जेन-जी सहिद विजयको परिवारमा आर्थिक संकट, सानी छोरीको भविष्य अन्योलमा

परिवारको सम्पूर्ण जिम्मेवारी वहन गर्दै आएका विजय चौधरीको मृत्युपछि चौधरी परिवार शोक र अन्योलमा परेको छ ।

पुस २७, २०८२

बुनु थारू/रासस

Financial crisis in the family of Gen-G martyr Vijay, the future of his little daughter is uncertain

What you should know

काठमाडौँ — पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ २४ गते करिब ११ बजेतिर सुशीला चौधरीलाई भाइ विजयले कल गरे ।

हालखबर सोध्दै जितिया मनाउन र काठमाडौं घुम्न आउनु भनेर प्रस्ताव गरे । सुशीलाले जेन-जी आन्दोलन शान्त भएको केही दिनपछि जाने सोच गरेकी थिइन् । फोनमै सुशीलाले विजयलाई आन्दोलनमा नजान र घरमै बस्न आग्रह पनि गरिन् ।

तर दिदीभाइ कुरा भएको केही घण्टापछि अप्रिय खबरहरू आगोसरि फैलन थाले । भाइ-बुहारी (विजयकी श्रीमती) को आत्तिएको स्वरमा फोन आयो, 'दिदी विजयलाई कल गर्दा अर्कै मान्छेले फोन उठाइरहेको छ । उसलाई गोली लागेर सिभिल अस्पताल लगेको छ रे । के गर्ने ?' 

विजयलाई छातीमा गोली लागेको थियो । विजय नयाँ बानेश्वरस्थित संसद् भवनको पछाडि रहेको बेला उनीमाथि गोली प्रहार भएको थियो । 

हेटौँडामा बस्दै आएकी सुशीला सोही दिन जान सक्ने अवस्था थिएन । उनी भोलिपल्ट विजयका साथीसँग सिभिल अस्पतालमा भाइको खोजीका लागि गइन् । सबै वार्ड हेर्दा पनि विजय देखिएनन् । कसैले एकपटक त्रिवि शिक्षण अस्पताल जानु भन्यो । सुशीलाले भोलिपल्ट मात्रै भाइको शव देख्न पाइन् ।

'घरको सबै जिम्मेवारीको उसले लिएको थियो । जेठो भाइलाई पनि पढाएको थियो । घरको एक्लो खम्बा ढल्यो,' सुशीला भावुक हुँदै भन्छिन्, 'ऋण लिएर भाइले घर बनाएको थियो । मेरो बिहेमा पनि उसले आर्थिक सहयोग गरेको थियो ।' 

सिरहा लहान नगरपालिका–१५ का २६ वर्षीय विजय हरिप्रसाद र जलेश्वरीका कान्छा छोरा हुन् । काठमाडौँको जडीबुटी बस्ने उनले १० वर्षदेखि इलेक्ट्रिसियनका रूपमा काम गर्दै घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए । 

सामान्य किसान परिवारमा जन्मिएका विजयले घरपरिवार हेर्न भनेर नै ‘प्लस टु’ पछि पढाइ छोड्नुपरेको थियो । आफूले नपढे पनि दाइलाई पढाउँछु भनेर घरको रेखदेखसँगै दाइ अजयलाई उनले इन्जिनियरिङ पढाउन सहयोग गरेका थिए ।

विजय बितेपछि चौधरी परिवार शोकमा डुबेको छ । परिवारले अब के गर्ने भनेर सोच्न सकेको छैन । इन्जिनियिरिङको पढाइ सकेर बसेका विजयका दाइ अजय कामको खोजीमा छन् ।

गाउँले र अन्य चिनेजानेकाले अजय र विजयलाई सँगै देख्दा यही भन्थे– अनुहार पनि उस्तै । आहा कस्तो मिलेका दाजुभाइ । ठ्याक्कै राम लक्ष्मणजस्तो । मिठो बोली व्यवहार ।

हुन पनि वियज परिवारप्रति व्यावहारिक र जिम्मेवार हुनुहुन्थ्यो । त्यसैले उनी सबैको प्यारो हुनुहुन्थ्यो । आमाबुवाको आँखामा उनी हिरा थिए । अहिले कसैले भाइको बारेमा सोध्दा बोल्न गाह्रो हुन्छ अजयलाई । मनमा गाँठो पर्छ । अजय भावविह्वल हुँदै भन्छन्, 'उसको कुरा गर्दा पनि आँसु आउन खोज्छ । म कहिल्यै नरुने मान्छे । उसको मृत्युले मलाई धेरै रुवाएको छ । ऊ हुँदा केही कुराको पनि तनाव हुँदैन थियो । ऊ नभएपछि घरको सहारा नै टुटेको छ ।' 

अजय मानिसलाई पुनर्जीवन गराउने कुनै मेसिन भएको भए भाइलाई फेरि जीवित भएको देख्न पाए हुन्थ्यो भनेर कल्पिन्छन् । 'मेरो भाइ सीपयुक्त थियो । राम्रो कमाउँथ्यो । घरको सबै जिम्मेवारी लिएको थियो । मलाई पढाएको थियो । मैले जति अरु कसले गुमायो होला र ?' उनी बोल्दाबोल्दै रोक्किन्छन् । 

विजयका आफन्त दाइ अमित चौधरी विजयलाई इमानदार व्यक्तिका रूपमा सम्झिन्छन् । अमित भन्छन्, 'देशको बलिदानका लागि लडेको थियो । सरकारले प्रतिबद्धता गरेको सबै चिज प्राप्त गरोस् उसको परिवारले ।' 

विजयका बुवा दमको रोगी हुन् । आमाको स्वास्थ्य अवस्था पनि त्यति सन्तोषजनक छैन । घरको एक्लो सहारा विजय नभएपछि उनको तीन वर्षको छोरीको भविष्य अन्योल छ । विजयकी दिदी सुशीला सरकारले बुहारीलाई रोजगारी दिनुपर्ने र छोरीको उच्च शिक्षासँगै स्वास्थ्य बिमाको पनि सुनिश्चितता गर्दिनुपर्ने बताउँछिन् ।

जेन-जी आन्दोलनमा सहादत प्राप्त गरेका विजय अब सम्झनामा मात्र छन्। ' सबै कुरा उसैले त हेरेको थियो । ऊ फर्केर आउँदैन थाहा छ । कम्तीमा उसको मृत्यु भएको ठाउँमा सरकारले सालिक बनाइदियोस्,' दिदी सुशीला यत्ति भन्छिन् ।

बुनु

Link copied successfully