संगठित संलग्नताभन्दा बढी व्यक्तिगत आवेग, बदला, पारिवारिक सम्बन्ध, आर्थिक लेनदेनको विषयलगायत कारणले हत्या हुने प्रवृत्ति, व्यक्ति हत्याका कैयौं घटनालाई ‘विशुद्ध अपराध’ मात्र नभई मानिसको मनोविज्ञान, आत्मसन्तुष्टि र मानसिक स्वास्थ्यलाई समेत जोडेर हेर्नुपर्ने प्रहरी भनाइ छ ।
What you should know
काठमाडौँ — ललितपुरको प्रसिद्धि टोलबाट शनिबारदेखि बेपत्ता ८३ वर्षीय गर्जमान थापा सोमबार मृत अवस्थामा फेला परे । ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार, उनी नियमित गइरहने फर्निचर कारखानानजिकै इनारमा बोराभित्र राखिएको अवस्थामा थापाको शव भेटिएको हो ।
‘उहाँ बेपत्ता हुनुभएको खबर आएपछि सम्भावित स्थानमा खोजतलास तीव्र बनाएका थियौं, नियमित जाने ठाउँका मानिसहरूसँग सोधपुछ बढाएका थियौं,’ उनले भने, ‘त्यसक्रममा कारखानामा काम गर्ने भारतको मोतिहारी जिल्लाका २२ वर्षीय श्रदाम मन्सुर, २१ वर्षीय युसुफ अन्सारी र २२ वर्षीय मोहम्मद नोमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका थियौं ।’
बोगटीका अनुसार, उनीहरूको बयान शंकास्पद लागेपछि प्रहरीले आसपासको क्षेत्रमा खानतलासी बढाएको थियो । त्यसक्रममा अनुसन्धान अधिकृतहरूले करिब डेढ सय मिटर पर ढकन सरेको अवस्थामा इनार देखेका थिए ।
‘पहिले अर्को घटनामा पनि इनारमा शव भेटिएको थियो, त्यसैले शंकास्पद लागेर हेर्दा शव भेटियो, परिवारले त्यो शव थापाकै भएको सनाखत गर्यो,’ बोगटीले भने, ‘त्यसपछि भारतीय नागरिकले वयोवृद्धबाट औंठी लुट्ने उद्देश्यले हत्या गरेको देखिएको छ ।’ उनका अनुसार, औंठीमा एक तोलाभन्दा कम सुन छ । ‘अपराह्नतिर चक्कु प्रहार गरेर हत्या भएको देखिन्छ, त्यसपछि राति तीन जना मिलेर इनारमा शव फ्याँकेको पाइएको छ,’ एसएसपी बोगटीले भने, ‘उनीहरू भाग्नलाई तयार भएर बसेका रहेछन्, तर समयमै अनुसन्धान थालेकाले समात्न सक्यौं ।’
ललितपुरकै पाटनस्थित सुन्धारामा गत शनिबार राति पनि एक जना व्यक्तिको सामान्य विवादमा ज्यान गएको थियो । एसएसपी बोगटीका अनुसार, मध्यराति आगो ताप्ने क्रममा विवाद हुँदा दुई समूहबीच झडप भएको थियो । त्यसक्रममा सिन्धुलीका २५ वर्षीय विजय राईको ज्यान गएको छ ।
‘राईको अनुहारमा चोट देखिन्छ, शरीरमा नीलडाम छन्,’ उनले भने, ‘बेलुकी कोठामा गएर सुतेको देखिन्छ, बिहान बेहोसी अवस्थामा अस्पताल लगिएको रहेछ, त्यहीँ चिकित्सकहरूले मृत घोषित गरेका थिए ।’ परिवारले उनको हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले राजु थापा र दीपेश दाहाललाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, झगडा गर्ने सबैजना ज्याला मजदुरी गरेर जीवन चलाउँदै आएका थिए । ‘शवलाई पोस्टमार्टमका लागि पठाएका छौं, प्रतिवेदन आएपछि मृत्युको यकिन कारण थाहा हुन्छ,’ बोगटीले थपे ।
नेपाल प्रहरीका सहायक निरीक्षक (असई) २९ वर्षीय पुष्कर कार्की गत २१ मंसिरको दिउँसो १२ बजे ड्युटी सकेर सिनामंगलस्थित डेरामा फर्किए । प्रहरी सेवामै रहेकी पत्नी सुत्केरी बिदा लिएर डेरामै थिइन् । डेरा पुगेपछि कार्की सिधै ६ महिने छोरा भएतिर गए र घाँटीमा धारिलो हतियार प्रहार गरेर ज्यान लिए । यो दृश्य देख्नेबित्तिकै चिच्याउँदै कोठाभित्र छिरेकी कार्की–पत्नीसमेत कुटिइन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार छिमेकीले उद्धार गरेर पत्नीलाई नजिकै रहेको काठमाडौं मेडिकल कलेज पुर्याए । कार्की भने कोठाभित्र छिरे । केहीबेरमा भागेर मोबाइल ‘स्विच अफ’ गरे अनि सम्पर्कविहीन भए । घटनाबारे सूचना पाएलगत्तै खोजीमा सक्रिय भएको प्रहरी टोलीले नागढुंगा चेक प्वाइन्टबाट उनलाई पक्राउ गर्यो । कार्कीमाथि कर्तव्य ज्यानको कसुरमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार कार्कीका छोराको केही समयअघि सिनामंगलकै काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो । एक्कासि सर्किएर अस्पताल लगिएका उनको टाउकामा रगत जमेको पाइएपछि चिकित्सकहरूले शल्यक्रिया गरेका थिए । तर निको भइसकेका थिएनन् । चिकित्सकहरूले दीर्घकालसम्म समस्या देखिन सक्ने बताएका थिए । त्यसपछि घरमा श्रीमान्–श्रीमतीबीच विवाद भएको थियो । ‘हत्या गर्नुपर्ने अरू कुनै कारण देखिँदैन, बच्चाकै विषयले परिवारमा तनाव भएको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने ।
३३ वर्षीय पेम्बा लामा र उनका बुबा ७८ वर्षीय आम्बी लामा एक दशकदेखि काठमाडौं–१५, स्वयम्भूस्थित मैत्री विहार गुम्बाको कोठा भाडामा लिएर बस्दै आएका थिए । आमा गाउँमा एक्लै थिइन् । पेम्बा आमा भेट्न बेलाबेला गोरखाको चुमनुब्री गाउँपालिका गइरहन्थे । ‘आमा एक्लै हुनुभयो भनेर मैले बुबालाई गाउँ जान पटक–पटक भन्ने गरेको थिएँ, उहाँले मान्नुभएको थिएन,’ उनले प्रहरीसँग भनेका छन् ।
गत २३ कात्तिक बेलुकी यही सामान्य विवादले यस्तो रूप लियो कि बुबा आम्बी अहिले यस संसारमा छैनन्, छोरा पनि थुनामा पुगेका छन् । ‘त्यो दिन साँझ झगडा गरेर ज्यानै जाने गरी खुकुरी प्रहार गरेपछि स्थानीयले थाहा पाएर बुबालाई मनमोहन मेमोरियल अस्पताल, स्वयम्भू लगेछन्,’ उनका दाइ छेवाङले भाइविरुद्ध प्रहरीलाई दिएको जाहेरीमा भनेका छन्, ‘अस्पतालले २४ कात्तिक बिहान करिब २ः४३ बजे मृत्यु भइसकेको घोषणा गरेछ ।’
पक्राउ परेपछि पेम्बाले प्रहरीलाई बयानमा त्यो दिन बेलुकी बाबुछोराले घरमा मिलेर छ्याङ खाएको र त्यसपछि गाउँ फर्किने विषयमा कुरा हुँदा बुबासँग झगडा भएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाबाट फोहोर उठाउन जाने सरसफाइकर्मीले ६ मंसिरमा गोंगबुको सडक किनारमा फरक किसिमको दुर्गन्ध आइरहेको कालो प्लास्टिक फेला पारे । गाडीमा हाल्ने बेला अनौठो लागेपछि खोलेर हेर्दा तन्नाले केही बेरिएको देखियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेर अनुसन्धान सुरु गर्यो ।
काठमाडौं प्रहरीका अनुसन्धान अधिकृतहरूका अनुसार त्यो शव कम्तीमा १० दिनदेखि त्यहीं अलपत्र थियो । ‘फोहोर उठाउनेले थाहा नपाएको भए कहाँ पुगिसक्ने रहेछ !’ एक अधिकृतले भने, ‘शव कुहिन थालिसकेका कारण सनाखत गर्न पनि गाह्रो भएको थियो ।’ तर शव बेर्न प्रयोग गरिएको तन्नामा भएको ‘ट्याग’ अनुसन्धान अधिकृतका लागि महत्त्वपूर्ण ‘क्लु’ बन्यो । त्यसमा ‘१४५५’ नम्बर लेखिएको थियो, जुन शैलीमा गोंगबुको होटल रोयल कुन्डलाको तन्नामा लेख्ने गरिन्थ्यो ।
‘त्यो कपडा होटलको जस्तो लागेपछि आसपासका लन्ड्री पसल र होटलहरूमा सोधपुछ थाल्यौं, त्यसक्रममा त्यो ट्याग होटल रोयल कुन्डलाको हुन सक्ने जानकारी पायौं,’ अनुसन्धानमा संलग्न ती अधिकृत भन्छन्, ‘होटल पुग्दा त्यही नम्बरको ट्याग भएको सिरानीसमेत फेला पार्यौं ।’ त्यो सिरानी होटलका कर्मचारी २४ वर्षीय सूर्य थापा मगरले प्रयोग गर्दै आएका थिए । त्यही आधारमा उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थाल्यो ।
काठमाडौं प्रहरीका एसपी भट्टराईका अनुसार सोधपुछ गर्ने क्रममा सूर्यले माया मगर भनिने आयुषा मगरको हत्या गरेको स्विकारे । त्यस होटलमा ७ महिनादेखि काम गर्दै आएका सूर्यको आयुषासँग होटलमै पहिले भेट भएको खुल्यो । ‘उनले २६ कात्तिकमा मध्यराति १ः५२ बजे त्यही होटलबाट मृतकको शवलाई तन्नामा बाँधेर सडकछेउमा फालेको समेत भेटियो,’ भट्टराईले सुनाए, ‘हत्यापछाडिका कारण जम्मा ५ सय रुपैयाँको विवाद भएको खुल्यो ।’
एसपी भट्टराईका अनुसार आयुषा साथीसँग २३ कात्तिकको मध्यराति त्यस होटलमा पुगेकी थिइन् । साथी कोठामा गएर सुतिन् भने आयुषा होटलका कर्मचारी सूर्यसँग कुराकानी गर्न थालिन् । आयुषाले ब्राउन सुगर खरिद गर्न भन्दै उनीसँग ५ सय रुपैयाँ सापटी लिएकी थिइन् । ‘पछि त्यो पैसा फिर्ता माग्दा आयुषाले नदिने बताएपछि विवाद भएको रहेछ, सूर्यले जुत्ताको तुनाले घाँटीमा बाँधेर भुइँमा लडाएको र मुक्काले घाँटीमा हानेर हत्या गरेको देखिन्छ,’ एसपी भट्टराईले भने, ‘पछि फोहोर फाल्ने प्लास्टिकमा राखेर बाहिर निकालेको पाइएको छ ।’
जिल्ला प्रहरी परिसर, ललितपुरले १२ कात्तिकमा बुंगमतीस्थित मच्छिन्द्रनाथ मन्दिरका पुजारी कान्छा पुतुवारलाई हत्या आरोपमा पक्राउ गर्यो । बाजे–बराजुका पालादेखि उनको परिवारले मन्दिरमा काम गर्दै आएको थियो । गुठीका नाममा रहेको जग्गामै टहरा बनाएर उनी बस्दै आएका थिए । त्यही घरमा ११ कात्तिकको साँझ ६ बजे धनबहादुर तामाङले टहराको ढोका ढक्ढक्याएका थिए ।
‘बारम्बार ढोकामा ढकढक गरेपछि मैले खोलेर हेर्दा उसले एक्कासि कठालोमा समात्यो । धम्क्याएपछि रिस उठेर धकेलेको थिएँ,’ उनले प्रहरीसँग भनेका छन्, ‘बिजुलीको पोलमा ठोक्किएर ऊ भुइँमा ढल्यो ।’
करिब एक घण्टापछि निस्किएर हेर्दा पनि तामाङ त्यहीं ढलेको देखेर नाडी छाम्दा मृत्यु भइसकेको थाहा पाएको उनले बताएका छन् । ‘मेरो घरअगाडि शव हुँदा मैले मारेको थाहा हुन्छ भन्ने ठानेर घिसार्दै नजिकै रहेको बाँस झ्याङमा फ्याँकेको थिएँ,’ उनले भनेका छन् । फर्किएर आफ्नै टहरामा बसेको अवस्थामा उनी पक्राउ परेका थिए ।
पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा गत १५ कात्तिकमा ३१ वर्षीय सन्देश राईले सामान्य विवादमा बुबा युवराजको हत्या गरे । मादक पदार्थ सेवन गरेर बेलुकी घर पुगेका छोरालाई युवराजले घरजग्गा बिक्री गरेर झापा बसाइँ सर्ने सुनाएका थिए । त्यही विषयमा विवाद बढ्न थालेपछि बाबुछोराबीच कुटाकुट भएको थियो ।
त्यहीबीच सन्देशले बियरको बोतल प्रहार गर्दा बुबा युवराज गम्भीर घाइते भएका र केही बेरमा फेरि चिपर्ट प्रहार गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । अहिले सन्देशविरुद्ध जिल्ला अदालत पाँचथरमा ज्यान मुद्दा चलिरहेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्ले संगठित संलग्नताभन्दा बढी व्यक्तिगत आवेग, बदला, पारिवारिक सम्बन्ध, आर्थिक लेनदेनको विषयलगायत कारणले हत्या हुने प्रवृत्ति पछिल्लो समयमा बढेको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ मा देशभरि ५२२ जनाको हत्या भएको थियो, ज्यान गुमाउनेमा २९६ पुरुष र १६५ महिला थिए ।
अघिल्लो आर्थिक वर्षभरिमा देशभर ६३८ जनाको हत्या भएको थियो, तीमध्ये ३३६ पुरुष र २०० महिला थिए । आर्थिक वर्ष ०७९/८० मा ५२२, ०७८/७९ मा ६८४ र ०७७/७८ मा ७०७ जनाको हत्या भएको थियो । चालु आर्थिक वर्ष ०८२/८३ का चार महिनामा १७८ जनाको हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
महिला र बालिकाको हत्या भएको घटनामा घरेलु हिंसा, जबर्जस्ती करणी र दाइजो प्रथा जस्ता कारण मुख्य देखिन्छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा कुनै लामो योजना वा संगठित संलग्नताभन्दा तत्काल आवेगमा आएर मान्छेले किन हत्या गरिरहेको छ भन्ने प्रश्न मनोवैज्ञानिक विषयसँग जोडिने बताउँछन् ।
‘अहिले भएका हत्याका अधिकांश घटनाका कारण परिवारभित्रै जोडिएका छन्, सामाजिक मूल्य–मान्यताका विषय पनि छन्,’ उनले भने, ‘अहिले बाहिर आएका अपराधका घटना हेर्दा मानिसमा निराशा देखिन्छ, इच्छा, आकांक्षा परिपूर्ति गर्ने स्रोत, साधन नहुँदा मानिसले संयम गुमाएको देखिन्छ, कतिपय घटनामा बेरोजगारी पनि अपराधको कारक बनेको देखिन्छ ।’
अहिले भइरहेका व्यक्ति हत्याका कैयौं घटनालाई ‘विशुद्ध अपराध’ मात्र नभई मानिसको मनोविज्ञान, आत्मसन्तुष्टि र मानसिक स्वास्थ्यलाई समेत जोडेर हेर्नुपर्ने उनी बताउँछन् ।
