बडघर छान्न व्यस्त थारु बस्ती

माघीका बेला नाचिने मघौटा नाचको रौनकसँगै थारु बस्तीमा बडघरदेखि गाउँका अगुवा छान्ने काम भइरहेको छ।

माघ २, २०८२

भवानी भट्ट

Tharu Basti busy choosing Badghar

What you should know

कञ्चनपुर — शुक्रबार बिहानै गाउँका प्रत्येक घरबाट सबै जना उपस्थित भए। त्यसपछि पछिल्लो एक वर्षमा भएका काम र आगामी योजनाबारे छलफल भयो। सबैले पालैपालो आफ्नो कुरा राखे।

समुदायले विवाह, ब्रतबन्धलगायतका कामका लागि खरिद गरेका भाँडाकुडा र टेन्टको वर्षभरीको अवस्थाबारे पनि छलफल भयो।

धेरैबेरको छलफलपछि स्थानीय विक्रम डगौंराले ५ वर्षदेखि बडघरको काम गरिरहेका ४२ वर्षीय प्रेम डगौंरालाई निरन्तरता दिने कुरा अघि सारे। केहीबेरको मौनतापछि सबैले ताली बजाए । प्रेमलाई छैठौं पटक बडघर बनाए।

छलफलमा सहभागी सबैको सहमतिपछि विक्रमले चौकीदारमा पनि दीपेन्द्र चौधरीलाई निरन्तरता दिनुपर्ने कुरा सारे । यसमा पनि सबैले सहमति जनाउँदै ताली बजाए। यसैगरी लेखनदासको काम गर्नका लागि प्रकाश डगौंरालाई पनि सबैले सहमति जनाए । गुरुबा मानबहादुर डगौंरा पनि छलफलमै सहभागी थिए।

कञ्चनपुरको बेदकोट नगरपालिका–७ मन्दिरपुर गाउँको छलफलमा सहभागी सबैले बडघर प्रेमसहित, लेखनदास प्रकाश, चौकीदार दिपेन्द्र र गुरुबा मानबहादुरलाई माला लगाइदिए । सबैले पालैपालो ढोगे । ‘फेरि अर्को एक वर्षका लागि गाउँको नेतृत्व गर्ने जिम्मेवारी प्रेमलाई दिने निर्णय भयो,’ विक्रमले भने, ‘गाउँमा हुने हरेक कामको नेतृत्व बडघरले नै गर्नुपर्छ, विवाह, ब्रतबन्ध, भोजभतेरदेखि सामाजिक कार्यमा स्थानीयको सहभागिताका सबैको जिम्मेवारी बडघरकै हुन्छ ।’ उनले गाउँका सबैको चाहना अनुसार बडघरमा प्रेमलाई नै दोहोर्‍याउने प्रस्ताव अघि सारेको बताए। 

‘मैले त अरु नै अगाडि आउनुपर्छ भनेको थिए, तर गाउँले सबैले फेरि मलाई नै अघि सारे,’ प्रेमले भने, ‘मैले गरेको कामको गाउँलेले मूल्यांकन गरेरै दोहोर्‍याएको हो ।’ उनका बुवा जोगबहादुर डगौंराले पनि लामो समय बडघरको काम गरेका थिए । जोगबहादुरको मृत्युपछि एक/दुई पटक अरुले बडघरको जिम्मेवारी सम्हालेपछि फेरि उनकै परिवारमा जिम्मेवारी आएको हो ।

मन्दिरपुरमा ६७ परिवारको बसोबास छ । गाउँमा हुने हरेक सामाजिक कार्यका लागि प्रत्येक घरबाट सहभागिता हुने गरेको छ । त्यही अनुसार शुक्रबार पनि सबै जनाले सहभागी भएर बडघरदेखि लेखनदास र चौकीदार चुनेका हुन् । 
थारु समुदयले माघी मनाएपछि खोजनीभोजनीको काम गर्छन् । खोजनीभोजनीमा वर्षभरिका कामको समिक्षासँगै गाउँ टोलको नेतृत्व छनौटलगायत काम गरिन्छ । 

यतिबेला थारु बस्तीमा गाउँगाउँमा बडघर छान्नेदेखि भावी योजना बनाउने काम धुमधामका साथ चलिरहेको छ । माघीका बेला नाचिने मघौटा नाचको रौनकसँगै थारु बस्तीमा बडघरदेखि गाउँका अगुवा छान्ने काम भइरहेको छ । 
बेदकोट–८ भासीमा पनि शुक्रबार बडघर छान्ने काम भयो । भासीका गाउँलेले पनि चार वर्षदेखि बडघर रहेका प्रकाश डगौंरालाई नै निरन्तरता दिने निर्णय गर्‍यो । 

भासीमा स्थानीयले माघौटा नृत्य पनि प्रदर्शन गरे । बडघर छानेपछि गाउँका सबै जना मघौटा नृत्यमा सहभागी भए । एक जना पुरुष मादल बजाउन थाले । एक महिला नाच्न थालिन् । दुवैतर्फ महिला र पुरुष पालैपालो माघीको गीत गाउन थाले । यसैमा पूरै गाउँ झुम्यो । ‘गाउँ टोललाई एकबद्ध बनाइराख्न र परम्परागत संस्कृति जोगाउन बडघरको भूमिका महत्वपूर्ण छ,’ भासीमा पाँचौं वर्षका लागि बडघर छानिएका प्रकाशले भने, ‘समाजमा हुने जुनसुकै कामका लागि सबैको सहभागिता गराउन बडघरकै आवश्यकता हुन्छ ।’ उनी वैदेशिक रोजगारीमा छन् । तर फोनबाटै बडघरको काम गर्छन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully