२३ भदौमा खुट्टामा गोली लागेका पत्रकार शम्भु दंगाल भन्छन्- 'हामी जोखिम मोलेरै रिपोर्टिङमा गइरहेका हुन्छौं तर हाम्रा लागि को छ ?'
What you should know
काठमाडौँ — महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीको बाक्लो भिड छ । उभिन नसक्ने अवस्थामा पुगेका बिरामी यहाँ ओपीडीको लाइनमा उभिनुपरेको छ ।
त्यही लाइनमा बैसाखीको आडमा मुस्किलले उभिइरहेका छन्- पत्रकार शम्भु दंगाल । धीरताका साथ उनले पालो कुरेको डेढ घण्टा भयो ।
१७ दिनसम्म अस्पताल बसेर डिस्चार्ज भएका शम्भुलाई नारायणटारबाट ट्रमा आउनु साप्ताहिक गृहकार्यजस्तो बनेको छ । भाइको सहारामा उनी प्रत्येक शुक्रबार ट्रमा आउँछन् र ड्रेसिङ गराएर पुन: नारायणटार फर्किन्छन् । चाँडै आएर लाइन बस्दा पनि यो पटक उनको पालो निकै ढिलो आयो ।
दुई घण्टा लाइनमा बसेपछि मात्रै उनले ड्रेसिङ गराए ।
बैसाखीको सहारामा मुस्किलले अस्पताल क्यान्टिनको टेबल नं ७ मा बसेर उनी भदौ २३ गते कसरी खुट्टामा गोली लाग्यो, सविस्तार सुनाउँछन् ।
000
दुई दशकदेखि पत्रकारितामा सक्रिय उनी नयाँ पोस्ट नामक पत्रिकाका सञ्चालक र सम्पादक छन् । २३ भदौमा उनी रिपोर्टिङकै लागि बिहानै नारायणटारबाट बानेश्वरतर्फ निस्किए । करिब साढे ११ बजे उनी बानेश्वर पुगेका थिए । त्यहाँको माहोल एकाएक बदलियो । प्रहरीले क्रमश: रबर र मेटल गोली चलाउन थाल्यो । उनी ती दृश्यलाई फोटो/भिडियोमा कैद गरिरहेका थिए ।
०६२/६३ को द्वन्द्वकालमा रिपोर्टिङ अनुभव बोकेका शम्भुलाई जोगिएर फोटो/भिडियो खिच्नुपर्छ भन्ने चेतना थियो । ३ बजे आसपास बानेश्वर क्षेत्र रणमैदान बनेको थियो । 'प्रदर्शनकारीहरूले पर्खाल भत्काउँदै गरेको भिडियो खिच्न परै बसेर जुम गरिरहेको थिएँ,' उनी भदौ २३ सम्झिन्छन्, 'अचानक खुट्टामा केही ठोक्किएजस्तो लाग्यो । भतभती पोल्न थाल्यो ।' देब्रे खुट्टाबाट रगत बग्न थालेपछि उनी सम्हालिन सकेनन् । आफ्नै खुट्टामा उभ्भिन नसकेका उनलाई नजिकैका केही प्रदर्शनकारी आएर सम्हाले ।
'ओहो ! दाइलाई त गोली लागेछ', 'रगत रोक्किँदै रोकिएन', 'एम्बुलेन्स बोला एम्बुलेन्स'... यस्तै आवाज शम्भुको कानमा बारम्बार ठोक्किइरह्यो । प्रदर्शनकारीले एम्बुलेन्सको खोजी गरे, तर भेटिएन । रगत धेरै बग्न थालेपछि प्रदर्शनकारीले बोकेर नजिकैको एभरेस्ट अस्पताल पुर्याए । 'अस्पतालको सेतो टायल रगतले लतपतिको थियो । त्यहाँ पुगेपछि अलिअलि भएको बाँच्ने आशा पनि नहोला जस्तो थियो,' शम्भु भन्छन् ।
डाक्टरहरु नै त्रासमा थिए । रगत रोक्नका लागि ब्यान्डेज मात्रै थियो । औषधि पाइएन । 'त्यो दिन त ब्यान्डेज मात्रै लगाइयो, ' मोबाइलमा फोटो देखाउँदै उनी भन्छन्, 'रगत बाहिर देखिन थालेपछि फेरि बाहिरबाट अर्को ब्यान्डेज थप्दाथप्दा खुट्टा निकै ठूलो देखिएको थियो ।'
डाक्टरहरुको व्यस्तता र आफ्नो अवस्था देख्दा उनको मनमा एउटै प्रश्न बारम्बार आउँथ्यो- यसरी रगत बगिरह्यो भने त रगत सकेर मरिन्छ कि क्या हो ? तै चित्त बुझाउँथे- अस्पताल आइएको छ । बाँचिन्छ होला ।
साँझ ५ बजे आसपास उनलाई वीर अस्पताल रेफर गरियो । तर एम्बुलेन्स भेटिएन । आधा घण्टा कुरेपछि एउटा एम्बुलेन्समा तीन जना घाइतेसँगै कोच्चिएर उनी वीर पुगे ।
वीरमा अवस्था झनै डरलाग्दो थियो । 'ओपीडी खाली गरेर त्यहाँ म्याट ओछ्याएर घाइते सबैलाई राखिएको थियो, कसैको आँखा फुटेको त कसैको टाउको । कोही रोइरहेका त कोही चिच्याइरहेका,' अन्य घाइते देखेपछि शम्भुलाई लाग्यो, 'म त अरुभन्दा अलि सग्लै रहेछु !'
बेलुका ७ बजेतिर एक्सरे गर्ने पालो आयो । देब्रे खुट्टा 'मेटल' गोलीले छेडिएको रहेछ । खुट्टाको हड्डी पनि फुटेकाले डाक्टरले शल्यक्रिया गर्न भने । तर यहाँ त्यस्तो वातावरण थिएन । अस्पतालमा घाइतेहरु भरिँदै गएपछि उनको पालो निकै ढिला आउने भयो । २३ को रात दुखाइ र पीडैपीडामा बित्यो ।
000
२४ भदौमा झन् धेरै घाइतेहरु थपिए । दुई दिसम्म शम्भुले 'एन्टिबायोटिक'को सहारा लिए । त्यसपछि मात्रै शल्यक्रिया भयो । १७ दिन उनी अस्पतालमै बसे । यसबीच आफैलाई सोधिरहे- म क्रियाशील पत्रकार हुँ । २० वर्षदेखि मेरो एक मात्र पेसा पत्रकारिता मात्र हो । आफ्नो जीविका यसबाटै चलाउँछु । अन्य कुनै पेसा व्यवसायमा लागेर रहरले आएको होइन । मेरो एकेडेमिक लाइन पनि पत्रकारिता हो । मैले पत्रकारितामा डिग्री लिएर यही क्षेत्रमै समर्पित भएर काम गरिरहेको छु । अब के होला ?
उनले सोचेका थिए- पत्रकारहरू समस्यामा परे भने पत्रकार महासंघ छ, विभिन्न आईएनजीओ, एनजीओहरू छन्, राजनीतिक दलमा आबद्ध पत्रकार संघसंस्था छन्, सामाजिक संस्था पनि छन् । यसबीच उनलाई भेट्न कुनै संस्था आएनन् । 'धेरै पत्रकारको महासंघको सदस्यता शुल्क पार्टीले तिरिदिन्छ । तर म त आफै तिर्छु, आफै रिन्यू गर्दै आएको छु,' उनी खिन्न बन्छन्, 'यसबीच मैले पत्रकार महासंघको अध्यक्षको समेत अनुहार देखिनँ । पत्रकारलाई सहयोग गर्छौ भन्ने संघसंस्था त कता हराए कता !'
