पाँचथरको फाल्गुनन्द गाउँपालिकामा एक सय मुरीभन्दा माथि धान फलाउनेलाई ५० हजारका दरले पुरस्कार दिइन्छ । मिक्लाजुङ गाउँपालिकाले पनि ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई एक लाख रुपैयाँ पुरस्कार दिन्छ ।
What you should know
पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का किसान दिप्सन चेम्जोङको खेत १० रोपनी मात्रै छ। उनले यो वर्ष २ सय २९ मुरी ५ पाथी धान फलाए। पहाडको पाखो जमिनमा सरदर प्रतिरोपनी ५ मुरीका दरले मात्रै धान उत्पादन हुन्छ ।
दिप्सन यो वर्ष आफ्नो १० बाहेक थप ३५ रोपनी बढी खेत अधियाँ र कुतमा लिएर ९० पाथीको ब्याड राख्दा यत्ति धेरै धान उत्पादन गर्न सफल भएका हुन्। २ सय २९ मुरी ५ पाथी धान उत्पादन गरेका २९ वर्षीय दिप्सनले यो वर्ष गाउँपालिकाबाट पुरस्कृत हुने किसानमध्ये सर्वोत्कृष्ट स्थान ओगट्न सफल भए ।
फाल्गुनन्द– १ का मकरबहादुर तामाङले यो वर्ष १ सय ५८ मुरी ८ पाथी धान फलाए । गत वर्ष उनले १ सय ७४ र त्योभन्दा अघिल्लो २०८० सालमा १ सय ६८ मुरी धान फलाएर निरन्तर सर्वोत्कृष्ट किसानका रूपमा सम्मानित–पुरस्कृत भएका थिए । ‘यो वर्ष ५० मुरीभन्दा धेरै धान फल्ने खेत बाढीले बगाएका कारण पहिलो हुन सकिनँ, तथापि दोस्रो भएरै छोडें,’ मकरले भने ।
मकरको आफ्नै नाममा ५ रोपनी मात्रै खेत छ । उनी पनि गाउँघर र खोला किनारमा बाँझिनै लागेको खेतमा धान रोपेर पालिकाको उत्कृष्ट किसानको सूचीमा दर्ज हुँदै आएका छन् ।
दिप्सन र मकरबहादुरसहित यहाँका अधिकांश किसानको खेत खोलाको बगर र पाखा–पखेरामा छ । यस्ता भिरालो जमिनमा गोरु जोतेर परम्परागत रूपमा यत्तिका धान फलाउनुको कारण जनजीविका मात्रै होइन, गाउँपालिकाले दिने पुरस्कार पनि हो ।
‘गाउँपालिकाले पुरस्कार दिनुअघि मुस्किलले ४० मुरीसम्म धान फलाइन्थ्यो, पुरस्कार घोषणापछि अधियाँ र कुतमा जमिन लिएर खेतीमा लागियो, पहिले गाउँकैले चिन्दैनथे, अहिले देशैभर धेरै धान फलाउने किसान भनेर चिन्न थाले,’ मकरबहादुरले भने ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई प्रोत्साहन गर्न नगद पुरस्कार दिँदै आएको छ । यो गाउँपालिकाले २०८० सालदेखि यस्तो काम थालेको हो । गाउँपालिकाले नीति बनाएर ५० मुरीभन्दा धेरै धान फलाउनेलाई नगद ३० हजार र एक सय मुरीभन्दा धेरै फलाउनेलाई ५० हजारका दरले पुरस्कार दिन्छ।
युवा शक्तिको पलायन र उर्बर खेत बाँझिने समस्या बढ्दै गएपछि किसानलाई प्रोत्साहन गर्न पुरस्कार दिन थालिएको अध्यक्ष बृजहाङ आङदेम्बे बताउँछन् । धान फले/नफलेको यकिन गर्न जनप्रतिनिधि र कर्मचारी किसानका खला–खेतमै पुग्छन् ।
सुरुमा गाउँपालिकाले तोकेको मापदण्डअनुसार किसानबाट आवेदन संकलन गरेर ५० मुरीभन्दा धेरै धान फलाएको निवेदनसहित पुरस्कार दाबीका लागि सूचना गर्ने । र, सबै वडाबाट निवेदन संकलनपछि धान काटेर झर्नासाथ मूल्यांकनका लागि गएका जनप्रतिनिधि र कर्मचारीले लेखाजोखा गर्ने परिपाटी स्थापित भएको छ।
