८० वर्षीय टिम मेकर अमेरिकाबाट धमिला स्मृतिका पुराना एल्बम केलाइरहेका छन् । आजभन्दा ५५ वर्षअघिको बझाङलाई मनमा मात्र हैन, तस्बिरमा पनि सुरक्षित सँगालेका टिम मेकरको आँखामा त्यतिबेलाको सभ्यता बाँचिरहेको छ ।
What you should know
बझाङ — श्यामश्वेत तस्बिरमा मुस्कुराइरहेका बालिकाहरू। कोट, टोपी र कछाड लगाएर क्यामेराअघि हाँसिरहेका बालक र युवाहरू । पारिलो घाम तापिरहेका वृद्धहरू ।
८० वर्षीय टिम मेकर अमेरिकाबाट यी धमिला स्मृतिका पुराना एल्बम केलाइरहेका छन् । आजभन्दा ५५ वर्षअघिको बझाङलाई मनमा मात्र हैन, तस्बिरमा पनि सुरक्षित सँगालेका टिम मेकरको आँखामा त्यतिबेलाको सभ्यता बाँचिरहेको छ ।
गाउँका अनौठा जीवनशैली र अर्गानिक सौन्दर्यहरू बटुलेर अमेरिका फर्केका उनका पाइलाहरू त्यहीँ मात्र अल्झिएनन् । पटक–पटक बझाङले बोलाइरह्यो । उनी आइरहे । तीन वर्षदेखि संस्मरण लेखिरहेका टिमले लामो समयपछि बझाङलाई फर्केर हेरे । आधुनिक विकासको लहरसँगै स्वरूप बदलिरहेको बझाङसँगका ती न्यानो लाग्दा दिनहरूमा पुगे । ‘सत्यवादी हाई स्कुलका पूर्वविद्यार्थीहरू सम्झनामा आइरहे । सोचेँ, उनीहरू कहाँ पुगे होलान्,’ कान्तिपुरसँगको भर्चुअल संवादमा उनी नोस्टाल्जिक सुनिए ।
आधा शताब्दी बितिसकेछ, एउटा अमेरिकी युवकले नेपाली माटोमा गरेको पहिलो स्पर्श । टिम अमेरिकाको भर्मन्ट राज्यमा जन्मिए । इन्जिनियरिङ र भौतिक विज्ञानमा स्नातक उत्तीर्ण हुँदा उनी २१ वर्षका थिए । हो, यही उमेरमा उनी पहिलो पटक सन् १९६८ मा नेपाल आएका थिए । एक वर्ष विराटनगरमा विज्ञान शिक्षक र अर्को वर्ष शिक्षा मन्त्रालयमा विज्ञान शिक्षणको पाठ्यक्रम विकासमा काम गरिसकेपछि मात्र उनको यात्रा बझाङतर्फ मोडिएको थियो । त्यो सन् १९७० को उत्तरार्द्धलाई उनी स्मृतिको आँखीझ्यालबाट चिहाउँछन् । त्यतिबेला पिस कर्प्स स्वयंसेवक भएर विज्ञान शिक्षण विकास कार्यक्रमका लागि उनी त्यहाँ पुगेका थिए ।
अहिले पनि राज्यको आँखाबाट सुदूर देखिने बझाङ त्यतिबेला झन् पिछडिएको थियो । त्यसकारण सुरुवाती दिनका उत्सुकता र पीडादायक भोगाइहरूको फेहरिस्तै छन् टिमसँग । 
टिम काठमाडौंबाट धनगढीसम्म हवाइजहाजमार्फत पुगे। त्यसपछि त पैदलै बझाङसम्मको यात्रा छिचोल्नुपर्योख । ‘यात्रामा निर्जन र घना जंगलभित्रका साँघुरा बाटा, लगातारको उकालो–ओरालो हिँडाइले लखतरान थिएँ,’ हिउँदको त्यो एक हप्ते पैदल सम्झिँदै उनले भने, ‘तर सेती नदीको किनारैकिनार हरियाली गहुँका खेतहरू, ढुंगाका पर्खाल र छाना भएका घर, घरअगाडि राखिएका ठूला–ठूला चम्किला तामा र पितलका भाँडाकुँडा र गाउँ नै राताम्य हुने गरी फुलेका पलाँसका रुखहरू देखेपछि पीडाहरू नै गायब भए।’
नेपालकै पुरानामध्ये एक सत्यवादी हाइस्कुल टिमको पर्खाइमा थियो । बान्नीकोट (हाल छविस पाथीभेरा) पुग्दा उनलाई गाउँभन्दा पहिले ठिहिर्याउने हिउँले न्यानो स्वागत गर्यो । ‘मैले बाल्यकाल बिताएको ठाउँमा पनि त्यसरी नै हिउँ पर्थ्यो । हिउँ देख्नासाथ मेरा बाल्यस्मृति मानसपटलमा घुम्न थाले । त्यो दृश्यले हप्तौँको पीडादायी पैदलयात्रा छिनभरमै बिर्साइदियो,’ सम्झनाका पाना पल्टाउँदै उनले भने । पहिलो दिनमै बझाङसँग प्रेम बस्यो टिमको । त्यो धुमिल क्षण सम्झिँदै थपे, ‘मलाई बझाङ लुमिनस ल्याण्ड जस्तो लाग्यो ।’
अहिले प्रविधिले संसारलाई नजिक्याएको छ । इन्टरनेटबाट घरमै बसेर उनी बझाङलाई बेलाबखत हेरिरहन्छन् । बझाङमा टेक्ने आगन्तुक पाइलामध्ये उनी आफ्ना पाइला पनि महसुस गर्छन् । अनि भन्छन्, ‘बझाङको भविष्यमा योगदान दिनेहरूमध्ये एउटा त म पनि हुँ ।’ हुन पनि स्वयंसेवक भएर पढाउन पुगेका टिमका विद्यार्थीहरू त त्यही माटोका थिए, जसलाई फूल्न र फक्रिन टिमको भूमिका अर्थपूर्ण थियो । टिम बान्नीकोटको माटोमा लुकेका ती दिनहरू थप खोतल्न थाल्छन् ।
राजासँग जम्काभेट
बझाङको पहिलो रात उनले बान्नीकोटमा बिताए । भोलिपल्ट तीन फिट हिउँ छिचोल्दै सत्यवादी हाइस्कुल रहेको भोपुर झर्दै थिए । ‘२०/२५ घर रहेको बान्नीकोटबाट सेती नदी अंग्रेजी 'यु' आकारमा बगेको दृश्य निकै लोभलाग्दो थियो,’ आँखामा गहिरो गरी गढेको प्राकृतिक सौन्दर्यबारे उनी वर्णन गर्छन् । उनी हाइस्कुलका शिक्षक भएको थाहा पाएपछि घरधनीले झोला बोक्न १७ वर्षको किशोरलाई पठाएका थिए । ‘शिक्षकले पनि भारी बोक्ने हो?’ घरधनीले टिमलाई देख्नासाथ प्रेमिल गाली गरे । ‘कत्ति सरल, कत्ति इमानदार !’ टिमले गाउँका मानिसलाई त्यसै दिनदेखि न्यानो महसुस गरे ।
सार्वजनिक धारामा महिलाहरू समूहमा नुहाइरहेको देख्दा टिमलाई अचम्म लाग्थ्यो । भोटो र कछाड लगाएका पुरुषहरू, कठ्याङ्ग्रिने जाडोमा आधा शरीर मात्र ढाकेका मानिसहरू देख्दा उनी रनभुल्ल पर्थे । बाटैमा रहेको बान्नीमष्टा मन्दिरमा मानिसको भीड थियो । त्यो भीडनजिक पुगेपछि थाहा भयो, त्यहाँ त बझाङका राजा रामजंग आएका रहेछन् । २०१७ सालमा बनेको नयाँ कानुनले राज्य तथा रजौटा उन्मूलन गरे पनि बझाङसहित केही रजौटाले भने मान्यता पाएका थिए । तर राज्य भने उन्मूलन गरिएको थियो ।
‘म नौलो मान्छे देख्नेबित्तिकै उहाँले चिनिहाल्नुभयो। आई थिंक यु आर मिस्टर टिम भन्दै मलाई बोलाउनुभयो,’ टिम सम्झन्छन्, ‘मेरो बारेमा उहाँलाई स्कुलका हेडसरले पहिले नै बताइसक्नुभएको रहेछ ।’ राजसी ठाँटमा रहेका राजाले सम्मानपूर्वक व्यवहार गर्दै भने, ‘बझाङ सानो ठाउँ छ तर यसको इतिहास लामो छ । यसको बारेमा कुनै दिन तिमीलाई बताउनेछु ।’ टिमका कानमा अझै पनि ती शब्दहरू गुञ्जिरहन्छन् । राजा रामजंगसँग उनको अर्को भेट सत्यवादी स्कुलमै भयो । औपचारिक कार्यक्रममा सामान्य अभिवादनबाहेक उनले राजासँग लामो कुरा गर्न पाएनन् । उनी त्यहीँ भएको क्रममा राजा रामजंगको मृत्यु भयो । उनलाई राजाबाट बझाङको इतिहास सुन्नु थियो । ‘तर सुन्न नपाइ उहाँ बित्नुभयो । त्यसको पछुतो अहिलेसम्म पनि छ,’ उनी भन्छन् ।
सत्यवादी हाइस्कुल : नयाँ जीवनको सुरुवात
विद्यालयमा दुईतले कक्षा भवन र तीनतले छात्रावास थियो । टिम पुगेकै दिन हेडमास्टर रामदत्त अवस्थीले चियाले स्वागत गर्दै उनका लागि विज्ञानको कक्षा तयार रहेको सुनाए । उनले कक्षा ६ र ७ लाई विज्ञान विषय पढाउने तय भयो । पहिलो दिन कक्षामा विद्यार्थी देखेर उनी अचम्मित भए । कोट, टोपी र कछाडजस्ता अनौठा पहिरन लगाएका विद्यार्थीहरू नाङ्गै खुट्टा हिँडिरहेका थिए । त्यसमाथि ८ देखि १८ वर्षसम्म उमेरका केटाकेटी एउटै कक्षामा । सबैभन्दा अनौठो त २५० जना विद्यार्थीमध्ये छात्राको संख्या जम्मा चार । ‘मेरा लागि सबै कुरा कुनै काल्पनिक संसारमा पुगेको जस्तो आश्चर्यलाग्दा र नौला थिए,’ टिम सम्झिन्छन् ।
तर दोस्रो–तेस्रो दिनबाट बानी पर्दै गयो टिमलाई । बरु बझाङका मेला, पर्वदेखि स्थानीय संस्कृतिले हुरुक्कै पार्दै लगे । चैतली मेलामा लिङ्गो (काँकर) तानातान गर्ने र ठड्याउने खेल सम्झेर त अझै पनि रमाउँछन् उनी। मेलापर्वमा दोहोरिरहने एउटा दृश्यले भने टिमलाई भावुक बनाउँथ्यो । ‘महिलाहरू रंगीचंगी लुगा र पुरुषहरू टोपी–दौरासुरुवालमा ठाँटिएका हुन्थे । तर सबैजसोका खुट्टा नाङ्गै,’ उनी सुनाउँछन्, ‘अभावका बीच पनि उनीहरूको आत्मीयता साँच्चै लोभलाग्दो देखिन्थ्यो ।’
बाहिरी बजारसँग बझाङबासीहरूको सम्पर्क थिएन । उनीहरू आफ्नै उत्पादनको भरमा जीविका चलाउँथे । नगदको कारोबार असाध्यै न्यून हुने त्यो समयमा आफूलाई आवश्यक पर्ने सामान वस्तु विनिमय गरेर कारोबार गर्थे । वस्तु विनिमयको त्यो अनौठो युग पनि टिमको भोगाइमा जीवित छ । बझाङ बसाइका दौरान स्थानीय खाना दाल, भात र रोटी उनका निम्ति रुचिकर थिए । जिब्रोमा अहिले पनि मोही र घिउ हालेर बनाएको रोटीको स्वाद झुन्डिरहेको सुनाउँछन् टिम ।
