बाजुराका ४० वर्षीय प्रकाश सिंहले डेढ दशकको अवधिमा तीन सय जना बढीलाई बिभिन्न खालको सहयोग जुटाइसकेका छन्। अहिले दु:खी, गरिब, असहाय मानिसहरू सहयोगको अपेक्षा लिएर उनलाई खोज्दै घरसम्मै आउने गर्छन्।
What you should know
बझाङ — गत साउनमा बझाङ तल्कोटका एक बालकको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । पाँच वर्षीय ती बालकको खुट्टा जन्मजात बाङ्गो हुँदा घस्रेर हिँड्नु पर्थ्यो ।
ती बालक तल्कोट–५ का जयलाल दमाईका छोरा मनोज थिए। कमजोर आर्थिक अवस्थाका जयलाललाई परिवारको दैनिक गुजरा जुटाउन मुस्किल छ। छोराको उपचार गर्ने कुरा त उनले सोच्न पनि सक्दैन थिए । न त उनलाई यस्तो समस्याको उपचार हुन्छ भन्ने नै थाहा थियो।
यो भिडियो देखेपछि बाजुरा बुढीगंगाका प्रकाश सिंहको मन भरियो । उनले मनोजको उद्धार र उपचारका लागि पूर्वपरिचित धुलिखेल अस्पतालका साथीहरूसँग सम्पर्क गरे । उनको भिडियो देखाएर सहयोगका लागि अनुरोध गरे।
अस्पतालले निःशुल्क उपचार गर्ने भयो तर त्यहाँसम्म पुग्ने गाडी भाडा पनि जयलालसँग थिएन । सिंहले १० हजार रुपैयाँ दिएर मनोजका बाबुछोरालाई काठमाडौंसम्म जान सहयोग गरे। आफै लगेर धुलिखेल अस्पताल भर्ना भए । ५ महिनाको उपचारपछि मनोज अहिले ठमठम हिँड्ने भएका छन्। छोरा राम्रोसँग हिँड्ने भएपछि जयलालको परिवारमा खुसी भित्रिएको छ। ‘राम्रोसँग उभिन पनि सक्दैन थियो। यो बच्चाले हामी बितेपछि कसरी खाला भनेर चिन्ता लागिरहन्थ्यो,’ जयलालले भने, ‘अहिले त अरूजस्तै हिँड्ने भएको छ । हाम्रो परिवारमा उज्यालो छाएको छ।’
बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराकी ४० वर्षीया जौलादेवी बुढाको अवस्था झन् खराब थियो । क्यान्सरको उपचारका क्रममा रहेकी उनलाई डाक्टरले बाँया खुट्टाको घुँडादेखि कम्मरसम्म रड हाल्नु भनेको थियो । आफन्तसँग ऋणसापटी गरेर चितवनको भरतपुर क्यान्सर अस्पताल पुगेकी उनी खर्च जुटाउन नसकेर अलपत्र परेकी थिइन्। रड हाल्न माक्रै ५ लाख ५० हजार रकम आवश्यक थियो । शल्यत्रियाको लागि थप रकम चाहिने थियो । जुन जौलाको परिवारले जुटाउन असम्भव थियो । अस्पतालमा मृत्यु कुरिरहेकी उनलाई गाउँकै एक जनाबाट प्रकाश सिंहलाई भेटे उनले सहयोग गर्ने कुरा सुनिन्।
उनका परिवारका सदस्यले प्रकाशलाई गुहारे । उनको अवस्था देखेपछि प्रकाशले काठमाडौंको मेडिकल पुर्नस्थापना केन्द्रसँग समन्वय गरे पछि उनको उपचार खर्च पुर्नस्थापना केन्द्रले व्यहोर्ने भयो ।
किष्ट मेडिकल कलेजमा उनको रड राख्ने र उपचार गर्ने काम भयो । उनको थप उपचारका लागि पनि सिंहले नै खर्चको जोहो गरिरहेका छन्। जौलाको स्वास्थ्यमा निकै सुधार भइरहेको छ। ‘जिन्दगी यतिसम्म नै रहेछ भनेर मैले आशा मारिसकेकी थिए,’ उनले भनिन्, ‘प्रकाश सिंह भगवान भएर आइदिनु भयो । मैले अर्को जन्म पाए ।’
बाजुराकै बडिमालिका नगरपालिका–५ का १२ वर्षीय ओमु मिजारको पिसावथैलीमा पत्थरी थियो । बाजुरा अस्पतालले जिल्लामा उपचार सम्भव नभए पछि उनलाई धनगढी वा काठमाडौंका सुविधायुक्त अस्पतलालमा उपचार गर्न भनेर रिफर गर्यो । आमाबुवा नभएका उनको लागि त्यहाँसम्म कसले लगिदिने ? आफन्तको घरमा शरण लिएर बसेका उनी उपचार अभावमा अलपत्र थिए।
बडीमालिका नगरपालिकाको महिला शाखाकी एक कर्मचारीले गाउँ गएको बेला उनको दयनीय हालत देखेर प्रकाशलाई खबर गरिन्। प्रकाशले उनलाई काठमाडौं लगेर पत्थरीको अप्रेसन गराईदिए पछि ओमु अहिले पूर्ण स्वस्थ छन् । ‘पेट दुखेर बसिखानु हुँदैनथ्यो । कतिबेला मर्छु जस्तो लाग्थ्यो,’ दलित समुदायका किशोर ओमुले भने, ‘मेरो उपचार गरिदिने मान्छे पनि कोही थिएनन् । उहाँले सहयोग नगरेको भए त आजसम्म मरिजान्थे हुँला।’
एक जनाले मानवीय भावनाले सहयोग गर्दा मात्रै समाजमा रहेका सहाराविहीनहरूले कसरी पुनर्जीवन पाउने रहेछन् भन्ने यी थोरै उदाहरण मात्रै हुन्। बाजुराका ४० वर्षीय प्रकाशले डेढ दशकको अवधिमा यसरी सहयोग गरेकाहरूको सूची सयौंको संख्यामा छ। मानव विकास सूचकांकमा देशकै पुछारमा रहेको जिल्ला बाजुरामा उनी पत्रकारिता गर्थे। समाचार संकलनको लागि दुर्गम गाउँ घुम्ने क्रममा उनको जीवनमा यस्ता पात्रहरू ठोक्किन आइपुगे जसले उनलाई पत्रकारिता भन्दा मानवीय सेवामा लाग्न बाध्य बनायो । सिएमए पढेका उनी गाउँ जाँदा झोलामा अत्यावश्यक औषधि बोकेर जान्थे । तर उनले बोकेको औषधि सामान्य उपचारको लागि मात्रै हुन्थ्यो। बिरामीको अवस्था हेरिनसक्नु हुन्थ्यो । उनले भने, ‘कसैका हात खुट्टा पाकेर झर्न लागेका भेटिन्थे। कोही कलिलो उमेरमै जटिल रोगले प्राण छोड्लान् जस्ता हुन्थे ।’ यी दृष्यले प्रकाशलाई विरक्त बनाउँथ्यो।
‘रिर्पोटिङबाट फर्किसकेपछि उपचार नपाएर छटपटाइरहेका, आमाबुवा गुमाएर बेसाहारा भएका, खान नपाएर कुपोषणले चाउरिएका भएका अनुहार झल्झल्ती दिमागमा घुम्थे,’ सिंह भन्छन्, ‘जसका पीडा लेखेर मैले गुजरा गरिरहेको छु । उनीहरूको जीवनको दुखमा केही फरक भएन भने मैले बाँचेको अर्थ छैन भन्ने लाग्थ्यो । त्यही कुराले मलाई मानवीय सेवामा लाग्न प्रेरित गर्यो ।’
विभिन्न कार्यक्रमबाट पाउने भत्ता, पुरस्कार पाएको नगद र आफुले सक्ने रकमले सानोतिनो सहयोग गर्दै मानवीय सेवा सुरु गरेका उनको सम्पर्कमा सहयोगी भावना भएका व्यक्तिहरू देशविदेशबाट जोडिन थाले । विभिन्न संघसंस्थाले पनि आपतविपदमा परेकाहरूलाई शिक्षा र स्वास्थ्यका लागि सहयोग गर्न थाले।
प्रकाशको पहलमा अहिलेसम्म बाजुरा, हुम्ला, अछाम, मुगुका १ सय ५० भन्दा बढी आमाबुवा नभएका बालबालिकाको उद्धार गरिएको छ । उनीहरू काठमाडौं, बुटवल, पोखरा, धनगढीलगायतका ठाउँमा विभिन्न संघसंस्थाको सहयोगमा सुविधासम्पन्न विद्यालयमा पढिरहेका छन्। बाजुरालगायत विभिन्न जिल्लाका ३ सय बढी विपन्न नागरिकले उनकै कारण जटिल रोगको उपचार पछि पुर्न जीवन पाएका छन्। प्रकाशको सहयोग र समन्वयमा अहिलेसम्म विरामीको उपचारमा मात्रै तीन करोड बढी खर्च भइसकेको छ।
अहिले प्रकाशको परिचय यस्तो बनेको छ की दुखी, गरिब, असहाय मानिसहरू सहयोगको अपेक्षा लिएर उनलाई खोज्दै घरसम्मै आउने गर्छन्। ‘पालिकाका जनप्रतिनिधि, कर्मचारी र संघसंस्थामा काम गर्ने मान्छेहरू पनि फलानो गाउँको मान्छे समस्यामा छ । उद्धार गरिदिनु पर्यो भनेर भन्न आउाँछन्,’ उनले भने।
बाँकी जीवन पनि मानवीय सहायतामै बिताउने निर्णय गरेका प्रकाशले समाजसेवाकै लागि अहिले बडिमालिका फाउन्डेसन नामको संस्था स्थापना गरेका छन्। यही संस्था मार्फत असाहायको लागि सहयोग जुटाउने, समन्वय गर्ने र सहयोगलाई व्यवस्थित गर्ने काम भइरहेको उनले बताए।
‘प्रकाशले मानवीय सेवाको क्षेक्रमा देखाएको सत्रियताको जति प्रसंशा गरे पनि कमै हुन्छ,’ बाजुराका नागरिक अगुवा दयाराम पण्डित भन्छन्, ‘विपन्न र असहाय, स्कुल छोडेका बालबालिकाले राम्रो शिक्षा पाएका छन् । उपचार खर्च जुटाउन नसकेर ज्यानको माया मारिसकेकाले जीवन पाएका छन्। अपांगता भएका र अशक्तहरू सामान्य जस्तै भएका छन्।’
कोरोनाको कहरमा अक्सिजनको जोहो गर्नेदेखि आपतविपदका बेलामा राहत सामग्री बोकेर समस्यामा परेकाहरूलाई भेट्न प्रकाश दुर्गम गाउँसम्म पुग्ने गरेका छन्। घरवारविहीन भएर अलपत्र परेकाहरूको घर निर्माणदेखि नागरिकता नभएका कारण सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएकाहरूको कागजात जुटाउन पुग्ने गरेका उनले नुन चामलको अभावदेखि मतदान केन्द्र गाउँनजिक नभएर भोट हाल्न नपाएकाहरूको बारेमा समेत पैरवी गर्दै आएका छन्।
गाउँगाउँ घुमेर समस्या पत्ता लगाउनु र सामाजिक सञ्जाल मार्फत सहयोग अभियान चलाउनु उनको दैनिकी बनेको छ। ‘उहाँले गरेको काम समाजका लागि पनि प्रेरणाको स्रोत हो,’ दलित अधिकारकर्मी प्रेम विक भन्छन्, ‘कोही नहुनेका लागि पनि प्रकाश छ है भन्ने आशा जिल्लाबासीलाई छ।’ प्रेमले प्रकाशले सहयोग गरेका कारण सबैभन्दा बढी दलित र विपन्न समुदायकाले राहत पाएको बताए ।
