बर्माबाट विराटनगर आएर रिक्सा कुदाइरहेका नवराज

कपालसँगै परेला फुलेर सेतो भइसकेका नवराज बाह्रकोटी एउटा पुरानो नेपाली आहान ‘बर्मा गए कर्मसँगै, नेपाल आए कपालसँगै’ को सजीव रूप बनेका छन्।

पुस १७, २०८२

पर्वत पोर्तेल

Nawaraj, who came to Biratnagar from Burma and is pulling a rickshaw

What you should know

विराटनगर — जनपथ टोलको साँघुरो गल्लीमा बिहानै सिटी रिक्साको हर्न बज्छ । छेउमै नदेखिने हुस्सुको पर्वाह नगरी ६८ वर्षीय नवराज बाह्रकोटी सडकमा निस्किसक्छन् ।

टाउकोमा टोपीमाथि मफलर, ज्यान ढाक्ने बाक्लो ज्याकेट लगाउँदा पनि जाडोले हात काँपिरहेका हातले रिक्साको हेन्डिल समात्न पनि गाह्रो भइरहेको छ। कपालसँगै परेला फुलेर सेतो भइसकेका उनी जीवनका पाङ्ग्रा अझै गुडाइरहेका छन् । मानौँ, उनी स्वयं एउटा पुरानो नेपाली आहानको सजीव रूप हुन्, ‘बर्मा गए कर्मसँगै, नेपाल आए कपालसँगै ।’

नवराजले दुई वर्षयता सिटी रिक्सा कुदाइरहेका छन् । कहिल्यै कल्पना नगरेको काम । पहिले उनी बस चालक थिए । लाइसेन्समा फेल भएपछि जीवनले नयाँ मोड लियो । विकल्प खोज्दै तीन लाख खर्चेर रिक्सा किने। उनलाई अहिले रिक्साको किस्ता तिर्नु, घरखर्च धान्नु, थोरै आम्दानी जोगाउँदै परिवारको गर्जो टार्नुछ। 

घरमा दुई छोरा छन् । सगोलमै बस्छन् । एक विदेशमा छन्, अर्को यहीँ । तर, बुवाको जीवनजस्तै, छोराहरूको बाटो पनि अन्ततः परदेशतिरै मोडिएको छ । पुस्ता फेरिए पनि नियति फेरिएको छैन ।
नवराजको जन्म बर्माको ‘टाउजी’ भन्ने गाउँमा भयो । विसं २०३४ सालतिर पहिलो पटक नेपाल घुम्न आएका थिए। एक वर्ष जति बसेर फर्किए। तर, बर्मामा उनको मन त्यति अडिएन। फेरि दोस्रो पटक नेपाल छिरेपछि जीवनले अर्कै दिशा समात्यो। बुवा बितेपछि नेपाल आए, केही वर्षमै आमा पनि बितिन्। त्यसपछि उनी यहीँ अडिए। बिस्तारै यहीको समाजमा घुलमिल हुँदै गए। ‘नेपालको मायाले वर्मामा मन अडिएन,’ उनी भन्छन् ।

उनले सुने अनुसार उनका हजुरबुवा दोस्रो विश्वयुद्धताका ताप्लेजुङको सावादिनबाट बर्मा पुगेका थिए । ताप्लेजुङ कहाँ छ ? सावादिन कुन गाउँ हो ? उनलाई थाहा पत्तो छैन । तर त्यो नामसँगै एउटा इतिहास, एउटा विस्थापन र एउटा पिँढीको संघर्ष जोडिएको छ।

विसं २०२१/०२२ तिर बर्माबाट ठूलो संख्यामा नेपालीभाषीहरु पुर्ख्यौली थातथलो फर्किए । तत्कालीन राजा महेन्द्रले नै प्रवासी नेपालीलाई स्वदेश फर्किन आह्वान गरेका थिए । बर्मा छाडेर आएका हजारौं परिवारलाई काँकडभिट्टा, विराटनगर, चितवन, बुटवलजस्ता सीमावर्ती क्षेत्रमा जमिन दिएर पुनर्स्थापित गरियो । नवराजका बडाले पनि २०२२ सालतिर जनपथ टोलमै जमिन पाए । तर, नवराज ढिलो आएका थिए । २०३४ सालतिर आएका उनी ‘घुमन्ते’ थिए, त्यसैले जमिन पाएनन्।

नेपालमा उनको बसाइँ सजिलो थिएन । चुनौतीका पहाड एकपछि अर्को आइरहे । तर, ती पहाड छिचोल्दै आज उनी विराटनगरका रैथाने बनेका छन् । ‘कसैको बैसाखी टेक्नुपरेन । आफ्नै बलबुताले जेथा जोडें, आफ्नै पसिनाले घर ठड्याएँ’, उनी गर्वका साथ भन्छन्।

गाडी कुदाउन उनले बर्मामै सिकेका थिए। किनकि उनको घरमै गाडी थियो। १२ वर्षमै पढाइ छाडेर स्टेरिङ समाते । १८ वर्ष पुग्दा नेपाल आइपुगे । बर्मामा खेतीकिसानी थियो, ५०–६० वटा गाई, ठूलो गोठ । ‘सम्झँदा अहिले पनि आँखामा गाउँको धूलो उड्छ, गोठको गन्ध आउँछ,’ उनी भावुक हुँदै भन्छन् ।

नेपालमा सुरुमा साझा बस चलाए । करिब १० वर्ष स्टेरिङ समातेपछि किन हो, उनले त्यो जागिर छाडे । अनि उडे खाडीतिर। २५ वर्षअघि साउदी अरब पुग्दा त्यहाँ नेपालीहरूको भीड पातलो थियो । आजजस्तै हुलकाहुल थिएनन् नेपाली श्रमिकहरु। दुई वर्षको पसिनाले अढाइ लाख जति बचत गरें । फर्किएपछि त्यही पैसाले जमिन किने । फेरि रात्रि बस चलाए, पछि स्कुल बस । आज भने सिटी रिक्सा नै जीवनको साहारा बनेको छ । ‘तर मज्जा चाहिँ बस कुदाउनै हुन्थ्यो,’ उनी मुस्कुराउँदै अनुभव सुनाउँछन् । उमेरले ६८ टेकिसक्यो । तर नवराज थाकेका छैनन् । सडकमा भेटिँदा उनी भन्छन्, ‘काम नगरी बस्न सकिँदैन। शरीरको इन्जिन जबसम्म चल्छ, तबसम्म चलाइरहन्छु ।’

बिहानको हुस्सु चिर्दै अघि बढ्ने सिटी रिक्सा जस्तै हो नवराजको जीवन । गति ढिलो हुन सक्छ, तर रोकिएको छैन । कपाल सेताम्ये भइसक्यो, तर कर्मको यात्रा अझै जारी छ । साँच्चै नै, उनको जीवन र यो पुरानो नेपाली आहान मिल्दोजुल्दो लाग्छ, 'बर्मा गए कर्मसँगै, नेपाल आए कपालसँगै ।' 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully