समान उमेरका दुई जनाको गीत र नृत्यले अस्पताल परिसरमा सहभागी सबैको मन तान्यो । पाँचथर अस्पतालमा आँखा शिविर समापन गर्नुअघि शल्यक्रिया गरिएका बिरामीको पट्टी खोलिरहेका चिकित्सकसँगै आयोजक पनि खुसी भए ।
What you should know
पाँचथर — शल्यक्रियापछि चिकित्सकले लगाइदिएको पट्टी खोल्दा देख्न थालेपछि तेह्रथुमको आठराई गाउँपालिकाकी ७८ वर्षीय श्रीमाया ताम्ली गीत गाएर छमछमी नाच्न थालिन् ।
चार वर्षदेखि उनका दुवै आँखाको दृष्टि कमजोर हुन थालेको थियो। दुई वर्षदेखि भने दुवै आँखा ज्योति ठप्प भएको उनले सुनाइन् । ‘आँखा बन्द भएसँगै कसैको अनुहार देख्न पाएकी थिइन, घरभित्र बाहिर गर्न पनि घस्रिनु पर्ने अवस्था थियो, छर्लङ्गै आँखा देखेँ, शिविर लगाउनेलाई मनैदेखि धन्यवाद, उहाँहरुले धर्म गर्नुभयो,’ श्रीमायाले भनिन्। श्रीमाया गीत गाएर नाच्न थालेपछि सँगै बसेकी ईन्द्रमाया तामाङको मन थामिएन।
उनी पनि श्रीमायासँग स्वर मिलाएर गाउन थालिन् । समान उमेरका दुई जनाको गीत र नृत्यले अस्पताल परिसरमा सहभागी सबैको मन तान्यो । उनीहरुको यो खुसियालीले शुक्रबार सदरमुकाम फिदिमस्थित पाँचथर अस्पतालमा आँखा शिविर समापन गर्नुअघि शल्यक्रिया गरिएका बिरामीको पट्टी खोलेर आँखाको सरसफाइ र मल्हम लगाउने काम गरिरहेका चिकित्सक सँगै आयोजक पनि खुसी भए ।
फिदिम नगरपालिकाको आयोजनामा माघ ६ देखि ९ गतेसम्म भएको शिविरमा श्रीमाया र ईन्द्रमाया जस्ता १ सय ९ जनाका आँखामा देखिएको मोतियाबिन्दुसँगै आँखाभित्र पलाएका ऐजेरु र मासु शल्यक्रिया गरेर फ्याकिएको थियो ।
मेची आँखा अस्पतालसँगको सहकार्यमा तीन दिनसम्म सञ्चालन भएको शिविरमा १ हजार ८ सय ९८ जनाका आँखाको जाँज गर्नुका साथै ६ सय ५० लाई निःशुल्क औषधि र चस्मा वितरण गरिएको आयोजक फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बताए ।
माघ ६ गते सुरु भएको शिविर ८ गतेसम्म सञ्चालन भएको थियो । ८ गते शल्यक्रिया गरिएका बिरामीलाई आँखाको पट्टी खोल्नुका साथै औषधि र चस्मा वितरण पश्चात ९ गते विदाई गरिएको हो ।
शिविरमा मेची आँखा अस्पतालकी नेत्र विशेषज्ञ डाक्टर सूचना शर्मासहितका स्वास्थ्यकर्मी उपचार र शल्यक्रियामा खटेका थिए । काफ्लेका अनुसार यो नगरपालिकाले ग्रामीण क्षेत्रका नागरिकको आवश्यकताका आधारमा वर्सेनि स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।
चार वर्षको अवधिमा आयोजना गरिएका शिविरमा ७ सय भन्दा बढीको शल्यक्रिया गरेर ज्योति फर्काइएको काफ्लेले बताए। आँखा जस्तै यो नगरपालिकाले हाडजोर्नी, पाठेघरको क्यान्सर स्क्रिनिङ र परीक्षणसहितका शिविर आयोजना गर्दै आएको छ । शिविरमा विपन्नताकै कारण स्वास्थ्य संस्थासम्म पुग्ने पहुँच नपुगेका सर्वसाधारणलाई उनीहरुकै आवश्यकतामा आधारित सेवा उपलव्ध गराउने नगरपालिकाको नीति छ ।