सबै किसानका धानको लेखाजोखा गरिसकेपछि गाउँपालिकामा सार्वजनिक कार्यक्रम आयोजना गर्दै किसानलाई सामूहिक सम्मान र पुरस्कार अर्पण गरिन्छ । ‘कृषि उत्पादन बढाउन र बाँझो जमिन उर्बर बनाउन यो नीति लिइएको हो,’ आङदेम्बेले भने । पालिकाले किसान प्रोत्साहन गर्न थालेपछि धान उत्पादन गर्नेको संख्या बर्सेनि बढिरहेको छ । ‘२०८० सालमा ५० मुरीभन्दा धेरै फलाउनेको संख्या २९ मात्रै थियो, ०८१ मा बढेर ४२ पुग्यो, यो वर्ष ५८ जना किसान पुरस्कारका भागिदार बन्नुभएको छ,’ आङदेम्बेले भने।
मिक्लाजुङमा निरन्तर
पाँचथरकै मिक्लाजुङ गाउँपालिकाले २०७६ देखि किसानलाई पुरस्कार दिन थालेको थियो । मिक्लाजुङमा यो कार्यक्रम अहिले पनि निरन्तर छ, जहाँ ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई एक लाख पुरस्कार दिइन्छ । कोभिड–१९ को महामारी जोखिम र लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न संकट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कार सुरुवात गरेको थियो ।
यहाँ धानजस्तै मकै र आलु फलाउने किसानले पनि पुरस्कार पाउँछन्, जहाँ चार फुट उचाइ र २० फुट लम्बाइको मकैको थाँक्रो भरिने गरी मकै फलाउने किसानलाई पनि पुरस्कार दिइन्छ ।
यस्तै ३५ मन (प्रतिमनमा ४० किलो) भन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो २० रुपैयाँ पुरस्कार दिइँदै आएको गाउँपालिका उपाध्यक्ष सन्तकुमार सेर्मा बताउँछन्। दुवै पालिकाले कृषिजन्य उपज उत्पादन वृद्धिमा उत्प्रेरणा ल्याउन कृषकलाई सम्मान तथा पुरस्कार वितरणसम्बन्धी कार्यविधि बनाएर पुरस्कार दिन थालेका हुन् ।
रोङमा ‘गुरु किसान’
इलामको रोङ–१ बडारेका मनबहादुर राईले गत वर्ष १२ रोपनी जमिनमा १५ मन अलैंची फलाए। यहाँकै कतिपय किसानले ३० रोपनी क्षेत्रफलमा खेती गर्दा १० मन अलैंची उत्पादन गर्न सकेका छैनन्।
थोरै जमिनमा ठूलो परिमाणको अन्न वा नगदे बाली उत्पादन गरेका मानबहादुर अहिले यो पालिकाका ‘गुरु किसान’ बनेका छन् । कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’ का रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा ‘गुरु किसान’ अघि सारेको छ । रोङ गाउँपालिकाले कमजोर आयस्तर भएका किसानको अवस्था उकास्न ‘गुरु किसान’ कार्यक्रम सुरु गरेको छ ।
यो पालिकाले पहिलो चरणमा १ सय २१ जनालाई ‘गुरु किसान’ का रूपमा छनोट गरेको हो ।
पालिकाभित्रका करिब ४ हजार ५ सय किसानमध्ये पहिलो चरणमा ती किसानलाई छनोट गरिएको हो । किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन ऊक्त कार्यत्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो बताउँछन्। किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरूपता ल्याउन ‘गुरु किसान’ कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको हो।
कार्यक्रमअन्तर्गत पालिकाले किसानलाई तालिम, गोष्ठी, आधुनिक औजार खरिदमा समेत मद्दत गर्दै आएको छ। कृषि पेसाबाट किसान पलायन हुँदै गएका अवस्थामा यो कार्यक्रमले हौसला प्रदान गरेको ‘गुरु किसान’ दिलकुमार अर्याल बताउँछन्।
