अर्मपर्म र ऐंचोपैंचोमै चलेको पाँचपोखरीको त्यो होटल

खेतबारीमा काम गर्दा आलोपालो गरेजस्तै होटल व्यवसायमा पनि अर्मपर्म र ऐंचोपैंचोले काम चलाइरहेको होटल सञ्चालक मिर्खे तामाङको भनाइ छ । ‘कहिले कुन होटल त कहिले कुन होटलमा भीडभाड हुने भएका कारण यस्तो चलन पाँचपोखरीका धेरै होटलमा रहेको छ,’ उनले भने ।

मंसिर १, २०८२

आरती पौडेल

That hotel in Panchpokhari that runs on a whim and a whim

What you should know

पाँचपोखरी — प्राकृतिक हिसाबले सुन्दर सिन्धुपाल्चोकको पाँचपोखरीमा अहिले पर्यटकको आकर्षण बढ्दो देखिएको छ । समुद्री सतहबाट ४१ सय मिटर उचाइमा रहेको पाँचपोखरीले प्राकृतिक हिसाबले मात्र नभएर धार्मिक रूपले पनि आन्तरिक पर्यटकलाई आकर्षण गरिरहेको छ ।

हेलम्बु सेक्टरअन्तर्गत भोताङ पोस्टले दिएको जानकारी अनुसार गत साउन महिनादेखि कात्तिक १३ गतेसम्ममा आन्तरिक पर्यटक ६ हजार २ सय ३५ जना भित्रिएका छन् भने सार्क राष्ट्रका १६ र अन्य देशका २८ जना पर्यटकले पनि पाँचपोखरीमा पाइला टेका छन् । 

यहाँ घुम्न आउने पर्यटक बढ्दै गएको पोस्टले जनाएको हो । पर्यटकको आगमनले पाँचपोखरीको गरिमा र महत्त्वलाई मात्रै उजागर गरेको छैन, यसले यहाँ वरपरका गाउँका साथै अन्य स्थानका मानिसलाई रोजगारी सिर्जनामा समेत सहयोग गरिरहेको छ । केहीले भारी बोकेर आफ्नो दैनिकी चलाएका छन् त केहीले पाँचपोखरीका विभिन्न स्थानमा होटल व्यवसाय गरेर आफ्नो जीविकोपार्जन गरिरहेका छन् । 

यसरी नै दैनिकी चलाइरहेकामध्येका एक हुन्– मिर्खे तामाङ । पाँचपोखरीको केही दूरीमा नीलो प्लास्टिकले ओत दिइएको टहरामा काठैकाठले बनाएको एक होटल छ, जसको नाम हो– पाचँपोखरी मानम् होटल एण्ड हामस्टे । होटलभित्र निकै व्यस्त थिए मिर्खे । उनीसँगै अन्य दुई जना व्यक्ति पनि काम गरिरहेका देखिन्थे । दुई जनामध्येका एकले रोटी बेल्दै थिए त एकले रोटी पकाउँदै ।

मिर्खे भने होटलभित्र पर्यटकले अर्डर गरेका पकवान ‘सर्भ’ गर्न व्यस्त देखिन्थे । उनी ठूलो स्वरमा ग्राहकलाई भनिरहेका थिए– ‘अब तरकारी सक्कियो है । रोटीमात्र खाने भए बन्छ ।’ एक पर्यटकले प्रश्न गरे– ‘दाइ ! दश रोटी र पाँच तरकारी गर्दिनु न हामीलाई ।’ मिर्खेले पर्यटकलाई जवाफ फर्काए, ‘हिजो यहीँ बस्नु भएको थियो । बेलुका भनेको थिएँ नि खानेकुरा सकिन्छ, पहिल्यै अर्डर दिएर घुम्न निस्कनु है बिहानमा भनेर,’ उनले फेरि थपे, ‘चाउचाउ खाने भए तुरुन्तै बन्छ । खाना नै खाने हो भने आधा घण्टा कुर्नुपर्छ । रोटी, तरकारी, अन्डा, चना सबै सक्कियो ।’ उनी त्यति भनेर फेरि आफ्नो काममा लागिरहेका थिए । 

