सफारी कुदाएर आफ्नो दैनिकी मात्रै पूरा गर्दिनन्, सफारी ब्लगरसमेत बनेर ‘भाइरल दिदी’ बनेकी छन् ।
What you should know
धरान — जब दिया ब्लग स्टिकर टाँसेको नीलो र कालो रंगको सफारी गुड्छ, त्यतिबेला धरानका गल्लीहरूमा बालबालिकादेखि बुढाबुढीसम्मको नजर त्यस सफारीमा टक्क अडिन्छ । कसैले मोबाइल निकालेर सेल्फी लिन्छन् त कसैले भिडियो बनाउन तँछाडमछाड गर्छन् ।
बाटामा उनका समर्थक र फ्यान फोटो खिच्न मरिहत्ते गर्छन् । ‘दिदी ! एउटा भिडियो बनाऊँ न !’ भन्दै उनको नजिक पुग्छन् । यस सहरमा उनलाई नचिन्ने कमै छन् । उनी हुन्– धरानकी सबैभन्दा कान्छी महिला सफारी चालक दिया । झट्ट हेर्दा पुरुषजस्तो देखिने दिया हकी स्वभावकी छन् । उनले लगाउने पोसाक र कपालको स्टाइल पनि पुरुषको जस्तै छ ।
धरान उपमहानगरपालिका–१५, बाझोगराकी २४ वर्षीया दियालाई अहिले सबैले ‘भाइरल दिदी’ भनेर चिन्न थालेका छन् । उनको यो परिचय सामाजिक संजाल टिकटकका कारण फेरिएको हो । दियाभन्दा पनि ‘भाइरल दिदी’ भनेर सबैले आफूलाई बोलाउने गरेको उनले सुनाइन् । ब्लगर, मोटर ब्लगर, फुड ब्लगर हुन्छ भने सफारी ब्लगर किन नहुने भन्दै उनले आफ्नो टिकटक आईडी ‘दिया हो नि’ मा सफारी ब्लगर बनाएर हाल्न थालिन् । सफारी कुदाएर उनले आफ्नो दैनिकी टिकटकमा हाल्ने गर्थिन्, टिकटक चलाएको झण्डै २ वर्षपछि उनी भाइरल बनेकी हुन् । उनको ‘दिया हो नि’ आईडीमा पोस्ट भएको भिडियोमा २ मिलियनसम्म भ्युज पुगेको देखिन्छ भने २५ हजार उनका फलोअर्स छन् ।
सामाजिक संजाल टिकटकमा भाइरल हुनुअगाडि समाजले हेर्ने नजर र भाइरल भएपछि हेर्ने नजर नै बदलिएको दियाको अनुभव छ । ‘भाइरल भएपछि सबैले राम्रो व्यवहार गरेका छन्, पहिला जुन समाजले हेलाँ गर्थ्यो, आज त्यसैले गुणगान गाउँदा धेरै खुसी लागेको छ,’ उनले भनिन्, ‘मेरो आमालाई पहिला मेराबारे नराम्रो भन्नेले पनि आज सम्मानसाथ तिम्री छोरीले केही गर्छे भनेर आडभरोसा दिन्छन् ।’
टिकटकमा हँसी मज्जाक गर्दै भिडियो बनाउने दियाको वास्तविक जीवन भने पीडा र करुणादायी छ । शारीरिक वनावट र उनको लुगा लगाउने तौरतरिकाले उनी दुर्व्यवहारमा पनि पर्ने गर्थिन् ।
साधारण परिवार र बुवा बोल्न नसक्ने भएका कारण आफन्त र समाजको हेपाइ एवं घृणा सहनुपरेको दियाको बाल्यकालीन अनुभव छ । ‘बुवा बोल्न सक्नु हुँदैन थियो । त्यसैको फाइदा उठाउँदै मान्छेले अपाङ्ग, लाटा भनेर बुवालाई हेप्थे । त्यति मात्र होइन, त्यस्ताको सन्तान भन्दै मलाई पनि नानाथरी भन्थे,’ उनले भनिन्, ‘हामी त्यतिबेला अभावमा बाँचिरहेका थियौं । अर्काको घरमा काम गर्दै ४ जना छोराछोरीलाई पढाइरहनु भएको थियो ।’
सानै उमेरदेखि दियाले पनि अर्काको घरमा काम गर्दै पढ्ने खर्च जोहो गर्थिन् । बुवाको मृत्युपश्चात् उनको जीवनमा थप बज्रापात पर्यो । बुवाको मुत्युको शोक सेलाउन नपाइ माइली दिदीको मृत्युले झनै परिवार शोकमा डुब्यो । यसरी सानै उमेरमा आफ्नो काँधमा परिवारको बोझ थपिएको दियाले सुनाइन् । ‘जेठी दिदी विवाह गरेर गइसकेका कारण अब भाइ र आमाको दायित्व मेरो काँधमा आयो,’ उनले भनिन्, ‘त्यसैले १३ वर्षको उमेरमा न्युट्रेला फ्याक्टीमा काम गरेँ । विद्यालय जाँदै सानै उमेरमा विभिन्न ठाउँमा काम गर्दै घरखर्च जोहो गर्ने गर्थें ।’
सानै उमेरदेखि घरको जिम्मेवारीले थिचिएको उनको जीवनमा आफू घरको जेठा छोरा हुँ भन्ने लाग्थ्यो । त्यसैले अरू जस्तै शृंगारिएर कहिल्यै हिँड्नु पर्छ भन्ने उनलाई लागेन । जहिल्यै पुरुषको जस्तै लुगा लगाएर उनी हिँड्ने गर्थिन् । छोटो कपाल र लुगा पनि पुरुषका जस्तै लगाएको देखेर सबैले उनलाई सुरुमा भाइ भन्थे । जसका कारण उनी मजाक र दुर्व्यवहारको सिकार पनि बन्न पुग्ने गर्थिन् । उनी भन्छिन्, ‘मलाई मान्छेहरूले मेरो शारीरिक वनावटलाई लिएर दुर्व्यवहार गर्ने गर्थे, मजाक उडाउँथे ।’
बाल्यकालदेखि नै उनले मिहिनेत र धैर्यलाई जीवनको हिस्सा बनाइन् । काम गरेर उनले जीवनका विभिन्न चुनौतीको सामना गर्दै अगाडि बढिन् । उनले किराना पसल, कस्मेटिक, चिप्स फ्याक्ट्री, होटलदेखि घरमा रंग लगाउने कामसम्म गरिन् । उनको यो यात्रा यहाँसम्म मात्र रोकिएन, उनी धरानको कान्छी सफारी चालक भएर अहिले सफारी कुदाउँदै छिन् । काम गर्दै उनले १२ कक्षा पास गरिन् र स्नातक तहमा मानविकी संकायमा भर्ना लिइन् । तर विदेश जाने हुटहुटीले उनले बीचमै पढाइ छाडिन् । जापान जाने सोच भए पनि आर्थिक अवस्थाका कारण उनी यहीँ रोकिइन् ।
सफारी कुदाउँदा सुरुका दिन सजिला थिएनन् । उनी दिनको ७ सय भाडा तिरेर सफारी कुदाउँथिन् । बिहान ५ बजेदेखि राती १० बजेसम्म उनी सफारी कुदाउने, दिनमा भएको रकमबाट सफारी मालिकलाई दिनको ७ सय बुझाउँथिन् र बाँकी रहेको पैसाबाट घरमा सरसामान तरकारी लाने गर्छिन् । उनका अनुसार दिनमा कहिले हजार त कहिले बढी नि हुने गरेको छ तर कहिले दिनमा ७ सय नि नहुँदा आफ्नो गोजीबाट साहुलाई दिने गरेको उनले बताइन् ।
महिनामा १५/२० हजार कमाइ हुन्छ । त्यो पनि कहिले कम हुन्छ । दिनमा कमाएको पैसा दिनमै सकिन्छ । घरमा सागसब्जी, घरखर्च टार्दै आफूले कमाएको रकम सिद्धिने गरेको उनले बताइन् । ‘दुई वर्ष भैसक्यो सफारी कुदाएको तर अहिलेसम्म सुको बचत गर्न सकेकी छैन,’ उनले भनिन् । सानै उमेरदेखि सामाजको हेपाइविरुद्ध संघर्ष गर्दै उनले सामाजको परिवेशलाई पनि राम्ररी बुझेकी थिइन् । गरिबीमा हुर्किएर सामाजिक भेदभाव त उनले सानैदेखि सहँदै आएकी थिइन् । त्यसैले पनि उनी भावनात्मक रूपमा बलियो भइसकेकी थिइन् । मान्छेहरूसँग कसरी व्यवहार गर्ने बुझेकी थिइन् ।
चालकका रूपमा पुरुषभन्दा महिलालाई जोखिम हुने गरेको उनले सुनाइन् तर मान्छेको प्रवृत्ति हेरेर र रातको समय निकै होसियार भएर सफारी कुदाउने गरेको उनले बताइन् ।
दुई वर्ष सफारी चालकका रूपमा काम गर्दा सामाजले हेर्ने दृष्टिकोण ज्यादै फरक पाएको आफ्नो अनुभव उनले सुनाइन् । ‘एक त महिला र अर्को भनेको चालकलाई हेर्ने दृष्टिकोण धेरै लजास्पद छ,’ उनले मुस्कुराउँदै भनिन्, ‘सफारी कुदाउने मान्छे अनपढ हुन्छन् रे !’ लगाएको लुगा र पेसाका आधारमा कसैको तुलना गर्नु तुच्छता सिवाय केही नभएको दियाले सुनाइन् ।
सामाजिक सञ्जालले उनको कथा अझ फराकिलो बनाइदिएको छ । ७–८ महिनाअगाडि भाइरल बनेपछि मान्छेले उनलाई हेर्ने दुष्टिकोणमा परिर्वतन भएको दियाले महसुस गर्न थालेकी छन् । त्यससँगै माया, सम्मान र कति मान्छेले आफ्नालागि प्रेरणादायी भएको भन्ने म्यासेज पठाउन थालेपछि आफू ज्यादै फुरुंग भएको दियाले सुनाइन् ।
‘जिन्दगीमा मैले कल्पना पनि गरेकी थिइनँ कि आज म कसैको प्रेरणा पनि बन्न सक्छु भनेर,’ उनले भनिन्, ‘म सधैं बेबो दिदीको फ्यान थिएँ । उहाँको मिहिनेत र संघर्षको कथा झण्डै मेरो जीवनसँग मेल खाने खालको थियो । त्यसैले म उहाँको जीवनीबाट प्रेरित थिएँ । बेबो र सुरक्षा दिदीको ‘बिग फ्यान’ थिएँ र आज उहाँहरूकै कारण म नि भाइरल भएकी हुँ । उहाँसँगको भिडियोमा मलाई धेरैले रुचाउनु भयो । माया, साथ र सपोर्ट दिनुभयो,’ उनले भनिन् ।
उनी भाइरल भएपश्चात् पीआर प्याकेज पाउन थालिन् । विज्ञापनका अवसरहरू आउन थाले । आज उनी सफारी यात्रीको ब्रान्ड एम्बेसडर पनि छिन् । ‘आफ्नो ठूलो फोटो देख्दा मख्ख भएँ,’ उनले भनिन्, ‘सफारीलाई पनि डिजिटल यात्रासम्म पुर्याउन पाउँदा धेरै खुसी लाग्छ । सफारी यात्री एपमा अनलाइनबाट सफारी बुकिङ गर्न पाइन्छ ।’ इटहरीमा धेरै सफारी चालकहरू यस यात्रामा जोडिएको उनले बताइन् । उनका अनुसार धरानमा पनि यसको सुरुवात हुँदैछ ।
दियाको जीवनको कथा केवल सफलता र लोकप्रियताको कथा मात्र होइन । यो कथा हो– संघर्ष, धैर्य, सपना र आत्मविश्वासको पनि । दियाबाट ‘भाइरल दिदी’ सम्मको यात्रामा उनले देखाएकी छन् कि सीमित स्रोत, बाल्यकालको चुनौती र समाजको आलोचनाले कसैलाई रोक्न सक्दैन । जो आफ्नो सपना पछ्याउन चाहन्छ, समाजमा सकारात्मक प्रभाव पार्न चाहन्छ, हौसला, मिहिनेत र सकारात्मक सोचले मात्र मानिसले आफ्नो पहिचान बनाउँन सक्छ भन्ने उदाहरण बनेकी छिन् ।
सफारी चालकबाट सुरु भएर ‘भाइरल दिदी’का रूपमा सामाजिक संजालमा छाएकी दिया आज केवल व्यावसायिक मात्र होइन, सामाजिक प्रभावका हिसाबले पनि प्रेरणाको स्रोत बनेकी छिन् ।