महासंघभन्दा अलि पर पुगेर पनि उनले सोचे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि छ । जो सञ्चार क्षेत्रसँग सरोकार राख्छ । उसको बेवास्ताबाट पनि शम्भु झन् दु:खी भए । सञ्चारकर्मबाटै स्थापित व्यक्ति अहिले सञ्चार मन्त्री छन् । 'उहाँ मन्त्री भएकै साढे दुई महिनाजति भयो । तर उहाँले कति पत्रकार घाइते भए, उनीहरुको स्थिति के छ भनेर अहिलेसम्म कुनै मतलब राख्नुभएन,' शम्भुले गुनासो गरे । उनको गुनासो यसकारण पनि स्वाभाविक छ कि अहिलेका मन्त्री लामो समय राजनीति गरेर आएका होइनन् । सञ्चार क्षेत्रमै दशकौं बिताएर आएका उनले पत्रकारको दु:ख-अभाव बुझ्नुपर्थ्यो भन्छन् उनी ।
पेसागत असुरक्षा
जागिर छोडेर स्वरोजगार बन्नुपर्छ भन्ने लाइनमा हिँडिरहेका थिए शम्भु । भर्खरै स्टुडियो बनाउने, न्यु मिडियामार्फत अगाडि बढ्ने सोच राखेर दत्तचित्त कर्ममा थिए ।
यतिबेला उनलाई शारीरिक पीडाको मात्रै चिन्ता छैन, आर्थिक संकटको पनि उत्तिकै पीर छ । 'ठ्याक्कै अब मेरो स्यालरी आउने स्थिति पनि भएन,' चोट लागेको खुट्टामा भन्किएका झिँगा धपाउँदै उनले सुनाए, 'झन्डै साढे दुई महिना भयो । मैले त कुनै पनि काम गर्न सकेको छैन ।' व्यावसायिक संकटसँगै पारिवारिक जिम्मेवारीले पनि उनी थिचिएका छन् ।
सरकारले उनका नाममा २० हजार उपचार खर्च दिएको थियो भने पत्रकार महासंघले २५ हजार । 'पत्रकार महासंघका महासचिव मेरो पूर्वसम्पादक पनि हो । उहाँ भेट्न आउनुभएको थियो । उहाँले नै खाता मागेर लानुभएको थियो । महासंघबाट २५ हजार आयो । त्यसका अलावा कतैबाट केही सहयोग आएको छैन ।’ आफूलाई प्राप्त धेरथोर सहयोगप्रति उनी कृतज्ञ नै छन् ।
जेनजी आन्दोलन र त्यसपछि उत्पन्न जटिल परिस्थितिमा रिपोर्टिङ गर्ने अरु पत्रकारले पनि शम्भुकै जस्तो नियति भोगिरहेका छन् । नयाँ पत्रिकाका दीपेन्द्र ढुंगाना हुन् या कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ । उनीहरु अहिले पनि फलोअप उपाचारका लागि धाइरहनुपरेको छ ।
जोखिमपूर्ण रिपोर्टिङमा जाँदा पत्रकारको सुरक्षा उपकरणका लागि मिडिया हाउसले बढी ख्याल गर्नुपर्ने शम्भु बताउँछन् । 'क्रिटिकल अवस्थामा रिपोर्टिङ गर्ने पत्रकारलाई अभिमुखीकरण पनि छैन, उनीहरुको लागि चाहिने सामग्रीको व्यवस्था पनि छैन । त्यो मिडिया हाउसले पनि गर्दैन । कतिपय पत्रकारलाई पनि त्यस खालको त्यति धेरै ज्ञान छैन,' उनी भन्छन् ।
अन्य पत्रकारको सुरक्षाबारे सोचिरहेका शम्भु स्वयंले कोभिडको समयमा पनि संकट भोगेका थिए । 'त्यो बेलामा पनि त्यस्तै संकट थियो । म दुई-तीनचोटि हस्पिटल रिपोर्टिङ गर्न जाँदा आफै संक्रमित भएँ । म संक्रमित भएपछि परिवार संक्रमित भयो । तर समाधान थिएन । त्यो बेला पनि त त्यस्तो कुनै व्यवस्था थिएन । हामी (पत्रकार) जोखिम मोलेर रिपोर्टिङमा गइरहेका हुन्छौं तर हाम्रा लागि को छ त ?' उनी प्रश्न गर्छन् ।
000
क्यान्टिनमा हल्लाखल्ला टुटेको छैन । नयाँनयाँ पात्र आइरहेका छन् । गइरहेका छन् । यत्तिकैमा कोलाहलबीच सुनिन्छ- टोकन नम्बर २३२ ।
शम्भु झस्किन्छन् र भन्छन्, ‘जति गफ गरे पनि नीतिगत रुपमा पत्रकारको पेसागत सुरक्षाका निम्ति काम नगरेसम्म यस्तै भइरहन्छ । खालि हामी स्टोरीमा रमाउनुबाहेक विकल्प छैन । अब त ती दिन पनि सक्किए जस्तो लाग्छ ।’
क्यान्टिनको टेबल नम्बर सातबाट उनी बैसाखीकै सहारामा उभिए । ‘मलाई फ्रिमा ल्याउन-लैजान सरकारले एम्बुलेन्सको व्यवस्था गर्ने भनेको थियो । तर प्रशासनिक झन्झट यति लामो कि पहिलो दिन नै ४ घण्टा कुर्दा पनि नआएपछि राइड सेयरिङ प्रयोग गर्ने गरेको छु ।’
व्यस्त सडकबाट सेतो रङको ट्याक्सी अस्पताल परिसर आइपुग्छ । दुवै बैसाखीको सहारामा ट्याक्सीभित्र छिर्दै गर्दा मुस्कुराउँदै उनले भने, ‘भाइ, मैले समाचार लेख्नचाहिँ छाडेको छैन । अहिले पनि घाइतेहरुको कथा लेखिरहेको छु ।’
