अविरल वर्षापछि आएको भीषण पहिरोले दर्जनौं घर पुरिँदा सात जनाको ज्यान गयो, सडक र बिजुली सेवा पूर्णरूपमा अवरुद्ध छन्।
What you should know
इलाम — भारतको दार्जिलिङसँग साँध सीमा जोडिएको उत्तरी इलामको सन्दकपुर गाउँपालिका पर्यटकीय गन्तव्य पनि हो। देशी–विदेशी पर्यटकलाई मोहित पार्ने यो ठाउँ अहिले विपद्को आँसुमा चुर्लुम्मै डुबेको छ।
असोज १८ र १९ गतेको अविरल वर्षा र त्यसपछि आएको भीषण पहिरोले सन्दकपुर गाउँपालिकाका पाँच वटै वडा प्रभावित भए। आरी घोप्टे वर्षासँगै पहिरो खस्दा सिङ्गो वडा प्रभावित भयो।
दर्जनौँ घरहरू पहिरोमा पुरिए।सँगै पुरिए सात जना स्थानीय पनि।
दसैंको उल्लासमा थिए सबै। तर विपद्ले त्यो उल्लासलाई क्षणभरमै शोकमा बदलिदियो। सन्दकपुर–१ छाँगेकी ६६ वर्षीया हरिमाया राई र ४३ वर्षका छोरा भीमबहादुर राईलाई सुतेकै ठाउँमा पहिरोले पुर्यो।
अघिल्लो दिनसम्म उल्लासमय सन्दकपुर गाउँमा भोलिपल्ट उज्यालो नहुँदै सन्नाटा छायो।
त्यसै रात वडा नं. ३ टारीकी आमा–छोरी–७१ वर्षीया शारदा सेढाईं र ५० वर्षीया तारादेवी सेढाईं पनि पहिरोसँगै बिलाए। वडा नं. ४ भिरगाउँका शेखर राई (४५) र देवीका राई (४६), अनि वडा नं. ५ मझुवाका २४ वर्षीय प्रवेश गुरुङलाई पनि पहिरोले एकै गाँस बनायो।
सडक टुटे, सम्बन्ध छुटे
पहिरोसँगै टुट्यो गाउँपालिकालाई छिमेकी पालिकाहरूसँग जोड्ने सडक सञ्जाल र सम्बन्ध। मृतक, घाइते र पीडितहरूलाई तत्काल उद्धार गर्न सक्ने अवस्था पनि थिएन। जसले सिंगो गाउँपालिकालाई पहिरोले बन्दी बनायो, लामो समयसम्म।
‘अहिले पनि सडकको अवस्था उस्तै छ, सिङ्गो गाउँ अन्धकारमै छ,’ गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले मलिन स्वरमा भने, ‘सडक सञ्चालन गर्ने र बिजुलीको उज्यालोका लागि तीव्र गतिमा काम भइरहेको छ।’
खासगरी पहिरोले इलामका दर्जनौँ साना–ठूला जलविद्युत् आयोजनाहरूमा क्षति पुर्याएका कारण विद्युत् प्रवाहमा समस्या भएको हो।
‘सन्दकपुर अहिले पूर्ण अन्धकारमा छ,’ अध्यक्ष गुरुङले भने, ‘जनतालाई चाँडै उज्यालो दिनका लागि हामी लागिपरेका छौँ।’
वडा नं. २ मा मानवीय क्षति भएन, तर ४० घर आंशिक रूपमा क्षति पुगे। ती ४० घरका विस्थापित अहिले आफन्त र छिमेकीका घरमा आश्रित छन्। मृतक परिवारहरू पनि आफन्त र छिमेकमै बसेर मृतकको काजकिरिया गरिरहेका छन्।
‘रात पर्नासाथ बालबालिका रोइरहेका हुन्छन्, हावा चल्दा पनि सबै तर्सिन्छन्,’ स्थानीय लीला भट्टराईले भनिन्, ‘त्यो रात सम्झिँदा गाउँले अझै डराइरहेका छन्।’
राहतको मल्हम
पालिका अध्यक्ष गुरुङका अनुसार मृतक परिवारलाई जनही दुई लाख रुपैयाँका दरले राहत वितरण गरिएको छ। उक्त रकम पालिकाको कार्यपालिका बैठकले निर्णय गरेर बिहीबार मृतक परिवारलाई उपलब्ध गराइएको हो।
‘हामी आफैँ गएर परिवारलाई रकम हस्तान्तरण गरेका हौँ,’ अध्यक्ष गुरुङले भने, ‘प्रदेश सरकारले पठाएको थप सहयोग पनि पीडितहरूलाई वितरण गरिएको छ।’
पालिकाका विपद् फोकल पर्सन रमेश भट्टराईका अनुसार पालिकाभरि पहिरोबाट करोडौँ क्षति भएको छ, तर यकिन विवरण संकलन भइरहेको छ।
‘हामी क्षतिको विवरण संकलन गर्दैछौँ, केही दिनमा विस्तृत विवरण आउँछ,’ उनले भने।
सन्दकपुर अहिले मौन छ। पहिले जस्तै छैन — हिमालतिर फर्किएका मुस्कान छैनन्। छन् त पहिरोमा हराएका चित्कार र अधुरा सपनाका ढिस्काहरू।
स्थानीय होमस्टे व्यवसायी ग्याल्जेन शेर्पाले सुनाए, ‘यस्तो विपद् कहिल्यै थाहा थिएन। अब यस्तो विपत्ति कहिल्यै भोग्नु नपरोस्।’
