सुदूरपश्चिम महोत्सव : जहाँ संस्कृति बिक्छ, विकास बोल्छ

०६३ सालदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको १९औं श्रृखलासम्म आइपुग्दा हरेक वर्ष मंसिर २२ गतेदेखिका दुई साता अबधि केबल उत्सव हुँदैन, सिंगो सुदूरपश्चिमको शालीन विकास आन्दोलनका रुपमा स्थापित छ ।

पुस ४, २०८२

अर्जुन शाह

Far West Festival: Where culture sells, development speaks

What you should know

धनगढी — दोस्रो जनआन्दोलन सकियो । देश राजनीतिक संक्रमणको तापबाट मुक्त भइसकेको थिएन । स्थायी शान्ति र समृद्धिको आकांक्षा सडकदेखि सदनसम्म गुञ्जिरहेकै बेला सुदूरपश्चिमले भने मौन तर गहिरो सन्देश बोकेको अर्को शालीन आन्दोलन सुरु गर्‍यो । त्यो थियो– ‘सुदूरपश्चिमको विकास र पहिचान’।

सबैभन्दा पर (सुदूर) को, छाउपडी, देउकी, गरिबी र अभावका कथा बुनेर चिनाइँदै आइएको सुदूरपश्चिम ०६३ सालतिर पनि त्यहीँ पहिचानले थिचिएको थियो । सम्भावना र अवसरभन्दा पनि केबल पछौटेपनको प्रतीक बनाइएको सुदूरपश्चिमको भूगोललाई नयाँ आँखाले हेर्न बाध्य पार्ने एउटा माध्यमको खोजी हुँदै थियो । त्यहीँ खोजी यात्राले ‘सुदूरपश्चिम महोत्सव’ जन्मायो ।

यहाँको नागरिक समाज, उद्योग व्यवसायी र अभियन्ताहरुको साझा निष्कर्ष र संकल्पले सांस्कृतिक अभियानमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउने र ‘पछौटे’ को पगरीबाट मुक्त गराउन महोत्सवको आयोजनाकाे तयारी भयाे । यहाँको विकासका सम्भावना उजागर गर्ने र नीति निर्मातामाथि विकासका लागि दबाब सिर्जना गर्ने माध्यमका रुपमा सुदूरपश्चिम महोत्सवलाई प्रयोग गर्ने बाचा गरियो । ०६३ सालदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव यस वर्षको १९औं श्रृखलासम्म आइपुग्दा हरेक वर्षको मंसिर २२ गतेदेखिको दुई साता अबधि केबल उत्सव हुँदैन, सिंगो सुदूरपश्चिमको शालीन विकास आन्दोलनका रुपमा स्थापित छ ।

Far West Festival: Where culture sells, development speaks
उतिबेला कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष रहेका (हाल धनगढी उपमहानगर प्रमुख) गोपाल हमालको नेतृत्वमा संघले महोत्सव आयोजना गरेको थियो । संस्कृतिदेखि राजनीति, उत्पादनदेखि बजारसम्मकाे स‌ंगम एउटै थलोका लागि महोत्सव कासेढुंगा सावित भयो । पछिल्ला वर्षमा जहातहीँ महोत्सव आयोजना गर्ने प्रचलन त्यसबेला थिएन ।

महोत्सवको उद्देश्य थियो- संगीतमा मात्र सीमित नहुने, नीति निर्माण तहसम्म सुदूरपश्चिमको आवाज पुर्‍याउने । त्यसैको प्रतीकस्वरुप २१ बुँदे मागपत्र र २१ किलोको माला महोत्सवको राजनीतिक सन्देश बनाइयो ।धनगढीमा आयोजित पहिलो महोत्सवमा नेपाली राजनीतिका प्रभावशाली व्यक्ति प्रधानन्त्री भइसकेका अनि सुदूरपश्चिमकै प्रतिनिधि शेरबहादुर देउवालाई निम्त्याएर सुदूरपश्चिमको आर्थिक, पूर्वाधार, औद्योगिक विकास, पर्यटन, लगानीमैत्री वातावरणलगायत सम्बन्धित २१ वटा मागसहित २१ किलोको माला लगाइयो ।

२१ बुँदे मागहरुको प्रतिविम्वका रुपमा २१ किलोको माला पहिरिसकेपछि पूर्वप्रधानमन्त्री देउवाले भनेका थिए ‘म सुदूरपश्चिमको छोरा हुँ, पश्चिम सेती जलविद्युत आयोजना एक बनाउँछु, दुई बनाउँछु, तीन बनाउँछु ।’

Far West Festival: Where culture sells, development speaks

दोस्रो वर्ष मंसिर २२ गते २१ किलोकै माला त्यसबेलाका सभामुख सुवास नेम्वाङलाई लगाएर २१ बुँदे माग दोहोर्‍याए । नेम्वाङले पनि भने ‘म २१ किलोको मालासहित मागपत्र लगरे काठमाडौं जान्छु । माग पूरा गराउनका लागि सम्बन्धित निकाय समक्ष पहल गर्ने छु ।’

तेस्रो वर्ष ०६५ सालमा प्रधानमन्त्री रहेका पुष्पकमल दाहाललाई पनि त्यसैगरी २१ किलोको माला लगाएर आयोजकले २१ वटा माग राखेपछि उनले भनेका थिए, ‘यो दशक सुदूरपश्चिमको विकासको दशक हुनेछ । अहिलेको परिवर्तन ल्याउन सुदूरपश्चिमको ठूलो योगदान छ । यस क्षेत्रबाट 'जनयुद्ध'मा धेरैले सहादत प्राप्त गरेका छन्, केन्द्रीकृत राज्यले हेपेको क्षेत्र भएकाले सुदूरपश्चिमलाई अब न्याय हुन्छ ।’

यसरी देउवा, नेम्वाङ, दाहाल मात्रै होइन, शासकीय नेतृत्वको शीर्ष तहमा रहेका प्रमुख पदाधिकारीहरुलाई आयोजक कैलाली उद्योग वाणिज्य संघले मागहरु दोहोर्‍यो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वउपप्रधानमन्त्री भीम रावल, एमाले नेता नारदमुनि राना, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलगायतलाई उनीहरु पदमा रहेका बेला मुख्य अतिथिका रुपमा निम्त्याएर आफ्ना मागहरु सुनाएको छ । यस वर्ष अर्थमन्त्री रामेश्वर खनाललाई मुख्य अतिथि बनाएर सुदूरपश्चिमको विकासका सवालहरु राखिएको छ ।

Far West Festival: Where culture sells, development speaks

तर १९औं शृृंखलासम्म पुग्दा आयोजकहरुले ६ वटा माग मात्रै पूरा भएको जनाएको छ । पूरा भएका मागमध्ये अप्टिकल फाइबर जडान, सुदूरपश्चिम विश्वविद्यालय स्थापना, राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना, सेती अस्पतालमा आइसीयू कक्षको निर्माण, सभागृह निर्माण र दुग्ध प्रशोधन केन्द्र स्थापनाको माग मात्रै पूर्णरुपमा पूरा भएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले बताए ।

अन्य ६ वटा माग कार्यान्वयनको चरणमा रहेकाे उनले बताए । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, पर्यटन केन्द्र स्थापना, धनगढी विमानस्थल स्तरोन्नति र चिसापनी–गड्डाचौकी व्यापार व्यवस्थित गर्ने कार्य अहिले कार्यान्वयनको चरणमा प्रवेश गरेका तर सुस्त रहेका संघको भनाई छ ।

नौ वटा माग भने सम्बोधन भएका छैनन् । प्रदर्शनीस्थलको निर्माण, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, धनगढी विमानस्थललाई क्षेत्रीयमा विस्तार, त्रिनगर–गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउनु पर्ने, चीनसँग जोड्ने नाका स्थापना, विशेष औद्योगिक क्षेत्र, १० वर्षसम्म ट्याक्स फ्रि जोन घोषणा, पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण, कृषि विश्वविद्यालयको स्थापना र सांस्कृतिक संग्रहालयको माग भने सुनुवाई नभएको संघको भनाई छ ।

गेटा मेडिकल कलेज र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणको माग पनि पछि थपिएका थिए । जो अझै अधुरै छन् । ‘हरेक वर्ष एउटा माग मात्रै पूरा गरिदिएको भए पनि अहिलेसम्म १८ वटा माग पूरा भएका हुन्थे, तर हालसम्म पाँच वटा मात्र पूर्णरुपमा सम्बोधन भएका छन्,’ अध्यक्ष ओझाले भने, ‘६ वटा माग प्रक्रियामा गएका छन् भने नौ वटा मागमा प्रक्रियासमेत सुरु गरिएको छैन ।’

१९औं शृंखलाको समारोहमा महोत्सव सुरु गर्दाका अध्यक्ष गोपाल हमालले महोत्सव सुदूरपश्चिमको विकासका लागि थालिएको शालीन आन्दोलन भएको स्मरण गराए । उनले सुदूरपश्चिमको कला संस्कृतिलाई एकाकार गर्न, राज्यको ध्यानाकर्षण गराउन, नीति निर्माण तहका उच्च पदस्थहरुसमक्ष सुदूरपश्चिमको गुनासोको पोका खोल्ने थलोको रुपमा महोत्सवको यात्रा अविराम रहेको बताए । ‘मेडिकल कलेज सञ्चालन सुदूरपश्चिममा अहिलेको मुख्य ऐजेण्डा हो,’ अहिलेको सरकारले जसरी पनि पुरा गरोस्,’ हमालले भने ‘सुदूरपश्चिममा गेमचेन्जर आयोजना पुरा भएका छैनन् । गेमचेन्जर सडकका सपना अधुरा छन् । महाकाली करिडोर, सेती लोकमार्ग, खुटिया दीपायल फास्टट्रयाक निर्माण प्राथमिकतामा पर्नु पर्‍यो । यी मागहरु पूरा नभएसम्म सुदूरपश्चिमले सधै झकझक्याई रहनेछ ।’

उत्पादन बिक्रिको थलो
सुदूरपश्चिम महोत्सव उत्पादक र बिक्रेताका लागि प्रतिक्षाको थलो बनिसकेको छ । आयोजकहरुका अनुसार हरेक वर्ष करिब १० लाखले महोत्सवको अवलोकन गर्छन् । महोत्सवस्थल धेरैका लागि किनमेलको थलो बन्ने गरेको छ । ‘सुदूरपश्चिम महोत्सवमा करिब १५ करोडको कारोबार हुने गरेको आकडा छ,’ अध्यक्ष ओझाले भने ।

Far West Festival: Where culture sells, development speaks

महोत्सवस्थलमा राखिएका स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, खाना–पान, विभिन्न स्टललगायत मनोरञ्जनात्मक कार्यक्रमले उपभोक्तालाई आकर्षित गर्ने गरेको छ ।

दार्चुलाका नरबीरसिंह धामीले स्थानीय अल्लोबाट उत्पादित कपडाको स्टल राखेका छन् । ‘मैले दार्चुलाका उत्पादन महोत्सवमा ल्याउन थालेको चार वर्ष भयो,’ धामीले भने ‘बिक्री र कमाई राम्रै छ ।’ बझाङबाट मनबीर रावलले स्थानीय दालहरुको ल्याएका छन् । उनी पनि महोत्सवमा हुने ब्यापारले हौसिएको बताउँछन् । कैलालीको धनगढी गाउँकी मनमती चौधरी थारु परिकारको स्टल राखेकी छिन् ।

महोत्सवमा पाँच सय ५० वटा स्टल राखिएको संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले बताए । ‘कृषि तथा उद्योग प्रदर्शनी, घरेलु तथा कृषि उत्पादनका लागि ५० वटा स्टल निःशुल्क गरिएको छ,’ जोशीले भने ‘स्थानीय परिकार र जाति विशेषको परिकारको लागि पनि निःशुल्क व्यवस्था गरेका छाैं । यस पटकको महोत्सव स्थानीय उत्पादनका स्टललाई अझ महत्व दिएका छौं ।’ नौ वटै जिल्लाका स्थानीय उत्पादनको बिक्री प्रवर्द्धनको थलो पनि सुदूरपश्चिम महोत्सव भएको उनले बताए ।

महोत्सवको व्यवस्थापन गुनासोरहित भने छैन । अझै परिस्कृत गर्नु पर्ने खाँचो रहेको औल्याउनेहरु पनि छन् । यस क्षेत्रमा स्वरोजगरको प्रमुख क्षेत्र नै कृषि भए पनि कृषकका लागि ठाउँ खुम्चिँदै गएको कतिपयको गुनासो सुनिन्छ । ‘कृषिमा आकर्षण बढाउन महोत्सवलाई उपयोगी थलोका रुपमा विकास गर्नु जरुरी छ,’ कैलारीका किसान रेबन्त बोहराले भने ।

सांस्कृतिक प्रवर्द्धनको संगम
सुदूरपश्चिम महोत्सव यस्तो सांगितिक त्रिबेणीका रुपमा स्थापित भएको छ कि स्थानीय कला संस्कृति प्रवर्द्धनको त सेतु नै भएको छ । अनि नाम चलेका कलाकारको पहिलो रोजाई पनि । यसपाली महोत्सवको सांगीतिक माहोलमा अर्को रौनक पनि थपियो । गायक प्रमोद खरेल आफ्नो ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ महोत्सवमा हजारौं दर्शकमाँझ झुल्किए । महोत्सवमा ब्याण्डसहितको प्रस्तुति पहिलो पटक हो ।

मञ्चमा प्रवेश गरेको केही मिनेटमै उनले मैदान तताए । जोसिला गीतले दर्शकलाई नाच्न बाध्य बनाए । स्टेजमा प्रमोदले प्रस्तुत गरेका अन्य कतिपय गीतसंगीतका भावमा दर्शकहरु सँगै बगेका पनि देखिए ।

प्रमोद मात्रै होइन, सुदूरपश्चिमकी ख्यातीप्राप्त देउडा गायिका डिक्रा देवी बादी हुन् या कर्णालीकी ईब्सल सञ्ज्याल या काठमाडाैंबाट आएका अन्य कलाकारहरु पल शाह, रचना रिमाल, समीक्षा अधिकारी, प्रकाश सपुत, शान्तीश्री परियार, चक्र बमलगायत दर्जनौं कलाकारका सांगितिक प्रस्तुतिले सुदूरपश्चिम महोत्सव गुञ्जिरह्यो । ‘एक सय जना बढी स्थानीय कलाकारले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएका छन्,’ संघका सचिव प्रकाश चन्दले भने ‘काठमाडाैंका इच्छुक कलाकारको आग्रह त थेगिनसक्नु हुन्छ ।’

थारु गाउँको आकर्षण
सुदूरपश्चिम महोत्सवमा अर्को आकर्षणको केन्द्र हो थारु गाउँ प्रदर्शनी । महोत्सवस्थलभित्रै बेग्लै स्थानमा थारु समुदायको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धनका लागि थारु गाउँ प्रदर्शनीस्थल राखिएको छ । महोत्सवमा जाने जो कोहीले पनि त्यो ठाउँ सायदै छुटाउँछन् ।

त्यहाँ थारु समुदायका खानपान, भेषभुषा र कला संस्कृति देख्न पाइन्छ । थारु समुदायमा प्रचलित परिकारहरु घोगी, ढिक्री, माछा, बंगुरको मासुलगायतका परिकारको स्वाद लिन पाइन्छ त्यहाँ । अनि लोप हुँदै गइरहेको पुरानो कला, संस्कृतिको अवलोकनका लागि पनि थारु गाउँ प्रदर्शनीस्थलमा परम्परागत पहिरनमा सजिएका थारु समुदायका युवतीको पोषाक लेहङ्गा, चोलिया, धोतीलगायतका पहिरनले धेरैलाई आकर्षित गर्छ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully