त्रिशूलीमा बस तानिरहेका ‘टायर कान्छा’

४० वर्षदेखि दुर्घटनाग्रस्त गाडी निकाल्दै आएका टायर कान्छा त्रिशूली नदीमा फेला परेको बसको भग्नावशेष निकाल्न आठ दिनदेखि जुटिरहेका छन् ।

माघ ८, २०८२

राजु चौधरी

'Tire Kanchha' pulling a bus in Trishuli

What you should know

काठमाडौँ — टायर कान्छा । यो नाम सुन्दा धेरैलाई हाँस उठ्न सक्छ । तर, सन्तबहादुर श्रेष्ठ उर्फ टायर कान्छाको कर्म थाहा पाउनुभयो भने उनलाई सम्मान गर्न मन लाग्छ ।

आठ दिनदेखि उनी तनहुँको त्रिशूली नदी किनारमा छन् । उनको एकै उद्देश्य छ, बसको भग्नावशेष निकाल्ने ।

२०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालबाट दुई वटा गाडी पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुईमध्ये एउटाको भग्नावशेष फेला परेको छ । उनी गणपति डिलक्सको अवशेष उत्खननमा जुटेका हुन् ।

६२ वर्षका कान्छाको शरीरमा जोशजाँगर भने युवाको जस्तै छ । आबुखैरेनी गाउँपालिका–५ दोङद्राङस्थित त्रिशूली नदी किनारको बगरमा उनी दुईवटा टेन्ट खडा गरेर बसेका छन् । जहाँ परिवारका सदस्य पनि उनकै साथमा छन् । 

उनी झिसमिसेमै काम सुरु गर्छन् । तर, आधा भाग मात्रै देखिएको गणपति डिलक्सको बस तान्न ठूलो चुनौती छ ।

पृथ्वी राजमार्गमा कुनै पनि सवारी दुर्घटनामा पर्‍यो कि टायर कान्छाको खोजी सुरु हुन्छ । गोरखा, लमजुङ, नुवाकोटको त्रिशूली, पश्चिम नवलपरासी, मकवानपुरसम्म गाडी निकाल्न पुगेको उनको अनुभव छ । उनीसँग नियमित काम गर्ने ४ जना छन् । आवश्यकताका आधारमा मान्छे थप गर्ने गरेका छन् ।

'Tire Kanchha' pulling a bus in Trishuli

विभिन्न ठाउँमा खस्ने गरेका गाडी निकाल्ने काममै उनले ४० वर्ष बिताइसके । अहिलेसम्मकै ठूलो चुनौतीचाहिँ यहीँ मोल्नुपरेको छ । ‘अहिलेसम्म सबैभन्दा धेरै समय लागेको भनेको ८ दिनसम्म हो, पानीमा डुबेका एक्साभेटरदेखि भीरमा अड्किएका गाडी ५/६ दिनमै निकाल्थेँ तर यहाँचाहिँ धेरै नै गाह्रो भयो,’ उनले भने ।

त्रिशूली किनारमा बालुवाभित्र दबिएर बसेको गणपति डिलक्सको बस निकाल्न थालेको १२ दिन भइसक्यो । पुस २७ गते बिहान नेपाल प्रहरीले बेल्चा लिएर बालुवा हटाउँदै गाडी निकाल्न प्रयास गरे पनि असम्भव भएपछि तनहुँ प्रशासनले टायर कान्छालाई सम्पर्क गरेको थियो । 

उनी अर्को दिन चेनपुली लिएर उक्त स्थानमा पुगे । त्यस दिनदेखि निरन्तर विभिन्न उपाय लगाएर काम गर्दा पनि गाडी निकाल्न सकिएको छैन । दिनरात सोही ठाउँमा खटिएका टायर कान्छाले भने, ‘पानी भित्र फसेको एक्स्काभेटर निकाल्न सजिलो भयो तर यो निकै गाह्रो छ ।'

गाडी निकाल्नका लागि सिमतालस्थित राजमार्गबाट उपकरण ल्याउन निकै कठिन छ । बाटो नभएकाले हिँडेरै सबै सामान किनारसम्म ल्याउनुपर्छ । त्यसले समस्या थपिएको उनी बताउँछन् । 

तर उनले नेपाल आर्मी, शसस्त्र प्रहरी र नेपाल प्रहरीबाट पाएको सहयोगप्रति कृतज्ञ छन् । ‘प्रहरीबाट धेरै सहयोग पाएँ, उहाँहरुको सहयोग नपाएको भए म आज यो काम गर्न सक्दिनँ थिए,’ उनले भने । 

०००

आफू ६ महिनाको हुँदा उनले आमा गुमाएको गाउँलेबाट थाहा पाएका थिए । बुबा बितेको झन् थाहा नै पाएनन् । केही बुझ्ने भएपछि उनले पोखराको पश्चिमाञ्चल गण्डकी हस्पिटलमा गार्डको जागिर खाए । त्यही बेला उनी जागिरको बचेको समयमा गाडी तान्ने, टायर बनाउने काम सिक्न थाले । पोखरामै काम सिकेपछि ४ वर्षे जागिरबाट बिदा लिएर उनले दमौलीमा टायर पसल खोले । त्यो कामसँगै उनी ३ हजार रुपैयाँमा चेनपुली (गाडी तान्ने प्रविधि) किनेर दुर्घटनामा परेका सवारीसाधन निकाल्ने काममा अघि सरे । ‘चेनपुली किनेर गाडी निकाल्न जाँदा ३ देखि ५ हजार रुपैयाँ पाउँदा निकै खुसी हुन्थेँ,’ कान्छाले सुनाए, ‘पछि त टायर बनाउने कि गाडी निकाल्न जाने भन्ने हुन्थ्यो ।’ 

'Tire Kanchha' pulling a bus in Trishuli

यही काम गर्दै जाँदा उनले व्यास नगरपालिका–१ राजमार्ग छेउमै १६ वर्षअघि ४ आना जग्गा खरिद गरे । त्यही ठाउँमा सानो टहरा बनाएर बस्न थाले । यही कामको कमाइबाट अहिले सोही ठाउँमा दुई सटरसहितको डेढ तलाको पक्की घर बनाइरहेका छन् । ‘मेरो सबै सम्पत्ति भनेकै यही पेसा हो, यसैले मलाई सबथोक थियो,' उनी खुसी छन्, 'जग्गा किनेँ, घर बनाएँ, छोराछेरी पढाएँ ।'

यही कमाइबाट एउटी छोरीलाई जापान पठाए । छोरा मिलनलाई साथमै लिएर उनी काममा निरन्तर खटिँदै छन् । छोराकै नामबाट ‘मिलन चेनपुली’ कम्पनी खोलेर व्यावसायिक पनि बनेका छन् । ‘अहिले जति पनि सामान जोडेँ, सबै यही कामको कमाइबाट जोड्न सकेको हुँ, मैले अरु ऋण लिन परेको छैन,’ उनी भन्छन् ।

आफ्नो कामबाट सन्तुष्ट भएपछि उनले छोरालाई आफूपछिको दक्ष व्यक्ति बनाउँदै छन् ।  यही कामले आफ्नो परिचय बदलेकामा गर्व गर्ने टायर कान्छा दमौलीमा सबैका लागि परिचित अनुहार हुन् । ‘एक दिन जानैपर्छ, मेरो नाम राखिदिन्छ भनेर छोरोलाई सिकाउँदै छु,’ आफ्नो पेसाप्रति सन्तुष्ट उनी भन्छन्, 'बाँचुन्जेल र सकुन्जेल यही काम गर्छु ।’  

'Tire Kanchha' pulling a bus in Trishuli

उनलाई यो पेसाप्रति खुशी तुल्याउने अर्को पक्ष हो सबैको माया । जुन उनले आफ्नी श्रीमती बालकुमारी गम्भीर बिरामी हुँदा अरूबाट पनि पाए । उच्च रक्तचापले बिरामी परेकी श्रीमतीलाई लामो समय अस्पतालको सघन कक्षमा राखेर उपचार गराएर फर्किंदा जनप्रतिनिधिहरू नै भेट्न आएको उनी सम्झन्छन् । 'अस्पतालमै व्यास नगरपालिकाका मेयर, उपमेयर, प्रशासनका मान्छेहरु भेट्न जानुभयो, म एउटा गाडी उठाउन जाने सामान्य मान्छे, तर उहाँहरूको उपस्थितिले म निकै खुसी भएँ,' उनी भन्छन् ।

'Tire Kanchha' pulling a bus in Trishuli

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully