जोडी नफेर्ने चखेवाले बदल्यो बाटो

जोडी बनाएर जीवनभर साथ नछाड्ने चखेवा हिउँदयाममा हिमाल पार गरेर नेपालको तराइ क्षेत्रमा खाना र बासका लागि आउँछ । यो पटक चितवन राष्ट्रिय निकुञ्जको पूर्वी भेगमा चखेवाको संख्या हृवात्तै घटेको छ।

माघ १, २०८२

रमेशकुमार पौडेल

The unmarried couple changed their paths.

What you should know

चितवन — पाहुना चरा भए पनि प्रायः नेपालीले चखेवाको नाम सुनेका छन्। यो चरासँग सम्बन्धित कथा नेपाली गीत र साहित्यमा पनि प्रयोग हुन्छ।

जोडी बनाएर जीवनभर साथ नछाड्ने चखेवा हिउँदयाममा हिमाल पार गरेर नेपालको तराइ क्षेत्रमा खाना र बासका लागि आउँछ । यो पटक चितवन राष्ट्रिय निकुञ्जको पूर्वी भेगमा चखेवाको संख्या हृवात्तै घटेको छ। 

चराहरु जहाँ गुँड लगाएर अण्डा पार्ने र बच्चा कोरल्ने तथा हुर्काउने गर्छन्, त्यसलाई उनीहरुको मुख्य बसोबास क्षेत्र मानिन्छ । नेपाल पन्छीविद् संघका अधयक्ष हठन चौधरी चखेवाले हिउँले ढाकिने हिमालपारिको उच्च भेगमा गुँड बनाउने बताए । हिउँदयाममा त्यहाँ बाक्लो हिउँ परेर खाना र बस्ने ठाउँ पूरै ढाकिने भएकाले यो चरा न्यानो ठाउँ र आहारा खोज्दै नेपालको तराइ भेगमा आउने गरेको उनले बताए।  

चखेवासहित खाना र बास खोज्दै आउने पानीमा आश्रित चराहरुको सन् १९८७ देखि हरेक वर्ष गणना हुँदै आएको छ । यो वर्ष चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रलाई तीन भागमा बाँडेर चरा गणना भएको थियो । राप्ती नदी क्षेत्र निकुञ्जको पूर्वी र मध्य भागमा पर्छ । यसमा भएको गणनामा चखेवाहरु अघिल्लो वर्षको तुलनामा कम फेला परेका छन्।

चखेवा प्रायः बगेको नदी र खोलाहरुमा आहारा खान बस्ने गर्छ । ‘राप्ती खोलाको लोथरदेखि घटगाइसम्म भएको गणनामा यो पटक २ हजार ७४० चखेवा भेटिए,’ गणनाको नेतृत्व गरेको नेपाल पन्छीविद् संघका बासु बिडारीले भने । अघिल्लो वर्ष यो क्षेत्रमा ४ हजार १०७ वटा चखेवा थिए । चितवन निकुञ्जको पूर्वी भेगका विभिन्न १० क्षेत्रमा पानी चरा गणना भएको थियो।

गणनामा संलग्न सौराहाको बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष विजय गिरीका अनुसार अघिल्लो वर्षको तुलनामा समग्रमा चराहरुको संख्या घटेको छ । तर प्रजातिहरु बढेको उनले बताए। यो वर्ष ६२ प्रजातिका ५ हजार ८४८ पानी चरा भेटिएका छन् । गत वर्ष जम्मा ५५ प्रजातिका पानी चरा भेटिँदा कुल संख्या ८ हजार ८६ रहेको थियो । चखेवाको संख्या स्वाट्टै घट्दा यो वर्ष संख्या कम भएको बिडारी बताउँछन् । ‘चराको बासस्थल वरपर मिचाहा प्रजातिका झार, बढ्दो मानवीय चाप र प्रदुषण चुनौतिका रुपमा देखा पर्‍यो,’ बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष विजय गिरीले भने । 

बिडारी पनि चखेवा घट्नुमा खोलामा भएको प्रदुषण नै मुख्य कारण रहेको बताउँछन् । नेपाली हावापानीमा राम्रोसँग भिजेको पानी चरा चखेवा एक्कासी कम देखिनु चिन्ताको विषय भएको उनले बताए । 

नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरी भारतको लद्दाख, चीनको तिब्बतदेखि हिउँ जम्ने अन्य उच्च भेग र साइबेरियादेखि यो चरा यहाँसम्म आउँछ । अक्टोबर अन्तिमबाट आउन सुरु गरेर नोबेम्भरसम्म आइसक्छ । तापक्रम बढेसँगै मार्चबाट फर्कन सुरु गरेर मेसम्म सबै फर्कन्छन् । थातथलोमा फर्केर जुन/जुलाईबाट गुँड लगाएर अण्डा पार्न, बच्चा कोरल्न र हुर्काउन सुरु गर्ने हठन बताउँछन्।

नेपालमा पनि फाट्टफुट्ट उच्च हिमाली भेग मनाङ र मुस्ताङमा यसको एकाध गुँड र बच्चा भेटिएको छ । ‘मैले १५ वर्षअघि मनाङमा गुँड भेटाएको थिए । अन्य साथीहरुले मुस्ताङको दामोदरकुण्डमा पनि गुँड र बच्चा देख्नुभएको रहेछ । यो निकै दुर्लभ घटना हो । नभए यो गुँड लगाउन मूलथलोमै फर्कन्छ,’ हठनले भने । 

यो चराको मुख्य खाना लेउ हो । खेतबारीमा खसेका धानका दाना र टुसा पनि यसले खान्छ । ‘नेपाली समाजमा प्रचलित कथा जस्तै यसले एक पटक रोजेको जोडी जीवनभर फेर्दैन । तर साँझ परेपछि छुट्टिन्छन् भन्ने कथन सत्य हैन,’ हठनले भने । एक पटक रोजेको साथी नफेर्ने चखेवाले बाटो पो फेरेर चितवन राप्तीमा कम आएको हो कि ? उपयुक्त वातावरण नहुँदा चराहरुले यसो गर्ने हठन बताउँछन् ।

राप्तीको पश्चिम भेगमा पनि यो पटक चखेवा कमै भेटिएको हठनले बताए । समग्रमा राप्तीमा चखेवा कम हुँदै गएको छ । ‘गिट्टी बालुवा उत्खनन् पनि बढ्यो । अन्य कारण पनि छन् । प्रदुषण र मानवीय चापले यसको संख्या प्रभावित हुन्छ,’ हठनले भने ।

बसाइँ सरेर जति धेरै चरा आए त्यही अनुसार यहाँको हावापानी र वातावरण राम्रो भएका कारण आहारा पनि पाउने गरेको पुष्टि हुन्छ । त्यसैले बसाइँ सरेर आउने चरा कम हुनु चिन्ताको विषय भएको चराविद्हरु बताउँछन् । ‘नदी र खोला प्रदुषणमुक्त भए चरा माछाले खाने लेउलगायतका आहारा बढ्छ । आहारा भएपछि चरा आउँछन् । यता आउने बेलामा मौसम बिग्रिए रुट परिवर्तन गर्छन् । रुट परिवर्तन गरेर नेपालकै अन्य भेग र भारतका खोला र नदीतिर पो लागे कि ?’ हठनले अन्दाज लगाए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully