टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ

माघे संक्रान्तिमा निकै खपत हुने चाकु बनाउन टोखाका उद्योगीहरू अहिले निकै व्यस्त छन् ।

पुस २६, २०८२

दीपेन श्रेष्ठ, आरती पौडेल

Tokha industrialists struggling to make knives

What you should know

काठमाडौँ — माघे संक्रान्ति नजिकिँदै छ । माघे संक्रान्ति आसपासका चाडपर्वका लागि विभिन्न समुदाय आफ्नो परम्परा, रीतिरिवाज अनुसार तयारीमा जुट्दै छन् । नेवार समुदायमा माघे संक्रान्तिमा चाकु खानैपर्ने प्रचलन छ । त्यसरी नै माघे संक्रान्ति नजिकिँदै गर्दा टोखा नगरपालिका–३ टोखा गेटभित्रका चाकु उद्योगीहरू अहिले निकै व्यस्त छन् ।

आजभोलि यहाँका चाकु उद्योगमा काम गर्ने कर्मचारीहरू अर्डरअनुसार कार्टुनमा चाकु प्याक गर्दै भेटिन्छन् । कोही चाकुलाई प्लास्टिकमा प्याक गर्न व्यस्त देखिन्छन् । त्यसरी नै ग्राहकहरु आफूलाई चाहिए जति चाकु किन्दै गरेको भेटिन्छन् । 

चाकु व्यवसायीहरूका अनुसार उनीहरू मंसिरको पहिलो सातादेखि चाकु बनाएर देशका कुनाकाप्चादेखि विदेशमासमेत पठाइरहेका छन् ।

Tokha industrialists struggling to make knives

टोखा चाकु उद्योग लेखिएको एउटा पम्प्लेट छेउमै निकै भीड लागेको थियो । त्यहाँको त्यो भीड चाकु किन्ने मानिसहरूको थियो । एउटा ठेलामा भरिभराउ राखिएका विभिन्न प्रकारका चाकु ग्राहकहरूले रोजिरहेका थिए । छेउमा हिसाब गर्दै पैसा लिइरहेकी थिइन् एक महिला । त्यही छेउमा थियो एउटा ठूलो घर, त्यही घरमा टोखा चाकु उद्योगको चाकु तयार हुँदोरहेछ । अर्डर आएको चाकु गन्दै प्याक गर्दै थिए एक व्यक्ति ।

उनी छेउ थिए टोखा चाकु उद्योगका व्यवसायी राजकाजी श्रेष्ठ । उनी पनि निकै व्यस्त देखिन्थे । चाकुको सिजन भएकाले निकै धेरै व्यापार हुने राजकाजी बताउँछन् । भन्छन्, ‘पुर्खादेखि नै बाजे, बाले यो काम गर्नुभएको हो । अहिले मैले व्यवसाय गरेको पनि २२ वर्ष भयो हात खाली नै हुँदैन ।’ मंसिर १ गतेदेखि माघ १ गतेसम्म चाकु हरेक दिन बनाउने उनी बताउँछन् । उनी भन्छन्, ‘माघे संक्रान्ति नजिकिएर पनि होला भ्याइनभ्याइ छ । नेपालका हरेक ठाउँबाट अर्डर आउँछ त्यसरी नै अहिले चीन, जापान, अस्ट्रेलिया, अमेरिकाबाट पनि उत्ति नै धेरै अर्डर आउँछ,’ उनी भन्छन्, ‘हामीलाई ठाउँको नाम नै थाहा नभएको देशमा पनि जान्छ । सामाजिक सञ्जालले गर्दा सबै थाहा भएको छ ।’

Tokha industrialists struggling to make knives

नेपालमा मात्र नभएर विदेशमा पनि टोखामा बनेको चाकु मान्छेले मन पराउँदा निकै खुसी लाग्ने गरेको उनी बताउँछन् । दिनमा ६०० देखि ७०० किलो चाकु बन्ने गरेको उनी बताउँछन् । ‘पहिला हाम्रो बाउ, बाजेको पालोमा एक महिना चाकु बेचेर एक वर्ष खान पुग्थ्यो भन्ने थियो,’ उनी भन्छन्, ‘अहिले सबै कुरा महँगो छ । काम गर्नेलाई दिने ज्यालादेखि सबै सामान महँगो । तर पनि खर्च कटाएर डेढ, दुई लाखजति नाफा हुन्छ ।’ 

छोटो समयमा धेरै आम्दानी हुने भएर साथै पुर्खादेखिको चलनलाई बचाउनका लागि टोखामा बस्ने नेवार समुदायका मानिसले चाकु उद्योग, व्यापार गर्ने गरेको उनी बताउँछन् । उनले दुई महिनाका लागि ३२ जना कामदारलाई काम दिँदै आएका छन् । सिजनभन्दा अन्य समयमा पनि अर्डर अनुसार चाकु बनाउने गरेको उनी बताउँछन् । रामकाजीको तीन पुस्ताले गरेको चाकु व्यवसायले आफूलाई निकै खुसी दिएको र आउँदो पुस्ताले पनि यसलाई निरन्तरता दिउन् भन्ने चाहना रहेको उनी बताउँछन् । 

Tokha industrialists struggling to make knives

त्यसरी नै ५६ वर्ष अगाडिदेखि चाकु व्यवसाय गर्दै आएका छन् कृष्णलाल श्रेष्ठ । आफू १३ वर्षको उमेर हुँदादेखि बाउ, बाजेको देखेर व्यवसाय गरेको बताउँछन् । उनी अहिले ६९ वर्षका भए । औंसी, जात्रा साथै अन्य चाडपर्वको समयमा मिठाई, जेरी बनाएर बेच्ने कृष्णलाल हरेक वर्ष मंसिरको पहिलो हप्तादेखि माघको पहिलो हप्तासम्म चाकु बनाउन र बेच्न व्यस्त हुन्छन् । 

पहिलाको तुलनामा अहिले चाकु बेच्न सहज भएको उनी बताउँछन् । उनी भन्छन्, ‘हाम्रो चार पुस्ताले लगातार चाकु व्यवसाय गर्दै आएको हौँ । मैले काम गर्न सुरु गरेको ५–७ वर्षपछि चाकु राख्ने प्लास्टिक आएको थियो । यसले सारै सजिलो भएको छ ।’ अहिले मान्छेहरूले धेरै चाकु किन्ने गरेको उनी बताउँछन् । भन्छन्, ‘पहिले पहिले मान्छेहरूले खासै चाकु खाँदैनथे । चाकुको बारेमा सबैलाई थाहा पनि थिएन । तर अहिले मान्छेहरूले स्वास्थ्यको लागि राम्रो रहेछ भन्ने बुझे त्यसैले देश विदेशबाट धेरै अर्डर आउँछ ।’

३० जनालाई दुई महिनाको लागि रोजगार दिएका उनी सोचेअनुरूप व्यापार हुने गरेको बताउँछन् । तर दिनमा कति चाकु बन्छ भन्ने कुरा आफूले अड्कल नगरेको उनी बताउँछन् । आफूले चाकु व्यवसाय सक्ने बेलासम्म गर्ने सोचमा रहेको उनी बताउँछन् । उनी चीन र अस्ट्रेलिया सबैभन्दा धेरै चाकु जाने गरेको बताउँछन् । 

चाकुको साइज हेरेर यसको मूल्य निर्धारण हुने उनको भनाइ छ । उनी प्याकेटको ५०, १००, २०० रुपैयाँका हिसाबले चाकु प्याक गर्ने बताउँछन् । 

Tokha industrialists struggling to make knives

टोखाका चाकु उद्योगहरूमा साधा चाकु, मसला चाकु, स्पेसल चाकु, सुत्केरी चाकु जस्ता विभिन्न प्रकारका चाकु पाइन्छ । चाकु माघे संक्रान्तिमा मात्र नभएर चिसोबाट बच्न, सुत्केरीको लागि मात्रै नभई नियमित रुपमा चाकुको माग आउने व्यवसायीहरू बताउँछन्  । 

त्यसरी नै यहाँको श्रीकृष्ण चाकु प्रोडक्टकी ४३ वर्षीया शान्तामाया श्रेष्ठ मंसिरदेखि माघसम्म चाकु व्यवसाय बाहेक अन्य कामको लागि फुर्सद नहुने गरेको बताउँछिन् । शान्ता आफ्नो परिवार चाकु उत्पादन गर्ने चार पुस्ता रहेको बताउँछिन् । अहिले चलाउँदै आएको चाकु उद्योग आफूपछिको पुस्ताले गर्दैनन् भन्ने कुराले पिर पर्ने गरेको बताउँछिन् । ‘हामीले त हाम्रो रीतिरिवाज, चालचलन अनुरूप नै काम गर्दै आएको हो । चाकु बनाउने काम पनि गर्‍यो,’ उनी भन्छिन्, ‘मेरा दुई छोरा हुन् । दुवै जना विदेश छन् । उनीहरूले आएर चाकु व्यवसाय गर्ने होइनन् । हामी पछिको हाम्रा छोरा, नातिले चाकु बनाउने चलन पनि भुल्ने भए भन्ने हुन्छ ।’ 

Tokha industrialists struggling to make knives

शान्ताको आफ्नै घरमा चाकु उद्योग छ । चाकु बनाउने मेसिन पनि छ । तर छोराहरूले आफ्नो उद्योगलाई निरन्तरता दिँदैनन् भन्ने कुराले मन दुख्ने गरेको उनी बताउँछिन् । उनी आफ्नो चाकु उत्पादन गर्ने ठाउँ देखाउँदै भन्छिन्, ‘यतिका धेरै चाकु बेच्ने गर्छौं हरेक वर्ष । पुर्खाले गरेको काम हो खुसी लाग्छ । दुई महिना मात्र काम गरे'नि चाकुले गर्दा धेरैको घरमा रासन खर्च सजिलै जुटेको छ ।’ उनकोमा चाकु मात्र नभएर तिलको लड्डु, पुष्टकारी साथै अन्य मिठाई पनि बन्ने गर्छ । शान्ताले दुई महिनाको लागि ३५ जनालाई रोजगार दिएकी छन् । अन्य समयमा लड्डु, पुष्टकारी खोज्दै आउनेहरु धेरै हुने उनको अनुभव छ । 

पुस्तौंदेखि चाकु बताउने प्रचलन रहेको र आफूहरूले पनि उक्त पेसा अपनाउन पाउँदा साथै मनग्गे आम्दानी हुँदा आफूहरुलाई निकै खुसी भएको व्यवसायीहरू बताउँछन् । साथै चाकुको माग निकै धेरै भएको कारण अर्डर पुर्‍याउनसमेत निकै भ्याइनभ्याइ हुने गरेको व्यवसायीहरू बताउँछन् । 

Tokha industrialists struggling to make knives

त्यसरी नै टोखा गेटबाट केही दुरीमा रहेको काशीलाल चाकु प्रोडक्सन चाकु उद्योगका बुद्ध श्रेष्ठ आफ्नो पुर्खाले गर्दै आएको कामलाई निरन्तरता दिँदा निकै गर्व लाग्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘पुर्खाले गरेको कामलाई आफूले पनि अगाडि बढाउँदा सबैले खोज्दै आउँदा खुसी लाग्छ,’ उनले भने, ‘सरकारले पनि हाम्रो उद्योग व्यवस्थापनको लागि सहयोग गर्दिए हुने अझ नयाँ युवालाई प्रोत्साहन हुन्थ्यो ।’ बुद्ध चाकुले गर्दा रोजगार सिर्जना भएको देखेर आफूलाई खुसी लाग्ने गरेको बताउँछन् । 

टोखा क्षेत्र चाकुको लागि निकै प्रसिद्ध मानिन्छ । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ फल्ने ठाउँ हो । त्यसैले टोखा उखु खेती तथा चाकु उत्पादनको लागि निकै प्रसिद्ध छ । 

दीपेन श्रेष्ठ

आरती पौडेल

Link copied successfully