उनको होटलमा खाजा खानेको भीड निकै नै भएका कारण कोही पर्यटक उभिएर खाइरहेका थिए त कोही आफ्नो खाजा आउने पर्खाइमा बसिरहेका थिए । निकै जाडो बढेका कारण धेरैजसो पर्यटक आगोको छेउमा गोलो आकारमा बसेर खाजा खाइरहेका पनि देखिन्थे । 

उनीसँग काम गरिरहेका अन्य दुई व्यक्ति उनका कामदार नभएर छिम्दीमा होटल गरिरहेका उनका गाउँले रहेछन् । मिर्खेका अनुसार त्यस समय उनको होटलमा भ्याइनभ्याइ हुने भएकाले पैंचो (पर्मा) लगाउन उनीहरू त्यहाँ आएका रहेछन् । भन्छन्, ‘हामीहरू सधैं यसरी नै अर्मपर्म र ऐंचो–पैंचो गरेर नै काम गर्छौं । खेतबारीमा काम गर्दा आलोपालो गरेजस्तै होटलमा पनि हामीले यस्तै थिति बसालेका छौं । मेरो होटलमा मान्छे आउँदा उनीहरू आउँछन् । अनि उनीहरूकोमा मान्छे प्रसस्त हुँदा म गैजान्छु ।’That hotel in Panchpokhari that runs on a whim and a whim

यस्तो चलन आफ्नो होटलमा मात्र नभएर पाँचपोखरीमा रहेका धेरै होटलमा रहेको उनी बताउँछन् । ‘सबै आफ्नै आफ्ना नै हुन्छन् । जसलाई सहयोग चाहिन्छ, उसैकोमा जाने हो,’ उनले भने, ‘धेरै पहिलेदेखि यस्तो चलन यहाँ चल्दै आएको छ ।’

अठार वर्ष भारतमा काम गरेका उनी केही वर्षअगाडि मात्र नेपाल आएका रहेछन् । उनी अर्काको देशमा काम गर्दागर्दै पैसा जम्मा गरेर आफ्नै गाउँमा होटल खोल्ने सपना बुनिरहन्थे । आफ्ना बाउबाजे गोठ बसेको ठाउँ अर्काको देशमा हुँदा उनको मनमा झलझलती आउँथ्यो । ‘होटल त म जति दुःख गरेर भए पनि गर्छु भन्ने मनमा थियो,’ उनले भने ।

डेढ वर्षजति भयो मिर्खेले पाँचपोखरीमा होटल गर्न थालेको । उनको यस होटलमा सिजनका बेला खुट्टा टेक्ने ठाउँ हुँदैन । तर धेरै खर्च सामान ओसारपोसार गर्दा लाग्ने उनी बताउँछन् । ‘गाउँघर त्यही पनि यति विकट ठाउँ छ । अहिलेसम्म बत्ती छैन । भरियाले एक बोरा चामल ल्याइदिँदा/एउटा सिलिन्डर ल्याउँदा सामानको भन्दा धेरै ज्याला तिनुपर्छ,’ उनले भने, ‘महंगो पनि कसरी भन्नु टाढा छ । बाटो पनि ठाडै उकालो डर लाग्ने छ । उनीहरूले नै सामान ल्याएर होटल चल्ने हो । हाम्रा लागि त यही सामान ल्याइदिने भगवान्समान हुन् ।’ 

उनी आफूले गर्ने व्यवहारले नै पर्यटकले सम्झेर आउने गरेको बताउँछन् । ‘पाँचपोखरी आउनु भएको पनि फर्की–फर्की यही होटलमा आउनुहुन्छ । यहाँ बसेर जानेले पनि आफ्ना साथी–भाइलाई त्यहाँ गएर बस्नु भनेर धेरैले पठाउनु भएको छ ।’ मिर्खे सोही कुराले आफूलाई निकै खुसी लाग्ने गरेको पनि बताउँछन् । ‘एक बारको जिन्दगीमा मरेर लानु के छ र ? मलाई त सबै जना आफ्नैजस्तो पो लाग्छन्,’ उनले भने ।

मिर्खेका अनुसार हरेक वर्ष भदौ एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने मेलाका कारण त्यस समय पाँचपोखरी आउने रुटदेखि माथिसम्मका सबै होटलमा निकै घुइँचो लाग्ने गर्छ । भन्छन्, ‘सबैभन्दा धेरै मान्छे त मेलाका बेला पो हुन्छन् । त्यसबेला धर्ममा विश्वास गर्नेहरू सारै धेरै आउनुहुन्छ । सुत्नै पो पाउँदैनौं हामी त,’ उनले भने, ‘त्यस मेलाका बेला होटलको सामान सकिन्छ । दिनदिनै भरियाले भारी ल्याउनुपर्छ । बस्ने फुर्सद हामीलाई पनि हुँदैन, भरियालाई पनि हुँदैन ।’ 

पैदल हिँडेर छिम्दीबाट भरियाहरूले होटलमा आवश्यक परेका सामान बोकेर ल्याइदिएको भरमा नै पाँचपोखरी जाने बाटोमा भेटिने होटलबाट पुग्ने बेलासम्मका होटलहरू चलेको मिर्खेसहितका त्यहाँ रहेका होटल व्यवसायीको भनाइ छ । 

मिर्खे सबैलाई बस्न सहज होस् भनेर आफूले सामान्य मूल्यमा बस्ने व्यवस्था गरेको बताउँछन् । भन्छन्, ‘धेरै जसो ठाउँमा महँगो छ । भारी बोकाएर सामान ल्याउनुपर्छ । त्यसैले पनि यहाा महागो छ । हाम्रोमा बास बस्नका लागि एक हजार रुपैयाँ लिन्छौं । पर्यटकले अन्य ठाउँको भन्दा सस्तो भन्नुहुन्छ ।’ उनको होटलमा खाना, चना, अण्डा, रोटी, तरकारी, चाउचाउ जस्ता खानेकुरा पाक्छन् ।

मिर्खे जाडो र गर्मी दुवै मौसममा पाँचपोखरी नै बस्ने गरेको बताउाछन् । ‘दसैं तिहारको बिदामा एक दिनमा ५० देखि ७० जनासम्म पर्यटकलाई राखेको थिएा,’ उनले भने, ‘यस्तो ठाउँमा काठमाडौंको जस्तो बस्ने व्यवस्था त कसरी दिन सक्छु र तर पनि मैले सक्नेजति गरेकै छु ।’ जनैपूर्णिमाको मेलामा भने आफ्नो होटलमा बस्ने, खाने पर्यटक यतिबेलाका भन्दा दोब्बर हुने उनी बताउाछन् । 

मिर्खे आफ्नै भूमिमा काम गर्न पाउँदा आफूलाई भाग्यमानी सम्झिन्छन्, ‘अरूको देशमा दुःख गर्नुभन्दा आफ्नै जन्मभूमिमा काम गर्न पाएकामा खुसी छु ।’ 

उनी पाँचपोखरीको विकास होस् भन्ने आफूले सधैं चाहेको बताउँछन् । पाँचपोखरी सबैले चिनेर आएमा आफ्नो गाउँठाउँको विकास हुन्थ्यो भन्ने उनलाई लाग्छ । ‘आफ्नो गाउँको माया कसलाई हुँदैन र ?,’ उनले कुराकानीको बिट मार्दै भने, ‘यहाँको विकास होस् । यहाँका मान्छेले रोजगारी पाऊन् भन्ने मजस्ता सबैलाई हुन्छ । यही हो गाउँको माया भनेको । हामीले सक्ने भनेको पनि गाउँलाई माया गर्ने मात्रै त हो ।’

आरती पौडेल

Link copied successfully