भिजुअल आर्टिस्ट रवीन्द्र श्रेष्ठले भने, ‘युवा पुस्ताले उज्यालो भविष्यका लागि ठूलो बलिदान दिएका छन् । त्यही सम्झन यो काम गरेको हुँ ।’
What you should know
काठमाडौँ — ६ वर्षदेखि भिजुअल आर्टमा काम गर्दै आएका रवीन्द्र श्रेष्ठ सोमबार बानेश्वरस्थित संसद् भवनको मुख्य दक्षिण गेटअगाडि देखिए ।
समसामयिक घटनाक्रमलाई कलामार्फत देखाउन रुचाउने श्रेष्ठले जेन–जी आन्दोलनमा बलिदान दिएका व्यक्तिहरूलाई चित्रकलामार्फत प्रस्तुत मात्रै गरेनन्, त्यहाँ कला हेर्न आउनेहरूलाई पनि त्यसमा सहभागी गराए । उनले भने, ‘युवा पुस्ताले उज्यालो भविष्यका लागि ठूलो बलिदान दिएका छन् । त्यही सम्झन यो काम गरेको हुँ ।’
ठूलो क्यानभासमा औँठाछापको आकृति थियो । औँठाछापका मसिना रेखाहरूमा जेन–जी आन्दोलनमा सहिद भएका व्यक्तिहरूका श्यामश्वेत तस्बिर थिए । अनि ती रेखाहरूको बीचमा बांगोटिंगो, मसिनो रातो रेखा पनि थियो । यो रातो रेखाले राष्ट्रिय एकतालाई प्रतीकात्मक रूपमा देखाउने बताउँदै उनले भने, ‘हाम्रो अनुहार र पृष्ठभूमि फरक भए पनि हामी सबैमा एउटै रगत बगिरहेको छ, जसले युवा पुस्तालाई जीवन र बल प्रदान गर्छ ।’
संसद् भवनको गेटको सामुन्ने राखिएको त्यही ठूलो क्यानभासमा चित्र हेर्न आउनेहरूलाई उनले शब्द कोर्न लगाइरहेका थिए । पेन्टिङको तल उनले सानो सूचना राखेका थिए । त्यसमा लेखिएको थियो– आफूलाई जस्तो आउँछ, त्यस्तै खालको चित्र कोरेर श्रद्धाञ्जली अर्पण गरौँ ।
