पञ्चेबाजाको परम्परा धान्दै पाका पुस्ता

विवाह, ब्रतबन्ध, बेठी तथा उत्सवहरुमा गुन्जने पञ्चेबाजाको आवाज अचेल दुर्लभ बन्दै गएको छ । नयाँ पुस्ता आकर्षित नहुँदा याे परम्परा पाकाकै काँधमा टिकेको छ ।

मंसिर २७, २०८२

विनोद घिमिरे

Older generation carrying on the tradition of Panchebaja

What you should know

धनकुटा — लस्करै समूहको सबैभन्दा अगाडि पञ्चेबाजाको समूह छ । समूहका नाइके छन्, ७५ वर्ष नाघेका लाखबहादुर परियार ।

पञ्चेबाजा बजाउन साथ दिने उनकै उमेर समूहका ज्ञानबहादुर परियार र उनका साथी सहनाई, नरसिंहा फुकिरहेका छन् ।

झ्याली, ढोलक, ट्याम्को र दमाहाको धूनले माहौल संगीतमय बनेको छ । बाजा बजाउने समूहको पछिपछि गाउँमा बनेको नयाँ विद्यालय भवन उद्घाटन गर्न आएका विदेशी स्वयम्सेवक, मुख्यमन्त्री, जिल्लाका सुरक्षा प्रमुख, समाजका गन्यमान्य, अभिभावक र विद्यार्थी लम्किरहेका छन् ।

धनकुटा सहिदभूमि गाउँपालिकास्थित आँखीसल्ला गाउँमा केही दिनअघि विद्यालय भवन उद्घाटन गर्न पुगेका विदेशी स्वयंसेवकसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीलगायतका पाहुनालाई स्थानीयले यसरी पञ्चेबाजा बजाएर स्थानीयले स्वागत गरेका थिए । 

विवाह, ब्रतबन्ध, बेठी तथा उत्सवहरुमा गुन्जने पञ्चेबाजाको भाका अचेल दुर्लभ बन्दै गएको छ । नयाँ पुस्ता आकर्षित नहुँदा गाउँमा पञ्चेबाजा बजाउने परम्परा बुढापाकाकै काँधमा टिकेको छ । ‘छोरानातिले सिकेनन्, हामी बुढा भइगयौं,’ पञ्चेबाजा बजाउने परम्परागत सीपका बारेमा जिज्ञासा राख्दा बल गरेर बजाइरहेको सहनाई रोकेर लाखबहादुर परियारले भने, ‘जिम्मा लाउने बेला भो, तर कोही तयार छैनन् ।’ 

नयाँ पुस्ताले यो पेशा अपनाउन चासो नदेखाएको उनले बताए । ‘बजाएर खानै पुग्दैन, घर चल्दैन, खेतबारी जोड्न सकिदैन्, लागुन् पनि कसरी ?’ उनले भने । 

Older generation carrying on the tradition of Panchebaja

बाजा बजाएरै जीविका नचल्ने देखेपछि बाबुबाजेको पेशामा नयाँपुस्ताको चासो नदेखिएको उनले सुनाए ।
सहनाई, नरसिंहा, झ्याली, ढोलक, ट्याम्को र दमाहा जस्ता बाजाको संयोजन रहेको पञ्चेबाजा संगीत र पेशा मात्र नभइ शुभ संकेत तथा पारम्परिक एकताको प्रतिक समेत मानिन्छ । 

पञ्चेबाजा प्रायःजसो विवाह, ब्रतबन्ध, पूजाआजा, पर्व र उत्सवहरुमा बजाइन्छ । तर गाउँघरमा अब यो धुन बिरलै सुन्न पाइने गरेको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई बताउँछन् । पञ्चेबाजाको परम्परा जोगाउन गाउँपालिकाले बाजा र पोषाक उपलब्ध गराउने गरेको उनले बताए ।

बिहेमा बज्ने मंगलधुनले नयाँ जीवनको सुरुवात, देवधुनले भक्ति र जात्रा तथा उत्सवमा बज्ने पञ्चेबाजाको तालले सहभागीमा उर्जा, जोसजाँगर भर्ने बाजा बजाउने समूहका ज्ञानबहादुर परियार सुनाउँछन् । भन्छन्, ‘पञ्चेबाजाको धुनले अशुभ शक्ति टाढिन्छन् र पारिवारिक सुख प्राप्त हुन्छ ।’

सामाजिक र सांस्कृतिक संरचनामा भइरहेको फेरबदल, आधुनिक संगीतको प्रभावले सामाजिक–धार्मिक उत्सवमा पञ्चेबाजा बजाउने चलन पातलिदै गएको हो । पञ्चेबाजाको खोजी गर्ने र बजाउन जान्नेहरु पनि सीमित बन्दै गएका छन् । ज्ञानबहादुरका अनुसार उनको समुदायमा बिगतमा बाजा बजाउन जान्नेको बाहुल्य थियो । भन्छन्, ‘अब पाको पुस्ता सकिदै गयो, बाँचेका पनि बाजा बजाउान सक्ने छैनन् ।’

पाको पुस्ताले मात्रै यो परम्परालाई धान्ने अवस्था नरहेको आँखीसल्लाका युवा धनबहादुर परियार बताउँछन् । धनबहादुर भन्छन्, ‘यो काम कहिलेकाहीँ मात्रै आउँछ, यसैमा लागेर परिवार चल्दैन्, चासो छ तर यसमा भुलेर घरमा चुलो बल्दैन् ।’

पञ्चेबाजाको कमाइले गुजारा नचल्ने देखे पछि यो पेशामा युवापुस्ता समर्पित हुन नसकेको धनबहादुरले सुनाए ।  ‘पञ्चेबाजा हाम्रो इतिहास र मौलिक पहिचान हो,’ धनबहादुर भन्छन्, ‘राज्य, समुदाय र युवापुस्ताको साझा प्रयासले मात्रै पञ्चेबाजाको धुन पुनः गाउँ–सहर र मनमस्तिष्कमा गुन्जाउन सकिन्छ ।’ 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully