका १६३ उम्मेदवारमध्ये झन्डै ४० प्रतिशत उम्मेदवार ४० वर्षमुनिका छन् । रास्वपाले उठाएका ६५ उम्मेदवार ४० वर्षमुनिका छन् ।

52 percent of voters are young, 31 percent of candidates are young

जसमध्ये १२ जना ३० वर्षभन्दा कम उमेरका छन् भने ५३ जना ३०–४० उमेर समूहका छन् । निर्वाचन आयोगका अनुसार रास्वपाका ५० उम्मेदवार ४०–५० उमेर समूहका छन् । त्यस्तै ४६ उम्मेदवार ५०–६० उमेर समूहका छन् । रास्वपामा ६० कटेका उम्मेवार ३ जना मात्रै छन् । 

यस्तै उज्यालो नेपाल पार्टीका कुल १०५ उम्मेदवारमध्ये ४० जना ४० वर्षभन्दा कम उमेरका छन् । निर्वाचन आयोगका अनुसार उज्यालो नेपालमा २९ जना उम्मेदवार ४०–५० उमेर समूहका छन् भने २७ जना ५०–६० उमेर समूहका छन् । यो पार्टीका ९ उम्मेदवार मात्रै ६० कटेका छन् । 

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका कुल १ सय ९ उम्मेदवारमध्ये ३५ उम्मेदवार ४० वर्षभन्दा कम उमेरका छन् । यस पार्टीबाट २६ वर्षे पंकजकुमार ठाकुरले सिरहा–४ बाट उम्मेदवारी दिएका छन् । उनी नै श्रम संस्कृति पार्टीका सबैभन्दा कान्छा उम्मेदवार हुन् । हर्कको पार्टीमा ६ जना मात्रै ६० वर्षमाथिका छन् । ७४ वर्षे मानबहादुर वैराग श्रम संस्कृति पार्टीको पाका उम्मेदवार हुन् । उनले बर्दिया–२ बाट उम्मेदवारी दिएका छन् । 

सुधारको बाटोमा दल

राजनीतिक विश्लेषकहरू पाका उमेरका राजनीतिकर्मीलाई निषेध नै गरिहाल्न नमिल्ने बताउँछन् । ‘जेन–जी आन्दोलन पुस्तान्तरणसँगै राज्यसत्तामा भएकाहरूले डेलिभरी दिएनन् भनेर आन्दोलनमा उत्रिएका थिए । विश्व परिस्थिति, मनोविज्ञान चाहनाअनुरूप काम गर्छन् भन्ने हो,’ राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, ‘तर यो भन्दै गर्दा बढी उमेरका मानिसका लागि क्रस लगाउनुपर्छ भन्ने होइन ।’

आन्दोलनअनुरूप सबै नभए पनि केही रूपान्तरण आएको उनले बताए । ‘हिजो २०४८ का नेतृत्वहरू सबै युवा उमेरका थिए । त्यसैअनुरूप अहिले पनि नयाँ आउनुपर्छ भन्ने स्वाभाविक हो । त्यसैअनुरूप पार्टीहरूले धेरै हदसम्म रूपान्तरित पात्रहरू उम्मेदवारका रूपमा अगाडि सारेका छन् । त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ सुवेदीले थपे, ‘एमालेमा अझै अलि जरजर देखियो तर कांग्रेस र नेकपामा धेरै रूपान्तरण देखिएको छ ।’

जनसांख्यिक विश्लेषक तथा जनसंख्याशास्त्री विधान आचार्य संसद्मा पाका मान्छे नै चाहिने तर्क राख्छन् । ‘राजनीति भनेको नीति निर्माण गर्ने कुरा हो । उमेरअनुसारको प्रतिनिधिको अनुपात खोजिनु उचित होइन,’ उनले भने, ‘समाजमा रूपान्तरण हुनुपर्छ भन्नेमा दुईमत छैन तर राजनीतिमा परिपक्वता पनि चाहिन्छ । युवाको सहभागिता शतप्रतिशत चाहिन्छ भन्ने कुरा म मान्दिनँ । बरु नीतिद्वारा तोकिएका कार्यक्रम बनाउनेमा युवाको सहभागिता बढाउनुपर्छ ।’

अर्का राजनीतिक विश्लेषक सुचेता प्याकुरेलले आन्दोलनको मर्मअनुरूप रूपान्तरण नभए पनि केही आशा व्यक्त गरिन् । ‘आन्दोलनले तुरुन्तै रूपान्तरण ल्याउँछ भन्ने होइन । हो, जति परिवर्तन हुनुपर्ने हो, त्यो पक्कै भएको छैन । तर दलहरूले रूपान्तरणको कोसिस पक्कै गरेका छन्,’ उनले भनिन्, ‘पार्टीको नेतृत्वमा रूपान्तरण नभईकन संसद्मा त्यसको रूपान्तरण देखिँदैन । कांग्रेसभित्र भएको रूपान्तरणलाई उदाहरणका रूपमा लिनुपर्छ । कांग्रेसभित्र पनि कम्प्रमाइज गरेर उम्मेदवार तय गरेको देखिन्छ ।’

समाजशास्त्री सञ्जीव उप्रेतीले पुराना पार्टीहरूमा केही रूपान्तरण आएको बताए । ‘हिजो दोहोरिएका अनुहारहरू अहिले अलि कम छन् । पहिलेका निर्वाचनको तुलनामा यसपालि उमेरगत हिसाबले फेयर क्यान्डिडेटहरू आएका छन्,’ उनले भने, ‘यसलाई जेन–जी आन्दोलनको फाइदाका रूपमा लिनुपर्छ । जति हुनुपर्ने त्यति भने भएको छैन तर यसलाई नकार्न सकिन्न ।’

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully