मध्यपहाडी लोकमार्ग फन्को मार्दै क्यान्सर जितेकाहरू

क्यान्सर रोकथाम वा उपचार योग्य भए पनि रोगको पहिचान ढिलो पत्ता लाग्दा र ठूलो खर्चले गर्दा उपचारको अभावमा धेरैको ज्यान जाने गरेको छ ।

पुस १२, २०८२

विनोद पाण्डे

Cancer survivors brave the Mid-Hill Highway

काठमाडौँ — हर्क लामा क्यान्सर रोग जितेर आएका हुन् । उनी गलेका छैनन् । अर्को साता उनी साइकलमै एक महिना लामो मध्यपहाडी लोकमार्ग छिचोल्ने तरखरमा जुटेका छन् । काठमाडौंबाट हिँड्ने उनको यात्रा झापा, इलाम हुँदै पाँचथरको चिवाभञ्ज्याङसम्म रहनेछ ।

त्यसपछि सुरु हुनेछ, लामासहित साइकल टोलीको साहसिक यात्रा । पाँचथरको चिवाभञ्ज्याङबाट जनवरी १ मा सुरु हुने मध्यपहाडी लोकमार्ग साइकल यात्रा बैतडीको झुलाघाटमा पुगेर अन्त्य हुनेछ । यसक्रममा झन्डै १ हजार ८ सय किलोमिटरको दुरी तय हुनेछ ।

क्यान्सर विजेताहरूको अगुवाईमा मध्यपहाडी लोकमार्गमा साइक्लिङ गरी क्यान्सरका बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले लामासहितको टोली साइकल यात्रामा निस्किन लागेको हो । साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहयार्कमा यो साइकल यात्राको चाँजोपाँजो मिलाएको हो । धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले अहिलेसम्म २० लाख रुपैयाँ सहयोग जुटिसकेको जानकारी गराए ।

Cancer survivors brave the Mid-Hill Highway

वात्सल्य आईभीएफ, इन्दिरा आईभीएफ र काठमाडौं क्यान्सर अस्पतालले यो सहयोग कार्यका लागि शनिबार २–२ लाख प्रदान गरे । साइकल यात्राबाट प्राप्त रकम ‘क्यान्सर बिरामी सहयोग कोष’ स्थापनाका लागि धुलिखेल अस्पताललाई हस्तानतरण गरिने आयोजकले जनाएको छ । नेपालमा वार्षिक २२ हजार बढी क्यान्सरका बिरामी थपिने र त्यसमा करिब १५ हजारको ज्यान जाने तथ्यांक आयोजकले प्रस्तुत गरेको थियो । क्यान्सर रोकथाम वा उपचार योग्य भए पनि रोगको पहिचान ढिलो पत्तालाग्दा र ठुलो खर्चले गर्दा उपचारको अभावमा धेरैको ज्यान जाने गरेको छ ।

Cancer survivors brave the Mid-Hill Highway

यस यात्राको बलमा संकलित हुने रकमबाट आगामी दिनमा कति धेरै क्यान्सर प्रभावितलाई निको हुने आशा र जीवनप्रतिको भरोसा पलाउने छ भन्ने सोचले साइकलयात्री लामा थप उत्साही छन् । ५ वर्षअघि उनको पिसाब थैलीमा क्यान्सर देखिएपछि धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । उपचारपछि उनले पहिलेझै सक्रिय साइक्लिङलाई निरन्तरता दिन सके । क्यान्सरलाई जितेर आएपछि उनी साइकल प्रतियोगिताहरूमा प्रतिस्पर्धा गरी जित्दै आएका छन् । नेपालका उच्च हिमालहरूमा साइक्लिङ टुर गर्ने अगुवा पनि पर्छन् उनी ।

Cancer survivors brave the Mid-Hill Highway

यस्तै अनेकन् आशा, रहर र साहस बटुलेर लामा र साइकल कम्युनिटीका सदस्यहरू साहसिक यात्रा सुरु गर्दै छन् । यात्राको क्रममा उनीहरूको मनोबल उच्च राख्न, साथ दिन, अगाडि बढ्न, हौसला दिन र आफूले सक्ने सहयोग गन आयोजक प्रतिबद्ध छ । यो अभियान लामा र साइकल कल्चर कम्युनिटीको मात्र नभई आफूहरू सबै मानवताको साझा अभियानमा भएको साइकल यात्राका मुख्य अभियानकर्ता प्रोफेसर तारालाल श्रेष्ठ बताउँछन् । यसबाट संकलन हुने रकम अर्बुद रोगबाट प्रभावित एवं सम्भावित मृत्युको मुखबाट बच्न प्रयासरत आर्थिक रूपमा कमजोर क्यान्सर प्रभावितका लागि समर्पित गरिने उनले जनाए ।

Cancer survivors brave the Mid-Hill Highway

आफ्नो ख्याल आफै गर्नु तर एकपछि अर्को चोटबाट तङ्ग्रिएकी कविता चित्रकारलाई अर्को घटनाले गालिसकेको थियो । आमा र दिदी क्यान्सरबाट निधन हुँदा साक्षी बनेकी कविता आफैंलाई पछि स्तन क्यान्सर डागनोसिस गराउनुपर्यो । सुरुमा कविता पनि निकै डराइन् । तर हिम्मत हारिनन् र उपचार प्रक्रियामा लागिन् । उपचारपछि पनि उनको मानसिक स्फूर्तिमा आशातित सुधार नआएपछि आजित बनेकी उनलाई साइकल चलाउन सिकाएर त्यसमा मन भुलाउने, मानसिक रूपमा व्यस्त बनाउने उपाय हितैसीले सुझाए ।

Cancer survivors brave the Mid-Hill Highway

किमोथेरापी लिइरहेकी कविताले छोटो समयमै साइकल चलाउन सिकिन् । बिस्तारै उनलाई साइक्लिङको रस बस्यो । समयक्रममा यसरी रस बस्यो कि क्यान्सर र यसको उपचारको डर सामसुम हुनेगरी साइक्लिङ टुरहरूमा सहभागी हुन थालिन् । अहिले उनी साइकल समुदायमा सबैले चिन्ने नाममात्र बनिनन्, धेरैको प्रेरणास्रोत भइसकिन् । अचेल उनी एफ एन्ड एफ साइक्लिङ ग्रुपसँग साइकल यात्रा गरिरहिन्छन् ।

Cancer survivors brave the Mid-Hill Highway

उनले संसारकै उच्चतम हिमालमा आयोजना गरिने अन्तर्राष्ट्रिय साइकल प्रतियोगिता याक एट्याकमा सहभागी भई अन्नपूर्ण सर्किट थोरोङ्ला पास यात्रा गरिसकेकी छन् । क्यान्सर रोगबाट अन्तिम स्थितिमा पुगेकी उनी साइकलको सहारामा नयाँ जीवन पाएको बताउँछिन् ।

Cancer survivors brave the Mid-Hill Highway

उनी पनि क्यान्सर प्रभावितका लागि सहयोग जुटाउने उद्देश्यले मध्यपहाडी लोकमार्गमा साइकल यात्रामा जाँदैछिन् । शनिबार बिहान गरिएको सांकेतिक साइकल र्‍याली नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपबाट सुरु भई न्युरोड, रानीपोखरी, केशरमहल, दरबारमार्गबाट भृकुटीमण्डपमै पुगेर टुंगिएको थियो ।

Cancer survivors brave the Mid-Hill Highway

मध्यपहाडी लोकमार्ग साइकल अभियानका अगुवा साइक्लिस्ट एवं क्यान्सर विजेता हर्क लामाकी छोरी खुसी तामाङले आफ्ना पिताबाट जन्मदिनको उपहारस्वरुप पाएको माउन्टेनबाइक सोही कार्यक्रममा सहभागी एकजनालाई गोलाप्रथाबाट उपहार दिएकी थिइन् ।

Cancer survivors brave the Mid-Hill Highway

Cancer survivors brave the Mid-Hill Highway

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully