जेन–जी पुस्ताको सुनौलो सपना

खरानीबाट उठेर भ्रष्टाचारमुक्त देश बनाउने युवा अठोट ।

कार्तिक १९, २०८२

आरती पौडेल

The golden dream of the Gen-G generation

काठमाडौँ — जेन–जी आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा ७५ जनाले ज्यान गुमाए । सयौं घाइते भए । प्रदर्शनका क्रममा हिंसाका घटना मात्रै नभएर सरकारी तथा निजी संरचनामा आगलागी र विध्वंस पनि भयो ।

देशका विभिन्न जेलबाट कैदीबन्दीहरू भागे, सिंहदरबार, सर्वोच्च अदालतजस्ता कैयन् स्थानमा आगो लगाइयो । यसलाई लिएर जे गर्छु नेपालमै गर्छु भन्ने सोच बनाएका जेन–जी युवालाई आन्दोलनले कत्तिको प्रभाव पारेको छ त ? देशमै बसेर केही गर्ने सपना साँचेका युवाहरू अन्योलबीच पनि कत्तिको आशा देखिरहेका छन् त ? प्रतिनिधिमूलक जेन–जी युवाका विचार सुन्दा उनीहरूको सपनामाथि अन्योलको बादल मडारिरहेको भान हुन्छ ।

नुवाकोट घर भएकी २३ वर्षीया प्रतिमा सापकोटा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्ययनरत छिन् । नेपालमै केही गर्ने सोचले विदेश नगएको बताउने उनी जेन–जी आन्दोलनमा भएको मानवीयसँगै भौतिक क्षति देखेर देशमा केही गर्ने आशा र सपना दुवै हराएको बताउँछिन् । उनी भन्छिन्, ‘मास्टर्स सकेपछि आफ्नै देशमा बसेर जागिर खाने, पेसा व्यवसाय गर्ने सोच बनाएकी थिएँ । आन्दोलनले सपना पनि टुट्यो, डर पनि लाग्यो । अहिले विदेश नगएर किन नेपालमा बसेछु भन्ने रिग्रेट भइरहेको छ ।’ 

आन्दोलनमा भएको जनधनको क्षतिले आफूलाई निकै निराश बनाएको पनि प्रतिमाले सुनाइन् । ‘कल्पना नै नगरेको यति धेरै निर्दोष साथीहरू हामीले आन्दोलनमा गुमाउनु पर्‍यो, त्यो कुराले निकै दुःख लागेको छ । भ्रष्टाचार र बेतिथिको अन्त्य गर्न आन्दोलन भनेर जनताले तिरेको कर, विदेशी सहयोगबाट बनेका सरकारी संरचना जल्दा आफ्नै घरमा कसैले आगो लगाएजस्तो भयो,’ उनले भनिन्, ‘देशमा लगानी गरेका ठूला व्यवसायी जसले देश विकासमा योगदान पुर्‍याएका छन्, सर्वसाधारणलाई रोजगार सिर्जना गरेका थिए । सबै जलाएको देख्दा अब मलाई देशमा सामान्य व्यवसाय गरेर बस्छु भन्ने साहस पनि छैन ।’

मानसिक डर र त्रासका साथै नेपालमै केही गर्ने सोच राखेका धेरै युवाको यस आन्दोलनले मनोबल गिराएको उनले बताइन् । सरकारी सेवामा आफ्नो भविष्य कोर्ने सपना बोकेका युवाहरूलाई पनि जेन–जी आन्दोलनका क्रममा भएका घटनाले निकै दुःखी तुल्याएको उनको तर्क छ । 

यसरी नै सरकारी जागिर खाने सोचमा थिए कास्की घर भएका २३ वर्षीय बलराम पौडेल पनि । भौतिक विज्ञानमा स्नातक सकेर बसेका उनलाई पनि देशमा बस्छु र केही गर्छु भन्ने थियो । भ्रष्टाचारविरुद्धको आन्दोलन आफ्नै पुस्ताका साथीहरूले गर्ने कुरा सामाजिक सञ्जालमार्फत थाहा पाएपछि भदौ २३ गते उनी पनि पोखरामा आन्दोलनमा सहभागी भएका थिए । साथीहरूसँग मिलेर र्‍यालीमा पुगेका उनी केही समयपछि आफूले सोचेजस्तो आन्दोलन नभएपछि फर्केको बताउँछन् । भन्छन्, ‘हामी त भ्रष्टाचारविरुद्धको आन्दोलन भन्ने तरिकाले नै गएका थियौं । काठमाडौंमा धेरै साथीहरूको ज्यान गयो भन्ने खबर आयो । पोखरामा पनि आन्दोलनले हामीले सोचेभन्दा फरक शैली लिएपछि हामी निराश हुँदै घर फर्केका थियौं ।’ The golden dream of the Gen-G generationबलराम पौडेल

आन्दोलनको पहिलो र दोस्रो दिन भएको घटनाले सपना र विपना छुट्याउनै मुस्किल भएको र देशमै केही गर्छु भन्ने सोच पनि हराउँदै गएको बलरामले बताए । ‘आन्दोलनको उद्देश्य एउटा थियो, परिणामा अर्को हुन पुग्यो । हामीलाई चाहिएको भ्रष्टाचारमुक्त देश थियो । सबै कुरा तहसनहस भयो । आन्दोलनमा घुसपैठ भएकै हो,’ उनले भने, ‘सरकारी जागिर खाने र आफ्नै देशमा बस्ने सोचेको थिएँ । देशको अवस्था देखेर अब विदेशबाहेक अरु अप्सन छैन कि जस्तो लाग्न थालेको छ । लोकसेवाको तयारी गर्दै थिएँ । आन्दोलनपछि पुनः तयारी गरौं वा नगरौं भन्ने दोधारमा पुगेको छु ।’ जेन–जीको नाम बेचेर मच्याइएका विध्वंस र आगालागी देखेर आफू निकै दुःखी भएको बलरामले सुनाए ।The golden dream of the Gen-G generationसताक्षी मिश्र 

चितवन घर भएकी सताक्षी मिश्र पेसाले इन्जिनियर हुन् । २५ वर्षकी सताक्षी भने नेपालमा धेरै अवसर भएको र सबै मिलेर अगाडि बढेमा देशलाई पहिलाको भन्दा धेरै राम्रो बनाउन सकिने बताउँछिन् । ‘देशका संरचना जले अब केही गर्न सकिँदैन भन्ने भाष्य निर्माण गर्नु गलत हो । अवसरहरू चिन्न सकेमा नेपालमा धेरै अवसर छन् । कहिले भूकम्पले त कहिले कोभिडले दुःख दियो, तर हामी उठ्यौं । सबै एकजुट हुने हो भने संरचना पनि पुःन निर्माण गर्न सकिन्छ । देश पनि भनेको जस्तो बनाउन सकिन्छ,’ उनले भनिन्, ‘विदेशमा बस्ने नेपालीहरूले त्यहाँ सिकेको सीपलाई आफ्नै देशमा आएर निरन्तरता दिने हो भने, कुशल राजनीतिज्ञले देश चलाउने हो भने, युवाले देशमै अवसरको खोजी गर्ने हो भने हामी सजिलै राम्रो गर्न सक्छौं ।’ बिल्डिङ कन्सल्टेन्ट रहेकी मिश्रले देश बनाउन आफूले हरेक तरिकाले सहयोग समेत गर्ने बताइन् । The golden dream of the Gen-G generationदीपिका पोख्रेल

स्नातक सकेर म्यानपावर कम्पनीमा काम गरिरहेकी इलाम घर भएकी २४ वर्षीया दीपिका पोख्रेल पनि अब देशले सकारात्मक दिशा लिन्छ भन्नेमा ढुक्क भएको बताउँछिन् । ‘पहिला विदेश जाने सोचमा थिएँ । अब भने नेपालमै केही गर्ने सोचेकी छु । हामीले भत्केको, जलेको देखेर सबै कुरालाई नराम्रो तरिकाले सोच्नु हुँदैन । अहिलेसम्म जे भए पनि अब युवाहरू राजनीतिमा आए भने, भ्रष्टाचारमुक्त देश भयो भने यो सबै फेरि बनाउन सकिहालिन्छ,’ उनले भनिन्, ‘आन्दोलनका क्रममा धेरैको मृत्यु भयो । त्यो कुराले दुःख लागेको छ । तर त्यसबेला नेता, कार्यकर्ताका घर जलेको देख्दा अब भने जो कोहीले भ्रष्टाचार गर्न खोजेमा यही आन्दोलन सम्झेर डरले पनि गर्दैनन् जस्तो लाग्छ ।’

निराशा र अन्योलबीच पनि युवाहरूले सुनौलो नेपालको सपना भने देखेका छन् । युवाहरूकै जोडबलमा खरानीबाट उठेर भ्रष्टाचारमुक्त देश बनाउन सकिन्छ भने युवा अठोट साँच्चै प्रशंसनीय छ ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully