बब्लु गुप्ता : परोपकारी कामबाट चर्चित, जेन–जी आन्दोलनबाट मन्त्री

परोपकारी समूह ‘१०० ग्रुप’ का संस्थापक बब्लुले भूकम्प र कोभिडका बेलामा कपडा बैंकमार्फत लत्ताकपडा र निःशुल्क खाना खुवाउने अभियान नै थालेका थिए ।

कार्तिक ११, २०८२

समर्पण श्री

Bablu Gupta: Famous for his charitable work, minister for the Gen-G movement

What you should know

काठमाडौँ — सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीहरू नियुक्ति भइरहँदा जेन–जी अभियन्ताहरूको एउटा असन्तुष्टि थियो, ‘सरकारमा जेन–जी मन्त्रीहरूकै प्रतिनिधित्व खोइ ?’

सोही प्रश्नलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आइतबार २८ वर्षीय बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरिन् । उनी यो मन्त्रिपरिषद्का सबैभन्दा कान्छा सदस्य पनि हुन् । 

कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएयता गुप्ताको नाम मन्त्रीमा सिफारिस हुने र काटिने क्रम चलिरह्यो । उनी आफैं पनि मन्त्री बन्ने दौडधुपमा थिए । मन्त्रीमा नियुक्त भएलगत्तै उनीमाथि विभिन्न टीकाटिप्पणी आउन थालेका छन् । सामाजिक सञ्जालमा कसैले उनका विगतका कामलाई लिएर प्रशंसा गरिरहेका छन् भने कसैले विभिन्न आरोप पनि लगाइरहेका छन् ।

सामाजिक कामबाट चर्चामा थिए

बब्लु परोपकारी समूह ‘१०० ग्रुप’ का संस्थापक हुन् । सोही समूहमार्फत बब्लुले विभिन्न सामाजिक कामहरू गर्दै आएका थिए । कपडा बैंक र कोभिडका बेलामा निःशुल्क खाना खुवाउने अभियानबाट उनी चर्चामा आएका हुन् । ‘१०० ग्रुप’ मा ८०–९० जना सक्रिय सदस्य छन् । जो भूकम्प, कोभिड वा जेन–जी आन्दोलनका घाइतेलाई सहयोग गर्न फिल्डमै खटिएका थिए ।

Bablu Gupta: Famous for his charitable work, minister for the Gen-G movement

सिरहाको लहानमा जन्मिएका बब्लुले काठमाडौंमै पढे । सामाजिक काममा भने उनी एक दशकदेखि सक्रिय भए । प्लस टु पढ्ने बेला एक वृद्धलाई काठमाडौंमा गाडीले ठक्कर दिँदा बब्लुसहितकाले ती घाइतेलाई समयमै अस्पताल पुर्‍याएर सहयोग गरेका थिए । सोही घटनापछि नै बब्लु सामाजिक काममा सक्रियतापूर्वक लागे । त्यसपछि बिरामीका लागि रक्तदान, वैदेशिक रोजगारीका नाममा हुने ठगीमा परेका वा फसेकाहरूलाई उद्धारजस्ता कार्यमा उनको समूहले सक्रिय भूमिका खेल्यो ।

त्यसपछि कपडा बैंक स्थापना गरेर लत्ताकपडा नहुने सर्वसाधारणका लागि सहयोग गरे । कपडा बैंकमा सहयोग गर्न चाहनेहरूले आफ्नो कपडा राख्थे । आवश्यकता परेकाहरूले उक्त बैंकबाट कपडा छानेर लगाउँथे । कालीकोट, जुम्ला र तराईका विभिन्न ठाउँमा ‘१०० ग्रुप’ ले पुराना तर प्रयोगयोग्य कपडाहरू वितरण गर्ने कामसमेत गर्‍यो ।

उनीहरूले सुरुमा गरिब विद्यार्थीलाई पढाउनका लागि साथीहरूमाझ रकम उठाएर सहयोगसमेत गरे । पछि ‘प्रोजेक्ट शिक्षा’ नामक अभियानमार्फत थुप्रै विद्यार्थीलाई निःशुल्क पढाए । गुह्येश्वरीमा दुई रोपनी जग्गा भाडामा लिएर कुरुवा घर निर्माण गरे । ‘१०० ग्रुप’ ले १ सय १० जना विद्यार्थीलाई खाने, बस्नेसहित निःशुल्क कलेज पढाइरहेको पनि छ ।

कोभिड महामारीका बेलामा थुप्रै मानिसहरू भोको हुँदा ‘१०० ग्रुप’ ले रत्नपार्कमा निःशुल्क खानाको बन्दोबस्त गर्थ्यो । ‘१०० ग्रुप’ को दर्ता भने बब्लुले सन् २०२२ मा मात्र गराएका हुन् । दुई वर्षअघि जाजरकोटमा भूकम्प जाँदा पनि उक्त समूहले त्यहाँ लत्ताकपडा, खाना तथा स्कुलका भवनहरू बनाउन सहयोग गरेको थियो । त्यतिबेला बब्लुको समूहले तीन महिना जाजरकोटमा नै बसेर एनसेलसँगको सहकार्यमा स्कुलका भवनहरू बनाउने काम गरेको थियो ।

Bablu Gupta: Famous for his charitable work, minister for the Gen-G movement

बब्लु विभिन्न आन्दोलनमा सडकमा पनि आउँछन् । निर्मला पन्त हत्याकाण्डदेखि उखु किसानहरूको आन्दोलनमा पनि उनी सडकमै थिए । २ असोज २०७७ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै माइतीघरमा गरेको प्रदर्शनीमा त बब्लुले निर्घात कुटाइ खाएका थिए । त्यतिबेला उनी घाइतेसमेत भएका थिए । उनले कुटाइ खाएको भिडियो त्यतिबेला ‘भाइरल’ भएको थियो । गत २३ र २४ भदौमा भएको जेन–जी प्रदर्शनीमा पनि बब्लु अग्रपंक्तिमा थिए । उनको संस्था ‘१०० ग्रुप’ ले आन्दोलनमा पानी र गाडीको व्यवस्था गरेको थियो । सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनको तयारीका लागि उनीहरूले ‘हामी नेपाल’ सँग सहकार्य गरेका थिए । आन्दोलनका घाइतेहरूलाई रक्तदानदेखि विभिन्न आर्थिक तथा खाद्यान्न सहयोग पनि गरे ।

तर विवादमुक्त छैनन्

सामाजिक कामबाट गतिलो छवि बनाए पनि बब्लु विवादमुक्त भने छैनन् । उनलाई ‘भाडाका आन्दोलनकारी’ भन्ने आरोप पनि लाग्ने गरेको छ । मन्त्री नियुक्ति भएयता उनीमाथि सामाजिक सञ्जालमा प्रश्न उठाउनेको पनि कमी छैन । २०७८ मंसिरमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा आन्दोलन गर्दा उनी विवादमा तानिए । त्यतिबेला शेरबहादुर देउवा सरकारमा भाग खोजेको आरोप खेपिरहेका जबरा स्वयं विवादित बनेका थिए । चोलेन्द्रको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको प्रदर्शनमा जबरा पक्षबाट रकम लिएर उनको पक्षमा आन्दोलन गरेको आरोप गुप्तालाई लागेको थियो । उनले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् । उनले न्यायिक काम नरोकियोस् भन्नका लागि सर्वोच्च अदालत खुला हुनुपर्ने मागसहित उक्त प्रदर्शन गरेको बताएका थिए ।

बब्लु मन्त्री नियुक्त भएलगत्तै शोभा पाठक भनेर चिनिने जानुका पाठकले आफूलाई ‘पैसाका लागि जे पनि गर्ने’ भन्दै विभिन्न धम्की दिएको आरोप लगाएकी छन् । पाठकले एक युट्युब च्यानलमार्फत लगाएको आरोप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । बब्लुले एमाले नेता महेश बस्नेतसँग मिलेर आफूलाई दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्न धम्की दिएको पनि पाठकको आरोप छ । ‘बब्लु गुप्तासँग प्रत्यक्ष चिनजान थिएन । म मरे भने, मलाई मारियो भने दुर्गा प्रसार्इंलाई समातेर जेलमा हाल्नु भनेर रेकर्ड गर्न लगाइयो । त्यो रेकर्ड बब्लु गुप्ताले नै गरेका थिए । जुन बेला हाम्रो बेडको फोटो सार्वजनिक भएको थियो...,’ उनले भनेकी छन् ।

गुप्ताले भने आफूलाई लागेका आरोपबारे कुनै प्रतिक्रिया दिएका छैनन् । कान्तिपुरले फोन सम्पर्क गर्दा उनले आरोपबारे केही बोल्न चाहेनन् । उनले सामाजिक सञ्जालमा आएका आरोपहरूबारे तत्काल प्रतिक्रिया नदिने बरु काम गरेर नतिजा देखाएरै आफूले प्रमाणित गर्ने बताए ।

सामाजिक कार्यको आर्थिक स्रोतबारे पनि प्रश्न

गुप्ताले सामाजिक काम गर्दा आर्थिक स्रोत कहाँबाट जुटाए ? यसबारे पनि विभिन्न प्रश्नहरू तेर्सिन थालेका छन् । कान्तिपुरकर्मीसँग एक महिनाअघि गरेको कुराकानीमा उनले कोभिडको बेला रत्नपार्कमा खाना खुवाउन सुरु गर्दा साथमा १ हजार ५ सय रुपैयाँ भएको बताएका थिए । ‘सुरु गर्दा १५०० रुपैयाँ थियो । डेढ सय जना मान्छे आएका थिए । अनामनगरस्थित खाली जग्गामा खाना बनाउन सुरु गर्‍यौं । बिस्तारै दाताहरूले अलिअलि सहयोग गर्न थाले,’ उनले भनेका थिए, ‘हरेक बिहान खाना कसरी जुटाउने भन्ने हुन्थ्यो । तर कोही न कोही सहयोग गर्न आइहाल्थे ।’

Bablu Gupta: Famous for his charitable work, minister for the Gen-G movement

प्रोजेक्ट शिक्षाका लागि पनि साथीहरूबाटै आर्थिक सहयोग उठिरहेको उनले बताएका थिए । ‘सुरुमा साथीहरूबाटै उठाएर गर्‍यौं, अहिले त यहीँबाट पढेर ‘ग्र्याजुएट’ भइसकेका विद्यार्थीहरूले पनि स्वदेश/विदेशदेखि आर्थिक सहयोग गर्नु हुन्छ,’ उनले भनेका थिए । अहिले पनि उनले कोभिडका बेला ९ महिना खाना खुवाउँदा जुटेका स्रोतबारे यही कुरा दोहोर्‍याए । ‘हामीले काम गरिरहेको देखेर कसैले दाल दिए, कसैले चामल दिए, कसैले नुनतेलजस्ता खाद्यान्न सामग्रीहरू दिए । त्यसरी नै हामी चलेका थियौं,’ गुप्ताले भने ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully