आन्दोलनमा लागेको गोलीले भन्दा राज्यको बेवास्ताले दुखिरहेका पत्रकार

२३ भदौमा खुट्टामा गोली लागेका पत्रकार शम्भु दंगाल भन्छन्- 'हामी जोखिम मोलेरै रिपोर्टिङमा गइरहेका हुन्छौं तर हाम्रा लागि को छ ?'

मंसिर ९, २०८२

दया दुदराज

Journalists are suffering more from state indifference than from bullets fired during the protests.

What you should know

काठमाडौँ — महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीको बाक्लो भिड छ । उभिन नसक्ने अवस्थामा पुगेका बिरामी यहाँ ओपीडीको लाइनमा उभिनुपरेको छ ।

त्यही लाइनमा बैसाखीको आडमा मुस्किलले उभिइरहेका छन्- पत्रकार शम्भु दंगाल । धीरताका साथ उनले पालो कुरेको डेढ घण्टा भयो । 

१७ दिनसम्म अस्पताल बसेर डिस्चार्ज भएका शम्भुलाई नारायणटारबाट ट्रमा आउनु साप्ताहिक गृहकार्यजस्तो बनेको छ । भाइको सहारामा उनी प्रत्येक शुक्रबार ट्रमा आउँछन् र ड्रेसिङ गराएर पुन: नारायणटार फर्किन्छन् । चाँडै आएर लाइन बस्दा पनि यो पटक उनको पालो निकै ढिलो आयो । 

दुई घण्टा लाइनमा बसेपछि मात्रै उनले ड्रेसिङ गराए । 

बैसाखीको सहारामा मुस्किलले अस्पताल क्यान्टिनको टेबल नं ७ मा बसेर उनी भदौ २३ गते कसरी खुट्टामा गोली लाग्यो, सविस्तार सुनाउँछन् ।

000

दुई दशकदेखि पत्रकारितामा सक्रिय उनी नयाँ पोस्ट नामक पत्रिकाका सञ्चालक र सम्पादक छन् । २३ भदौमा उनी रिपोर्टिङकै लागि बिहानै नारायणटारबाट बानेश्वरतर्फ निस्किए । करिब साढे ११ बजे उनी बानेश्वर पुगेका थिए । त्यहाँको माहोल एकाएक बदलियो । प्रहरीले क्रमश: रबर र मेटल गोली चलाउन थाल्यो । उनी ती दृश्यलाई फोटो/भिडियोमा कैद गरिरहेका थिए । 

०६२/६३ को द्वन्द्वकालमा रिपोर्टिङ अनुभव बोकेका शम्भुलाई जोगिएर फोटो/भिडियो खिच्नुपर्छ भन्ने चेतना थियो । ३ बजे आसपास बानेश्वर क्षेत्र रणमैदान बनेको थियो । 'प्रदर्शनकारीहरूले पर्खाल भत्काउँदै गरेको भिडियो खिच्न परै बसेर जुम गरिरहेको थिएँ,' उनी भदौ २३ सम्झिन्छन्, 'अचानक खुट्टामा केही ठोक्किएजस्तो लाग्यो । भतभती पोल्न थाल्यो ।' देब्रे खुट्टाबाट रगत बग्न थालेपछि उनी सम्हालिन सकेनन् । आफ्नै खुट्टामा उभ्भिन नसकेका उनलाई नजिकैका केही प्रदर्शनकारी आएर सम्हाले ।  

'ओहो ! दाइलाई त गोली लागेछ', 'रगत रोक्किँदै रोकिएन', 'एम्बुलेन्स बोला एम्बुलेन्स'... यस्तै आवाज शम्भुको कानमा बारम्बार ठोक्किइरह्यो । प्रदर्शनकारीले एम्बुलेन्सको खोजी गरे, तर भेटिएन । रगत धेरै बग्न थालेपछि  प्रदर्शनकारीले बोकेर नजिकैको एभरेस्ट अस्पताल पुर्‍याए । 'अस्पतालको सेतो टायल रगतले लतपतिको थियो । त्यहाँ पुगेपछि अलिअलि भएको बाँच्ने आशा पनि नहोला जस्तो थियो,' शम्भु भन्छन् ।

डाक्टरहरु नै त्रासमा थिए । रगत रोक्नका लागि ब्यान्डेज मात्रै थियो । औषधि पाइएन । 'त्यो दिन त ब्यान्डेज मात्रै लगाइयो, ' मोबाइलमा फोटो देखाउँदै उनी भन्छन्, 'रगत बाहिर देखिन थालेपछि फेरि बाहिरबाट अर्को ब्यान्डेज थप्दाथप्दा खुट्टा निकै ठूलो देखिएको थियो ।'

Journalists are suffering more from state indifference than from bullets fired during the protests.

डाक्टरहरुको व्यस्तता र आफ्नो अवस्था देख्दा उनको मनमा एउटै प्रश्न बारम्बार आउँथ्यो- यसरी रगत बगिरह्यो भने त रगत सकेर मरिन्छ कि क्या हो ? तै चित्त बुझाउँथे- अस्पताल आइएको छ । बाँचिन्छ होला ।

साँझ ५ बजे आसपास उनलाई वीर अस्पताल रेफर गरियो । तर एम्बुलेन्स भेटिएन । आधा घण्टा कुरेपछि एउटा एम्बुलेन्समा तीन जना घाइतेसँगै कोच्चिएर उनी वीर पुगे ।

वीरमा अवस्था झनै डरलाग्दो थियो । 'ओपीडी खाली गरेर त्यहाँ म्याट ओछ्याएर घाइते सबैलाई राखिएको थियो,  कसैको आँखा फुटेको त कसैको टाउको । कोही रोइरहेका त कोही चिच्याइरहेका,' अन्य घाइते देखेपछि शम्भुलाई लाग्यो, 'म त अरुभन्दा अलि सग्लै रहेछु !'

बेलुका ७ बजेतिर एक्सरे गर्ने पालो आयो । देब्रे खुट्टा 'मेटल' गोलीले छेडिएको रहेछ । खुट्टाको हड्डी पनि फुटेकाले डाक्टरले शल्यक्रिया गर्न भने । तर यहाँ त्यस्तो वातावरण थिएन । अस्पतालमा घाइतेहरु भरिँदै गएपछि उनको पालो निकै ढिला आउने भयो । २३ को रात दुखाइ र पीडैपीडामा बित्यो । 

000

२४ भदौमा झन् धेरै घाइतेहरु थपिए ।  दुई दिसम्म शम्भुले 'एन्टिबायोटिक'को सहारा लिए । त्यसपछि मात्रै शल्यक्रिया भयो । १७ दिन उनी अस्पतालमै बसे । यसबीच आफैलाई सोधिरहे- म क्रियाशील पत्रकार हुँ । २० वर्षदेखि मेरो एक मात्र पेसा पत्रकारिता मात्र हो । आफ्नो जीविका यसबाटै चलाउँछु । अन्य कुनै पेसा व्यवसायमा लागेर रहरले आएको होइन । मेरो एकेडेमिक लाइन पनि पत्रकारिता हो । मैले पत्रकारितामा डिग्री लिएर यही क्षेत्रमै समर्पित भएर काम गरिरहेको छु । अब के होला ? 

उनले सोचेका थिए- पत्रकारहरू समस्यामा परे भने पत्रकार महासंघ छ, विभिन्न आईएनजीओ, एनजीओहरू छन्, राजनीतिक दलमा आबद्ध पत्रकार संघसंस्था छन्, सामाजिक संस्था पनि छन् । यसबीच उनलाई भेट्न कुनै संस्था आएनन् । 'धेरै पत्रकारको महासंघको सदस्यता शुल्क पार्टीले तिरिदिन्छ । तर म त आफै तिर्छु, आफै रिन्यू गर्दै आएको छु,' उनी खिन्न बन्छन्, 'यसबीच मैले पत्रकार महासंघको अध्यक्षको समेत अनुहार देखिनँ । पत्रकारलाई सहयोग गर्छौ भन्ने संघसंस्था त कता हराए कता !' 

महासंघभन्दा अलि पर पुगेर पनि उनले सोचे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि छ । जो सञ्चार क्षेत्रसँग सरोकार राख्छ । उसको बेवास्ताबाट पनि शम्भु झन् दु:खी भए । सञ्चारकर्मबाटै स्थापित व्यक्ति अहिले सञ्चार मन्त्री छन् । 'उहाँ मन्त्री भएकै साढे दुई महिनाजति भयो । तर उहाँले कति पत्रकार घाइते भए, उनीहरुको स्थिति  के छ भनेर अहिलेसम्म कुनै मतलब राख्नुभएन,' शम्भुले गुनासो गरे । उनको गुनासो यसकारण पनि स्वाभाविक छ कि अहिलेका मन्त्री लामो समय राजनीति गरेर आएका होइनन् । सञ्चार क्षेत्रमै दशकौं बिताएर आएका उनले पत्रकारको दु:ख-अभाव बुझ्नुपर्थ्यो भन्छन् उनी ।

पेसागत असुरक्षा

जागिर छोडेर स्वरोजगार बन्नुपर्छ भन्ने लाइनमा हिँडिरहेका थिए शम्भु । भर्खरै स्टुडियो बनाउने, न्यु मिडियामार्फत अगाडि बढ्ने सोच राखेर दत्तचित्त कर्ममा थिए । 

Journalists are suffering more from state indifference than from bullets fired during the protests.

यतिबेला उनलाई शारीरिक पीडाको मात्रै चिन्ता छैन, आर्थिक संकटको पनि उत्तिकै पीर छ । 'ठ्याक्कै अब मेरो स्यालरी आउने स्थिति पनि भएन,' चोट लागेको खुट्टामा भन्किएका झिँगा धपाउँदै उनले सुनाए, 'झन्डै साढे दुई महिना भयो । मैले त कुनै पनि काम गर्न सकेको छैन ।' व्यावसायिक संकटसँगै पारिवारिक जिम्मेवारीले पनि उनी थिचिएका छन् ।

सरकारले उनका नाममा २० हजार उपचार खर्च दिएको थियो भने पत्रकार महासंघले २५ हजार । 'पत्रकार महासंघका महासचिव मेरो पूर्वसम्पादक पनि हो । उहाँ भेट्न आउनुभएको थियो । उहाँले नै खाता मागेर लानुभएको थियो । महासंघबाट २५ हजार आयो । त्यसका अलावा कतैबाट केही सहयोग आएको छैन ।’ आफूलाई प्राप्त धेरथोर सहयोगप्रति उनी कृतज्ञ नै छन् ।

जेनजी आन्दोलन र त्यसपछि उत्पन्न जटिल परिस्थितिमा रिपोर्टिङ गर्ने अरु पत्रकारले पनि शम्भुकै जस्तो नियति भोगिरहेका छन् । नयाँ पत्रिकाका दीपेन्द्र ढुंगाना हुन् या कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ । उनीहरु अहिले पनि फलोअप उपाचारका लागि धाइरहनुपरेको छ ।

जोखिमपूर्ण रिपोर्टिङमा जाँदा पत्रकारको सुरक्षा उपकरणका लागि मिडिया हाउसले बढी ख्याल गर्नुपर्ने शम्भु बताउँछन् । 'क्रिटिकल अवस्थामा रिपोर्टिङ गर्ने पत्रकारलाई अभिमुखीकरण पनि छैन, उनीहरुको लागि चाहिने सामग्रीको व्यवस्था पनि छैन । त्यो मिडिया हाउसले पनि गर्दैन । कतिपय पत्रकारलाई पनि त्यस खालको त्यति धेरै ज्ञान छैन,' उनी भन्छन् । 

अन्य पत्रकारको सुरक्षाबारे सोचिरहेका शम्भु स्वयंले कोभिडको समयमा पनि संकट भोगेका थिए । 'त्यो बेलामा पनि त्यस्तै संकट थियो । म दुई-तीनचोटि हस्पिटल रिपोर्टिङ गर्न जाँदा आफै संक्रमित भएँ । म संक्रमित भएपछि परिवार संक्रमित भयो । तर समाधान थिएन । त्यो बेला पनि त त्यस्तो कुनै व्यवस्था थिएन । हामी (पत्रकार) जोखिम मोलेर रिपोर्टिङमा गइरहेका हुन्छौं तर हाम्रा लागि को छ त ?' उनी प्रश्न गर्छन् । 

000

क्यान्टिनमा हल्लाखल्ला टुटेको छैन । नयाँनयाँ पात्र आइरहेका छन् । गइरहेका छन् । यत्तिकैमा कोलाहलबीच सुनिन्छ- टोकन नम्बर २३२ । 

शम्भु झस्किन्छन् र भन्छन्, ‘जति गफ गरे पनि नीतिगत रुपमा पत्रकारको पेसागत सुरक्षाका निम्ति काम नगरेसम्म यस्तै भइरहन्छ । खालि हामी स्टोरीमा रमाउनुबाहेक विकल्प छैन । अब त ती दिन पनि सक्किए जस्तो लाग्छ ।’

Journalists are suffering more from state indifference than from bullets fired during the protests.

क्यान्टिनको टेबल नम्बर सातबाट उनी बैसाखीकै सहारामा उभिए । ‘मलाई फ्रिमा ल्याउन-लैजान सरकारले एम्बुलेन्सको व्यवस्था गर्ने भनेको थियो । तर प्रशासनिक झन्झट यति लामो कि पहिलो दिन नै ४ घण्टा कुर्दा पनि नआएपछि राइड सेयरिङ प्रयोग गर्ने गरेको छु ।’ 

व्यस्त सडकबाट सेतो रङको ट्याक्सी अस्पताल परिसर आइपुग्छ । दुवै बैसाखीको सहारामा ट्याक्सीभित्र छिर्दै गर्दा मुस्कुराउँदै उनले भने, ‘भाइ, मैले समाचार लेख्नचाहिँ छाडेको छैन । अहिले पनि घाइतेहरुको कथा लेखिरहेको छु ।’

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully