विराटनगरका सहरिया कृषकलाई ४० वर्षदेखि घाँस बेचिरहेकी सञ्जन रजक सुनसरीको देवानगञ्जसम्म पुगेर खाेज्छिन् । मिहनेत साथ काटेको घाँस प्लाष्टिकको बोरामा हालेर प्रायः भट्टीचोकतिर बेच्छिन् ।
What you should know
विराटनगर — झापाको भद्रपुरबाट आएको हुलाकी सडक विराटनगरको भट्टीचोकबाट सोझिँदै पश्चिमतिर पस्छ ।त्यही चोकमा सञ्जन रजक घाँस किन्न आउने ग्राहकको पर्खाइमा वर्षौंदेखि बस्दै आएकी छन् ।
उनले यो चोकको रखवाली थालेको पनि ४० वर्षभन्दा बढी भइसक्यो । ‘यही चोकमै जिन्दगी बित्न लाग्यो,’ साँझको मंसिरे जाडोलाई बेवास्ता गर्दै घाँस बेच्न बसेकी सञ्जनले आफ्नै लवजमा सुनाइन्,‘कस्तो थियो विराटनगर कस्तो भइसक्यो ।’
हेर्दाहेर्दै विराटनगर कहिल्यै नथाक्ने गतिमा बदलिँदै गयो, दूर क्षितिजसम्म फैलिँदै गयो । तर, सञ्जनको जीवन भने उस्तै छ । घाम–पानी, जाडो–गर्मी सहेर फुटपाथमै उसैगरी ग्राहकको पखाई ।
सञ्जनलाई आफ्नो उमेर ठ्याक्कै याद छैन । तर, अन्दाज गर्दा उनी करिब ६५–७० हाराहारी पुगिसकेको झै लाग्छ । यो बुढ्यौलीवयमा पनि उनी बिहान सबेरै उठ्छिन् । उनको एउटै चिन्ता हुन्छ, आज घाँस कसरी जुटाउने ?
उनी घाँस खोज्दै कहिले घरनजिकै बहरमपुरा पुग्छिन् त कहिले सुनसरीको देवानगञ्ज । बडो मिहनेत साथ काटेको घाँस प्लाष्टिकको बोरामा खाँदीखाँदी हाल्छिन् । अनि पुग्छिन्, भट्टीचोक ।
विराटनगर यस्तो महानगर हो- जहाँ सयौं सर्वसाधारण सहरिया कृषक छन् । धेरैले घरमा गाई–भैंसीदेखि खसी–बाख्रा पालेका छन् । तर, उनी कहाँ घाँस किन्न आउनेहरु खसी–बाख्रा पाल्ने कृषक र रहरले खरायो पाल्ने सौखिनहरु छन् ।
स्थानीय मेहवुक मियाँ उनका दैनिक ग्राहक हुन् । उनी सधैं मोटरसाइकल चढेर आउँछन् अनि ५० रुपैयाँको घाँस किनेर लैजान्छन् । ‘एउटा बाख्रा पालेको छु, घाँस ख्वाउनै गाह्रो भइसक्यो’, उनी दुःख पोख्छन्,‘सञ्जन माइ हुनुहुन्छ र सजिलो भएको छ ।’
सञ्जनले बेच्ने घाँसको कुनै तोकिएको मूल्य हुँदैन । न नापजोख नै हुन्छ । ग्राहकले जति रकमको माग्छन् त्यतिकै उनी दिन्छिन् । भन्छिन्, ‘पैसा अनुसारको घाँस दिन्छु ।’
पहिले सञ्जनसँगै अर्की घाँसी आमा पनि बस्थिन् । अचेल ती आमाले बजार आउन छाडिन् । अचेल भट्टीचोकको फुटपाथमा घाँस बोकेर बस्ने एक्ली पात्र सञ्जन नै हुन् । घाँस बेचेवापत दैनिक आम्दानी खासै धेरै हुन्न । कहिले २ सय रुपैयाँभन्दा माथिको बिक्री हुन्छ । कहिले ४ सयसम्म पनि पुग्छ । अनि कहिलेकाहीँ त घाँसको बोरा बोकेरै घर फिर्नुपर्ने अवस्था पनि हुन्छ । ‘धेरैपटक घाँस फिर्तै लिएर घर गएकी छु,’ उनी हाँसो मिसाएर भन्छिन्, ‘नसुकाइ राखेर भोलिपल्ट बिक्री गरेकी छु ।’
