हिमाल नाँघेर आउने चराका प्रजाति र संख्यामा हरेक वर्ष घटबढ हुँदै आएको छ। यो परिवर्तन किन भइरहेको छ भन्ने विषय पत्ता लगाउन अहिले ‘च्याम्पियनहरू’ जुटिरहेका छन्।
What you should know
चितवन — हिउँद लागेसँगै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बगेका नारायणी र राप्ती नदीमा बसाइँ सरेर आउने पानीमा आश्रित चराका बथान देखिन थाल्छन्।
हिउँद लागेसँगै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बगेका नारायणी र राप्ती नदीमा बसाइँ सरेर आउने पानीमा आश्रित चराका बथान देखिन थाल्छन्। ती चराका प्रजाति र संख्या कति छन् भन्ने विषयमा वर्षौंदेखि नियमित गणना हुँदै आएको छ।
हिमाल नाँघेर आउने यस्ता चराका प्रजाति र संख्यामा हरेक वर्ष घटबढ हुँदै आएको छ। तर यो परिवर्तन किन भइरहेको छ भन्ने विषय पत्ता लगाउन अहिले ‘च्याम्पियनहरू’ जुटिरहेका छन्।
लालबहादुर बोटे चितवन निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा पर्यटक डुलाउने नेचर गाइडका रूपमा सक्रिय छन्। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१५ बाघखोर घरभएका उनी यस्ता २० जना ‘च्याम्पियन’मध्ये एक हुन्। नवलपरासी र चितवनका युवालाई समेटेर तयार पारिएका यी 'च्याम्पियन'हरू अहिले चराका सम्भावित बासस्थल र समुदायमा सक्रिय देखिन्छन्।
लालबहादुर कावासोती क्षेत्रमा रहेको पुरानो सिमसार ‘बुढौली कुना घोल’मा भेटिए। उनी अग्रज र साथीहरूसँगै त्यहाँ आउने चरा, घोलको अवस्था, वरपरका बोटबिरुवा र खेती प्रणालीको अवस्था टिपोट गर्दै थिए। टोलीले त्यहाँ बसाइँ सरेर आउने र रैथाने गरी ३२ प्रजातिका चराको अभिलेख बनाएको छ।
बुढौली कुना घोल चराका लागि मात्रै होइन, स्थानीय समुदायको जीवनको आधार पनि हो। ‘चरालाई मान्छे नभए पनि हुन्छ, तर मान्छेका लागि चरा अत्यावश्यक छन्,’ लालबहादुर भन्छन्। मध्यहिउँदमा समेत कुलोमा बग्ने पानीको स्रोत यही घोल हो। घोल वरपर मंसिरमा काटिएको धानको ठेटा छन्।
ओसिलो जमिन भएकाले हिउँदे खेती गर्न कठिन भए पनि चैते धानको तयारी सुरु भइसकेको छ। बीउ राखिएको ब्याड वरपर चरा नआओस् भनेर मान्छे उभिएको जस्तो देखिने गरी बोरा र प्लास्टिक बाँधिएको छ, तर त्यस बीच पनि बीउ टिप्दै गरेका चरा देखिन्थे।
घोल क्षेत्रमा घुँगीफोर गरुड, भुँडीफोर गरुडजस्ता ठूला चरा तथा बसाइँ सरेर आउने चखेवाको जोडी पनि भेटिएका थिए। पूर्व–पश्चिम राजमार्गको कावासोती बजारसँग जोडिएको जंगलबाट करिब डेढदेखि दुई किलोमिटर दूरीमा यो घोल अवस्थित छ।
जंगलसँगै घरहरू लहरै छन्, त्यसपछि खेत र त्यसको तल घोल। घोलको दक्षिणतर्फ लौखानी गाउँ पर्छ। त्यहाँका जीएन महतो साइकलमा १५ मिनेटमै घोल पुगेका थिए। स्थानीय छविलाल गुरौ र जंगलछेउको बस्तीकी अनिता परियार पनि गाईभैंसीका लागि घाँस काट्न त्यहीँ आइपुगे। चराको आगमन देखेका उनीहरु सबैले घोल क्रमशः घट्दै गएको अनुभव सुनाए।
घोल जोगिए सिँचाइ र खेती राम्रो हुने भन्ने बुझाइ स्थानीयमा छ। तर चरा किन आउँछन्, मानवीय गतिविधिले उनीहरूलाई कस्तो असर पार्छ भन्नेबारे स्पष्ट जानकारी भने कमैलाई छ। चरा घट्दै गएको अनुभूति भने सबैको साझा छ।
यिनै प्रश्नको उत्तर खोज्दै र चराको महत्त्व बुझाउँदै स्थानीय युवाहरू ‘च्याम्पियन’ बनेका हुन्।चराको अवस्था, महत्त्व र संरक्षण विधिबारे उनीहरू अन्य स्थानीयभन्दा बढी जानकारी राख्ने भएकाले उनीहरूलाई च्याम्पियन भनिएको हो ।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र नेपाल सरकारको साझेदारीमा सञ्चालित तराई भूपरिधि संरक्षण कार्यक्रम (ताल) अन्तर्गत स्थानीय युवालाई तालिम दिइएको तालका पूर्वी क्लस्टर इन्चार्ज प्रेम पौडेलले बताए। जानकारीसहित तयार भएकाले उनीहरूलाई ‘च्याम्पियन’ नाम दिइएको उनले स्पष्ट पारे।
'चरा वा वन्यजन्तुको व्यवहार परिवर्तन गर्न सकिँदैन, परिवर्तन गर्नुपर्ने भनेको मानिसको व्यवहार हो। यही अवधारणामा आधारित भएर व्यवहार परिवर्तनका लागि सञ्चार (बीसीसी) अभियान सञ्चालन गरिएको छ। यही अभियानअन्तर्गत चरा संरक्षणमा जुट्ने युवाको टोली तयार पारिएको हो,' उनले भने ।
तालका पूर्वी क्लस्टर इन्चार्ज पौडेलका अनुसार चितवनतर्फ कालाबञ्जर मध्यवर्ती उपभोक्ता समितिका पाँच र नवलपरासीका पिठौली, लामिचौर, गुन्द्रही–ढकाहा क्षेत्रका १५ गरी २० युवा यस अभियानमा छन्। तीमध्ये नौ जना युवती छन्।
नेपाल हिउँदमा बसाइँ सर्ने चराहरूको मुख्य मार्ग हो। विशेषगरी चितवन निकुञ्ज हुँदै बग्ने नदी क्षेत्रमा यस्ता चराको संख्या उल्लेखनीय हुन्छ। अब चराको संख्या गणनासँगै बासस्थलको अवस्थाको विश्लेषण आवश्यक भएको डब्लुडब्लुएफ नेपालका राजेन्द्र सुवाल बताउँछन्। यहीँ जिम्मेवारी युवा च्याम्पियनहरूले लिएका छन्।
चरा अनुगमन गर्दा नदी–खोलाको अवस्था, सिमसारमा रहेका बोटबिरुवा, घाँसले ढाकिएको क्षेत्र, गाईवस्तुको चरन, गिट्टी–ढुंगा उत्खनन् जस्ता विवरणसमेत संकलन गरिन्छ। ‘बालीनाली र सिमसारको अवस्था फेरिँदा चरामा पर्ने प्रभाव अध्ययन गर्न खोजेका हौं,’ डब्लुडब्लुएफ नेपालका परामर्शदाता चरा विज्ञ हेम कटुवाल भन्छन्। लामो समयको अध्ययनले प्रभावकारी संरक्षण योजना बनाउन मद्दत पुग्ने उनले बताए ।
कावासोती–१० की नेचर गाइड चन्द्रा महतो पनि चरा अनुगमनमा सक्रिय छन्। उनी एक वर्षदेखि सिमसार आसपासका स्थानीय र विद्यालय पुगेर चराको महत्वबारे सचेतना फैलाउँदै आइरहेकी छन्। तीन दशकभन्दा बढी समयदेखि संरक्षणमा सक्रिय डिबी चौधरी चराहरू पर्यटनका महत्त्वपूर्ण आधार भएकाले संरक्षणले वातावरणसँगै अर्थतन्त्रलाई पनि बलियो बनाउने बताउँछन्।
कलाबञ्जर क्षेत्रको दिब्यनगरका खेतमा हिउँदमा बसाइँ सरेर कमन क्रेन (लक्ष्मण सारस) प्रशस्त आउँछन्। बुढौली कुना घोल नजिकै पनि धान खेतमा चार वटा कमन क्रेन देखिएका थिए। मेघौली घटगाई नेचर गाइड एसोसियसनका अध्यक्ष मनेश लिम्बुका अनुसार ५–६ वर्षअघि त्यहाँ २०० भन्दा बढी कमन क्रेन गणना गरिएको थियो, यस वर्ष भने २६ वटा मात्रै देखिएका छन्।
निकुञ्जभित्र रहेका ताल तलैया पनि बसाइँ सरेर आउने चराको प्रमुख बासस्थल हुन्। तर ती तालहरू मिचाहा झार र गेग्रानले पुरिँदै गएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगर बताउँछन्। निकुञ्ज बाहिर मानवीय चाप, विषादी, रासायनिक मल र प्लास्टिकको प्रयोग बढ्दै गएको छ। ‘चरा आउनु भनेको वातावरण स्वच्छ हुनुको संकेत हो,’ थापा मगर भन्छन्, ‘त्यसैले हिउँदमा बसाइँ सरेर आउने चराको संख्या र प्रजाति बढ्नु सकारात्मक संकेत हो।’
