नेपालीसहित राजवंशी, थारु, मैथिली, भोजपुरी गरी आधा दर्जन भाषा मज्जाले बोल्न सक्ने तीर्थ विकलाई त्यहीँ भाषाले स्थानीय समुदायसँगको सम्बन्ध प्रगाढ बनाएको छ ।
What you should know
विराटनगर — पूर्वतिर अपरिचित भेटिँदा ‘पहाडघर कता ?’ भनी सोध्ने चलन छ । तर, विराटनगर–१९ धनपुरा टोलका तीर्थ विक र पर्मिता विकलाई प्रायः कसैले यो प्रश्न सोध्दैन ।
किनभने उनीहरूलाई देख्ने जो–कोहीलाई मधेशकाे रैथाने जस्तै लाग्छ । लुगा, बोली, खानपान, रहनसहन सबै मधेशकै । नहोस् पनि किन ? जो झन्डै आधा शताब्दीदेखि मधेशमै छन् ।
तर, उनीहरूको वास्तविक पहिचान भने पहाडी मुलका दलित हो । विक परिवार तीन पुस्ताअघि मधेशमै बसोबास गर्दै आएको छ । तीर्थका हजुरबुबा धेरैअघि धनकुटाबाट मधेश झरे । कहिले झरे ठ्याक्कै उत्तर तीर्थसँग छैन । त्यहीँ जन्मिए तीर्थका बुबा, त्यहीं विवाह भयो, परिवार बस्यो ।
धेरै नेपालीको पहाड–मधेशका कथा बसाइँसराइको यात्रामा जोडिन्छन्, तर तीर्थका लागि त्यो यात्रा मुटुभित्रै रोपिएको जरा जस्तै हो । उनी हाँस्दै भन्छन्,‘हाम्रो पहाडघर धनकुटा अरे, तर म त कहिल्यै गएको छैन । मेरो पहाडघर त यहीँ मधेश हो ।’
५८ वर्ष पुगेका तीर्थ मोरङको तत्कालीन जहदा गाविसको बेव्लेसा भन्ने गाउँमा जन्मिएका थिए । करिब ५० वर्षअघि उनको परिवार जहदाबाट बैजनाथपुरतर्फ बसाइँ आए । ‘त्यसबेला म ७–८ वर्षको हुँला,’ तीर्थ सम्झन्छन्,‘हजुरबा, आमा–बाबु सबै यतै बित्नु भयो ।’
यो परिवारको पहाडसँगको लहरो यसरी टुट्यो कि पहाडका नातेदार र आफन्तको पनि पत्तो छैन । उनीहरूको बोलीमा रहेको मधेशी लवज, भोजनको स्थानीय स्वाद र दिनचर्यामा छरपस्ट रूपमा मिसिएको मधेश, यही नै उनको पहाडघर बनेको छ ।
पर्मिता विक मोरङकै बबिया गाउँमा जन्मेर हुर्किएकी हुन् । राजवंशी गाउँ, त्यो समुदायसँगको निकटता । त्यसैले उनको बोलाइमा राजवंशी भाषाको मिठास अझै ताजा सुनिन्छ । बोल्न त उनी थारु र ऋषिदेव भाषा पनि मज्जाले सक्छिन् । तर, राजवंशी भाषा चाहीँ भाक्काको स्वादझैं जिब्रोमै बसेकाे छ । उनले बाल्यकालमै सिकेको एउटा सीपलाई अचेल परिवारको रोजीरोटीको माध्यम बनाएकी छन् ।
हिउँदको चिसाे बिहान, ओसले भिजेको आँगन अनि बाक्लो हुस्सुको पर्वाह नगरी उनी भाक्का बनाउन पुग्छिन् । जहाँ उनका श्रीमान्काे सानो घुम्ती पसल र नजिकै अर्को खाजा पसल पनि छ । ‘हिउँदका तीन–चार महिना त यही भाक्काले नै घर चल्छ,’ उनी भन्छिन्,‘सानैमा हेर्दाहेर्दै, भाक्का बनाउन सिकेकी थिएँ, अहिले आएर काम लाग्यो ।’
भाक्का राजवंशी समुदायको गर्विलो खाजा हो । चामलको पिठोलाई हातले सानो–सानो आकारमा बनाइन्छ र पानीको बाफमा पकाइन्छ । स्वाद भने अत्यन्तै अडिलो । खानेलाई पनि तृप्त बनाउँछ, बनाउनेलाई पनि आत्मसन्तुष्टि मिल्छ । अचेल बजार, चोक, गल्लीसम्म भाक्काको स्वाद फैलिएको छ । ‘४, ५ सयको बिक्री हुन्छ’,पर्मिता सुनाउँछिन्,‘घरखर्च चलेको छ ।’
पर्मिताको भाक्का पसलकै छेउमा तीर्थले सञ्चालन गर्दै आएका छन् सानो खाजा दोकान र घुम्ती पसल । जुन पसल ३१ वर्षको भएको छ । यहीँको धूलो, यहीँका ग्राहक, यहीँको न्यानो पनि उनको जीवन बनेको छ । ‘पढ्न–लेखन पाएको भए त जागिर खान्थेँ होला,’ तीर्थ पछुताउँछन्, ‘तर जीवन यतै मोडियो । अहिले यही दोकानमै मेरो संसार छ, यही गाउँमा मेरो जीवन ।’
उनकाे दोकानमा आउने ग्राहक पनि विविध समुदायका छन् । थारु, ऋषिदेव, पहाडिया, आदिवासी सबै । ‘यो गाउँ अनौठो छ,’ तीर्थ गर्व साथ भन्छन्,‘कसैले कसैलाई भेदभाव गरेको थाहा छैन । कसैले कसैलाई अन्याय, अत्याचार गरेको पनि अहिलेसम्म थाहा पाइएको छैन ।’
तीर्थ नेपालीसहित राजवंशी, थारु, मैथिली, भोजपुरी गरी आधा दर्जन भाषा मज्जाले बोल्छन् । त्यही भाषाले उनलाई स्थानीय समुदायसँगको सम्बन्ध प्रगाढ बनाएको छ । हरेक भाषा बोलेसँगै उनी त्यही समुदायको भावनामा, संस्कृतिमा र मनोवृत्तिमा घुलमिल हुँदै गएका छन् ।
तीन पुस्ताअघि मधेशमा बस्दै आएका उनी मधेशकै आवाज र लयमा पूर्णरूपले अन्तर्घुलित भएका छन् । उनीहरूको पहिचान पहाडियाको भन्दा बढी मधेशीकै छ । तीर्थ र पर्मिताको साझा मत छ, ‘हाम्रो घर यहीँ हो । हामी जहाँ जन्मियौं, हास्यौं–रोयौं, कमायौं–गुमायौं, यही नै हाम्रो पहाडघर ।’