बझाङ बसाइकै क्रममा टिमले खप्तडमा गएर खप्तड बाबासँग भेटे। खाली खुट्टाले सुर्मा सरोवरसम्म यात्रा गरे । गर्न त के–के गरेनन्? सम्झनाका पत्रहरू उनका पुस्तकमा पल्टिरहेका छन् । गाउँसँग मन जोडेका कुरा, गाउँलेहरूसँग हृदय साटेका कुरा । उनी विद्यालयमा पढाउन आए, तर त्यहाँको भूगोल र जीवनशैलीबाट विश्वविद्यालयको ज्ञान हासिल गरेर फर्किए । भन्छन् पनि, ‘बझाङ मेरो जीवनको विश्वविद्यालय थियो, जहाँ मैले अनौठो जीवन देख्न, भोग्न र सिक्न पाएँ ।’
सन् १९७२ मा अमेरिका फर्किए टिम । फर्केपछि उनले जीवनको नयाँ अध्याय सुरु गरे । एउटा युवतीसँग प्रेम बस्यो । त्यही प्रेम १९७५ मा विवाहमा बदलियो । १९७८ मा फेरि पनि उनलाई नेपाल आउन जुर्यो । उनी श्रीमतीसँगै आए । त्यो समय उनी पीस कोर नेपालमा नयाँ अमेरिकी गणित–विज्ञान शिक्षकहरूका लागि प्रशिक्षण कार्यक्रमका निर्देशकका रूपमा नियुक्त भए । उनले ८ महिना नेपालमा बिताए ।
१९८१ मा टिमले अमेरिकामा नवीकरणीय ऊर्जाको क्षेत्रमा नयाँ काम थालनी गरे । करिब ४० वर्ष उनले यही क्षेत्रमा बिताए । यही कामबाट २०१९ मा अवकाश लिए । चार दशकसम्म उनले जीवाश्म इन्धनको प्रयोग घटाउने प्रविधि र परियोजनामा केन्द्रित भएर काम गरे । १९८५ मा उनले आफ्नै कम्पनी सुरु गरे । काठका चिप्स (फोहोर काठ) लाई इन्धनका रूपमा प्रयोग गरी विद्यालय, कलेज, विश्वविद्यालय र पूरै समुदायमा घरको भित्री वातावरण न्यानो बनाउने प्रविधि फैलाए । उनी अमेरिकामा यो प्रविधिका राष्ट्रिय स्तरका अगुवा कहलाए । अमेरिकामै रहँदा पनि उनले नेपाल बिर्सिएनन् ।
२००७ मा आफ्ना सन्तानसँग दुई महिनाको यात्राका लागि नेपाल आए । फेरि २०१६ मा गोरखा फाउन्डेसनका लागि दुई महिना स्वयंसेवकका रूपमा काम गर्न पनि नेपाल आए । भूकम्प प्रभावित क्षेत्रमा विद्यालय पुनर्निर्माणमा संलग्न भए । अहिले पनि नेपालका मानिससँग उनको पुरानो सम्बन्ध उत्तिकै न्यानो छ । ‘१९७० मा मलाई बास दिएको काठमाडौंको परिवारसँग मेरो अहिलेसम्म नजिकको सम्बन्ध छ,’ टिम भन्छन् ।
अहिले भने टिम अवकाशप्राप्त जीवन भर्मन्टस्थित घरमा बिताइरहेका छन् । टिम दम्पती छोरा र उनका तीन सन्तानसँग बस्छन् । अहिले पनि ढुंगाका पर्खाल बनाउने, पैदल यात्रा र स्की गर्ने तथा नेपालका पुराना साथीहरूसँग भेटघाट गर्ने कुरामा उनको दिलचस्पी छ । साथीहरूसँगको भेट होस् वा परिवारसँग, नेपाल र नेपालभित्रको बझाङको कथा उनी सुनाइरहन्छन् । ‘जीवनको उत्तरार्द्धमा ती सबै सम्झना दस्तावेज गरेर बझाङलाई दिने ठूलो धोको छ,’ टिम प्रेमले भरिएका न्यानो शब्दहरूले आफ्नो गहिरो रहर व्यक्त गर्छन् ।
